• २०८१ माघ १३
  • शोधको मौखिक प्रतिरक्षा कसरी गर्ने ?


    अशोक थापा
    अशोक थापा

    थालनी

    एमए तहको मेरा विद्यार्थी तेजु तिवारीले राम्रो शोधपत्र लेखे पनि अन्तिम मौखिक परीक्षा (भाइभा) मा राम्रोसँग बोल्न सकेनन् । अन्तर्वार्ता सकिएपछि उनले भने ‘सर म नर्भस भएँ, भाइभाको कुर्सीमा बसेपछि मेरो दिमाग पूरै शून्य भयो ।’ मैले सान्त्वना दिँदै भने ‘तिमी अलि अत्तालियौ तर नम्बर राम्रो पठाएका छौँ चिन्ता नलिनू ।”

    पुस्तकालय विज्ञान पढ्दाका अर्का एक मित्र थिए उनी लोकसेवाको अन्तर्वार्तामा नौ-नौ पटक फेल भए । पुस्तकालय विज्ञान विषयको उनको एमए तहको शोधपत्रको बाह्य परीक्षक हुने मौका मलाई मिल्यो । उनले चुच्चेटोपी लगाएर भुइँतिर टाउको झुकाएर अन्तर्वार्ता दिइरहे । बाहिर निस्किएपछि मैले उनलाई भनेँ ‘यसरी घोसेमुन्टो लगाएर अन्तर्वार्ता दियौ भने १० औँ पटक पनि तिम्रो नाम लोकसेवाले छाप्दैन ।’

    माथि उल्लिखित दुई दृष्टान्त मात्र होइनन् भाइभा वा अन्तर्वार्तासँग जोडिएका धेरै घटनाहरू छन् । प्रस्तुत लेख मूलतः शैक्षिक संस्थामा डिग्री लिन विविध तहमा सामना गर्नुपर्ने अन्तिम मौखिक परीक्षा (भाइभा) लाई सहजीकरण गर्ने उद्देश्यले लेखिएको हो ।

    भाइभा के हो ?

    शैक्षिक अनुसन्धानको यात्रा प्रस्तावलेखनबाट आरम्भ हुन्छ र शोधपत्र मौखिक प्रतिरक्षाको टेबुलमा पुगेपछि अन्त्य हुन्छ। शोधको थालनी र टुङ्ग्याउनी दुबै पक्षलाई मौखिक प्रतिरक्षा नामक पुलले जोडेको हुन्छ । शोधको मार्गमा ‘प्रपोजल डिफेन्स’ बाट अनुसन्धानयात्राको पाइला अगाडि बढ्छ । जब शोधको फल प्राप्ति हुन्छ त्यसलाई सार्वजनिक गर्न वा प्राप्त निष्कर्षलाई परिमार्जित गर्न र प्रमाणित गर्न पुनः मौखिक प्रतिरक्षामा उभिनु पर्ने हुन्छ । यो प्रक्रिया अनुसन्धानको विधि अनुसारको नियमित प्रक्रिया हो ।

    विश्वभरका अधिकांश विश्वविद्यालयले भाइभालाई अनुसन्धाको अनिवार्य साधनका रूपमा अङ्गीकार गरेको पाइन्छ । यो शोधलेखनको मानक विधिमा आधारित हुन्छ। नयाँ तथ्य, ज्ञान, र सिद्धान्तलाई सार्वजनिक गर्ने विशेष कार्यक्रम नै मौखिक प्रतिरक्षा हो।

    अनुसन्धानको अन्तिम लक्ष्य जनकल्याण भएकाले मौखिक प्रतिरक्षाले विशेष महत्त्व पाउँछ । अनुसन्धानको प्रमुख नतिजालाई सार्वजनिक रूपमा बाँड्ने खास समारोहका रूपमा भाइभालाई बुझिने भएकाले अनुसन्धानकर्ताले सजग र सतर्क भएर यसमा भाग लिनुपर्छ । शैक्षिक अनुसन्धानमा अन्तिम भाइभाविना ठूलो मिहिनेतले हासिल गरिने उपाधि हात नलाग्न सक्छ ।

    त्रिभुवन विश्वविद्यालयमा पनि लगभग ७ दशकको अनुसन्धान अभ्यासको इतिहास छ । यहाँ विभिन्न संकायहरू (जस्तै विज्ञान प्रविधि, चिकित्सा, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, वनविज्ञान, मानविकी, शिक्षा, व्यवस्थापन, कानुन) र विविध स्तर (स्नातक, स्नातकोत्तर, एम.फिल, पिएचडी) का शोधलेखन गरिन्छ । त्यसैले अन्तिम मौखिक प्रतिरक्षा (भाइभा डिफेन्स) का आधारभूत पक्षहरू थाहा पाउनु वाञ्छनीय छ । यो लेख पनि त्यही उद्देश्यलाई परिपूर्ति गर्न गरिएको एउटा प्रयास हो ।

    पूर्वतयारी

    पूर्वतयारीविना कुनै पनि कार्य गरिँदैन । तयारीविना गरिएको काम कुशलतापूर्व सम्पन्न गर्न गाह्रो पनि हुन्छ । शोधार्थीले के सम्झनु पर्छ भने शोधको प्रतिरक्षा एउटा औपचारिक परीक्षा हो । शोधार्थीले सम्पन्न गरेको धोधपत्रको अन्तिम साफी लिएर प्रतिरक्षा स्थलमा जानुपर्छ । आफूले लेखेका हरेक वाक्यको जिम्मेबार व्यक्ति भनेको अनुसन्धाता स्वयं हो । अन्तर्वार्ताका क्रममा के–कसरी बोल्ने ? कस्ता शब्द प्रयोग गर्ने ? कस्तालाई छोड्ने ? कम्प्युटरबाट प्रस्तुतीकरण दिने हो भने विद्युतीय प्रति (पावर पोइन्ट) तयारी गरेर लग्न बिर्सनु हुँदैन । शोध र प्राविधिक पक्ष अन्योन्याश्रित छन् । शोधमा प्रयोग भएका सैद्धान्तिक र व्यवहारिक पक्षहरूलाई सचेत र गहन तरिकाले पढ्नुपर्छ । शोधप्रतिरक्षा कहाँ ? कहिले ? कसरी ? हुँदैछ पूर्ण जानकारी राख्नुपर्छ । कार्यालयले तोकेका आवश्यक सामग्री लिएर मौखिक परीक्षा स्थल जानुपर्छ । जब वार्तालाप सुरु हुन्छ प्रथमतः प्रश्नलाई राम्रोसँग सुन्नु पर्दछ, विशेषज्ञले साह्रै सामन्य प्रश्न पनि सोध्न सक्छन् र उत्तिकै जटिल पनि । विशेषज्ञले के मान्यता राख्छन् भने तपाइँ आफ्नो शोधको कति गहिराइमा पुग्नु भएको छ । परीक्षा लिन आएका विशेषज्ञ पनि मानव भएकाले उसलाई सकेसम्म खुसी बनाउनु पर्छ । रिसाउने, चिड्याउने बनाउनु हुँदैन । नकारात्मक प्रतिक्रिया दिनुहुँदैन, बढी उत्साही र हतोत्साही हुनुहुँदैन ।

    आत्मविश्वासी देखिनु भाइभा दिने व्यक्तिका लागि अनिवार्य सर्त हो । यसले अनुसन्धानको गरिमालाई मात्र उचो राख्दैन अनुसन्धाता आफ्नो कामप्रति के-कति इमान्दार र सचेत छ भन्ने पनि बोध गराउँछ । सकेसम्म आफ्नो अनुसन्धान शीर्षक, अनुसन्धानबाट प्राप्त निष्कर्ष र यसको आगामी दिनमा हुने महत्त्वका विषयमा यथेष्ट प्रकाश प्रकाश पार्नुपर्छ जसले गर्दा उक्त भाइभामा उपस्थित हुने व्यक्तित्वलाई यहाँले गरेको शोधको गरिमाको विषयबोध हुन्छ ।

    प्रायः सबैजस्तो मौखिक प्रतिरक्षाको आरम्भ आफ्नो परिचयबाट हुनेगर्छ । आफ्नो छोटो शैक्षिक, प्राज्ञिक परिचय दिने काम यसको आरम्भमा गरिन्छ । परिचयमा अभिमान झल्कनु राम्रो मानिँदैन । यहाँ परिचय भन्नाले आफ्नो शैक्षिक परिचय (कहाँ ? कुनकुन तह ?  कहिले ? कसरी ? किन ?) सम्झनुपर्छ । परिचयको आरम्भमा विज्ञलाई धन्यवाद दिँदै सम्बोधनबाट अन्तर्वार्ता सुरु गर्नुपर्छ । सम्बोधनका क्रममा आफ्ना विषयविज्ञहरूको पद वा उपाधिलाई ध्यान दिनुपर्छ । सम्बोधनका क्रममा लैङ्गिक पक्षहरूलाई पनि ख्याल गर्नुपर्छ । सम्बोधन अतिउच्च र अनादार झल्किने शब्द दुवै वर्जित हुन्छन् किनभने नेपालीमा सम्बोधनका श्रेणीहरू पूर्वनिर्धारित छन् । आफूले सम्पन्न गरेको अनुसन्धानप्रति आफ्नो रुचि केकसरी जोडिन पुगेको त्यो पनि खुलाइदिनुपर्छ ।

    भाइभाको अगिल्लो रात राम्रोसँग सुत्दा राम्रो हुन्छ, अन्तर्वार्ताभर यहाँको अनुहारमा अस्वाभाविक (अनइजी) भाव झल्किनु हुँदैन । सम्भव हुन्छ भने भाइभा कोठामा प्रवेश गर्नुअगि एक गिलास चिसो पानी पिउँदा राम्रो हुन्छ । विश्विविद्यालयका भाइभासम्बन्धी आआफ्ना नियमनिर्देशिका हुने भएकाले त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्छ । परिचयका क्रममा कत्ति पनि निराश (होपलेस) देखिनुहुँदैन थोरै डर रहनसक्छ तर त्यसलाई देखाउनु हुँदैन (स्वाभाविक रूपमा केही नर्भसनेस जो पनि हुनेगर्छ) । दिमागमा के कुरा मात्र राख्नुपर्छ भने यो विषयको विज्ञ तपाइँ आफैँ हो । बोल्दा सबैसँग आँखा जुधाएर (आइ कन्ट्रयाक) सहित सहज तरिकाले बोल्नुपर्छ । कतिपय भाइभामा स्रोताहरूको सङ्ख्या धेरै हुनसक्छ त्यसबाट आत्तिनु हुँदैन । सुन्दर बिहानीले सुखद दिउँसोको सङ्केत गरेजस्तै जब भाइभाको प्रवेशखण्ड (परिचय खण्ड) राम्रो हुन्छ अवश्य अन्त्य पनि स्वतः राम्रो नै हुन्छ ।

    अन्तिम भाइभा वर्षभरि खेती गरेर फसल थन्क्याउनुजस्तै हो । अनुसन्धानका सन्दर्भमा वर्षौँसम्म गरिएको मिहिनेतको भारी बिसाउनु पनि हो । निकै छोटो समयमा लामो अनुसन्धान प्रक्रियाको जिस्ट या प्राप्ति प्रस्तुत गर्नुपर्ने भएकाले यो निकै प्राविधिक, चुनौतीपूर्ण र महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्नुपर्छ । यो आफ्नो अनुसन्धानलाई पुष्टि गर्ने परीक्षा हो । यो अनुसन्धानलाई सार्वजनिकीकरण गर्ने कार्य हो । एक हिसाबले लामो मन्थनपछिको प्राप्तिलाई विमोचन गर्ने स्थानजस्तै हो । यो पनि सम्झनुपर्छ कि आफ्नो विषयलाई सम्बन्धित विषयविशेषज्ञका माझ अन्तिम परीक्षण गरी पुनर्पुष्टि गर्ने अवसर पनि हो । यो खुला पुस्तकजस्तै परीक्षा हो जहाँ शोधार्थीले आफ्नो अन्तिम परीक्षा दिन्छन् त्यो परीक्षा खुलाजस्तै हुन्छ । यहाँ डराउनु पर्ने कुरा किन छैन भने परीक्षकले तपाइँलाई उत्तीर्ण गर्न चाहन्छन् । यो यहाँको अनुसन्धानको अन्तिम घण्टा हो । जटिल, परिश्रमपूर्ण र लामो सङ्घर्षबाट प्राप्त ज्ञानलाई प्रस्तुत गर्ने अन्तिम घडीलाई सही सदुपयोग गर्नुपर्छ । आफ्नो प्रस्तुतीकरण सफल कथाबाट सुरु गर्दा राम्रो हुन्छ किन कि यसले विज्ञहरूमा सकारात्मक प्रभाव छोड्छ । भाइभा भनेको एउटा सफलताको भारी बिसाउने ठाउँ पनि हो यहाँ निराशाजनक कुरा गरेर आफ्नो सफलतालाई निरश बनाउनु हुँदैन ।

    समस्याको समाधान निर्धक्क प्रस्तुत गर्नुपर्दछ । शोधको दौरानमा उठान गरिएको समस्यालाई जतिसक्दो सार्वजनिक रूपमा समाधान गर्नुपर्छ । समस्यालाई लुकाएर खुम्च्याएर होइन, सार्वजनिक बहस गरेरमात्र समाधान गर्न सकिन्छ ।

    यो पनि सम्झनु पर्छ कि अन्तिम प्रतिरक्षामा तपाइँ मात्र हुनुहुन्न यहाँको शोधनिर्देशक पनि साथै रहनुहुन्छ । यो वहाँको पनि परीक्षा हो । परीक्षक स्रोता पनि हो किनभने उहाँले यहाँको प्रस्तुतीकरण स्रोता बनेर सुनिरहेका हुन्छन् । यसको अर्थ यो होइन कि उनीहरू बोल्दै बोल्दैनन् । शोधार्थीको प्रस्तुति सुनिसकेपछि त्यहाँ उठेका जिज्ञाशा, प्रस्ट हुन नसकेका तथ्यहरू, गलत दृष्टिाकोणउपर परीक्षकले आफ्नो रायसहित शोधार्थीलाई प्रस्तुत गर्ने छन् जुन शोधपत्रको अन्तिम साफीमा राख्नु पर्ने हुनसक्छ ।

    आफ्नो रायलाई सार्वजनिक राय, आफ्नो निष्कर्षलाई सार्वजनिक निष्कर्ष र आफ्नो मान्यतालाई सार्वजनिक मान्यतामा लग्नका लागि भाइभामा अनुसन्धान समिति र विज्ञसमूहको चित्त बुझाउन अत्यन्त जरुरी छ । अहिले विविध शोधसम्बद्ध पुस्तक तथा समाजिक सञ्जाल (युट्युब) हरूमा शोधको मौखिक प्रतिरक्षा केकसरी गर्ने ? भन्ने थुप्रै सन्दर्भ सामग्री पाउन सकिन्छ त्यसलाई पनि अध्ययन गर्दा राम्रो हुन्छ ।

    आफूभन्दा अगाडि अनुसन्धान सम्पन्न गरेका व्यक्ति, विज्ञहरूको राय र अनुभव आदानप्रदान गर्दा राम्रो हुन्छ । अन्तिम परीक्षामा जानुअगाडि शोधनिर्देशकसँग बसेर आवश्यक रणनीति र योजना बनाउँदा उत्तम हुन्छ जसले गर्दा भाइभा व्यवस्थित र सङ्गठित बनोस् ।

    विशेषज्ञले शोधेका प्रश्न राम्रोसँग सुन्नुपर्छ, बुझ्नुपर्छ, नबुझेको खण्डमा पुनः दोहोर्‍याएर सोध्ने छुट पनि शोधार्थीलाई छ तर प्रश्न पूरा रूपमा नबुझी हतारिएर उत्तर दिन हुँदैन । सोधिएका प्रश्नहरू तपाइँलाई अल्झाउन मात्र नभएर यहाँको निष्कर्षलाई बाहिर निकाल्ने उद्देश्यले सोधिएका पनि हुनसक्छन् । यदि ती साँच्चै त्यस प्रकृतिका छन् भने इमान्दार भएर आफ्नो शोधपत्रमा समावेश गर्नुपर्छ ।

    आफ्ना अनुभव, अध्ययनको सार शोधनिर्देशकको सुझावको संश्लेषणबाट निशृत प्राप्तिलाई विज्ञसमूहका माझ प्रमाणीकरण गरिने एक प्राज्ञिक प्रक्रिया नै भाइभा भएकाले यसमा अनुसन्धानकर्ता थप सजक र चनाखो भएर प्रस्तुत हुनुपर्छ । साथै वौद्धिक कार्यलाई साधरणीकरण गर्दै भावी दिनहरूमा समाजमा प्रयोग ल्याउनुपर्ने विचारको काँटछाँट गर्ने अवसरका रूपमा पनि भाइभालाई लिने गरिन्छ । भाइभा मौखिक हुनाको साथै यो शोधको अन्तिम प्रक्रिया हो, प्रश्नोत्तरात्मक र कतिपय सन्दर्भमा अन्तरक्रियात्मक हुनु यसको वशेषता हो । सम्पूर्ण अनुसन्धान अवधिभर पत्ता नलागेको तथ्य र नफुकेका गाँठा भाइभामा फुक्ने सम्भावना रहेकाले पनि यो बढी प्राज्ञिक हुनेगर्छ ।

    शोधको शीर्षक र यससँग सम्बद्ध समस्याकथन र समस्याकथनमा उठान गरिएका प्रश्नरहरूको परिच्छेदसँगको अन्तर्सम्बन्ध केकसरी रहेको छ र कुनकुन शोधिविध र पद्धति केकसरी प्रयोग गरिएको छ । शोधमा उल्लेख भएका सबै कुरा भाइभामा भन्न असम्भव छ तसर्थ भाइभामा छोटा तरिकाले प्रस्तुत हुनु राम्रो हुन्छ ।

    भाइभा हुनुभन्दा हप्तादश दिनअगाडि आफ्नो शोधपत्रलाई पठनपुनर्पठन गर्दा निकै लाभदायी हुनेगर्छ । शोधको प्रतिरक्षा भनेको मात्र प्रतिरक्षा होइन कि आफ्नो प्राप्तिको जित पनि हो । यदि आफू केबल प्रतिरक्षा गर्ने परिस्थितिमा पुगियो भने यो बुझ्नुपर्छ कि शोधपत्रमा केही कमीकमजोरी छन् त्यसलाई इमान्दारितापूर्वक स्वीकार गरी त्यसलाई आफ्नो अनुसन्धानमा समावेश पनि गर्नुपर्छ । शोधार्थीलाई जहिले पनि भाइभामा केकस्तो प्रश्न सोधिन्छ होला ? भन्ने जिज्ञाशा रहनु स्वाभाविक छ । यसमा केही प्रश्नहरू औपचारिक प्रश्न रहने गर्छन् भने कोही विषयभित्रका प्रश्नहरू रहने गर्छन् । प्रश्नहरू त्यसैमा केन्द्रित हुनेछन् जुन कुरा यहाँले वर्षौँ मन्थन गरेर शोधपत्रमा उल्लेख गर्नुभएको छ ।

    प्रस्तुतिको भाषा

    भाइभाको भाषा औपचारिक हुनुपर्छ । सम्पूर्ण शोधकार्य नै औपचारिक लेखन भएकाले, भाषा नरम हुन आवश्यक छ । उत्तेजित भाषाले भाइभा बिगार्ने निश्चित छ । विषयविज्ञले अन्यत्र विषयमा प्रश्न घुमाएमा म त्यसको पनि उचित पठन गर्नेछु । मेरो अनुसन्धानको दायरामा त्यो पक्ष प्रत्यक्ष सम्बद्ध नरहेको कुरा खुलस्त जानकारी गराइदिनुपर्छ । भाइभामा बस्दा यो नबिर्सनुहोस् कि म परीक्षामा सामेल छु, मेरो परीक्षाको भाषा सुसंस्कृत हुनुपर्छ । यस्तो प्रकारको नमुना भाइभा गर्नुहोस् जुन आउने पुस्ताका लागि पनि उदाहरण बन्नसकोस् । नेपालमा भाइभाको माध्यम भाषा कि नेपाली कि अङ्ग्रेजी हुने गर्छ ।

    आफ्नो शोधपत्र जुन भाषामा लेखिएको छ सोही भाषामा भाइभा दिँदा राम्रो हुन्छ ।  शोधको भाषा औपचारिक हुनुपर्छ र मौखिक प्रतिरक्षा पनि शोधकार्यकै एउटा प्रक्रिया भएकाले औपचारिक रूपमा नै प्रस्तुत हुनुपर्छ । बोल्दा शोधसँग सम्बद्ध प्राविधिक शब्द प्रयोग हुनसक्छन् । अनावश्यक थेगो, अनुकरणात्मक शब्द, अनिर्णित, अमापनीय (झन्डै, प्रायः, करिब) बोली भाइभामा वर्जित हुन्छ । वार्तालाई सरल, छोटो र छरितो तरिकाले प्रस्तुत गर्नुपर्छ । शोधपत्रमा उल्लेख भएका, विश्लेषण भएका तथ्यलाई मात्र प्रस्तुत गर्नुपर्छ । बोल्दा समान आदार प्रयोग गर्नुपर्छ, उपाधिलाई पद केन्द्रित सम्बोधन (जस्तै डाक्टर, प्राध्यापक, समाजसेवी) गर्न आवश्यक छैन । प्रस्तुतिका क्रममा आवाज प्रस्ट हुन र सबैले सुन्ने गरी बोल्न आवश्यक छ । विशेष परिस्थितिबाहेक विज्ञको प्रश्नको ठाडो प्रतिकार, अस्वीकार वा प्रतिवाद गर्नु राम्रो होइन । द्विआर्थिक शब्दहरू सकेसम्म प्रयोग गर्नुहुँदैन । अति प्रशंसा वा बढाइचडाइ र अतिनिन्दा वा हेयबोध गराउने शब्द प्रयोग गर्नु हुँदैन । आफ्नो शोधपत्रको वास्तविक मूल्य (भ्यालु) के हो ? त्यसलाई अधिमूल्यन र अवमूल्यन हुने भाषा प्रयोग गर्नुहुँदैन । आरोपप्रत्यारोपयुक्त भाषा प्रयोग वर्जित छ तर आफ्नो शोधसँग सम्बद्ध पूर्वअध्येताहरूको आलोचना होइन शिष्ट समालोचनायुक्त भाषामा प्रस्तुत हुनुपर्छ । जातीय, राजनीतिक, लैङ्गिक आदि पक्षलाई आँच पुर्‍याउने खालको शब्दको प्रयोग गर्नुहुँदैन । आफ्नो शोधसँग असम्बद्ध वा पुष्टि नभएका अप्रमाणिक कुराहरूको ठोकुवा नगरेकै राम्रो हुन्छ । कुनै विवादास्पद (जस्तैः नेपाली वर्णविन्यासको मानकीकरण) विषयमा उठेका प्रश्न उपर सामूहिक प्रतिबद्धता र निचोडलाई मान्न सकिन्छ भन्नेजस्ता कुटनीतिक भाषाको प्रयोग गर्दा उत्तम हुन्छ ।

    भाषा औपचारिक भएर मात्र पुग्दैन परीक्षार्थीले लगाउने पहिरन पनि औपचारिक नै हुनुपर्छ । अस्वाभाविक पहिरनले यहाँको अन्तर्वार्ता अप्रभावकारी मात्र हुँदैन विज्ञहरू पनि बेखुसी हुनसक्छन् ।

    शोधकार्य प्रक्रियागत रूपमा गरिने एक प्राज्ञिक क्रिया हो । भाइभा दिने अन्यत्र नभएर आफ्नै कलेज, विश्वरविद्यालय र विभागमा हो । यो अरूले लिने नभएर विषयविज्ञ र वौद्धिक व्यक्तिले लिने प्रक्रिया हो । त्यति मात्र फरक छ अन्तिम भाइभामा वाह्य परीक्षकको मुख्य भूमिका रहने गर्छ । शोधकार्य समूहिक कार्य भएकाले निर्देशक, सहायक निर्देशक, अनुसन्धानकर्ता, शुभचिन्तकले भने बाराम्बार यस प्रक्रियालाई सार्थक बनाउन निरन्तर लागिरहेका हुन्छन् । सबैभन्दा धेरै समय, साधानस्रोत र समय शोधार्थी एवं शोधनिर्देशकले खर्चेका हुन्छन् । भाइभामा कति समय लिइन्छ भन्ने कुरा स्थान, तह र विषयअनुसार फरकफरक हुनसक्छ । सामान्यतया भाइभाको समय एक घण्टा जतिको हुनेगर्छ । नेपालमा एम्फिल् र विद्यावारिधिको भाइभा यो भन्दा थोरै लामो हुनसक्छ । स्नातक र स्नातकोत्तर तहको भाइभा भने केहि छोटो हुने गरेको छ । विद्यावारिधी र एमफिल तहमा सहभागी विज्ञहरूको सङ्ख्या सापेक्षित रूपमा धेरै हुने भएकाले पनि समय अलि बढी लाग्ने गर्छ । विभागको विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिन र आवश्यकताअनुसार विश्वविद्यालयले तोकेको मान्छेले नै भाइभा कार्यक्रमको अध्यक्षता गर्ने गर्छन् भने समग्र प्रक्रियाको नेतृत्व वाह्य परीक्षकले गर्ने गर्छन् । बाह्य परीक्षक त्यस्तो व्यक्ति रहने गर्छ जसको उक्त शीर्षकसँग प्रत्यक्ष जानकारी राख्छ । भाइभा एक प्रकारको वौद्धिक प्राज्ञिक महायज्ञजस्तै हो । अन्तिम परीक्षा वा भाइभामा जानु अगाडि एम्.फिल र विद्यावारिधिको शोधपत्रलाई आन्तरिक परीक्षकले पनि जाँच गरी सुझाव दिने गर्छन् । यसर्थ अन्तिम भाइभा आन्तरिक मूल्याङ्कन भइसकेपछिको छुटपुट टिप्पणी हो । शोधार्थीले अन्तिम प्रतिरक्षामा कसरी सामेल हुने बन्ने विषयमा मानसिक तथा भौतिक तयारी गर्नुपर्छ । शोधप्रक्रियामा समेल हुनु भएका तपाइँ सबैको भाइभा यानेकि शोधको अन्तिम प्रतिरक्षा सफल बनोस् ।

     

    डा. अशोक थापा,  नेपाली केन्द्रीय विभाग, त्रि.वि.  

     

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *