१. विषय परिचय
प्रस्तुत आलेखमा सुम्निमा उपन्यासमा निहित अभिव्यङ्ग्य पक्षको खोजी गरिएको छ । यस आलेखमा प्रमुख रूपले दुईवटा पक्षलाई उठाइएको छ । ती पक्षहरु सुम्निमा उपन्यास र व्यङ्ग्यार्थ हुन् । विषय परचिय अन्तर्गत यी शोद्य पक्षका बारेमा जानकारी दिइएको छ ।
सुम्निमा उपन्यास आख्यानकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा २०२७ सालमा सार्वजनिक प्रकाशनमा ल्याइएको हो । कोइराला (१९७१—२०३९)आधुनिक नेपाली आख्यानका एक विशिष्ट हस्ती हुन् । उनले ६ वटा उपन्यास उपन्यासहरु सार्वजनिक प्रकाशनमा ल्याएका छन् । त्यस्तै उनका दुइवटा कथा सङ्ग्रह दोषी चस्मा र श्वेत भैरवी पनि प्रकाशित छन् । उनका उपन्यासहरु तिन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी, (२०४०) र बाबु आमा र छोरा (२०३९) हुन् । विवेच्य सुम्निमा उपन्यासमा प्रागैतिहासिक कालीन विषय वस्तुलाई समेटिएको छ । तत्कालीन धर्म प्रधान अनार्यहरुको संस्कृति र प्राकृतिक जीवन पद्धति अँगालेका अनार्यहरुको सामाजिक व्यवस्था र संस्कृतिलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । मूलतः आर्य र अनार्यहरुको संस्कृति नै यस उपन्यासको विषय वस्तु हो । किरात र भिल्लहरुले यस उपन्यासमा अनार्यहरुको प्रतिनिधित्व गरेका छन् भने सोमदत्तको परिवार र राजकुमारले आर्य जातिको प्रतिनिधित्व गरेका छन् । यिनै आर्य र अनार्यबिचको द्वन्द्वलाई यस उपन्यासमा देखाइएको छ । साथसाथै सांस्कृतिक समन्वय यस उपन्यासको केन्द्रीय पक्षका रूपमा आएको छ ।
पूर्वीय काव्य शास्त्रीय चिन्तन परम्परामा स्थापित ध्वनिवाद महŒवपूर्ण काव्य सिद्धान्तका रूपमा रहेको छ । आचार्य आनन्दवर्धनद्वारा इसाको नवौँ शताब्दीतिर स्थापित यस सिद्धान्तको आधारभूत ग्रन्थ ‘ध्वन्यालोक’ हो । यही ग्रन्थमा ध्वनिवादी मान्यताहरूको स्थापना गरिएको छ । संस्कृत काव्य शास्त्रमा स्थापित भएका रस, अलङ्कार, गुण, रीति, आदि चिन्तनलाई ध्वनिवादले आफूमै समाहार गरेको छ । ध्वनि सिद्धान्तको मूलभूत अभिलक्षण भन्नु नै व्यञ्जनवृत्ति हो । त्यही व्यञ्जना वृत्तिबाट निस्कने वा उद्भाषित हुने व्यञ्जनात्मक सुवास नै व्यङ्ग्यार्थ हो र व्यङ्ग्यार्थ भन्नु नै ध्वनि हो । ध्वनिको केन्द्रीय आत्मा नै व्यङ्ग्य हो । यसरी प्रकट हुने व्यङ्ग्य वाच्यार्थभन्दा भिन्न विशिष्ट, रमणीय र चामत्कारिक हुन्छ । आनन्दवर्धन (१९६२ः३७) का अनुसार ध्वनि भन्नाले सोझो वा सिधा अर्थलाई सङ्केत नगरेर घुुमाउरो वा प्रतीयमान अर्थलाई अभिव्यञ्जित गर्छ । वाच्यता र वाचकतामा रहेको सीमित र सङ्कुचित अर्थ भन्दा भिन्न विशिष्ट र रमणीय अर्थ नै ध्वनि हो । “कुनै विशिष्ट शब्दद्वारा अभिव्यञ्जित प्रतीयमान अर्थले साहित्यका सहृदय पाठकमा एक प्रकारको आनन्द र चमत्कार निर्माण गरेको हुन्छ (ढुङ्गेल २०६९ः४४) ।” आचार्य विश्वनाथका अनुसार अभिधा र लक्षणा शब्द शक्तिले आफ्नो आफ्नो काम गरेर शान्त भइ सकेपछि तेस्रो शब्दशक्ति (व्यञ्जना) द्वारा त्यसभन्दा पर जुन अर्थ बुझिन्छ त्यो नै ध्वनि हो । यही ध्वनि नै व्यञ्जना हो र प्रतीयमान अर्थ हो । आचार्य आनन्धवर्धन (१९६२ः१३) का अनुसार सुन्दर युवतीका मुख–नासिकादि शारीरिक अवयवबाट उत्पन्न हुने बेग्लै प्रकारको सुन्दरता जस्तै कविका वाणीहरूबाट निःसृत हुने शब्दार्थ भन्दा भिन्न अलग प्रकारको चामत्कारिक र रमणीय प्रतीयमान अर्थ ध्वनि हो । ध्वनि सहृदयलाई प्रशंसित र आल्हादित तुल्याउन सक्ने प्रतीयमान अर्थ हो । शब्द वा अर्थले व्यङ्ग्यार्थको सिद्धिका लागि आफ्नो अर्थको समर्पण गर्दछ । त्यस्तो काव्य व्यङ्ग्यार्थ प्रधान हुने गर्छ । यही आधारमा काव्यका श्रेणीहरूको निर्धारण गरिएको छ । केशव प्रसाद उपाध्याय (२०६१ः१९२) का अनुसार प्रतीयमान अर्थ प्रधान काव्य विशेषणलाई ध्वनि संज्ञा प्राप्त हुन्छ र प्रतीयमान अर्थपरक ध्वनिलाई नै सर्वोत्तम ध्वनि अनि त्यस्तो अर्थ काव्योक्तिलाई नै सर्वोत्तम काव्य मान्ने आनन्दवर्धनको अभिप्रयायको रक्षा हुन्छ र व्यङ्ग्यार्थ पूर्ण विशिष्ट काव्यलाई उनले ध्वनिको संज्ञा दिएका छन् । “अभिव्यक्तिबाट व्यक्त हुने वाच्यार्थ तथा लक्ष्यार्थ पछि पनि झङ्कृत हुने प्रतीयमान अर्थ, गुण अर्थ, व्यङ्ग्य अर्थ प्रदान गर्न सक्ने शक्ति ध्वनिमा हुन्छ (गौतम, २०७०ः७६) । निष्कर्षमा के भन्न सकिन्छ भने ध्वनि भनेको वाच्यार्थ र लक्ष्यार्थ भन्दा पर जुन विशिष्ट र चामत्कारीक अर्थ प्रदान गर्न सक्षम हुने शब्दशक्ति छ त्यसबाट प्राप्त हुने अभिव्यङ्ग्य हो । यही ध्वनि सौन्दर्य वा अभिव्यङ्ग्यका आधारमा सुम्निमा उपन्यासको विश्लेषण गरिएको छ ।
२. सुम्निमा उपन्यासको कथ्य सन्दर्भ र पृष्ठभूमि
सुम्निमा उपन्यास प्रागैतिहासिक समयको विषय वस्तुलाई आधार मानी लेखिएको छ । यसमा प्रस्तुत भएको भएको समाज हिन्दु सामन्तवादी वर्णाश्रम व्यवस्थामा आधारित छ । हिन्दु वर्णाश्रम व्यवस्थाका चार आश्रमको सङ्केत यस उपन्यासमा भएको छ । यसमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रमको चर्चा यस उपन्यासमा भएको छ । ब्रह्मचर्य आश्रमलाई विद्या आर्जनको समय , गृहस्थलाई सन्तानोत्पादन र घर गृहस्थीको काल , वानप्रस्थलाई सन्यासको पूर्व तयारी तथा सन्यासलाई जीवन्मुक्तिको मार्गका रूपमा हिन्दु वर्णाश्रम व्यवस्थाले लिएको छ । यस उपन्यासमा आएका सूर्यदत्त र उसको परिवारले तापसी ब्राह्मण संस्कृतिको प्रतिनिधित्व गरेका छन् । उनीहरु अज्ञात स्थलबाट (उनीहरु कहाँबाट आएका हुन् भनी उपन्यासमा उल्लेख नगरिएको) तापसी जीवन बिताउँदै अन्त्यमा चतारा क्षेत्रको कोशी नदी किनारलाई आफ्नो तपस्या स्थल बनाएका छन् । त्यहीँ बसेर उनीहरुले आफ्नो तपस्चर्यालाई निरन्तरता दिएका छन् । उपन्यासमा सूर्यदत्तको सोमदत्त नामक छोरो पनि छ । ऊ सानैदेखि मेधावी र सम्पूर्ण आर्य गुणले सम्पन्न पनि छ । त्यसैले सोमदत्तलाई सानैदेखि शिक्षदीक्षाको उचित व्यवस्था गरिएको छ । ऊ आश्रममै आफ्नो पितासँग हिन्दुहरुका सम्पूर्ण धर्मग्रन्थहरु पढ्छ । दिउँसो गाई चराउन कोशी तटमा जाने क्रममा उसको अनार्य बालिकासँग भेट भएको छ । ऊ त्यसै समयदेखि अनार्य संस्कृतिसँग परिचित भएको छ । आर्य र अनार्य संस्कृतिहरु परस्पर अमिल्दा छन् । जातीय कारणले त्यसो हुनु स्वाभाविक पनि छ । तर प्रस्तुत उपन्यासमा सोमदत्तले सुम्निमाको संस्कृतिलाई हिन्दु धर्मद्वारा निर्मित संस्कृति र विचारधाराका आधारमा मूल्याङ्कन र टिप्पणी गरेको छ । उसले सुम्निमासँग गरेका बहसबाट यो कुराको पुष्टि हुन्छ । यी दुई जातिको सामाजिक संरचना पनि फरक छ । सोमदत्तले पं्रतिनिधित्व गरेको समाज हिन्दु सामन्ती पुरुष प्रधान समाज हो भने सुम्निमाले प्रतिनिधित्व गरेको समाज मातृप्रधान समाज हो । सोमदत्तले प्रतिनिधित्व गरेको समाजले पुरुषलाई महत्त्व दिन्छ भने सुम्निमाले प्रतिनिधित्व गरेको समाजले नारीलाई महत्त्व दिन्छ । सुम्निमाको समाजमा नारीहरु स्वतन्त्र र आफ्नो निर्णय आफैँ लिन सक्ने क्षमताका छन् । यही पितृ प्रधान र मातृ पं्रधान समाज व्यवस्थाका बिचमा सुम्निमा र सोमदत्तका बिचमा मतभेद भएको छ । त्यस्तै आर्यहरुको आत्मा प्रधान संस्कृति र अनार्यहरुको शरीर प्रधान संस्कृतिका बिचमा पनि द्वन्द्व भएको छ । त्यस्तै बाजले परेवा खानुमा हिंसा देख्ने सोमदत्त र राजकुमारले सिकार खेल्नुमा चाहिँ हिंसा देख्ने सुम्निमाका बिचमा पनि सांस्कृतिक चिन्तनका कारणले द्वन्द्वको सिर्जना भएको छ । यस उपन्यासमा आर्यहरु जातीय रूपमा कट्टर, अन्य संस्कृतिप्रति अनुदार, तथा आप्mनो संस्कृतिको मापदण्डमा अरुको संस्कृतिलाई हेर्ने असहिष्णु संस्कृतिको प्रतीकका रूपमा आएका छन् । आर्यहरुले पटकपटक युद्ध गरी अनार्यहरुलाई आफ्नो नियन्त्रणमा लिएका छन् । साथै बलपूर्वक आफ्नो संस्कृतिलाई अवलम्बन गर्न बाध्य पारेका छन् । यही दम्भी, आभिजात्य, हठी र असहिष्णुपन सोमदत्तमा पनि देखिन्छ । ऊ जुन संस्कारमा प्रशिक्षित भएको छ त्यो संस्कार मनुष्यत्वको प्राप्ति होइन देवत्वको प्राप्तितर्फ अग्रसर संस्कृति छ , अतः उसलाई सानैदेखि मनोवैज्ञानिक रूपमा ब्रह्मचर्य र त्यसको कठोर पालनाको भारी बोकाइएको छ । फलस्वरूप उसको मनोवृत्ति त्यसै अनुकूल निर्माण भएको छ । उसका सोच र विचारधाराहरु सामन्ती वर्णश्रम व्यवस्था अनुकूल निर्माण भई अरुको संस्कृतिलाई पनि आफ्नै संस्कृतिको आडमा देख्ने जीवन दर्शनको विकास उसमा भएको छ । यही हठी, दम्भी र असहिष्णु स्वभावले अन्ततोगत्वा उसको जीवन नै देर्घटित हुन पुगेको छ । जुन संस्कृतिलाई उसले बारम्बार लत्यायो, उपहास तथा निषेध ग¥या अन्त्यमा त्यही संस्कृतिको आश्रय लिएर मात्र उसले पुत्र प्राप्ति गर्न सक्यो । उसले जुन प्रयोजनका लागि यौनलाई बारम्बार निषेध ग¥यो अन्त्यमा त्यही विषय वासनायुक्त यौन समागम पश्चात् मात्र उसको सन्तान भयो । त्यसैले यस उपन्यासले उदारता, सहिष्णुता र अरुको संस्कृतिप्रति सम्मानको भाव हुनुपर्छ भन्ने अभिव्यङ्ग्य पनि प्रस्तुत गरेको छ । सोमदत्तले जीवनमा कहिल्यै पनि नारीका भावनाको सम्मान गर्न सकेन । अन्त्यमा त्यही नारीप्रति गरेको असम्मान तथा नारी मनको निषेधका कारण पनि उसको जीवन खण्डित हुन पुग्यो । उसले न त बाल्यकालमा सुम्निमाको भावनालाई नै सम्मान गर्न सक्यो न त गृहस्थ कालमा पुलोमाको भावनालाई नै सम्मान गर्न सक्यो । यसै कारणले उसको सम्पूर्ण जीवन नै खण्डित हुन पुग्यो । यस तथ्यलाई पनि उपन्यासको व्यङ्यभित्र समेट्न सकिन्छ । साथै सोमदत्तले आफ्नो आभिजात्य अहम्का कारण जुन संस्कृतिलाई निषेध ग¥यो अन्ततोगत्वा त्यही संस्कृतिको शरणमा जानुले पनि उग्र संस्कृति, हठवाद, असहिष्णुता जस्ता विशेषता भएको संस्कृति पतनोन्मुख हुन्छ भन्ने व्यञ्जनालाई प्रस्तुत गरेको छ ।
प्रस्तुत उपन्यासमा प्रतिरोध चेतनाको समेत प्रयोग भएको छ । यसमा मूलतः दुईवटा जातिका दुईवटा संस्कृति छन् । एउटा संस्कृति प्रभुत्वशाली संस्कृतिका रूपमा रहेको छ भने अर्को संस्कृति अधीनस्थ संस्कृतिका रूपमा रहेको छ । प्रभुत्वशाली संस्कृतिको प्रतिनिधित्व सूर्यदत्त र राजकुमारले गरेका छन् । त्यस्तै अधीनस्थ संस्कृतिको प्रतिनिधित्व किरात र भिल्लहरुले गरेका छन् । किरात र भिल्लहरु सदियौँदेखि चतारा वरपर बसोबास गर्दै आएका छन् । आर्यको तुलनामा उनीहरु अल्प सङ्ख्यामा छन् । उनीहरुले अनेक पटक आर्यहरुसँग युद्ध गर्नु परेको छ । उनीहरु शक्तिशाली आर्यहरुबाट पराजित भएका छन् । त्यसैकारणले उनीहरुको सङ्ख्या घट्दै गएको छ । उनीहरु आर्यको असहिष्णु, अनुदार, संस्कृतिको प्रभुत्वमा पिल्सिन बाध्य छन् । तापसीका रूपमा घुम्दै आएका एक ब्राह्मण परिवारले तत्कालीन राज्यसत्ताको प्रयोग गरी त्यस स्थानका रैथाने किरात र भिल्लहरुको संस्कृतिलाई निर्ममतापूर्वक दमन गरेको छ । हिन्दु संस्कृतिको मानदण्डमा अनार्य संस्कृतिलाई मूल्याङ्कन गरी त्यसै अनुरूपको व्यवहार र आचरण अनुसरण गर्न आदेश दिएर अनार्यहरुलाई संस्कृतिविहीन र अधिकारविहीन बनाइएको छ । त्यसैको प्रतिकारमा भिल्लहरुले आवाज उठाएका छन् । यसैक्रममा भिल्लहरु आर्य संस्कृतिको ज्यादतिका विरुद्ध सशक्त रूपले उत्रन चाहेका छन् । यसबाट जातीय द्वन्द्व र संस्कृतिगत द्वन्द्व हुने अवस्थाको सिर्जना भएको छ । अनार्यमध्ये किरात समुदायद्वारा जुन विवेकसम्मत र समन्वयवादी कार्य यस उपन्यासमा भएको छ त्यो प्रस्तुत उपन्यासको समग्र अभिव्यङ्य बनेर आएको छ ।
त्यस्तै यस उपन्यासमा लैङ्गिकताको बहसलाई पनि उठाइएको छ । यस उपन्यासमा दुई पृथक् संस्कृति पृष्ठभूमिलाई अगाडि ल्याएर तिनले बहन गरेको सामाजिक संरचनालाई देखाइएको छ । सोमदत्त वा उसले प्रतिनिधित्व गरेको आभिजात्य संस्कृति पितृ प्रधान छ । त्यस्तै सुम्निमाले बहन वा प्रतिनिधित्व गरेको संस्कृति मतृ प्रधान छ । तर प्रस्तुत उपन्यासमा नारीलाई माता वा देवी का रूपमा आदर्श स्थापित गर्ने आर्यहरु व्यवहारमा भने निकृष्टता प्रदर्शन गर्दछन् भन्न कुरा सोमदत्तले पुलोमालाई गरेका व्यवहारबाट प्रस्ट हुन्छ । पुलोमालाई जुन विषय र प्रसङ्गका कारणले आरोप लगाएको छ र त्यस प्रकारको विभेदकारी व्यवहार गरेको छ त्यो मातृत्व, पत्नीत्व र सतीत्वसँग सम्बन्धित छ । जब नारीको पत्नीत्व, मातृत्व र सतीत्वमा प्रश्न उठाएर पुरुषले नारीको अपमान गर्छ तब नारीहरु त्यसको सशक्त प्रतिकारमा उत्रिन्छन् भन्ने व्यञ्जनागम्य अर्थ पुलोमाको प्रतिकारबाट प्रस्ट हुन्छ । प्रस्तुत उपन्यासमा आर्य संस्कृतिभित्रै महिलाहरु बढी उत्पीडनमा परेको देखाइएको छ । त्यस्तो महिला उत्पीडनको कारक तत्त्वका रूपमा पुरुष प्रधान समाजले निर्माण गरेको विचार धारा नै रहेको छ । नारीलाई आदर्श रूपमा मात्र सम्मान गर्ने तर व्यवहारिक रूपमा नारीलाई अधिकारविहीन बनाइएको तथ्य पनि प्रस्तुत उपन्यासको कथ्य सन्दर्भका रूपमा रहेको छ । यस उपन्यासमा अनार्य महिलाहरु बढी स्वतन्त्र छन् । उनीहरुको मातृ प्रधान समाजले नै महिलालाई बढी अधिकारहरु प्रदान गरेको छ । सुम्निमा दिनभरि जहाँ घुम्न गए पनि, जो सुकैसँग बोले पनि , जे गरे पनि, त्यस विषयमा उसको परिवारले न खोजी गर्छ न प्रश्न नै गर्छ । सुम्निमा आफ्नो जीवनको निर्णय आफैँ गर्न स्वतन्त्र छे । विवाहका लागि उसले आफैँ जीवन साथी खोज्न सक्छे । परिवारले त्यसमा कुनै हस्तक्षेप गर्दैन । तर पुलोमालाई यी कुनै अधिकारहरु छैनन् । भिल्ल युवकसँग खेलेको अभियोगमा परिवारले उसलाई घरभित्रै बन्दी बनाएको छ । विवाहपूर्व ऊ आफ्ना आमाबाबुको नियन्त्रणमा छे भने विवाह पश्चात् ऊ आफ्नो श्रीमान्को नियन्त्रणमा छे । उसले कहिल्यै पनि स्वतन्त्र भएर जीवन जिउन पाएकी छैन । न त स्वतन्त्र भएर उसले कुनै निर्णय नै गर्न पाएकी छे । एकातिर ऊ हिन्दु सामन्तवादी वर्णश्रम व्यवस्थाको चौघेराभित्र जकडिएकी छे भने अर्कोतिर पुरुष प्रधान समाजका कठोर नियमभित्र परिसीमित बनाइएकी छे । यी सबै पक्षहरु उपन्यासभित्र आएका कथ्य सन्दर्भहरु हुन् । यी सन्दर्भहरुले उपन्यासलाई व्यञ्जना प्रधान बनाएर उत्कृष्ट उपन्यासको कित्तामा स्थापित गरेको छ ।
३. सुम्निमा उपन्यासमा निहित व्यङ्ग्यार्थ
प्रस्तुत उपन्यास कोइरालाल २०२१ सालतिर सुन्दरी जल बन्दी गृहमा बन्दी जीवन बिताउँदा लेखेका हुन् । जुन समयमा यो उपन्यास लेखियो त्यस समयमा भारतमा विभिन्न जातीय आन्दोलनहरु उत्कर्षमा पुगेका थिए । खास गरी भारतीय स्वतन्त्रता सङ्ग्राम पश्चात् हिन्दु, मुसलमान, शिख लगायतका जातिहरु आफ्नो अधिकारलाई लिएर आन्दोलनरत थिए । त्यसले सिङ्गो भारतको अस्तित्व नै खतरामा थियो । त्यसै आन्दोलनले भारतबाट बङ्गलादेश छुट्टिन पुग्यो । भारतमा अनेक राज्यहरु अधिकार सम्पन्न पनि भए । त्यस समयमा लेखिएको प्रस्तुत उपन्यासले जातीय लडाइँ अत्यन्त डरलाग्दो हुने तथ्य निरूपित परस्परमा जातीय मुद्दालाई प्रबल बनाएर होइन सांस्कृतिक समन्वयका माध्यमबाट अघि बढ्नु पर्छ भन्ने व्यञ्जनागम्य अर्थलाई सुवासित गरेको छ । प्रस्तुत उपन्यासमा मुख्यतः दुई जातिहरु रहेका छन् । ती आर्य र अनार्य हुन् । यस उपन्यासमा आर्यहरुलाई प्रभुत्वशाली वर्गका रूपमा स्थापित गरी उनीहरुको प्रभुत्वमा तत्कालीन सामाजिक संरचनाको निर्माण भएको देखाइएको छ । उनीहरुको समाज धर्म प्रधान छ । किनभने यो उपन्यास प्रागैतिहासिक कालीन विषय वस्तुमा आधारित छ । तत्कालीन समय धर्म प्रधान समय थियो । त्यसै हिन्दु सामन्तवादी वर्णाश्रम व्यवस्था तथा पुरुष प्रधान समाजले निर्माण गरेका आधार र अधिरचनाहरुमा धर्म प्रधान थियो । त्यसैको प्रतिनिधित्व प्रस्तुत उपन्यासले गरेको छ । साथै प्रभुत्वशाली संस्कृतिको प्रतिनिधित्व गर्ने आर्यहरु जातीय रूपले कट्टर, शुद्धतावादी, हठी, अन्य संस्कृतिप्रति अत्यन्त अनुदार र असहिष्णु थिए भन्ने तथ्यलाई पनि अघि सारिएको छ । त्यस्तै यस उपन्यासमा आएको जाति अनार्य हो । यस अन्तर्गत सदियौँदेखि चतारा क्षेत्र वरपर बसोबास गर्ने किरात र भिल्लहरु रहेका छन् । उनीहरुको समाज मातृ प्रधान समाज हो । उनीहरु जातीय रूपले अल्प सङ्ख्यामा रहेका छन् । आर्यहरुसँग सांस्कृतिक र जातीय अस्तित्वको रक्षार्थ उनीहरुले पटक पटक युद्घ लड्नु परेको छ । त्यसै कारण उनीहरु अल्प संख्यामा रहेका छन । उनीहरुको संस्कृतिलाई आर्य संस्कृतिले दमन गरेको छ । प्राकृतिक धर्मवलम्बीका रूपमा रहेको अनार्थ जातिहरुमा पशुको भोजन संस्कृतिको रूपमा रहेको छ । गोबध पनि स्वीकार्य छ । तर हिन्दु प्रभुत्वशाली संस्कृतिले त्यसै विषयलाई लिएर उनीहरु माथि संस्कृतिक दमन गरेको छ । यसै कारणले भिल्लरुपमा आर्यहरुप्रति द्वेष र विद्रोहको भावना जागृत भई पुनः जातीय द्वन्द्वको विकराल रूप देखा पर्ने खतरा बढेको छ । यस उपन्यासमा भएका निषेध र प्रतिकारको अवस्थालाई तल उल्लेख गरिएको छ —
(क) सांस्कृतिक निषेधसँग सम्बन्धित साक्ष्यहरुः
साध्य १. प्रधान कुटीको द्वारसामु उभिएर राजपुत्रले समवेत किराती भिल्लमण्डलीलाई ओजस्विलो स्वरमा सम्बोधन गरे उपस्थित भिल्ल किरात हो । हिमालयसम्मको भूभाग हाम्रो पुर्खाद्वारा विजित हाम्रो संरक्षणमा छ । युद्घमा परास्त भएर तिमीहरुले हाम्रो विजयलाई स्वीकार गरेका छौ । यहाँ आश्रम स्थापना गरेर निवास गरी रहेको यो ब्राम्हण परिवार हामीबाट पूज्य छ ।
साक्ष्य २. तिमीहरुले गोबध र हिंसा गरेर यो तपोभूमिको पवित्रतालाई बारम्बार नष्ट गर्ने गरेका छौ । त्यसो हुँदा ब्राम्हण परिवारको तपस्यामा विध्न परेको छ । आजदेखि तिमीहरुलाई सबैलाई यो राजाज्ञद्वारा यस क्षेत्रमा गोबध निषेध गर्ने आदेश दिइन्छ । यो तपोभूमीको सान्निध्यमा कुनै प्रकारको हिंसा पनि राजाज्ञद्वारा आजदेखि वर्जित भयो । (पृ.१०)
साक्ष्य ३. राजकुमारले कुनै बाधा स्वीकार गरेनन् । उनले घोषण गरे कि राजाज्ञा अटल छ । दृढतमको भावनाले उनको क्षत्रिय मुहार दीप्त थियो ।
साक्ष्य ४. बरु सूर्यदत्तले किराती भिल्ललाई सम्झउदै भने — ल भयो तिमीहरुलाई त्यो ठाउँ पूजा निमित्त चाहिएको छ भने भयो तिमीहरुकै रहोेस् त्यो स्थान । तर त्यहाँ सुगुरको हिंसा नगर्नू । त्यो ठाउँ आजदेखि बराह क्षेत्र कहलाइने छ र हाम्रा पुराणमा वर्णित वराह अवतारको द्योतक त्यो स्थल हुनेछ । (पृ.११)
(ख) प्रतिरोधसँग सम्बन्धित साक्ष्यहरु :
साक्ष्य १.
भिल्ल समुहबाट भिल्लले भन्यो —”त्यो माथिको सानो पहाडी थुम्कोमा हामीले हाम्रो पूजाको नियमानुसार सुँगुरपाठा चढाउने गरेका छौँ । त्यो चढाउन पाएनौँ भने अन्धेर हुन्छ राजपुत्र ”(पृ.११)
साक्ष्य २.
भिल्लको भनाइ थियो — जङ्गलभित्र हामीले आफ्नो रीतिस्थिति छाड्न हुन्न आश्रमलाई ध्वस्त पारेर ब्राहमण परिवारलाई लगारिदिनु पर्छ ।…उनीहरु जहाँ जान मन लाग्छ जान्छन् र यदि क्षत्रियहरु उनीहरुलाई फेरी यहाँ जमाउन आए भने युद्घ घोषण गर्नु पर्छ । — समर रचाइदिनु पर्छ । (पृ.१२)
साक्ष्य ३.
भिल्लले तात्तातो बोलीमा भन्यो —बिजुवा बा ! बरु यो अन्यायमा सहनुभन्दा मरेर सखाप हुनु नै बेस । (पृ.१२)
माथिका साक्ष्यहरुले सांस्कृतिक दमन र त्यस दमनको प्रतिरोधजन्य अवस्थालाई सङ्केत गरेका छन् । साथै यी साक्ष्यले आर्यहरुको अनार्य संस्कृतिलाई दमन गर्ने नीति तथा अनार्यहरुलाई आर्यहरुद्वारा गरिएको दमाकारी व्यवहारको प्रतिरोधका सम्बन्धमा जातीय युद्घ निम्तन सक्ने अभिव्यञ्जित गरेको छ । दुईवटा जातिका बिचमा हुन सक्ने जातीय युद्घ अत्यन्त खतरनाक हुने र त्यो विखण्डनकारी हुने कुरातर्फ पनि माथिका साक्ष्यले व्यङ्ग्य गरेका छन् । राजकुमार र सूर्यदत्त ब्राह्मणको भिल्ल र किरात संस्कृतिलाई निषेध गर्ने नीति तथा भिल्लहरु आफ्नो संस्कृति र जातीय पहिचान गुमाएर बाँच्न नचाहने दृढताले गम्भीर जातीय सङ्कट निम्तनेतर्फ समेत अभिव्यङ्ग्य गरेको छ । पृष्ठभूमिमा चर्चा गरिएको भारतमा भएको जातीय आन्दोलनको प्रत्यन्तरित घटनाका रूपमा रूपक शैलीमा यस तथ्यप्रति व्यञ्जनागम्य दृष्टिकोण राखिएको छ । अतः प्रस्तुत उपन्यास किरात , भिल्ल तथा आर्यको जातीय लडाइँसँग मात्र सम्बन्धित नभएर परस्पर दुई संस्कृतिका बिचको अस्तित्व रक्षागत विषयसँग सम्बन्धित छ । एउटा निषेधकारी र अर्को प्रतिरोधकारी भएमा त्यहाँ कि त दुवै संस्कृति समाप्त भई तेस्रो उदीयमान नव संस्कृति निर्माण हुन्छ कि एउटा संस्कृति लोप भई र्ओ संस्कृतिको प्रबल पक्षपोषण हुन्छ । यसले मानवीय अस्तित्वमा गम्भीर सङ्कट ल्याउन सक्छ भन्ने अभिव्यङ्ग्य पनि माथिका साक्ष्यबाट भएको छ ।
प्रस्तुत साक्ष्यमा निहित केन्द्रीय अभिव्यङ्ग्य भने जातीय र संस्कृतिगत समन्वय रेको छ । यस्तो समन्वयवादी नीतिको पक्षपोषण किरात समुदायले गरेको छ । त्यस किरात समुदायबाट प्रस्तुत उपन्यासमा बिजुवा र सुम्निमाले प्रतिनिधित्व गरेका छन् । बिजुवा र सुम्निमाका विचारका माध्यमबाट उपन्यासकार कोइराला स्वयम्को वैचारिक पक्ष ध्वनित भएको छ । कोइरालाको विचारको प्रत्यन्तरित पात्रका रूपमा बिजुवा आएको छ । उसले जातीय युद्ध होइन समन्वयमा जोड दिएको छ । युद्धमा पराजित भएर सङ्ख्यात्मक रूपमा कमजोर भएकाले सम्पूर्ण किरात र भिल्ल जातिको अस्तित्वनै खतरामा छ । उनीहरु युद्ध गर्दा गर्दा कमजोर भएका छन् । अतः पुनः युद्ध गर्ने कुरा केवल संहार एवं जातीय र सांस्कृतिक अस्तित्वको लोपका लागि मात्र हुने भाव व्यक्त गरी भिल्ललाई आफ्नो कठोर प्रतिकार भावनाबाट पछि हटाउन सक्षम भएको छ । यसबाट पुनः हुन लागेको हिंसालाई रोक्न र जातीय सङ्कटलाई तत्कालका लागि टार्न सक्षम भएको छ । बिजुवा र सुम्निमाका सन्दर्भबाट प्रस्तुत केन्द्रीय अभिव्यङ्ग्यजन्य साक्ष्यहरुलाई तल प्रस्तुत गरिएको छ :
साक्ष्य १
बिजुवाको भनाइ थियो युद्धमा हामी धेरै पटक परास्त भइसकेका छौँ । त्यसो हुँदा हाम्रो जाति मासिँदै पातलिँदै गएको छ । हामीले त्यो हालैको अन्तिम र ठुलो युद्धलाई पनि बिर्सनु हुन्न । त्यो युद्धमा तिमी भिल्ल र हामी किरातीहरुको दोहोरो शक्तिउपर आर्यहरुको शस्त्रास्त्रले भारी विजय पाएको थियो र हामी दुवै जातिका स्त्री पुरुष सखाप भएर प्रायः निर्मूल भई सकेका थियौँ । अहिले भरखरै फेरि पलाउन थालेका छौँ बोट बिरुवा जस्तो । त्यसो हँुदा युद्धको सल्लाह सर्वनाशक सल्लाह हो (पृ. १२) ।
साक्ष्य २
बिजुवाले सम्झायो भिल्ल युवक ! तिमी ता आर्यकै जस्तो कुरा गरिरहेका छौ । मरेपछि पाइने धर्म र पुण्यका कुरा । बाँच्नलाई पो युद्ध गर्ने सल्लाह मान्न सकिए्ला तर मरेर पाइने धर्मका लागि युद्ध गर्ने कुरा किमार्थ पनि मान्न सकिन्न । उनीहरुले एउटा ठुलो महाभारत धर्मका नाउँमा गरे , के पाए लासैलासको पर्वतबाहेक ? अहँ म तिम्रो युद्ध गर्ने सल्लाह मान्दिनँ । उनीहरुसँग मिलेर बस्नुमा नै सबैको भलो छ । उनीहरुको साँधभित्र गाई काट्न पाएनौँ भनेर आफैँ काटिन खोज्नु वेश होइन (पृ. १३) ।
माथिका साक्ष्यले समन्वयवादी नीतिलाई प्रस्तुत गर्छ । प्रस्तुत उपन्यासका माध्यमबाट देखाउन खोजिएको केन्द्रीय ध्वन्यार्थ पनि जातीय समन्वय हो । जातीय समन्वय हुन नसकेमा, अन्य संस्कृतिलाई पनि उदारतापूर्वक स्वीकार गर्न नसकेमा, अन्य जाति र संस्कृतिप्रति असहिष्णु भएमा त्यस अनुदार संस्कृतिको पनि पतन निश्चित छ भन्ने कुरालाई देखाइएको छ । सोमदत्तद्वारा प्रतिनिधित्व गरिएको आर्य संस्कृति पतन भई अनार्य संस्कृतिमा विलय भएको देखाएर यसको पुष्टि गरिएको छ । आर्य संस्कृतिको पतन भई अनार्य संस्कृतिमा विलय हुनुलाई अब जातीय शुद्धता सम्भव छैन भन्ने पुष्टि गर्छ । तसर्थ सांस्कृतिक द्वन्द्वले जघन्य मानवीय समस्या निम्त्याउँछ । सांस्कृतिक कट्टरताका नाममा मानवताको बलि चढाउनु हुँदैन भन्ने अनुभूयमान अर्थ प्रस्तुत उपन्यासका माध्यमबाट अभिव्यक्त भएको छ । एकले अर्काको संस्कृतिलाई निषेध गर्ने र शक्तिशाली भएका नाममा अन्यको संस्कृतिलाई निषेध गर्ने अनुदार प्रवृत्तिले सिङ्गो जाति नै विनाशको सङ्घारमा पुग्न सक्छ भन्ने गम्यमान अर्थ प्रस्तुत उपन्यासबाट सुवासित भएको छ । साथसाथै चिन्तन र व्यवहार आदर्शमूलक होइन यथार्थमूलक हुनु पर्छ भन्ने सारभूत पक्ष पनि यस उपन्यासबाट निष्पन्न भएको छ । आर्यहरु आफ्नै चिन्तन र दर्शनबाट पलायन उन्मुख हुन पुगेका हुन् भन्ने कुरालाई पनि यस उपन्यासमा सोमदत्तले अँगालेको जीवन चिन्तन तथा त्यसबाट उत्पन्न गम्भीर परिणमका माध्यमबाट व्यक्त भएको छ । सोमदत्तको जीवन दुर्घटित भई उपन्यासमा आर्यवंश नै समाप्त भएको देखाइएको छ । यसो हुनुमा आर्यको अन्य संस्कृतिलाई हेर्ने अनुदार संस्कृति, मान्छे भएर देवत्वमा पुग्न खोज्ने काल्पनिक आदर्श, कट्टर जातीय शुद्धताजस्ता कारणहरु रहेका छन् । सांस्कृतिक समन्वय गरी अगि बढेमा मात्र कुनै पनि जातिको जातीय अस्तित्व कायम रहि रहन्छ भन्ने गूढार्थ पनि प्रस्तुत उपन्यासमा सन्निहित छ । सुम्निमाले सोमदत्तको छोरो र आफ्नी छोरीका बिचमा विवाह भइ सकेपछि दिएका आशीर्वादहरुले यस कुराको अभिव्यञ्जना गरेको छ । तलका साक्ष्यबाट सप्रमाण यस कुराको पुष्टि गर्न सकिन्छ :
साक्ष्य १
छोरी ! आज तैँले जसलाई दुलाहा मानेर रोजेकीछस् त्यो बाहुनको छोरो हो । उसको रगत अर्कै छ । उनीहरु हावाका प्राणी हुन् हावामा धाइ रहन खोज्ने । उनीहरुलाई यो जीवनको पूर्णताले सन्तोष हुँदैन । त्यसको शून्यताले उनीहरु आकर्षित हुन्छन् । …भोग विलास र आफ्नो शरीरसम्मलाई त्याग्न उनीहरु बेर मान्दैनन् । …र तेरो रगत चाहिँ अर्कै छ । हामी माटोका प्राणी हौँ । माटोसँग हाम्रो प्रेम छ । …हाम्रालागि हाम्रो शरीरनै सबैभन्दा प्यारो छ (पृ. ९३) ।
साक्ष्य २
छोरा ! तिम्र बा ठुला तपस्वी थिए । तिमी उनैका सन्तान हौ । आज तिमीले एउटी किराती छोरीलाई आफ्नी पत्नी बनायौ । उसको किराती स्वभाव चञ्चल छ । ऊ आफ्नो शरीरबाहेक अरु केही कुरो पनि चिन्दिन । तिम्रा उडाइमा कुन्नि कति टाढासम्म जान सक्ली । तर यदि उसको जाति परम्परालाई बुझ्यौ भने र उसले हिँडिरहेको बाटोलाई पनि देख्यौ भने मेरी छोरीलाई तिमी राम्ररी बुझ्न सक्नेछौ । छोरीले पनि तिम्रो कुरा बुझेर आफ्नो बाटोलाई केही छाड्न तयार हुनु पर्छ । त्यस्तै तिमीले पनि सम्झौता गर्ने प्रयत्न गर्नु पर्छ ,ं आफ्नो बाटोलाई केही छोड्न तयार भएर । तिमीहरुका सन्तानले सम्झौताको बाटो झिक्न सक्ने होऊन् (पृ. ९४) ।
माथिका साक्ष्यहरुले प्रस्तुत उपन्यासले मुख्य रूपमा देखाउन खोजेको केन्द्रीय अभिप्रायलाई प्रस्तुत गरेको छ । समन्वय र मेलमिलापको बाटो हिँड्नु पर्ने धारणाले विश्वेश्वर प्रसाद कोइरालाले अघि सारेको मेलमिलापको नीतिलाई समेत अभिव्यञ्जित गरेको छ । दुईवटा संस्कृतिहरु मिलेर अघि बढ्नु पर्ने अभिव्यञ्जना पनि प्रस्तुत भएको छ । माथिको साक्ष्यमा आफ्नो संस्कृतिलाई लत्याएर अरुको संस्कृतिमा समन्वयका नाममा हामफाल्नु वा आफ्नो अस्तित्व छोड्नु होइन बरु दुवै संस्कृतिले आफ्ना अतिवादी हठहरुलाई छाडेर मिलनको बिन्दुमा आउनु पर्छ भन्ने ध्वन्यात्मक अनुरणन प्रस्ट रूपमा अभिव्यक्त भएको छ । यही भाव नै प्रस्तुत उपन्यासमा निहित केन्द्रीय व्यङ्ग्यार्थ पनि हो । यही व्यञ्जनागम्य अर्थका कारण प्रस्तुत उपन्यासलाई नेपाली साहित्यको एक उत्कृष्ट उपन्यासका रूपमा मूल्याङ्कन गर्न सकिने आधार प्राप्त भएको छ ।
४. निष्कर्ष
प्रस्तुत आलेखमा पूर्वीय काव्य सिद्धान्तमा प्रतिपदित ध्वनि शास्त्रका आधारमा विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित सुम्निमा उपन्यासको विश्लेषण गरिएको छ । सुम्निमा उपन्यासले सांस्कृतिक समन्वयमा जोड दिएको छ । जातीय कट्टरता, अन्य संस्कृतिलाई उदारतापूर्वक लिन नसक्ने शुद्धतावाद जस्ता कारणले आर्य संस्कृति पतन भएको देखाएर संस्कृति आदर्श र अव्यवहारिक भएमा त्यसले जीवनलाई जटिल मोडमा पु¥याउने र त्यसको कार्यान्वयन तह फित्तलो हुन गई अनेकौँ कठिनाइ आइ पर्ने तथ्यलाई समेत प्रस्तुत उपन्यासले कलात्मक रूपमा अभिव्यञ्जित गरेको छ । साथसाथै त्यसले गम्भीर नकारात्मक परिणम निम्त्याउन सक्ने तथ्यप्रति पनि यस उपन्यासले सङ्केत गरेको छ । यसको पुष्टि सोमदत्तको दुर्घटित जीवन सन्दर्भबाट भएको छ । आर्य संस्कृतिका नाममा सोमदत्तले जुन जीवन चिन्तन अपनाएको छ त्यो अत्यन्त अप्रकृतिक र अव्यवहारिक छ तथा त्यसले आर्य जातिलाई विनाशको मार्गतर्फ डो¥याएको छ भन्ने मूल अर्थ यस उपन्यासमार्फत् ध्वनित भएको छ । अतः संस्कृतिका नममा सङ्कीर्णता, जातिवादी कट्टरता, जातीय शुद्धता, अनुदारता, असमावेशी चरिजस्ता विशेषताहरु जातीय संहारका मुख्य कारक तत्त्वहरु हुन् भन्ने गूढ रहस्यको कलात्मक उद्घाटन पनि यसमा भएको छ । कोइरालाले जुन समयमा यो उपन्यास लेखे त्यस समयमा भारतमा जातीय आन्दोलन उत्कर्षमा थियो । नेपालमा पनि त्यसको प्रभाव देखिएको थियो । राजतन्त्रात्मक हिन्दु सामन्ती व्यवस्थाले तत्कालीन समयमा अन्य जतजातिहरु अधीनस्थ वर्गका रूपमा रहेका थिए । तिनीहरुबाट प्रभुत्वशाली भनिएको वर्गका विरुद्ध आन्दोलन हुन सक्ने र त्यसले द्वन्द्वको अवस्था सिर्जन ागर्न सक्ने सम्भावना थियो । त्यस्तो सम्भावित जातीय द्वन्द्वलाई रोक्नका लागि कोइरालाले यस उपन्यासमार्फत् सांस्कृतिक समन्वयमा जोड दिएका छन् । यसबाट कोइराला एक दूरदर्शी तथा शान्तिकामी र अहिंसावादी व्यक्तिका रूपमा यस उपन्यासमा देखा परेका छन् । उनको सांस्कृतिक समन्वय आफ्ना मूल राजनीतिक दर्शन मेलमिलमप नीतिे का रूपमा समेत अभिव्यञ्जित भएको छ ।
सन्दर्भ सामाग्री सूची
आनन्दवर्धन- ध्वन्यालोक (टीका विश्वेश्वर) । वाराणसी : ज्ञान मण्डल लिमिटेड, १९६२ ई. ।
उपाध्याय, केशवप्रसाद- पूर्वीय साहित्य सिद्धान्त । ललितपुर : साझा प्रकाशन, २०५५ ।
कोइराला, विश्वेश्वर प्रसाद- सुम्निमा । (सा.सं) ललितपुर : साझा प्रकाशन, २०६८ ।
ढुङ्गेल, ज्ञानु. “समयलाई सलाम गजलमा ध्वनि सौन्दर्य”.प्राज्ञिक संसार २/३ (२०७०, असार, ४३–४८)
नेपाल, शैलेन्द्र प्रकाश- माधव घिमिरेका खण्डकाव्यको ध्वनितात्विक अध्ययन । काठमाडाै : युनिक एजुकेसन पब्लिकेसन, २०६८ ।
बराल, ईश्वर र अन्य- नेपाली साहित्य कोश । काठमाडौँ : नेपाल राजकीय (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) प्रज्ञा प्रतिष्ठान, २०५५ ।
भट्टराई, गोविन्द प्रसाद- पूर्वीय काव्य सिद्धान्त । काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०३१ ।
मम्मट- काव्य प्रकाश (व्याख्या सत्यव्रत सिंह) । वाराणसी : चौखम्बा विद्याभवन, २००७ ई. ।
विश्वनाथ- साहित्य दर्पण । (व्याख्या सत्यव्रत सिंह). वाराणसी : चौखम्बा विद्याभवन, १९९७ ई. ।
साहित्य प्रदीप- काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार, २०५८ ।
सुवेदी, जीवनाथ- “मैनालीको कर्तव्य कथामा ध्वनि सौन्दर्य” प्राज्ञिक संसार २/३ (२०७०, असार) १९–२८ ।
Leave a Reply