• २०८१ चैत्र ५
  • कल्पतरूको शताङ्क समारोह सम्पन्न



    काठमाण्डौं २४ जेठ । एक्काइस बर्षदेखि निरन्तर प्रकाशित हुदैँ आएको साहित्यिक द्वैमासिक पत्रिका कल्पतरूको शताङ्क समारोह सम्पन्न भएको छ । बौद्ध रामहिटीमा अवस्थित साहित्य सदन नेपालको सभाकक्षमा बुधबार आयोजित समारोहमा विभिन्न साहित्यिक पत्रिकाका सम्पादक र साहित्यकारहरूको उपस्थिति रहेको थियो । २०४१ सालको मदन पुरस्कार विजेता बरिष्ठ साहित्यकार कञ्चन पुडासैनीको प्रमुख अतिथ्यमा सम्पन्न उक्त समारोहमा वियोगी बुढाथोकी, नगेन्द्रराज शर्मा,  मोहन दुवाल, रामप्रसाद पन्त, रोचक घिमिरे, विजय चालिसे, वसन्त रिजाल र अन्य  साहित्यकारहरूको उपस्थिति थियो ।

    समारोहमा अतिथिहरूद्वारा कल्पतरूको शताङ्क विमोचन गरिएको थियो भने कल्पतरूका प्रधान सम्पादक नवराज पुडासैनी ज्योत्स्नाको मुक्तक संग्रह ‘उन्मुक्त ज्योत्स्ना’को लोकापर्ण पनि गरिएको थियो । मुक्तकसंग्रहका सम्बन्धमा प्रा. कपिल अज्ञातले भूमिका प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा कल्पतरू द्वैमासिकमा २०७९ सालमा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनाहरूका सर्जकलाई नगदसहित सम्मान गरिएको थियो । सर्वोत्कृष्ट रचनाको लागि भोजराज रेग्मी मुखालेलाई सम्मान गरिएको थियो भने उत्कृष्ट रचनाका लागि इन्दिरा चापागाँई, मुरारी सिग्देल र जेबी खत्री सम्मानित हुनुभएको थियो ।

    कार्यक्रममा कल्पतरू द्वैमासिकले यसै वर्ष घोषणा गरेको कल्पतरू अन्तराष्ट्रिय सम्मान २०७९ डा. ऋषि वस्ताकोटीलाई प्रदान गरियो । पचासको दशकदेखि नेपाली साहित्यका विभिन्न विधामा सक्रिय रही कल्पतरू द्वैमासिकको उत्तर अमेरिका संयोजकको जिम्मेवारी सम्हालिरहनु भएका वस्ताकोटीलाई नेपाली साहित्यको श्रीबृद्दिका लागि उहाँले पुर्‍याउनुभएको योगदानको कदर स्वरूप कल्पतरू अन्तराष्ट्रिय सम्मान प्रदान गरिएको जानकारी सहभागीहरूमाझ गराइएको थियो । समारोहमा कल्पतरूका विशिष्ट, आजीवन र विशेष सदस्यहरूलाई सदस्यताको प्रमाण-पत्र पनि प्रदान गरिएको थियो ।

    समारोहको सभापतित्व कल्पतरू द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ज्योत्स्नाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन राजेशमान केसीले गर्नुभएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *