• २०८१ माघ १३
  • कवि प्रकाश चापागाईंको `कमिलाको प्वाँख´ लोकार्पण एवम् विमर्श कार्यक्रम सम्पन्न


    निरूपण
    निरूपण

    भरतपुर, २५ कात्तिक । कवि प्रकाश चापागाईंको कवितासङ्ग्रह `कमिलाको प्वाँख´ लोकार्पण भएको छ ।
    स्मार्ट ब्याङ्क्वेट भरतपुर-१२ मा शनिबार आयोजित एक समारोहमा कार्यक्रमका सभापति गोविन्दराज विनोदी, प्रमुख अतिथि भुवनहरि सिग्देल, समीक्षक डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, कवि चापागाईंकी धर्मपत्नी सुजाताले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

    सङ्ग्रहमाथि टिप्पणी राख्दै समालोचक डा. केशवराज चालिसेले कवि चापागाईंका कवितामा विविधता भएको बताए । `सङ्ग्रहमा सबैखाले कविताहरू समावेश भएका छन्´, कवि चापागाईंले भने – `विविधखाले कविता भए पनि समग्रमा राजनीतिक अकर्मण्यतालाई सम्बोधन गरिएको छ । कविताहरू विचारोत्तेजक छन्, कविताहरूमा चेतना छ ।´

    चालिसेले सङ्ग्रहका कविताहरू प्रकाशमय भएको बताए । प्रकाशका कविताहरू समाज र राजनीतिसँग जोडिएर आएको पनि उनले बताए ।

    अर्का समालोचक डा. एकनारायण पौड्यालले कवि चापागाईं चेतनशील, अध्ययनशील र प्रतीभाशाली कवि भएको बताए । कविताभित्र जोडिएका रस, अलंकारले कविताहरू कविताजस्तै भएको पनि उनले बताए । चापागाईंका कविताको गति र यति मिलेको पौड्यालले बताए ।

    शुभकामना मन्तव्यका क्रममा बाम बुद्धिजीवी प्रेम रिमालले कवि प्रकाश चापागाईं कविताको गाउँ गीतानगरमा हुर्किएका कवि भएको बताए । गीतानगरका चापागाईंहरूको साधना र सिर्जनाले उक्त ठाउँ कविताको गाउँका रूपमा मान्न सकिने रिमालले बताए । कार्यक्रममा लेखराम सापकोटा, राजेन्द्र घायल, एलबी क्षेत्री, उदय अधिकारी, सरिता तिवारी, डाक्टर धनेश्वर भट्टराई, रमाकान्त सापकोटा, कपिलमणि रेग्मी, डाक्टर नारायणप्रसाद खनाललगायतले मन्तव्य राखेका थिए ।

    नवीनतम् कवितासङ्ग्रह कमिलाको प्वाँखमा ८० वटा कविता छन् । सामाजिक एवम् राजनीतिक विषयवस्तुमा लेखिएका कविताहरू सङ्ग्रहमा राखिएको कवि चापागाईंले बताए । `विशेषगरी माओवादी युद्धदेखि अहिलेसम्मका सन्दर्भलाई कवितामार्फत उतार्ने कोसिस गरेको छु´, उनले भने – `सामाजिक विकृति विसङ्गति, राष्ट्रप्रेम र राजनीतिका नाउँमा खेलिने फोहोरी खेल प्रतिको खबरदारी र भुइँ मान्छेका आवाजहरू मेरा कविताका स्वरहरू हुन् ।´

    पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको कृतिको मूल्य ३००/- रुपैयाँ छ । २०४० सालदेखि कविता लेखनमा सक्रिय चापागाईंका यसअघि`बदला´ एकाङ्की नाटक (२०४०), `आँखाभरि´ शोककाव्य (२०६७),`बुलेट नम्बर पाँच´ खण्डकाव्य (२०७०) `आरोहण´ महाकाव्य संयुक्त लेखन (२०७४) र `मगुई´ खण्डकाव्य (२०७७) पुस्तक प्रकाशित छन् । कार्यक्रमलाई कवि विपिन पाठकले सहजीकरण गरेका थिए ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *