कति दुःखी हुन्छौ तिमी दुःख दिने हाँसिरा’छ
तिम्रो पीडा हेरी हेरी मुस्कुराउँदै नाचिरा’छ
तिमी जोडिरन्छौ माया खोजी प्रेम दायाँ बायाँ
के नै अर्थ भो र आखिर उसले सबै भाँचिरा’छ !
।।१।।
चाँदनीले रङ्गाएको आकाशकी परी तिमी
गयो नीद राती तर नीद पाए सरी तिमी
नजिकिए टाढा भाग्छौ टाढा रहे रिसाउँछौ
चियाउँछौ मुटुभित्र किन घरीघरी तिमी ?!
।।२।।
तिम्ले पुज्ने देउता स्वयं उसको देउता बेची हिँड्छ
श्रद्धाको फूल चपाउँदै घुसको देउता बेची हिँड्छ
मन्दिर धाउँछ, टीका लाउँछ, असीम निष्ठा देखाउँछ
अनि कानमा सिउरिएको कुसको देउता बेची हिँड्छ!
।।३।।
Leave a Reply