• २०८१ कार्तिक २०
  • ताप्लेजुङमा “सिर्जना-उत्सव” सम्पन्न


    निरूपण
    निरूपण

    फुङलिङ, २७ फागुन नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको आयोजना र फुङलिङ नगरपालिका तथा कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङको सहयोगमा फागुन २६ गते फुङलिङस्थित सिटी हलमा सिर्जना उत्सव सम्पन्न भएको छ ।

    नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षता र वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा फुङलिङ नगरपालिकाका नगरप्रमुख अमीर मादेन, कञ्चनजंघा साहित्य प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई, कवि, लेखक तथा पत्रकारहरूको बाक्लो उवस्थिति थियो ।

    कार्यक्रममा इलामका कवि विमल वैद्यलाई २०८० को योगेश्वर वाङ्मय पुरस्कार तथा ताप्लेजुङकै गायक तथा संस्कृतिकर्मी भरतकुमार गुरुङलाई ग्रेगरी मस्कारिनी संस्कृति पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रममा मोमिलाको नवीनतम निबन्धकृति “प्रश्नहरू त बाँकी नै रहन्छन्” तथा विमल वैद्यको कविताकृति “युगको तटमा उभिएर” को लोकार्पण पनि गरिएको थियो । ताप्लुङका तथा देशमा अन्य भागबाट यहाँ पुगेका कविहरूको कवितावाचन यस उत्सवको मूल आकर्षण थियो । स्थानीय लिम्बू जातिको संस्कृति झल्कने च्याब्रुङ नाचबाट अतिथिहरूको स्वातग गरिएको थियो ।

    यस उत्सवका लागि ताप्लेजुङबाहिरबाट फुङलिङ पुगेका स्रष्टाहरूमा तुलसी दिवस, डा. विमल कोइराला, कृष्ण न्यौपाने, अनिता कोइराला, उषा शेरचन, अशेष मल्ल, सावित्री मल्ल कक्षपति, मोमिला, राजेश्वर कार्की, डा. अमर शाह, हरिप्रसाद मानसाग्नि, केशव सिग्देल, भूपीन, जयदेव भट्टराई, मणि लोहनी, सुन्दर बस्नेत, विमल वैद्य, जानकी बस्नेत, महेश पौड्याल तथा महेश कार्की क्षितिज सामेल थिए । कार्यक्रमको दोस्रो दिन फुङलिङको माउन्टेन होटलमा निबन्धकार मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्” तथा विमल वैद्यको “युगको तटमा उभिएर” माथि विशेष परिसंवाद सम्पन्न भयो । महेश पौड्यालले मध्यस्थता गरेको उक्त कार्यक्रममा समालोचक प्रा. डा. सावित्री मल्ल कक्षपति तथा सर्जक उषा शेरचनले विवेचना गरेका थिए भने कवि केशव सिग्देलले आफ्नो पाठकीय टिप्पणी प्रस्तुत गरे । कृतिकारहरूले भने आ-आफ्ना लेखनका पृष्ठभूमि र लेखकीय दावी प्रस्तुत गरेका थिए ! यात्राका दौरान स्रष्टाहरूलाई इलाम नगरपालिकाले इलाम बजारमा भव्य स्वातग गरेको थियो भने यसै नगरपालिकाको वडा नं ७ ले विदाइ गरेको थियो ।

    यसअघि यात्रारत स्रष्टाहरूले प्रसिद्ध लोकगायक लक्ष्मीप्रसाद जोशीलाई झापाको दमकस्थित सङ्गम स्विट्सको सभाभवनमा विशेष सम्मान अर्पण गरेको थियो । नपाली कलासाहित्य डट कम प्रतिष्ठानले हरेक वर्ष स्थानीय संघसंस्थाहरूसँगको सहकार्यमा काठमाडौंबाहिर कला-साहित्य यात्रा, र सिर्जना-उत्सवको आयोजना गर्दै आएकाे छ ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *