• २०८१ माघ १३
  • निरूपणको प्रकाशन किन प्रारम्भ गरियो ?


    प्रतीक ढकाल
    प्रतीक ढकाल

    कुुरो गोरखापत्र, गोर्खे खबर कागत, शारदा र भारतीजस्ता नेपाली साहित्यको जग बसाउने केही पत्रपत्रिकाको मात्र होइन; बीचमा त समय यस्तो पनि आयो कि रत्नश्री, रूपरेखा, रचना, अभिव्यक्ति, मधुपर्क र गरिमामा रचना छापिएपछि त्यो स्रष्टा राष्ट्रिय साहित्यकारमा गणना हुन्छ भन्ने पनि मान्यता स्थापित भयो । तर इन्टेरनेटको उदयपछि समयले विस्तारै कोल्टे फेर्दै गयो र अब त फड्को नै मार्‍यो । विद्युत र टेलिकमको विवाहबाट जन्मेका अगाडि ‘इ’ जोडिएका प्रशस्तै ठिमाहा सन्तानहरूको उपलब्धताले गर्दा अब स्रष्टाले आफ्नो रचना छाप्न यी पत्रिकाहरूलाई पर्खनै नपर्ने समय आयो । हिजोसम्म अरूलाई प्रकाशमा ल्याइदिने छापा माध्यम आफैँ अँध्यारोरूपी संकटमा पर्दै गयो । स्रष्टाका रचना छाप्ने नयाँ विकल्पका रूपमा सामाजिक संजालहरू, ब्लगहरू, अनलाइन पत्रिकाहरू र अन्य किसिमका यस्तै अनेकौं ‘इ’ पोर्टलहरू देखापर्दै गए । पहिले ‘इन्फर्मेसन’ (सूचना) मात्र दिने वेबसाइटहरूले विस्तारै ‘इन्टरएक्सन’ (अन्तर्क्रिया) पनि गर्न थाले । कुरो अझै अघि बढ्यो, अब त ‘ट्रानज्याक्सन’ (कारोबार) पनि हुन थाल्यो र अक्षरको दुनियाँ मात्र होइन, सारा संसारको मानवीय व्यवहारमै अभूतपूर्व ‘ट्रान्सफर्मेसन’ (रूपान्तरण) देखा पर्‍यो । यसबाट स्रष्टा र साहित्य मात्र अलग हुने पनि कुरो आएन र अचेल स्रष्टाले जतासुकै आफ्ना रचना छाप्ने प्लेटफर्म पाउन थाले । यो आफैँमा एक युगान्तकारी कदम बन्यो ।

    प्लेटफर्म त पाउन थालियो तर छापिएका रचनाको स्तर के भयो ? हाम्रो प्रश्न अब यही विन्दुबाट सुरू हुन्छ । के फेसबुकमा पाइएको वाहवाहीले एउटा राम्रो स्रष्टा जन्माउन सकिरहेको छ ? गजल भनेको केही काफियाको तुकबन्दी मात्रै हो कि त्योभन्दा बढी अरू केही ? छन्द कि बहर ? लय कि फ्रेम ? त्यस्तै नियात्रा के हो त ? लेखकले गरेको यात्राको नितान्त व्यक्तिगत चर्चा मात्रै कि थप अरू केही पनि ? आख्यान के हो ? मात्र स्वैरकल्पना कि समाजको सापेक्षता पनि ? कविता के हो ? मात्र स्रष्टाको भावना कि केही अरू शिल्प र चेतन पक्ष पनि ? यस्ता प्रश्न सबै विधामा उठाउन सकिन्छ । अनि त्यसको अभिव्यक्तिको माध्यमको वर्णविन्यास कस्तो हुने ? जसले यो मुलुकका लागि प्राणै त्यागेर ‘शहीद’ भए, तिनको उत्सर्गलाई सम्मान गर्ने कि त्यो लासमाथि पनि राजनीति घुसाएर ‘सहिद’रूपी संगीनले घोचिरहने ? के हामी अब त्यो हदको कृतघ्न भइसकेकै हौँ त ? त्यो कसरी ‘ठूलो’ होला जब लेखिन्छ नै ‘ठुलो’ भने ? नेपालको संविधान छाप्ने कानून किताब व्यवस्था समितिले ‘कानून’ लेख्छ भने हामी अरू प्रयोक्ताले ‘कानुन’ बनाउनुको तुक कति होला ? दुई वर्ष पहिले कविडाँडा साहित्य समाज चितवनले आयोजना गरेको नेपाल–भारत साहित्य सम्मेलनमा भाग लिन आएका लब्धप्रतिष्ठ भारतीय नेपाली साहित्यकारहरूले उठाउनुभएको एउटा प्रश्नले हाम्रो हृदय नै हल्लाएको थियो । उहाँहरूले बडो शालीन ढङ्गले सोध्नुभयो— “अचेल नेपालको ‘खुशी’ किन दुब्लाउँदै गएर ‘खुसी’ भएको हो ? कि अचेल तपाईंहरू खुशी हुन छोड्नुभयो ? नेपालले त नेपाली भाषाको मानक रूपबारे हामीलाई पनि मार्गनिर्देशित गर्नुपर्ने होइन र ? नेपालभित्रै जब नेपाली भाषा यसरी गिजोलिन्छ भने हामीले कसलाई मानक मान्ने ? कोबाट सिक्ने ?”

    त्यही दिन हामीले थाहा पायौँ— भाषा भन्ने कुरामा दिनदिनै रफ गर्दै हिँड्नु नहुने रहेछ । हामीले नेपालमा मनपरी गर्दा संसारभरिका नेपालीभाषीलाई असर पर्दोरहेछ । हाम्रो मानक हराउने रहेछ र भाषिक अराजकता निम्तिने रहेछ । लेख्य भाषा भनेको त ड्युटीमा खटिएको सैनिकजस्तो हो रहेछ जसले गर्मी भयो भनेर बाहुला बटार्न नपाउँदो रहेछ ।

    हामी पनि मेरो गोरुको बाह्रै टक्का भन्ने पक्षमा छैनौं । भाषा मानवजातिको जीवित सम्पति हो र समयले यसमा परिवर्तन ल्याउदै जान्छ भन्ने कुरो हामी पनि मान्दछौं । उत्पतिकालीन सिञ्जाको, भानुभक्तका पालाको, पृथ्वीनारायण शाहका पालाको नेपाली अर्कै स्वरूपको थियो, अहिले समयले अर्कै बनायो । समयले ल्याएको परिवर्तनलाई निरूपणले पनि गौरवसाथ स्वीकार गर्छ, आत्मसात गर्छ, तर कसैको व्यक्तिगत सनकको आधारमा टिप्पणी सदर गरेर ल्याएको वा कुनै संस्थामा पदासीन भएका बेला शक्ति प्रदर्शनका लागि गरिएको परिवर्तन हाम्रालागि मान्य हुने छैन ।

    यिनै दुई कुरा, विधाको पनि र भाषाको पनि, मानकको खोजीमा निरूपण लागिरहनेछ । पर्याप्त, उचित, मानकीकृत र स्वीकार्य रूप पाएका दिन हामीले पनि त्यही वर्णविन्यासलाई स्वीकार्ने छौं । तर लहडबाजीमा गरिने भाषाभञ्जनलाई एउटा किनारामै पन्छाएर हामी अघि बढिरहनेछौँ । विधागत रचनाका रूपमा पनि हामी संख्यालाई होइन, गुणवत्तालाई जोड दिनेछौं र निरूपणमा प्रकाशित रचनामा ती किन छापिए भन्ने सम्पादकीय टिप्पणी पनि राख्नेछौँ ।
    हामी आशा गछौँ, यसबाट हाम्रा पाठकहरूलाई फाइदा नै पुग्नेछ । नवस्रष्टाका सिर्जनालाई हामी छानीछानी छाप्नेछौँ— त्यो पनि कारणसहित खुलाएर । तर पनि हाम्रो जोड भने सधैं रचनाको स्तरीयता, हृदयसंवेद्यता र सुन्दरतामाथि नै रहनेछ ।

     

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • 11 responses to “निरूपणको प्रकाशन किन प्रारम्भ गरियो ?”

    1. khatiwadabhawani Avatar
      khatiwadabhawani

      बहुत सुन्दर सम्पादकीय । आशालाग्दो निरूपणको सफलताको शुभकामना छ ।

    2. लक्ष्मी विलास कोइराला Avatar
      लक्ष्मी विलास कोइराला

      नेपाली भाषााकाे युगीन संरक्षक निरूपण हुनेछ । शुभकामना शुभकामना शुभकामना!!!
      निरन्तर सहभागी हुने प्रतिवद्दता ।
      नेपाली कम्पुटरमा नेपाली टाईप गर्दा अशुद्ध देखाउने र सच्याउन सकिने प्रणाली बिकास गर्न पाए नेपाली लेखनमा अशुद्ध कम हुन्थ्यो कि !
      निरुपण लाई पुनः सफलताको शुभकामना !!!
      सम्पादक ज्यू काे अदम्य साहस र सक्रियता लाई सलाम ।

    3. श्यामल अधिकारी Avatar
      श्यामल अधिकारी

      शुभकामना प्रतीकजी ! हामीलाई सफलता मिलोस् । निरूपणले हरेक लेखक पाठकमा आफुलाई पाओस् । नेपाली भाषाको अपार अभिव्यक्ति क्षमता छ । त्यो देखियोस् ।

    4. Dibya Giri Avatar
      Dibya Giri

      सर्वप्रथम बधाई । समसामयिक सम्पादकीयले उठाएका प्रश्नहरूकै निराकरणका लागि निरूपणलाई सफलता मिलोस् । नेपालका डलरकाजीहरूले नेपाली भाषालाई प्रबिधीमैत्री बनाउने निहुँमा भाषामाथि निर्मम प्रहार गरिरहेछन् । साठी वर्षदेखि लेख्दै आएको “ठूलो” लाई नेपाल प्रज्ञाप्रतिष्ठानको झोले प्राज्ञले अब “ठुलो” लेख भन्दैमा मेरो कलम मान्छ र ? हार्दिक शुभकामना !!!

    5. Surendra astafal Avatar
      Surendra astafal

      राम्रो कामको सुरुवात

    6. विश्वराज ढुंगाना Avatar
      विश्वराज ढुंगाना

      नेपाली भाषालाई गिजोल्ने समुदायबाट जोगाउन निरूपण सफल बनोस् । शुभकामना ।

    7. डा नवीनबन्धु Avatar
      डा नवीनबन्धु

      खुशी लाग्याे ,कुनै स्तम्भ नियमित पाए लेख्छु

    8. भुवनहरि सिग्देल Avatar
      भुवनहरि सिग्देल

      असीम शुभकामना र बधाइ ।

    9. बिष्णु ढकाल Avatar
      बिष्णु ढकाल

      प्रयास त्यो पनि मातृ भाषा उत्थानको , यस्मा फूलको मालाले स्वागत गरें । भाषा साहित्यको प्रयोग सार्वजनिक नै हुन्छ । यस्लाई प्राकृत रुपमै श्रृगार्दै जाने हो । मेरो बुझाईमा बिधाहरु
      अनेक छन् । ती बिधाहरु विशिष्ट बनाउने त्यो पनि लेखेरै हो ।
      लेख्नलाई प्रेरणा जगाउने पनि लेखनले नै हो । शब्दहरुलाई
      सामाजिक वनाउने दायित्व पनि लेखककै हो । अब यस्को
      बिशिस्टता निर्कोल कसरी गर्ने ? निरुपणको धरातल मार्फत
      शब्द संसार अगाडि बढोस । हृदयले स्वागत गरेको छु ।💐

    10. Soni kumari sah Avatar
      Soni kumari sah

      Nice analysis

    11. Soni kumari sah Avatar
      Soni kumari sah

      Nice analysis.badhaix