‘काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ)’ को चौथो संस्करण सुरू भएको छ।
ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सव पूर्वप्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी हुन्। नेपाल भारतको साझा थलोका रूपमा विकसित महोत्सवलाई शुभकामना दिँदै कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफू साहित्यबाट टाढा नरहेको बताउँदै साहित्यसँग आफ्नो लेखन यात्रा, समाज, जीवन र व्यक्तिगत अनुभवसँग गहिरो रूपमा जोडिएको बताइन्। उनले भनिन्, ‘म साहित्यभन्दा टाढा छैन। मैले सन् १९९० मा ‘तारा’ मुख्य पात्र भएकी एउटा उपन्यास लेखेँ। मैले अशेष मल्लका कविताहरू हिन्दीमा अनुवाद गरेकी छु।’ विश्वप्रसिद्ध उपन्यास ‘द गुड अर्थ’ की लेखिका पर्ल एस.बकले चीनको गरिबी, खडेरी र जनजीवनबारे सूक्ष्म अवलोकनका आधारमा लेखेझैँ आफूले पनि आफ्ना अनुभव र अवलोकनलाई साहित्यमा रूपान्तरण गरेको स्मरण गरिन्। उनका अनुसार साहित्य केवल कल्पनाको उपज नभई समाज, अनुभव र मानवीय संवेदनाको अभिव्यक्ति हो र, यही विश्वासले आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहेको बताइन्।
महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महोत्सव निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नरहेको बताउँदै यसले विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने बताइन्। उनले महोत्सव केवल साहित्यिक कार्यक्रमका लागि गरिएको जमघट नभई मानिसहरूबीच आत्मीयता र समझदारी बढाउने साझा मञ्च भएको उल्लेख गरिन्। ‘साहित्यको मूल शक्ति नै यही हो, यसले भूगोलका सीमाहरू पार गर्छ, भाषागत भिन्नतालाई आत्मीयतामा रूपान्तरण गर्छ र मानिसलाई मानिससँग जोड्ने अदृश्य पुल निर्माण गर्छ’, उनले भनिन्। निरौलाका अनुसार काठमाडौं र कलिङ्ग केवल दुई भूगोलका नाम नभई सभ्यता, संस्कृति, परम्परा र गहन बौद्धिक यात्राका प्रतीक हुन्।
दक्षिण एसियाली साहित्य, संस्कृति र विचारको आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले क्षेत्रीय सहकार्य र संवादलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। ‘सीमाभन्दा पर: परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थिम रहेको महोत्सवमा नेपालसहित विभिन्न दक्षिण एसियाली मुलुकका साहित्यकार, लेखक, अनुसन्धानकर्ता तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
महोत्सवको चौथो संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रमहरू आयोजना गरिने महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले जानकारी दिए।
महोत्सवमा यस पटक सहभागीमध्ये चर्चित गायिका ईला अरुण, लेखक प्रतिभा राय, चर्चित अभिनेता, गीतकार तथा लेखक पियुष मिश्रा, लेखक एवं चलचित्रकर्मी राज शेखर, आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत छन्। त्यस्तै, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेतले महोत्सवमा सहभागिता छन्।
निर्देशक परिडाले महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिने बताए। भारतका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवहरूमध्ये एक केएलएफले सन् २०२२ देखि काठमाडौँ संस्करण आयोजना गर्दै आएको हो।
आयोजकका अनुसार यसको उद्देश्य नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई अझ बलियो बनाउनु हो।





Leave a Reply