काठमाडौँ। चौथो काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन आयोजित ‘सङ टु लिसेन ओर टु वाच’ सत्रमा गीतकार तथा संगीतकार हर्क साउद, संगीतकार दिनेश अधिकारी र संगीतकार गैरे सुरेश छलफलमा सहभागी भएका थिए भने सत्रको सहजीकरण लीला अनमोलले गरेकी थिइन्।
छलफलमा हर्क साउदले आफ्नो सांगीतिक यात्रा, लोकप्रिय गीतहरूको पृष्ठभूमि र नेपाली संगीत क्षेत्रमा रोयल्टी व्यवस्थाको चुनौतीबारे धारणा राखेका छन्।
‘सुन साइली’, ‘के माया लाग्छ र’ ऊनको स्वीटर, तिनपाते लगायतका चर्चित गीतका गीतकार साउदले आफ्ना सिर्जनामा नेपाली समाजका विविध आयाम समेट्ने प्रयास गर्ने गरेको बताए।
आफ्नो चर्चित गीत ‘सुन साइली’ को सन्दर्भ उल्लेख गर्दै उनले गीतले नेपाली समाजको दुरदराजको कथा बोकेको बताए। ‘हाम्रो समाजको एउटा मानचित्र हुन्छ। नेपाली समाजका कित्ता–कित्ता छन्, शहर छन्, गाउँ छन्, दुरदराज पनि छन्। ‘सुन साइली’ मा त्यही दुरदराजको कथा समेट्न खोजिएको हो,’ उनले भने।
संगीत क्षेत्रमा प्रविधिको विकासले सिर्जनाकर्मीका लागि नयाँ अवसर सिर्जना गरेको उनको भनाइ थियो। ‘आजको समयमा एउटा व्यक्तिले गीत लेख्न सक्छ, संगीत भर्न सक्छ, भिडियो बनाउन सक्छ र युट्युबमा सार्वजनिक गरेर आफैं आम्दानी गर्न सक्छ,’ उनले भने।

तर संगीतकर्मीएले पाउनुपर्ने रोयल्टीको विषयमा भने अझै स्पष्ट र पारदर्शी व्यवस्था नबनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। ‘उचित रोयल्टी प्राप्त भइरहेको छैन। रोयल्टीमा कर काट्नुस्, त्यसमा समस्या छैन। तर रोयल्टी कहाँबाट आयो, कति आयो र त्यसबाट मेरो भागमा कति पर्यो भन्ने जानकारी त हुनुप¥यो,’ उनले भने।
रोयल्टी वितरण प्रणालीमा पारदर्शिता अभाव रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले यस विषयमा पर्याप्त चासो नदेखाएको आरोप लगाए। ‘हाम्रो रोयल्टी कहाँबाट कति आयो भन्ने स्पष्ट नीति छैन। सम्बन्धित निकायले यसमा गम्भीर चासो देखाउनुपर्छ,’उनले भने।
सत्रमा उनले सिर्जना, समाज र संगीत उद्योगका बदलिँदा आयामबारे पनि आफ्ना अनुभव साझा गरेका थिए।
रोयल्टी तथा प्रतिलिपी अधिकारको विषयमा बोल्दै गीतकार दिनेश अधिकारीले स्रष्टाको श्रमको उचित मूल्य सुनिश्चित हुनुपर्ने धारणा राखे। ‘कसैले पनि पसिना कसैले सित्तैमा खानुहुँदैन । सामान्य नैतिकताको कुरा हो। त्यै नैतिकता हाम्रो कानुनमा प्रतिबिम्बित छ,’ उनले भने। उनले सरकारले आवश्यक कानुनी वातावरण सिर्जना गर्ने भूमिका निर्वाह गरेको उल्लेख गर्दै रोयल्टी संकलनका लागि सम्बन्धित संस्थागत व्यवस्था रहेको बताए।
यस्तै, संगीतकार गैरे सुरेशले हरेक गीतकार र संगीतकारलाई सिर्जनाको जननीको रूपमा व्याख्या गरे। उनले समयको आवश्यकता र प्रविधिको विकाससँगै गीतसंगीतको स्वरूपमा परिवर्तन आइरहेको बताए।
रोयल्टी तथा प्रतिलिपि अधिकार कार्यान्वयनको पक्ष अझै कमजोर रहेको उनको भनाइ छ। ‘अहिले हामी ऐन, नियम र दफाहरू पढेर हुर्किने चरणमा छौँ। कार्यान्वयनको पक्ष निकै फितलो छ। यसमा ठूलो हस्तक्षेप चाहिन्छ,’ उनले भने।
उनले गीतसंगीत प्रयोग गर्ने सञ्चारमाध्यम तथा अन्य सरोकारवालालाई कानुनको प्रभावकारी कार्यान्वयन मार्फत थप जिम्मेवार र बाध्यात्मक बनाइनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार स्रष्टाको अधिकार संरक्षणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य छ।




Leave a Reply