डा.अशोक दाइ मुरीमुरी शुभकामना ।
एउटा बालक कास्कीकाे भोटेपोखरीको विकट डाँडोमा जन्मिन्छ । मुस्किलले हात्तीछाप चप्पल पड्काउँदै भञ्ज्याङस्थित श्री कालिका मा.वि. मा झर्छ र ज्ञान लिन सुरु गर्छ । एउटा गरीब विद्यालयमा दुःख गरेर पढ्छ । जिन्दगीमा पाइलापाइलामा हन्डर खान्छ तर कहिल्यै हरेस खाँदैन । उच्च शिक्षाको सोपान चढ्दै पोखरा काठमाडौँसम्म पुगेर ज्ञानको क्षितिज फराकिलो बनाउँछ PhD गरेर डाक्टर बन्छ, विश्वविद्यालय प्राध्यापक बन्छ र सोही स्कुलको माटोलाई बिर्सिन्न, हात्तीछाप चप्पलको छिनेको तुना भुल्दैन र एउटा मीठो साहित्य लेख्छ ‘हात्तीछाप’ चप्पलको कथा लेख्छ । हो यस्तै मार्मिक कथा लेख्ने कथाकार हुन् डा. अशोक थापा ।
उनको ‘सन्तापको धून’ १३ वटा कथाको सङ्ग्रहमा अधिकांश हाम्रै बागमारावरिपरिका कथा, गिद्धे पहरो, चिहान डाँडो, च्याउने पोखरी, गहतेरी जङ्गल, ठूलो वन, भँडारी पोखरी, शान्तिउदय, चिलाउने, मालागिरी गाउँ आदि आदि स्थानको वर्णन आइरहन्छ र हाम्रो स्थानीयता पनि साहित्यमा अभिलेखन भइरहन्छ । राष्ट्रिय स्तरमा चर्चा कमाइरहेको यो कथासङ्ग्रह हाम्रो गाउँघरमा भने बेखबर भएको छ । यति सुन्दर कथा सिर्जना गर्नु भएकोमा मेरो मन पुलकित भएको छ अशोक दाइ । धेरैपछि साँच्चै हृदयमा छुन सक्ने साहित्य पढ्न पाइयो । गाउँमा जन्मेकाे केटाे अथक मिहिनेतले डाक्टर, प्राध्यापक ,कथाकार , लेखक ,समीक्षक बन्नसक्छ भन्ने आजका बालबालिकाहरूमा उर्जा दिनका लागि पनि हामी सबैले सन्तापकाे धुन पढ्नैपर्छ । अशाेक दाइ याे साहित्यिक खुराकका लागि यहाँलाई मुरीमुरी शुभकामना ।