• २०८३ असार ३२
  • २१३औँ भानुजयन्तीका अवसरमा ‘आनन्द उपहार’ कविता सङ्ग्रह विमोचन


    निरूपण
    निरूपण

    बैंकक । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा कवि तिलक पोखरेलको दोस्रो कविता सङ्ग्रह ‘आनन्द उपहार’ बैंककस्थित थाइ नेपाली सङ्घ (टीएनए) को सामाजिक भवनमा आयोजित समारोहबीच विमोचन गरिएको छ ।

    नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर वली प्रमुख अतिथि रहेको कार्यक्रममा उहाँ र श्रीमती मीना वलीले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो । विमोचनपछि राजदूत वलीले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका साथै सिर्जनात्मक लेखनलाई निरन्तरता दिनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले ‘आनन्द उपहार’ ले नेपाली साहित्यमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    समारोहमा साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, विश्व नेपाली वाङ्मय प्रतिष्ठानकी अध्यक्ष रीता खत्री, प्रतिष्ठानकी सदस्य डा. विन्दु शर्मा, जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईं तथा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

    कार्यक्रममा नेपाली राजदूतावास, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), थाइ नेपाली सङ्घ (टीएनए), पीएनओ, तामाङ समाज, नेवा समाज, मगर–गुरुङ समाज, किरात समाज तथा संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूका साथै थाइल्यान्डस्थित विभिन्न नेपाली सङ्घ–संस्थाका पदाधिकारी, साहित्यकार, समाजसेवी र नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

    ‘आनन्द उपहार’ कवि तिलक पोखरेलको दोस्रो कविता सङ्ग्रह हो । सङ्ग्रहमा जीवन, समाज, मानवीय संवेदना, प्रेम, प्रवासी जीवनका अनुभूति तथा समकालीन यथार्थलाई केन्द्रमा राखिएका कविताहरू समेटिएका छन् । २१३औँ भानुजयन्तीका अवसरमा आयोजित उक्त कार्यक्रम नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *