भरतपुर, २६ जेठ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डाक्टर जीवन जीवन्तको उपन्यास चरैवेतिमाथि शनिबार सम्पूर्ण किताब नारायणगढमा अन्तरक्रिया गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको अन्तरक्रियामा समीक्षकहरु डा. देवी नेपाल, अम्बिका अर्याल, शान्तिमाया गिरी, अशोक थापालगायतले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै धार्मिक विषयमा कलम चलाएर लेखकले जोखिम मोलेको प्रतिक्रिया दिए ।
चरैवेतिमाथि पाठकीय टिप्पणी गर्दै लेखक खनाल रेवतीरमणले उपन्यासको भाषा, शैली स्तरीय र बोधगम्य भएको बताए । ‘यसमा भरपुर जीवनदर्शन छ’ उनले भने, ‘सुन्दर ढंगले इसाई धर्मको शल्यक्रिया गरिएको छ ।’
वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातबाट सहजीकरण गरिएको कार्यक्रममा सम्पूर्ण किताबका लेखराम सापकोटा, भरतपुर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलिया, समीक्षक उदय अधिकारी, व्यवसायी गीता पौडेल ढकाललगायतले बोलेका थिए ।
Leave a Reply