दिवङ्गत मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित ‘डा. सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार २०८१’ वैज्ञानिक महावीर पुनलाई प्रदान गर्ने निर्णय भएको छ ।
पुरस्कार कोष व्यवस्थापन समितिको शुक्रबाट काठमाडौँमा बसेको बैठकले वैज्ञानिक पुनलाई रु १, ११, १११/- (रुपैयाँ एक लाख एघार हजार एक सय एघार) नगद राशिसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुरस्कार व्यवस्थापन कोषले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ— आफ्नो विशेषज्ञताको क्षेत्र अर्कै र विशुद्ध प्राविधिक स्वरूपको भएर पनि साहित्य, सङ्गीत, कला, खेलकुद, कानून, व्यावसायिकताको नमूना, वैज्ञानिक आविष्कारजस्ता अन्य लोकप्रिय माध्यमको प्रयोग गरी नेपाली समाजको रूपान्तरण गर्न विशिष्ट योगदान पुर्याउने प्राविधिक प्रकृतिका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक दुई/दुई वर्षमा प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना गरिएको हो । नेपाली वैज्ञानिक आविष्कारको क्षेत्रलाई सर्वसाधारण जनताको पहुँचमा पुर्याउन निरन्तर समर्पित भएर लागिरहनुभएका उदाहरणीय कर्मशील व्यक्तित्व तथा यसपूर्व नै एसियाको नोबेल पुरस्कार भनेर चिनिने रोमन म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक पुनलाई समर्पण गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
दिवङ्गत चिकित्सक डा. अर्यालकी आमा साहित्यकार सरस्वती अर्यालद्वारा स्थापित उक्त पुरस्कार यसअघि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भवगान कोइरालालाई अर्पण गरिएको थियो । पुरस्कार अर्पणको मिति र स्थान भने वैज्ञानिक पुनको कार्यव्यस्ततालाई ध्यानमा राख्दै उनलाई अनुकूल हुने गरी पछि तय गरिने जनाइएको छ ।
Leave a Reply