• २०८३ जेष्ठ २५
  • कन्टेन्ट र कलाकारिता नै सिनेमाको सफलता निर्धारण गर्ने आधारः 



    काठमाडौँ । वरिष्ठ अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रको सफलता कुनै कलाकारको नाम वा स्टारडमले मात्र नभई कथावस्तु र कलाकारिताले निर्धारण गर्ने बताएकी छन् ।

    चौथो काठमाडौं कलिङ साहित्य महोत्सवअन्तर्गत आयोजित ‘सिनेमा : हिजो, आज र भोलि’ विषयक छलफलमा बोल्दै उनले नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे आफ्नो अनुभव साझा गरिन् ।

    ‘कुनै कलाकारको अनुहार वा नामका आधारमा मात्रै सिनेमा चलेको छैन । हिजो पनि विषयवस्तु नै बोल्थ्यो, आज पनि बोल्छ र भोलि पनि बोल्ने त्यही हो’ उनले भनिन् ।

    चलचित्र क्षेत्रमा चार दशकभन्दा बढी समय बिताएकी मल्लले आफ्नो सुरुवाती यात्रा सम्झँदै पहिले पनि कलाकारसँग औपचारिक सम्झौता हुने गरेको तर बीमाको व्यवस्था नभएको बताइन् । अहिले भने बीमा अनिवार्य भइसकेको उनको भनाइ थियो ।

    उनले आफ्नो समयलाई नेपाली चलचित्रको ‘स्वर्ण युग’ को संज्ञा दिँदै त्यसबेला दर्शक र कलाकारबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिन् । ‘हामीलाई दर्शकले घरमा बोलाएर दही, मोही र गुन्द्रुकसम्म उपहार दिनुहुन्थ्यो । अहिले त्यो आत्मीयता कम हुँदै गएको छ,’ उनले भनिन् ।

    कार्यक्रममा अभिनेता बुद्धि तामाङले नेपाली चलचित्रमा चरित्र कलाकारहरूको भूमिका र पहिचान विस्तार हुँदै गएको बताए । पहिले चलचित्र केही सीमित पात्र वरिपरि केन्द्रित हुने गरे पनि अहिले कथाले विभिन्न पात्रलाई समान अवसर दिन थालेको उनको धारणा थियो ।

    ‘आजको सिनेमाले सहायक कलाकारलाई पनि दर्शकमाझ स्थापित हुने अवसर दिएको छ’ उनले भने । आफूलाई एउटै प्रकारका भूमिकामा सीमित गरिने गरेको अनुभव सुनाउँदै उनले चलचित्र क्षेत्रमा ‘सेफ जोन’ खोज्ने प्रवृत्तिले केही समयसम्म एउटै ढाँचाका पात्र र कथाहरू दोहोरिने गरेको बताए ।

    अभिनेत्री रेणुनाथ योगी ले नेपाली चलचित्रमा महिलाका पात्रको प्रस्तुतीकरणमा सुधार भए पनि महिला मनोविज्ञानलाई अझ गहिराइमा बुझेर कथा लेखिनुपर्ने आवश्यकता औँल्याइन् ।

    ‘महिला पात्रहरू अहिले पहिलेभन्दा बढी केन्द्रमा आएका छन्। तर महिला मनोविज्ञानको वास्तविक गहिराइ अझै पर्याप्त रूपमा कथामा समेटिएको देख्दिनँ,’ उनले भनिन् ।

    छलफलको सहजीकरण पत्रकार लक्ष्मी बलायरले गरेकी थिइन । कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्र उद्योगमा प्रविधिको विकास, कलाकारहरूको चुनौती, दर्शकको बदलिँदो रुचि तथा चलचित्रको भविष्यका सम्भावनाबारे पनि विचार राखेका थिए ।

    कार्यक्रममा सहभागीहरूले नेपाली चलचित्रको विकासक्रमलाई थप सशक्त बनाउन गुणस्तरीय कथा, उपयुक्त कलाकार छनोट र व्यावसायिक संरचनाको विकास आवश्यक रहेको धारणा व्यक्त गरे ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *