• २०८१ जेष्ठ ७
  • निहारिकाले बोकेको अनुभूति


    निरूपण
    निरूपण

    कुनै पनि कृतिको अध्ययनपश्चात् समाजको संरचनालाई चिन्न सकिने हुनाले नै साहित्यिक कृतिलाई समाजको खोल भनिएको हो । साहित्यकारले आफ्नो सिर्जनाको विषय समाजबाट प्राप्त गर्दछ । साहित्य व्यक्तिगत कल्पनाको उपज मात्रै नभएर समाजको अभिव्यक्ति पनि हो । लेखकले कृतिमा व्यक्त गरेको विचार तथा चेतना उसको निजी नभएर सामूहिक विश्वदृष्टि हो । निहारिका प्रकाश तिवारीको तेस्रो उपन्यास कृति हो । परित्यक्त र निलोफर उपन्यासका सर्जक तिवारीले निहारिका उपन्यासको सामाजिक पृष्ठभूमि बाहुन युवती र विश्वकर्मा पुरुषको प्रेमकथा र अन्तरजातीय विवाहको सन्दर्भलाई प्रस्तुत गरेका छन् ।

    गण्डक प्रदेशको समाज रसंस्कृतिलाई प्रमुख कार्यपीठिका बनाउँदै काठमाडौँदेखि विदेशका भूमिसम्म यस उपन्यासको कथानक लम्बिएको देखिन्छ । गण्डक प्रदेशको समाजको कथा भए तापनि यो उपन्यासले नेपालका हरेक समाज एवम् हरेक मान्छेको साझा अनुभूतिलाई बोल्न सकेको देखिन्छ । दलितका विषयमा थुप्रै बहस र छलफल भएका छन् । त्यसै गरेर नेपाली साहित्यमा पनि दलित एवम् छुवाछुतको विषयलाई लिएर धेरै साहित्यिक कृति लेखिएका छन् । निहारिकामा आएको विषय पनि नौलो होइन । हामीले भोग्दै आएको र देख्दै आएको सामाजिक परिघटना नै हो ।

    यस उपन्यासको प्रमुख कथा मोहन र शारदाको हो भने उपकथाका रूपमा रञ्जित, सुनैना, अमित र प्रशान्तको कथा रहेको छ । यो उपन्यास मोहन र शारदाको प्रेमकथामा नै पूर्ण रहेको देखिन्छ । तर, उपन्यासकारले यो उपन्यासको आयाम छोटो हुन्छ भन्ने सोचेर हो या किन हो उपकथाका रूपमा रञ्जित, सुनैना, अमित र प्रशान्तको प्रेमलाई पनि समावेश गरेका छन् । कहिलेकाहीँ लेखकले आपूmलाई न्यायाधिसका रूपमा तौलिने गरेको हामीले देखेका छौँ जसको कारण साहित्य दुर्घटनामा पर्न जान्छ । पाठकले नबुझ्ने पो हुन् कि भनेर लेखकले बढी आदर्शलाई प्रस्तुत गर्ने गरेको पनि हामीले पाएका छौँ जसको कारण जे हुनु थियो त्यो नभएर बनाइएको हुन्छ । यसो गर्दा पाठकले सोध्ने गर्छन् —खै त यथार्थ?सबै कुरा आदर्शमा नै लगेर सक्नुपर्ने साहित्यकारलाई बाध्यता छ र ? सबै कुरा लेखकले नै भनिदिने हो भने पाठकले सोच्न चाहिँ नपाउने र ?

    दलित केटो मोहन र बाहुन केटी शारदा यो उपन्यासका केन्द्रीय पात्र हुन् । यी दुई पात्रकै केन्द्रीयतामा उपन्यासको कथानक अगाडि बढेको छ । दुई पात्र एउटै स्कुलमा पढाउने शिक्षक हुन् । उनीहरू दुईको प्रेमलाई देख्न नसक्ने रमन जस्ता प्रतिनायकहरू पनि यही समाजमा छन् । बाहुनकी छोरीले विश्वकर्मा जातको केटासँग प्रेम गर्न हुँदैन भनेर भाँड्ने रमन त एउटा प्रतिनिधि पात्र मात्रै हो ऊ जस्ता जातीय छुवाछुतलाई काखी च्यापेर हिँडने थुप्रै मान्छेहरू यही समाजमा छन् ।

    शारदाले आपूm खुसी मोहनसँग प्रेम गर्दा रमनले गरेको अमानवीय व्यवहारलाई हेर्दा अहिले पनि हाम्रो समाजमा दलितसँग बाहुन वा क्षेत्रीहरूले खुलेर पेम्र वा विवाह गर्न पाएका छैनन् भन्ने प्रस्ट हुन्छ । यदि विहे भएको छ भने पनि उनीहरूले परिवारलाई त्यागेर हिँड्नु परेको छ भन्ने कुराको अनुभूत हुन्छ । शारदाले मसँग प्रेम गर्नुपर्छ भन्ने अहम् बोकेको रमनकै कारण शारदा र मोहनले समाजमा धेरै दुःख भोगेका छन् । स्कुलबाट मोहनलाई निकाल्नु, मोहनले गरेका सामाजिक गतिविधिलाई ध्वस्त पारिदिनु, मोहन र शारदालाई अनेक प्रकारका आरो लगाउनु रमनका अमानवीय क्रियाकलापहरू हुन् । मोहन जेजे सामाजिक कार्य गर्न अगाडि बढेको छ ती सबै काममा रमन बाधा बनेको छ । शारदाका बाआमाले मोहन र शारदाको सम्बन्धलाई स्वीकार नगर्नु, मोहनलाई तल्लो जात भनेर हेला गर्नु यी सबै हाम्रो समाजमा हामीले भोगिरहेका सामाजिक विकृतिका उदाहरणहरू हुन् ।

    बाहुनको घरमा जन्मिएकी शारदाले विश्वकर्माको छोरोसँग बिहे गर्छु भनेर शारदाले अडान कस्नु, बाआमाले मोहनसँग बिहे गर्न हँदैन भनेर बाध्य पार्दा शारदाले उल्टै बाआमालाई आफू मोहनबाहेक अरुसँग बिहे गर्दिनँ भनेर जिद्घि गर्नु यी शारदामा देखिएका चेतनाका प्रतीकहरू हुन् । मोहनसँग बिहे गरेपछि आफ्ना बाआमाबाट टाढिएकी शारदाले मोहनको साहसमा सहयोग गरेकी छ । वास्तवमा शारदा पेशाले शिक्षक हो र उसमा भएको चेतनालाई न त रमनले चिनेको छ न त उसका बाआमा र दाजुले नै चिन्न सकेका छन् ।

    मोहन रशारदा काठमाडौँ आउनु, मोहन राजनीतिक क्रियाकलापमा लाग्नु ऊ संसद हुनु यी सबै कारणले उसले ख्याति पाएको छ । मोहनले पाएको यही ख्यातिले गर्दा शारदाका बाआमाले भित्रभित्रै छोरी शारदा र ज्वाइँ मोहनलाई माया गर्न थालेको देखिन्छ । माहेनले सङ्घर्ष गरेर आफ्नो नाम समाजमा नकमाएको भए शारदाका बाआमा र दाजुले उनीहरूलाई राम्रो व्यवहार गर्र्दैनथे । तर मोहनको सामाजिक प्रतिष्ठा उच्च भएको कारण शारदाका बाआमाले आफ्नो ज्वाइँ विश्वकर्मा भए पनि सम्मान गर्ने मोडमा पुगेका देखिन्छन् । यो सामाजिक यथार्थ हो । यदि मोहनले आफ्नो कर्मलाई प्रमुख प्राथमिकता दिएर काम नगरेको भए उसका ससुरालीले त्यो सम्मान गर्ने थिएनन् । उपन्यासमा आएकी शारदाकी भाउजूले भने सुरुदलेखि अन्तिमसम्म नै नन्द र मोहनकै पक्षमा बोलेको देखिन्छ ।

    निहारिका बढीफिल्म अनि मात्रै उपन्यास हो जस्तो लाग्छ । मोहन र शारदाको कथामा उपकथा बनेर आएको रञ्जित, सुनैना, अमित र प्रशान्तको कथा पनि नराम्रो छैन । तर, मोहन र शारदाको कथा पढ्दै गर्दा यो कथा नभए पनि हुन्छ भन्ने अनुभूति पाठकमा पर्न जान्छ । मान्छेमा रहेका यौन आवेग र परिवारको दुर्घटना कसरी हुन्छ भन्ने मनोविज्ञानलाई यी चार पात्रको भूमिकाबाट चिन्न सकिन्छ । दुर्घटनामा परेर यौन क्षमता गुमाएको एउटा पुरुषले आफ्नी श्रीमतीको यौन चाहना बुझ्न सक्छ त ?एउटी नारी आफ्नो शरीर किन हरेक पुरुषलाई बाँड्दै हिँड्न बाध्य हुन्छे ? यो प्रश्नको समाधान लेखकले यो उपन्यासमा दिन खोजेका छन् ।

    उपन्यासमा भाषिक त्रुटिहरू धेरै छन् । पुरुष अनुसारको क्रियापद र आदर अनुसारको क्रियापद नहुँदा पाठकहरूमा अन्योलता छाउन सक्छ । यो कुरामा लेखकले ध्यान दिनुपर्ने देखिन्छ । निहारिकाको बैठानले दुःखान्त अनुभूतिमा पाठकलाई डुबाउने शक्ति राख्दछ । दलित र बाहुनको प्रेममा समाज बाधक भए पनि प्रेम गर्ने मान्छेले धोका दिनु हुँदैन भन्ने साझा अनुभूति रहेको उपन्यास नेपाली साहित्यिक पाठकहरूका लागि पठनीय कृति रहेको छ ।

    कृति : निहारिका
    उपन्यासकार : प्रकाश तिवारी
    प्रकाशक : इण्डिगो इन्क
    प्रकाशन : २०७६
    पृष्ठ : २४५
    मूल्य : रु२९९।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *