• २०८३ जेष्ठ २५
  • साहित्य महोत्सवका चुनौती


    निरूपण
    निरूपण

    काठमाडौँ।  नेपालमा पछिल्ला वर्षहरूमा साहित्य महोत्सवहरूको संख्या उल्लेख्य रूपमा बढ्दो छ। काठमाडौंसहित अन्य ठूला सहरमा मात्र होइन, स्थानीय स्तरकै पहलमा समेत महोत्सवहरू आयोजना हुँदै आएका छन्। तर, केही महोत्सव निरन्तर सञ्चालन भइरहँदा कतिपय भने रोकिएका पनि छन्।

    यस्ता महोत्सवका मुख्य चुनौतीहरू के–के होलान् ?
    ‘काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ)’ को चौथो संस्करणमा शनिबार ‘महोत्सवका चुनौतीहरू’ शीर्षकमा बहस भयो।

    वक्ताका रूपमा सहभागी टिकापुर साहित्य महोत्सवका निर्देशक महेश विक्रम शाहले साहित्य महोत्सव सञ्चालनको सबभन्दा ठूलो चुनौती आर्थिक स्रोत व्यवस्थापन रहेको बताए। उनले साहित्य महोत्सव अझै लगानीकर्तालाई प्रतिफल दिने स्थापित ब्रान्ड बन्न नसकेकाले स्रोत जुटाउन कठिन भइरहेको धारणा राखे।

    ‘महोत्सवहरूको सबैभन्दा ठूलो समस्या नै आर्थिक स्रोतको व्यवस्थापन हो। जब आर्थिक स्रोत व्यवस्थापन हुन्छ, महोत्सव गर्न सजिलो हुन्छ,’ उनले भने, ‘महोत्सव कुन स्तरमा गर्ने, कति प्रभावकारी बनाउने र प्रचारप्रसारलाई कुन हदसम्म लैजाने भन्ने सबै कुरा आर्थिक स्रोतसँग जोडिएको हुन्छ।’

    उनले राजधानीबाहिर साहित्यिक गतिविधि विस्तार गर्नु आवश्यक भए पनि त्यसमा थप चुनौती रहेको बताए। सुदूरपश्चिमजस्तो क्षेत्रमा कार्यक्रम आयोजना गर्दा भौगोलिक दूरीकै कारण खर्च थप बढ्ने गरेको उनको अनुभव छ।
    दर्शक सहभागिताको प्रसंग जोड्दै उनले औद्योगिक महोत्सव र साहित्यिक महोत्सवबीचको अन्तर पनि औंल्याए।

    ‘औद्योगिक महोत्सवमा यहाँबाट एक जना कलाकार जाँदा तीन–चार हजार मान्छे जम्मा हुन्छन्। हामीले ठूलो लगानी गरेर साहित्य महोत्सव गर्दा एक–दुई सय मान्छे जम्मा गर्न पनि गाह्रो हुन्छ,’ उनले भने।

    तर, दर्शक उपस्थितिको विषयमा अर्का वक्ता कर्णाली उत्सव (कुडा कर्नालीका) का निर्देशक दिनेश गौतमको अनुभव केही फरक छ। उनका अनुसार निरन्तरता र महोत्सव नोटिसेबल बनेपछि दर्शक आफैँ तातिने उनी बताउँछन्।
    २०७६ सालमा सुरू भएको कर्णाली उत्सवको उद्देश्य नै कर्णालीमै बसेर राष्ट्रिय मुद्दामा बहस गर्ने र कर्णालीका विषयलाई राष्ट्रिय विमर्शमा ल्याउने रहेको उनले बताए।

    ‘हामीले कर्णाली उत्सवलाई साहित्य महोत्सव भनेनौं, नीति महोत्सवका रूपमा सुरू गरेका हौं। कर्णालीका मुद्दामा राष्ट्रिय स्तरको बहस होस् र कर्णालीका मानिसले आफ्ना कुरा भन्न र सुन्न पाऊन् भन्ने उद्देश्य थियो,’ गौतमले भने।
    उनका अनुसार सुरूआती वर्षमा प्रचारप्रसारमा खर्च गर्नुपरे पनि पछिल्ला दुई वर्षमा त्यस्तो आवश्यकता नपरेको बताए। ‘पहिले प्रचारमा राम्रै खर्च गर्नुपर्थ्यो। पछिल्ला दुई वर्षमा हामीले प्रचारप्रसारमा एक रुपैयाँ पनि खर्च गरेका छैनौं।
    कार्यक्रम नोटिसेबल भयो भने मानिसलाई बोलाउन धेरै प्रचार गरिरहनुपर्दैन,’ उनले भने। यद्यपि, महोत्सवहरूका लागि अर्को ठूलो चुनौती नयाँपन कायम राख्नु भएको गौतमको भनाइ छ। उनका अनुसार हरेक संस्करणमा नयाँ विषय, नयाँ ढाँचा र नयाँ अनुभव दिन नसकिए महोत्सवप्रतिको आकर्षण विस्तारै घट्दै जान सक्छ।

    ‘अब मलाई सबभन्दा ठूलो चुनौती कसरी नयाँ गर्ने भन्ने लागिरहेको छ। नयाँ संस्करणमा केही नयाँ फिचर थप्न सकेनौं भने महोत्सवको क्रेज र आकर्षण कमजोर हुँदै जान्छ भन्ने लाग्छ,’ उनले भने।

    आर्थिक चुनौती र महोत्सवको दिगोपनबारेको प्रश्नमा लेखक तथा पत्रकार योगेश ढकालले राज्य र निजी क्षेत्रको भूमिकालाई मुख्य रूपमा औंल्याए। उनका अनुसार संसारभर यस्ता महोत्सवहरूलाई ‘सफ्ट पावर’का रूपमा हेरिन्छ र राज्यले त्यसमा लगानी गर्ने अभ्यास छ।

    ‘यो केवल साहित्यिक कार्यक्रम होइन, एउटा सफ्ट पावर हो। जियोपोलिटिकली पनि र समाजभित्र विभिन्न समुदायलाई जोड्ने माध्यमका रूपमा पनि यसको महत्व छ। त्यसैले राज्यले यसमा लगानी गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने।
    ढकालले नेपाल पर्यटना बोर्डजस्ता निकायबाट केही सहयोग हुने गरे पनि पर्याप्त नरहेको टिप्पणी गरे। उनले निजी क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरूमा लगानी गर्न आकर्षित गर्नुपर्ने बताए। ‘कर्पोरेट हाउसहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने रकममध्ये साहित्यिक महोत्सवमा कति लगानी गर्न सक्छन् भन्ने विषयमा कहीँ न कहीँ दबाब सिर्जना गर्न सक्यौं भने हुन्छ कि भन्ने लाग्छ,’ उनले भने। ढकालले महोत्सवहरूको अवधारणा र संरचनामाथि पनि पुनर्विचार आवश्यक रहेको बताए। उनले भने, ‘हामीले महोत्सवका अवधारणामाथि पनि प्रश्न गर्नुपर्छ। संरचनात्मक सोचमा केही परिवर्तन आवश्यक छ जस्तो लाग्छ।’

    बहसका क्रममा साहित्यिक महोत्सव र सञ्चारमाध्यमबीचको सम्बन्ध पनि उठाइएको थियो। ढकालले साहित्यिक कार्यक्रमहरूलाई मुख्यधारका सञ्चारमाध्यमले अपेक्षाअनुसार महत्व दिन नसकेको टिप्पणी गरे। ‘हामीमा समाचार कभरेज गर्ने विषयमा ठूलो संकीर्णता छ। कला–साहित्य बिट हेर्नेहरूले त लेख्छन्, तर त्यहाँ हुने बहस र विमर्शलाई सञ्चारमाध्यमले व्यापक रूपमा उठाउन सकेका छैनन्’ उनले भने।

    यता दिनेश गौतमले भने सुरूआती दिनमा सञ्चारमाध्यमले यस्ता कार्यक्रमको महत्व नबुझेको अनुभव सुनाउँदै पछिल्ला वर्षमा सहयोग बढ्दै गएको बताए।

    महेश विक्रम शाहले साहित्य महोत्सव सञ्चालनमा आर्थिक अभावसँगै व्यक्तिगत थकान पनि गम्भीर चुनौती बन्दै गएको बताए। एउटा महोत्सवको तयारीमै चार/पाँच महिना समय खर्चिनुपर्ने र आफ्नै पेशागत काम प्रभावित हुने उनको अनुभव छ।

    ‘महोत्सव आफैँ ब्रान्डका रूपमा स्थापित नभएसम्म आर्थिक स्रोत जुटाउने काम धेरै हदसम्म व्यक्तिको सम्बन्ध र प्रभावमै निर्भर हुन्छ,’ उनले भने। उनले नेपालमा धेरैजसो साहित्य महोत्सवहरू अझै संस्थागतभन्दा पनि व्यक्तिको पहल र प्रभावमा टिकिरहेको बताए।

    यो सेसनमा सहजकर्ताको भूमिका पत्रकार राज सरगमले निर्वाह गरेका थिए।

     

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *