• २०८१ माघ १३
  • परदेशीको निरुपाय सङ्घर्षको कहानीः निरजोया


    अशोक थापा
    अशोक थापा

    डा. अशोक थापा

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

     

    दाजु गुरुङसँग व्यक्तिगत परिचय नभए पनि हामी फेसबुकमा भने जोडिएका रहेछौँ । मलाई यसअघि यत्ति थाहा थियो उनी कवि हुन् र कथाकार हुन् । उनका यसअघि टाँकीका फूललाइ-सी कथासङ्ग्रह प्रकाशित छन् । मलाई अर्को कुरा पनि थाहा थियो उनी हङ्कङ महानगरमा बसोवास गर्छन् । उनी नेपालको पूर्वी पहाडका स्थायी बासिन्दा हुन् । वास्तवमा कृतिको समीक्षा गर्न अपरिचित लेखककै मजा आउँछ । लेखकलाई वल्लो तटमा छोडेर कृतिसँग पल्लोतिरमा भलाकुसारी गर्नुको आनन्द छुट्टै हुन्छ । हो त्यस्तै तरिकाले निरजोया उपन्यास पढ्न थालेँ ।

    उपन्यासकार दाजु गुरुङको तेस्रो कृति हो निरजोया । मलेसियामा नेपालीहरूले पसिना मात्र बगाउँदैनन् सँगसँगै आँसु र पीडाको हुन्डरी पनि सहिरहेका छन् । हो यस्तै प्रदेशिएको पात्रको प्रेम र वियोगको आँधीमा रन्थनिएको पात्रको जीवनलाई चित्रण गरिएको छ उपन्यासमा । विशेष गरी, उपन्यासकारले नेपाली कामदारहरूको जीवनका दुर्दशाको मात्र उजागर गरेका छैनन् सँगसँगै पाठकलाई मलेसियाका गल्लीगल्लीमा डुलाएका छन् । यथार्थ घटनालाई टिपोट गरिएको यस उपन्यासले पाठकको मनमा गहिरो छाप छोड्न सक्ने कारण पनि यथार्थ घटनाको चित्रण हो ।

    निरजोया यस्तो ऐनाजडित उपन्यास हो जहाँ युद्धकालीन घटना, राजनीतिक आँधीबेहरी र वैदेशिक रोजगारको चक्रव्यूहलाई एकै पटक देख्न सकिन्छ । पैतालामा गरिबीको नीलकाँडा बोकेर सङ्घर्षको उकालो चढिरहेको नेपाली पात्रहरूको कथा साँच्चै रोमाञ्चक लाग्छ । धनी परिवारको नेपाली केटो निरोज मलेसियाको अन्जान आकाशमा पुगेर जोया नामकी मुस्लिम केटीको प्रेममा फस्छन् जहाँ उसको जीवनले नयाँ डोरेटोमा हिँड्न बाध्य हुन्छ । जोया आफ्नै सामाजिक मूल्यमान्यतालाई सम्मानित स्थानमा राख्ने र निरोज परिवर्तनशील पात्र हो । यस उपन्यासले निरोज र जोयाको सम्बन्धलाई सामाजिक, सांस्कृतिक र धार्मिक रङ्गहरूले सुन्दर बनाएर सजाएका छन् ।

    उपन्यासले एउटै कथात्मक धागोमा नेपाली समाजको यथार्थ प्रेम, यौनाचार र वैदेशिक रोजगारका जटिल थुँगाहरूलाई उनेको छ । डायरीको पाना पढेँझैँ लाग्ने यस उपन्यासलाई एउटा रङ्गमञ्चमा आख्यान र गैरआख्यान मिसिएको नाटक हेरे जस्तो लाग्छ । नेपाली युवाहरूको बेरोजगारीको पीडा र उनीहरूको मानसिक सङ्घर्षलाई उजागर गरिएको यस उपन्यासको भाषाशैली सहज खालको छ । भाषाकै कारण यो उपन्यास पठनीय मात्र होइन मनमोहक पनि बनेको छ ।

    निरजोया एउटा गहिरो समुद्रजस्तै लाग्यो मलाई जहाँ नेपाली डायस्पोरिक जीवनका लहरहरू निरन्तर हलचल गरिरहन्छन् । यहाँ त्यस्ता घटनाहरूको चौतारो चिनिएको छ जहाँ वैदेशिक रोजगारीको खोजीमा जीवनको सागरमा कैयन् व्यक्ति डुबुल्की मार्छन् तर हरेक पटक सतहमा आइपुग्दा उनीहरू आफ्ना सपनाहरू पानीका फोकाजस्तै टुटेको अनुभूति गर्छन् । युद्धको आँधीबेरीमा फसेको नेपाली समाजलाई यो उपन्यासले प्रस्ट देखाउँछ जहाँ जीवित रहनु नै एउटा सफलता हो तर उपन्यासको नायक निरोजको जीवन भने फरक पाएँ ऊ यस्तो लाग्छ एउटा फूल बगैँचामा रमाइरहेको छ । त्यो फूल जसलाई कुनै आँधीले पनि छुने आँट गर्दैन । उपन्यास पढ्दा कतिपय ठाउँमा आश्चर्यले निथ्रुक्क भिजेको अनुभव भयो । हो भावनामा रुझेरै मैले उपन्यास पढेर सकेँ ।

    वैदेशिक रोजगारीको कथा भएकाले यो हामी समाजको कथा हो जस्तो ठानेर मैले उपन्यास पढिरहेँ । लाखौँ नेपाली युवाको दैनिकी र समाजको प्रतिबिम्बित कहानीजस्तै लाग्यो र लाग्यो जहाँ युवाहरूको एउटा यस्तो सुनको महलको खोजीमा दुरदुरसम्म भौँतारिरहन्छन् । निरोजको मलेसियाको यात्रा ती अनगिन्ती युवा र श्रमिकहरूको झल्को दिने एक जीवन्त दृष्टान्त लाग्छ । सुन्दर सपना साकार पार्न घरपरिवार र मातृभूमि छोडिरहने युवाहरूको दस्तावेज जस्तै लाग्यो यो उपन्यास । युवाहरू सपनाको जतिजति नजिक पुग्छन् त्यो सपना त्यति नै खोक्रो बन्दै जान्छ यहाँ पात्र निरोजले जोयासँग बिताएको जीवन एउटा मरुभूमिको जस्तो लाग्छ जहाँ बाहिरबाट सबै चिटिक्क देखिए पनि भित्री खोक्रोपनले सारा जीवनलाई बिझाएको देखिन्छ। लाग्छ खासमा निरोज झ्यालढोका नभएको सुनको महलमा बसिरहन्छ ।

    वैदेशिक रोजगार चुनौतीपूर्ण छ । यसले व्यक्तिलाई व्यावसायिक सान्त्वना त देला तर चुनौतीका चाङ् कति छन् कति । यसमा व्यक्ति कामदार इमान्दार भएर लाग्न भने अनिवार्य छ । यो नै प्रस्तुत उपन्यासको मुख्य विषय हो ।

    उपन्यासमा महिला पात्र जोया एक बलियो र आत्मनिर्भर महिलाको रूपमा उपन्यास देखिइएकी छ । ऊ पितृसत्तात्मक समाजको रुखो भूमिकालाई चुनौती सफल पात्रको रूपमा देखिन्छे । उसले निरोजलाई आफ्नो साम्राज्य र समग्र जीवन ठान्छे । उनी आफ्नो पौरखले नै आफ्नो संसारलाई चलाउँछिन् तर अझै पुरुषहरूको सेवा गर्ने परम्परागत दायित्वमा जकडिएकी छ । यो विरोधाभासले प्रवासी साहित्यको एउटा गहिरो सन्देश दिन्छ जब नयाँ संस्कृति र समाजमा पहिचानको नक्सा फेरिन्छ भूमिकाहरू र शक्ति सन्तुलन पनि बदलिन्छन् । फरक आयामबाट जोयाले गरेको समर्पणले यस्तै कुरा बताउँछ ।

    प्रस्तुत उपन्यास केबल सर्सर्ती एक कहानीमात्र लाग्दैन यो एउटा गहिरो रसमा डुबेको जेरीजस्तै लाग्छ जसले आप्रवासनको अनुभवलाई जीवन्त रूपमा व्यक्त गर्छ। विदेशलाई जति विलासिता र सजिलो ठानिन्छ त्यति नै व्यक्तित्वको स्वतन्त्रता खोसिन्छ भन्ने सन्देश छ उपन्यासमा । निरोज जो जोयाको उदारतामा आश्रित छ तर आफ्नो पहिचान गुमारएर बाँचिरहेको छ । उसको जीवन एउटा अल्झिएको धागोजस्तै देखिन्छ कि ऊ सपनामा छन् कि विपनामा ? ऊ आफैँ भेउ पाउँदैन । निरोज जीवनको अस्तित्ववादी द्वन्द्वमा जकडिएको देखिन्छ ।

    निरजोया केवल नेपाली समाजको कथाजस्तो मात्र लाग्दैन यो त विश्वको साझा कथाझैँ प्रतीत हुन्छ । यो खासमा प्रेम, रोजगारी, लैङ्गिक सङ्घर्ष र सांस्कृतिक टकरावको गीत जस्तै लाग्छ । यो उपन्यास एउटा झ्याल हो जसले हाम्रो समाजको सामाजिक, सांस्कृतिक र धार्मिक विविधतालाई देखाउँछ । साथै यसले बहुविवाह, लैङ्गिक भूमिकाहरू र अन्तरसांस्कृतिक अन्तरक्रियाहरूलाई सुक्ष्म रूपले विश्लेषण गरेको देखिन्छ ।

    उपन्यासको मुख्य सरोकार पहिचानको खोजी हो। निरोज आफ्नो संस्कार र परम्पराको उपज जो नयाँ संसारको गहिराइमा आफ्नो नयाँ अस्तित्वलाई सम्हाल्न सङ्घर्ष गरिरहन्छ । जोयासँगको उनको सम्बन्धले ती तरिकाहरूको प्रतीकात्मकता झल्काउँछ जहाँ प्रवासीहरू अरूको संसारमा अल्झिन्छन् र कहिलेकाहीं आफ्नो आत्मालाई गुमाउँछन् । आत्मामा आफ्नो राष्ट्रिय परिचय बोकेर खोक्रोमा सान सौकतको जीवन बाच्नेहरूलाई यस उपन्यास कटाक्ष पनि गरेको छ ।

    अनिश्चित त्यस्तै निर्थक बाँच्नु – यही होला मान्छेले पाउने सबभन्दा कठोर सजाय । बरु सजिलो हुन्थ्यो कति समय जेल जीवन भोग्दैछौँ भन्ने थाहा भइदिए । अनिर्णयमा बाँच्नु साह्रै कठिन । अनिश्चितता बडो सकसपूर्ण (पृ. २३७) ।

    उपन्यासकार गुरुङको शैली जीवनकै धारा हो जो बग्दै जाने कहिले गहिरो त कहिले हल्का तरिकाले । उनी कथा र गैरकथानात्मक तत्त्वहरूलाई मिश्रण गरेर पाठकलाई बसाइँसराइको सुन्दर अनुभवमा सामेल गर्न चाहन्छन् । भाषाको जादुले यस उपन्यासलाई बहुसाँस्कृतिक रङमा रङ्ग्याएको छ जसले नेपाली डायस्पोरिक समाजको यथार्थलाई जीवन्त बनाएको देखिन्छ ।

    निरजोया वैदेशिक रोजगारीको खोजीमा गुमेको पहिचान, सम्बन्ध र जीवनको सारलाई पुनः खोज्ने प्रयास गरिएको उपन्यास हो । यसले पाठकलाई के सम्झाउँछ भने सुनको महलको सपना पछ्याउँदै हामीले जीवनको सबैभन्दा कीमती चीजहरूलाई ‍बेवास्ता गरिरहेका हुन्छौँ । सम्बन्ध, आफ्नोपन र आत्मचेतनामा अल्झिएर हामीले आफ्नो स्वलाई तिलाञ्जी दिएका हुन्छौँ । नेपाली कामदारहरूको मलेसियामा भोगेका सङ्घर्ष र पीडालाई उजागर गर्ने उपन्यास हो यो । यो कथामा नायक निरोजको जीवनले वैदेशिक रोजगारीको खोक्रोपनलाई झल्काउँछ जहाँ प्रेम र पीडाको मिश्रणले उनका सपना भत्काइरहेका छन् । निरोज र जोयाको सम्बन्धले प्रेम लैङ्गिक सङ्घर्ष र सांस्कृतिक टकरावलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको देखिन्छ । उपन्यासले नेपाली युवाहरूको बेरोजगारी, वैदेशिक रोजगारीको मिथक र पहिचानको खोजीलाई यथार्थ र कल्पनाको मिश्रणबाट चित्रण गरेको छ। गुरुङको शैलीले पाठकलाई नेपाली डायस्पोरिक जीवनका विविध पक्षहरूसँग गहिरो रूपमा जोडेका छन्।

    उपन्यासकारः दाजु गुरुङ

    विधाः उपन्यास

    मितिः २०८०

    प्रकाशकः फिनिक्स बुक्स

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *