• २०८१ माघ १३
  • अरुणा उप्रेती



    कुनै कुनै किताब पढ्दा एकै दिनमा सकौंजस्तो लाग्छ। कुनै किताब घरि घरि पढिन्छ, कुनै किताबमा चिनो लगाएर फेरि त्यही दोहोर्याइन्छ। विवेक ओझाले लेखेको उपन्यास ‘ऐँठन’ पढ्दा त यसरी ‘ऐँठन’ भयो कि उपन्यास सिध्याउन एक हप्ता लाग्यो।

    प्रत्येक नेपालीले पछिल्लो तथाकथित जनयुद्धका बेला थाहा पाएका, बुझेका, अनुभव गरेका कुरालाई विवेकले काल्पनिक बनेर लेखेका छन् तर पढ्नेलाई थाहा हुन्छ–यो दस्ताबेज हो, नेपालीले भोगेको कालरात्रिको।

    यसमा गजबको स्वैरकल्पना छ, तर त्यो कल्पना पनि वास्तविक घटनाहरूबाट नै प्रेरित छ भन्ने बुझ्न सकिन्छ। यहाँ विद्रोहीले गरेको अत्याचारका घटनालाई देखाउँदा लाग्छ–दोस्रो विश्वयुद्धका बेला नाजीहरूले यसरी नै यहुदीलाई अत्याचार गरेर थिलो थिलो पारेका होलान्। विद्रोहीहरूले गरेको अत्याचारका साथै सेनाले गरेका अत्याचार, बलात्कार, मानवतालाई लज्जित पार्ने थुप्रै घटनाहरू पनि छन्। उपन्यास पढ्दा एक वा दुई बसाइमा त पढ्नै सकिनँ मैले। पढ्दा पढ्दा पढ्दै ‘तनाब’ भयो। एक दिनसम्म त्यसै राखें, अनि फेरि पढ्ने जमर्को गरें।

    ‘छापामारहरूले घर बिदामा आएका प्रहरीलाई बन्दी बनाएर आफूसँगै लग्छन्। आँखामा पट्टि बाँधेर प्रहरीले ‘मेरो घरमा साना छोराछोरी छन्। म प्रहरीको जागिर छोडिदिन्छु। मलाई केही नगर्नुस्’ भन्दा पनि ती प्रहरीलाई विद्रोहीले नाङ्गै पारेर जिउभरि काटेर उसको पीडामा आनन्द लिए। बन्दीको छातीबाट रगतको मूल फुट्यो। केही रगतका धर्का तिघ्रा हुँदै पैतालासम्म पुगे।

    ‘यसको दायाँ हत्केला काट्नुस्। जुन हातले हाम्रा लागि ट्रिगर थिचेको छ। (११६), एकै प्रहारमा हत्केलो च्वाट्ट छिनालियो। छुट्टिएको हत्केलो त्यो भिरालोमा केही तलसम्म ढलपलियो। (१६८)’ यस्ता घटना पढ्दा लाग्यो–नाजीहरूले पनि यहुदीहरूलाई समातेर मार्थे तर यहुदीलाई त गोली हानेर एकैचोटि मार्थे। यसरी पीडा दिएर नाजीहरूले पनि यहुदीलाई सायद मारेका थिएनन् कि?
    aarko tir ko katha pan cha

    ‘क्याप्टेनको आदेशसँगै सैनिकले हामीलाई अबाउट टर्न घुमाएर फर्काउन थाले। बल्ल बन्दुकले भुटिने कुरामा म पक्का भएँ। मैले पैसा दिन सक्छु भनेपछि सैनिकले मलाई क्याप्टेनको कोठातर्फ फर्कायो। कोठाको पल्लो कुनामा खटियामा नग्न युवती घोप्टो परेर कनकनाइरहेकी थिई।’ यस्ता मर्मस्पर्शी सन्दर्भ उपन्यासभित्र अनेकौं छन्।

    जनयुद्धपछि सत्तामा पुगेका छापामारहरूले देशमा खासै तात्त्विक परिवर्तन ल्याउन नसकेको कुरा किताबमा स्पष्ट छ। पीडा–वेदनाले मानसिक समस्या भएर तडपिएका अनेक व्यक्तिको कथा उपन्यासमा छ। द्वन्द्वमा पिल्सिनेहरू साधारण दुःखी जनता हुन्छन् र तिनीहरू सधैं एक छाक खान तड्पिरहेका छन्। यो किताबमा यस्ता धेरै कथा छन्।
    धेरै कथा सिलसिलाबद्ध रूपमा गाँसिएर आएका छन्। समाज शास्त्रका अध्येता, शिक्षक, छापामार, सैनिकवर्गले पढ्नैपर्ने पुस्तक हो ऐँठन।

    Continue Reading