१८ कार्तिक २०८० डालस, अमेरिका साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित भएका छन् । डालस सोसाइटी अफ अमेरिकाले साहित्यकार पौड्याललाई उनको साहित्यिक योगदानको कदर गदै ‘करेजियस सर्भिस अवार्ड’ बाट शनिबार डालसस्थित नेपाली मन्दिरको सभाभवनमा सम्मानित गरेको हो ।
नेपाली सोसाइटी अफ डालसका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा आयोजित उक्त विशेष कार्यक्रममा नेपाली सोसाइटी अफ डालस, ग्लोबल नेपाली स्कूल तथा श्रष्टा साँझ अमेरिकाले आयोजना गरेको एक संयुक्त कार्यक्रममा कवि वैकुण्ठराज आचार्यको अंग्रेजी कवितासंग्रह ‘द लोस्ट पेब्बल्स’ को पनि विमोचन गरियो । विमोचित कृतिमाथि बोल्दै समालोचक महेश पौड्यालले भने, आचार्यका कवितामा पीडाको विरेचन, अतीत मोह, प्रकृतिप्रेम र स्वदेशको मायाजस्ता भावहरूको बाहुल्य पाइन्छ । आयार्चका कविता सरल, गम्भीर र विम्बात्मक रहेको पनि उनले टिप्पणी गरे ।
स्कुले विद्यार्थीहरूबीच भएको सिर्जनात्मक लेखक प्रतियोगिताको पुरस्कार वितरणको कार्यक्रम पनि सोही अवसरमा नगरिएको थियो । साहित्यकारहरू वैकुण्ठराज आचार्य, डा. युवराज अर्याल तथा महेश पौड्याल निर्णायक रहेको एक मूल्यांकन समितिले निम्न माध्यमिक कक्षातर्फ कुसाग्र वाग्ले, आर्यन ज्ञवाली र रिभा पाण्डेलाई क्रमशः प्रथम, द्वितीय र त्रितीय घोषित गरेको थियो भने माध्यमिक कक्षातर्फ अन्वेषिका थापा, रितिका पन्त र रुद्र खरेललाई क्रमशः प्रथम, द्वितीय तथा तृतीय पुरस्कार विजेता घोषणा गरेको थियो । विजेताहरूलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा ग्लोबल नेपाली स्कुलका प्रधानाचार्य पुशपति तिमल्सिना, ग्लोबल सोसाइटी अफ डालसका अध्यक्ष राजेन्द्र वाग्ले तथा डालस क्षृेृत्रका अन्य मूर्धन्य साहित्यकारहरूको विशेष सम्बोधन रहेको थियो । यस अवसरमा लेखक महेश पौड्याल र पाठकबीच अन्तरक्रिया तथा पुस्तक हस्ताक्षर कार्यक्रम पनि सम्पन्न भयो ।
Leave a Reply