• २०८१ माघ १३
  • विमल गिरीका पाँच मुक्तक


    विमल गिरि
    विमल गिरि

    आगोले पोल्दैन तिम्रो घात सहेदेखि आजसम्म

    म त्यही दोबाटोमा छु तिमी गएदेखि आजसम्म

    बोक्रा ताछिएको डाँडाको बूढो पीपलजस्तो

    एक्लै छु तिमीबाट एक्लो भएदेखि आजसम्म

    ।।१।।

    भित्रै दुख्नेगरि समयले कुट्यो, तिमी छुट्यौ

    किस्ता किस्तामा भाग्य फुट्यो,तिमी छुट्यौ

    मैले माया के हो त्यो दिन मात्र जानेको हुँ

    जब मबाट ‘पैसा’भन्ने चीज छुट्यो,तिमी छुट्यौ

    ।।२।।

    सँधै यादमा बगेका आँशुलाई सम्झिनु हुँदैन

    हुदैन अपरिचितबाट दिनु हुँदैन लिनु हुँदैन

    जिन्दगीमा अप्ठ्याराहरु आउछन जान्छन

    आपदमा कैले आत्तिनु हुँदैन हतारिनु हुँदैन ।

    ।।३।।

    गाउँका आफन्त सम्झदा तिर्खा हरहर लाग्छ

    गुन्द्रुक ढिडो सम्झदा पिजा बर्गर जहर लाग्छ

    गाउँको सम्झना बोकेर जब बतास बन्छ मन

    परदेशमै जिन्दगी टुङ्गिन्छ कि भन्ने डर लाग्छ

    ।।४।।

    काँडा बोकेर अंगालोमा बेर्नेहरु छन् यहाँ

    अंगालो बेरेरै घाँटी समेत सेर्नेहरु छन् यहाँ

    यो रङ्गीन दुनियाँ केवल आँखाको भ्रम मात्र हो

    सेकेन्ड सेकेन्डमा आफ्नो रङ फेर्नेहरु छन् यहाँ

    ।।५।।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री