• २०८३ जेष्ठ २५
  • भाइरल भनेको भाइरसजस्तै हो, भ्याक्सिन नआउञ्जेलमात्रै टिक्छ …


    निरूपण
    निरूपण

    मनोज गजुरेलको सामाजिक सञ्जालबारे रोचक व्यंग्यः भाइरल भनेको भाइरसजस्तै हो, भ्याक्सिन नआउञ्जेलमात्रै टिक्छ चर्चित नेपाली हास्यव्यंग्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालको बढ्दो प्रभाव र ‘भाइरल’ संस्कृतिमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्।

    चौथो काठमाडौँ कलिङ साहित्य महोत्सवमा बोल्दै उनले सामाजिक सञ्जाललाई आधुनिक समाजको नयाँ ‘वर्ग विभाजन’ को माध्यमका रूपमा चित्रण गर्दै विभिन्न प्लेटफर्म प्रयोग गर्ने व्यक्तिलाई फरक–फरक वर्गसँग तुलना गरेका छन्।

    उनले टुइटर ‘एक्स’ प्रयोगकर्ताले आफूलाई उच्च वर्ग, फेसबुक प्रयोगकर्ताले मध्यम वर्ग, इन्स्टाग्राम प्रयोगकर्ताले जेन–जी वर्ग र टिकटक प्रयोगकर्ताले सर्वहारा वर्ग ठान्ने प्रवृत्ति देखिएको बताए। ‘सोसल मिडिया हामीले चाहेर वा नचाहेर पनि हाम्रो माध्यम र वर्ग बनेको छ । सामाजिक सञ्जालको कुन प्लेटफर्म प्रयोग गर्छ, त्यसले पनि डिफाइन गर्छ कि मान्छे कुन वर्गको हो,’उनले थपे, ‘ट्वीटर वालाले आफूलाई उच्च वर्ग ठान्दो रहेछ, फेसबुकले मध्यम वर्ग, इन्स्टाले जेनजी वर्ग, टिकटकले सर्वहारा वर्ग।’

    गजुरेलले अहिले ‘भाइरल हुने’ मोह सबै वर्गका मानिसमा फैलिएको उल्लेख गर्दै यसप्रति सचेत रहन आग्रह गरेका छन्।

    उनले भाइरललाई भाइरससँग तुलना गर्दै भनेका छन् कि भाइरल लोकप्रियता भ्याक्सिन नआउँदासम्म मात्रै टिक्ने भाइरसजस्तै अस्थायी हुन्छ। ‘अहिले भाइरल हुने रोग सबै वर्गलाई लागेको छ । यसबाट बचौँ। किनभने भाइरल भनेको भाइरसजस्तै हो, भ्याक्सिन नआउञ्जेलमात्रै टिक्छ ।’ उनको भनाइमा, क्षणिक चर्चाभन्दा निरन्तर संघर्ष, मेहनत र लगनशीलताले प्राप्त गरेको सफलता नै दीर्घकालीन हुन्छ।

    भाइरल केही समयका लागि मात्र रहने भन्दै उनले संघर्ष गरेको मान्छे सधैं टिक्ने सन्देश उनले आफ्नो व्यंग्यमार्फत दिएका छन्।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *