• २०८१ चैत्र ५
  • कवि विमल वैद्यको कविताकृति ‘युुगको तटमा उभिएर’ सार्वजनिक


    निरूपण
    निरूपण

    काठमाडौं । कवि तथा पत्रकार विमल वैद्यको कविताकृति ‘युगको तटमा उभिएर’ आज शनिबार एक समारोहका बीच सार्वजनिक गरिएको छ । कृतिभित्र समाजविज्ञान, समय र जीवन भोगाइका उतारचढाव समेटिएका छन् ।
    कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मान्छेका सुक्ष्म अनुभूतिहरू कविता बनेर प्रफुटित हुने हुँदा वैद्यका कविताभित्र त्यस्तै खालका भावना समेटिएको औंल्याए । ‘कविहरू जब आफूसँग कुरा गर्छन्, तब कविता जन्मिन्छ,’ उनले भने, ‘कवितामा निजत्व र मौलिकता हुनुपर्छ, ती विशेषता वैद्यका कवितामा प्रचुरमात्रामा पाइन्छन् ।’

    दिवसको प्रमुख आथित्य तथा कवि डा. विमल कोइरालाको अतिथ्यमा सार्वजनिक गरिएको कृतिमा कथाकार एवम् समालोचक महेश पौड्याल तथा कवि, निबन्धकार मोमिलाले समीक्षात्मक टिप्पणी गरेका थिए । कृतिमाथि टिप्पणी गर्दै पौड्यालले सुक्तिमा उभिएर कविता कालजयी बन्ने बताए । ‘विविध विधामा बाँडिएका कवि विमलका कविता सुक्तिमय छन्, उनी व्यक्तिगत अनुभूतिलाई शाब्दिक अनुभूतिसँग जोड्न सक्ने खुबी भएका कवि हुन्,’ उनले भने, ‘वैद्यले आफूले बाँचेको समय र समाजलाई विद्रोही बनेर पनि नियालेका छन् ।’

    यसैगरी, अर्की समीक्षक मोमिलाले वैद्यलाई कविताको लय नभत्काई सिर्जना गर्न सक्ने सिद्धहस्त कविको रूपमा उभ्याइन् । ‘संवेदनाको गहिराईमा पुगेर सिर्जित कविताका बुनोट उत्कृष्ट छन्,’ उनले भनिन्, ‘साथै, उनका कवितामा कल्पनाशिलता, वैचारिक तत्व र प्राकृतिक धर्मको घुलनशीलता पाइन्छ ।’

    वरिष्ठ पत्रकार तथा सहित्वकार किशोर नेपालले वैद्य आफ्नै शैलीको मौलिकता बोकेका कवि रहेको टिप्पणी गरे । साथै, उनलाई कुनै पहिचान दिइरहन आवश्यक नरहेको पनि बताए । उता, वैद्यले आफूले सामाजिक विषयवस्तुको निकट रहेर कविता सिर्जना गरेको बताए । ‘कुनै सिर्जना घरका सबै परिवार सँगै बसेर पढ्न सकियोस्,’ उनले प्रस्ट्याए, ‘मान्छेको जीवन, समकालीन घटनाक्रम, समाज र राजनीतिका कुरा लेख्दा नाङ्गो नहोस् । म त्यो पक्षमा सधैँ सचेत रहने गरेको छु ।’

    प्रेम लेख्दा भद्दा नहोस्, कविता लेख्दा शब्दहरूको थुप्रो नहोस् भन्ने पक्षमा समेत आफू सचेत रहेको उनको भनाइ थियो । सार्वजनिक समारोहमा वरिष्ठ गायक गणेश रसिक, कवि तथा पूर्वमुख्य सचिव कोइराला, नायक सरोज खनाल, सञ्चारकर्मी तथा फिल्मकर्मी दिनेश डिसी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कवि वैद्यकै कृतिभित्रबाट कवि स्नेह सायमीले आवाजहरूका लहर, ब्रजेश खनालले गोप्य कोठा, राजेन्द्र शलभले असिना र प्रज्वल अधिकारीले प्रलयको आँधी कविता वाचन गरेका थिए । कार्यक्रम कवि महेश कार्की क्षितिजले सञ्चालन गरेका थिए । पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको ३४ कविता संग्रहित ‘युगको तटमा उभिएर’ कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *