• २०८२ जेष्ठ ५
  • गीत/गजलकाे बारेमा



    कुनै कालजयी सृजनाले अँगालेको शैली तथा ढाँचाहरुको अभिलेखन भएपछि सृजनाले अँगालेको अवयवहरुले सैद्धान्तिक धर्मको रुप लिन्छ । तिनै धर्महरुको परिभाषात्मक टिप्पणी त्यसको सिद्धान्त बन्छ र सृजनाको रुप परिवर्तनसँगै सिद्धान्तशास्त्रले आफ्नो गतिमा परिवर्तन गर्दछ ।

    सिर्जना सर्जकको अनुभूतिहरूको सँगालो हो । ऊ बाँचेको परिवेशसँग सिर्जनाको नाता हुन्छ अथवा सिर्जना समाजबाट प्रभावित हुन्छ । त्यसैले भन्ने गरिन्छ– सिर्जना समाजको ऐना हो । समाज परिवर्तनसँगै सिर्जनाले आफ्नो रूप फेर्छ । समाज सिर्जनाको स्रोत हो र त्यसको व्याकरण पनि । समाजसँगै सिर्जना पनि गतिशील र परिवर्तनशील हुने गर्छ । यसको दृष्टान्तका रूपमा साहित्यका विविध प्रयोगहरूलाई लिन सकिन्छ ।

    नेपाली गीत, गजलको स्रोत र व्याकरण पनि नेपाली समाज नै हो । आफ्नै अनुहार देखिने ऐना मात्र समाजले स्वीकृत गर्न चाहन्छ । समाजमा अव्यक्त अनेकानेक कथा र व्यथाहरूको कलात्मक प्रस्फुटन सिर्जना हो । अनौठो र अद्भूत अभिव्यक्तिद्वारा उत्पन्न हुने रसबाट आह्लादित पाठक, श्रोताको मन–मस्तिष्कमा दिगो जरा गाढेर बस्ने सिर्जना कालजयी हुन्छ ।

    गजलले श्रोता या पाठकको मनोदशाअनुसार बहुअर्थी र बहुआयामिक हुन जरुरी हुन्छ । एउटै फलले तीतो, गुलियो, टर्रो, नुनिलो, पिरो जस्ता अनेक स्वाद दिन सक्छ भने त्यो फल गजल हो । जसलाई सुन्नासाथ मन रमाउँछ र त्यसलाई हुबहु गाएर अरूलाई सुनाउन मन लाग्छ भने त्यो सफल गीत हो । गीतभित्र पनि लोक, आधुनिक, पपलगायत अनेक जनरा विद्यमान छन् । र, गीत सम्बद्ध रचना, समीक्षा, समालोचना र सम्वादको पनि आमगीतप्रेमीले अपेक्षा गरिरहेका छन् ।

    प्राचीनकालमा गीत, गजल लेखकीय विषयभित्र पर्दैन थिए । यिनीहरू मनमै रचिन्थ्यो र गाइन्थ्यो या भनिन्थ्यो । चित्ताकर्षक भए बाँच्थे यी सिर्जना, नभए हराउँथे । पाश्चात्य साहित्यको जग बसाल्ने ग्रिसेली कवि होमर दृष्टिविहीन कुसुले थिए, यसर्थ इलियड र ओडिसी होमरका हृदयोद्वेग मात्र हुन् ।

    सूर्यको प्रकाश, लवण र पानीबाट बिरुवा जीवित रहेजस्तै पाठक या श्रोताको स्वीकृतिबाट गीत, गजल जीवित रहन्छन्, कालजयी बन्छन् । सुनिनासाथ त्यसको श्रुति मधुरता, लय, उक्तिवैचित्र्य र भाव गहनताले श्रोताको हृदय झंकृत गरेपछि त्यसले आफ्नो ठाउँ स्मरणमा बनाउँछ । पाठक या श्रोताको स्मरणमा रहेका सिर्जनाहरू पुस्ता हस्तान्तरण हुन्छन् ।

    आजको समयमा गीत तथा गजलको सिद्धान्तका बारेमा भनिरहनुपर्दैन । जिज्ञासुहरूका लागि सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञानका रूपमा समग्र वायुमण्डल (इन्टरनेट) नै अगाडि खडा छ । मान्छेले आफ्नो सूचना थन्क्याउन आकाशलाई भाँडो बनाइसकेको र त्यसलाई ग्रहण गर्ने माध्यमसमेत हातहातमा दिइसकेको अवस्थामा विद्वता छाँट्नु पट्यारलाग्दो हुनाले त्यतातिर नजानु उचित हुन्छ ।

    साहित्यको दीगो प्रवर्द्धन र स्तरोन्नतिका लागि संचालनमा ल्याइएको निरूपणडटकम (niroopan.com)ले आफ्नो पोर्टलमा गीत/गजललाई ठाउँ राखेको छ । हामी यस पोर्टलमार्फत नेपाली साहित्यका सबै विधालाई उचित स्थान दिने नै छौँ, यससँगै वर्तमानमा अत्यधिक अभ्यास गरिइरहेको र विश्वविद्यालयमा प्राज्ञिक अध्ययनको विषय–विधासमेत बनिसकेको गजल र गीत सिर्जना, समीक्षा, समालोचना यस पोर्टलमा प्राथमिकतामा राख्नेछौँ ।

    यी विषयमा गरिने बहस र सम्वादहरू पनि हाम्रा प्राथमिकतामा पर्नेछन् । यसर्थ, यस पोर्टलमा उत्कृष्ट गीत÷गजलहरू तथा गीत÷गजल विषयक लेख, समीक्षा, समालोचना, सम्वाद पठाउनुहुन समस्त पाठकवर्गमा अनुरोध गर्दछौँ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *