• २०८३ जेष्ठ २५
  • नेपाली कविता ग्लोबल कि लोकल ?


    निरूपण
    निरूपण

    काठमाडौँ– साहित्यको सर्वाधिक चर्चित विधा कवितालाई विश्वव्यापी भाषा मानिन्छ। तर कविता पहिचानको भाषा पनि हो जसले स्थानीय मुद्दाहरू उठाउँछ। यही कारण  कविता ग्लोबल कि लोकल भन्ने बहस लामो समयदेखि चलिरहेको छ।

    चौथो काठमाडौँ–कलिङ साहित्य महोत्सवमा ‘नेपाली कविताको विश्वव्यापी आवाज’ शीर्षकमा यही प्रश्नको सेरोफेरो अन्तक्रिया भयो।

    विमल आचार्यले सहजीकरण गरेको सेसनमा कवि श्रवण मुकारुङ, डा. अस्मिता विष्ट र डा. निरज भट्टराईबीच छलफल भयो।

    कवि मुकारुङले कविता मौलिक सिर्जनाको विषय भएको बताउँदै अनुकरणले मात्र कवि बन्न नसकिने धारणा राखे। छन्दमा लेख्ने कविले नयाँ छन्दको आविष्कार गर्न सक्नुपर्ने उनको धारणा थियो।  ‘मुक्त छन्दमा लेख्ने कविहरूले पुराना कविको शैली पछ्याउनेभन्दा नयाँ अभिव्यक्तिको खोज तथा आविष्कार गर्नुपर्छ,’ उनले भने।

    नयाँ आविष्कारबिना लेखिएको कविता अनुकरणमात्र भएको उनको भनाइ थियो। ‘जसरी लेखे पनि त्यहाँ कविता हुनुपर्छ। पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका अनुभव र अभिव्यक्तिलाई आत्मसात् गर्दै नयाँ कुरा सिर्जना गर्न सक्नुपर्छ,’ उनले भने, ‘नयाँ चेतना र नयाँ आविष्कारबिनाको लेखन केवल अनुकरण मात्र हुन्छ। नयाँ सिर्जना गरिसकेपछि मात्र ऊ कवि हुन्छ।’

    चार दशक लामो साहित्यिक यात्राको अनुभव सुनाउँदै उनले आफू अझै पनि कविताको खोजमै रहेको बताए। ‘कवि हुनु चानचुने कुरा होइन। ४) वर्षको अनुभवमा पनि म कवि नै भएको छैन जस्तो लाग्छ,’ उनले भने।

    मुकारुङले साहित्यले मानवीय भावनालाई उच्च स्तरमा अभिव्यक्त गर्ने भएकाले लोकल र ग्लोबलको सीमा त्यति स्पष्ट नहुने बताए। उनका अनुसार विश्वभरका मानिसले खोजिरहेका विषय साहित्यमा विश्वसनीय ढंगले प्रस्तुत हुन सके त्यसले विश्वव्यापी स्वर प्राप्त गर्न सक्छ।

    छलफलमा डा. विष्टले सिर्जनामा अध्ययनको महत्त्व औंल्याउँदै पढाइलाई ‘सब्जी पकाउनुअघि सामग्री तयार गर्ने प्रक्रिया’सँग तुलना गरिन्। उनले पढेका विषय अनिवार्य रूपमा कविता सम्बन्धी हुनुपर्ने आवश्यक नरहेको बताइन्।

    उनले आफ्नो सिर्जना ग्लोबल र लोकलको प्रश्न पहुँचसँग जोडिएको हुन्छ। “पहुँचका लागि भाषा महत्त्वपूर्ण हुन्छ। आफ्नो भाषालाई संसारका कुन–कुन ठाउँसम्म पुर्‍याउन सकिन्छ भन्ने कुराले नै ग्लोबल आवाज निर्माण गर्छ,’ उनले भनिन्।

    विष्टले नेपाली कविताको विषयवस्तु विश्वस्तरको भए पनि पहुँचको अभावका कारण अन्तर्राष्ट्रिय पाठकमाझ पुग्न नसकेको धारणा राखिन्। उनले नेपाली साहित्यका अनुवादित कृतिहरू समेत पर्याप्त प्रचार–प्रसार र संस्थागत समर्थन नपाउँदा पाठकसम्म पुग्न नसकेको उल्लेख गरिन्।

    यता डा. निरज भट्टराईले मुकारुङको भनाइसँग सहमति जनाउँदै साहित्यकारले निरन्तर लेखिरहनुपर्ने बताए। उनले पहुँचलाई मात्र स्तरीयताको मापन मान्न नसकिने तर्क गरे।

    ‘लोकल नै ग्लोबल हो र ग्लोबल नै लोकल हो,’ उनले भने, ‘जलवायु परिवर्तन, लैंगिकता, भावना र विश्वभर भइरहेका सामाजिक–राजनीतिक परिवर्तनजस्ता विषय स्थानीय पनि हुन् र विश्वव्यापी पनि।’

    भट्टराईले कविलाई लोकल वा ग्लोबल भनेर छुट्याउन कठिन हुने उल्लेख गर्दै नेपालमा बसेका लेखकले विदेशी परिवेशलाई कल्पना र सिर्जनामा उतार्ने तथा विदेशमा रहेका स्रष्टाले गाउँघरका अनुभवलाई साहित्यमा प्रयोग गर्ने गरेको बताए।

    सशक्त सिर्जनाले सीमाना नमान्ने भन्दै उनले भने, ‘सिर्जनामा शक्ति छ भने त्यो अवश्य नै विश्वव्यापी पहुँचमा पुग्न सक्छ।’

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *