डा. अशोक थापा
किशन पौडेल, विजय हितान, मनीषकुमार शर्माको त्रिपक्षीय सम्पादन कर्म र कलम प्रकाशन प्रा.लि., काठमाडौँले पर्यावरणीय लघुकथाको सँगालो दोहन प्रकाशन गरेको छ । सम्भवतः पर्यावरण विषयकेन्द्री यो नै प्रथम संयुक्त लघुकथासङ्ग्रह हो ।
पर्यावरणीय कथालाई हेर्ने अनेकौँ दृष्टिकोण र आयाम हुनसक्छन् । पर्यावरणीय समालोचना (इकोक्रिटिसिज्म) को आँखाबाट हेर्दा तत् विषयक सृजनाको सबैभन्दा नजिक पुगिन्छ भन्ने मेरो बुझाइ छ । पर्यावरणीय समालोचना सिद्धान्तको जरो वैश्विक पर्यावरणीय सङ्कट, जलवायु परिवर्तन र जैविक विविधताको ह्रासमा अन्तर्निहित छ । फलतः यो चिन्ताको दर्शन हो ।
नेपाली साहित्यमा पर्यावरणीय चेतनाको इतिहास प्राचीन काव्यपरम्परासम्म पुग्नसक्छ तर आधुनिक नेपाली साहित्यमा विशिष्ट लेखनका रूपमा ‘पर्यावरणीय–साहित्य’ भर्खरै विकसित हुँदै आएको छ । यो सङ्ग्रह लघुकथा चौतारी मकवानपुर र नेपाली पर्या-साहित्य प्रतिष्ठानको सहकार्यमा सम्पादन भएको देखिन्छ । ‘दोहन’ पर्यालघुकथासङ्ग्रह नेपाली साहित्यको एउटा महत्त्वपूर्ण दस्तावेज बन्न पुगेको छ । यो सङ्ग्रह प्रतियोगिताको उपज हो । यसमा प्रतियोगितामा उत्कृष्ट ठहरिएका कथाका साथै नेपालमा चर्चित भइसकेका लघुकथाकार र हिन्दी भाषाबाट अनूदित केही प्रतिनिधि लघुकथा अनुवाद समावेश गरिएको छ । यहाँ सम्पादकीय, प्रतियोगी कथा र अनुदित रचना गरी तीन खण्ड छन् । फलतः यसलाई द्विभाषिक स्रोतको लघुकथा सँगालो भने पनि हुन्छ तर अनुवाद गरेपछि भाषा भने एउटै हुन गएको छ ।
सङ्ग्रहको समग्र रूपरेखा
‘दोहन’मा समावेश गरिएका एक सयभन्दा बढी लघुकथाहरू मूलतः तीन पर्यावरणीय विषयमा केन्द्रित छन् (१) प्रकृतिको दोहन र मानवीय असंवेदनशीलता (२) जल, जङ्गल र जमिनको संरक्षण र (३) भावी पुस्ताप्रतिको उत्तरदायित्व । सङ्ग्रहको नामकरण बडो अर्थपूर्ण तरिकाले जुराएको देखिन्छ । ‘दोहन’को अर्थ दुहुनु (दूध निकाल्नु) र अतिशोषण दुवै हुन्छ । साङ्केतिक रूपमा पर्यावरणको शोषणलाई यस शीर्षकले सङ्केत गरेको देखिन्छ । फलतः शीर्षकमा नै प्रकृतिसँग मानवको शोषणकारी सम्बन्धको व्यङ्ग्यात्मक आलोचनात्मक चेत झल्किएको छ ।
९२ थान लघुकथा समेटिएको यस सँगालोलाई मूलतः कथाकारका चार दृष्टि भेटिन्छ प्रकृतिलाई सक्रिय पात्रका रूपमा उपस्थापन गर्नु, मानवप्रकृति सम्बन्धको विकृतीकरण गर्नु, अमानवीय प्राणी र वनस्पतिको आवाजलाई प्राथमिकता दिनु र स्थानीय अनि विश्वव्यापी पर्यावरणीय सङ्कटको सूक्ष्म चित्रण गर्नु ।
प्रकृति एक सक्रिय पात्र
मानवभिन्न केन्द्र यस सँगालोले स्थापना गर्न खोजेको प्रमुख विचार हो । यहाँ मञ्जु काँचुली तिवारीको ‘नदी र सभ्यता’मा नदी र सभ्यताको संवाद अत्यन्त सशक्त रूपमा प्रस्तुत गरिएको छ । यहाँ नदीलाई भूगोलमात्र नभएर एउटा सजीव, बोल्न सक्ने, आक्रोश व्यक्त गर्न सक्ने पात्रको रूपमा उभ्याइएको छ । नदीले सभ्यतालाई सोधेको एउटा प्रसङ्ग यस्तो छः
“बगेको निर्मल पानीलाई दिनदिनै हिलो छ्याप्नु के यो तिम्रो सभ्यता हो ?” (पृ. १)
यो प्रश्नले मानव सभ्यताको गहिरो विरोधाभास उजागर गरेको छ जुन सभ्यताले नदीको किनारामा जन्म लियो, त्यही सभ्यताले नदीलाई नै बिरूपीकरण गरिरहेको छ । कथाको अन्तमा नदीले हाँस्दा त्यो हाँसो व्यङ्ग्यमा परिणत हुन्छ । निर्मलताको प्रमाण दिएझैँ गरी पुनः उर्लिन थाल्छिन् । यो पुनरुत्थान प्रकृतिको प्रतिरोधशक्तिको प्रतीक हो ।
खेमराज पोखरेलको ‘अन्तिम रूप’ कथामा एक स्वप्न दृश्यमा मानिस, पशु, चरा र वनस्पति सबै सम्मिलित भएको एउटा अचम्मको आकृति प्रस्तुत भएको छ । यो ‘सन्तुलित र सुध्रिदो पृथ्वीको प्रतिबिम्ब’ मानवीय क्षुद्रताको सामुन्ने एउटा पर्यावरणीय आदर्शका रूपमा उभिएको छ । जब मान्छेले वनको अन्तिम रुख काट्न लाग्दछ त्यो अलौकिक आकृतिले के चेतावनी दिन्छ भने “यो पृथ्वीको अन्तिम रुख हो । नकाट । यदि काटिस् भने त्यही बेला तिमी पृथ्वीको अन्तिम मानिस हुनेछौ ।” (पृ. ४) ।
यस कथांशले पर्यावरणसाहित्य आलोचनाको मूल सिद्धान्त प्रकृतिको विनाश र मानवको विनाश अविभाज्य छन् भन्ने तथ्यलाई प्रखर रूपमा व्यक्त गर्दछ । अन्तर्निभरताको सिद्धान्तलाई यो कथाले बलियोसँग उठाएको छ ।
शेखर अर्यालको ‘क्षुब्ध प्रकृति’ र रासाको ‘हरितमा’ मा प्रकृतिको मानवीकरण (पर्सनिफिकेसन) गहिरोसँग गरिएको छ ।
‘क्षुब्ध प्रकृति’ कथामा “हैन ! मैले यी प्राणीहरूलाई अथाह धनदौलत र आनन्द प्रदान गरेकी छु, मेरा शरीरका हरेक अङ्ग–अङ्गले सन्तुष्टि पनि प्रदान गरेका छन् तर किन अझै मेरो स्वरूपलाई डगमगाउन खोज्छन् हँ ।” (पृ. २१)
भन्दै प्रकृति माता हुन् जसको शरीरमा फोहोरमैला गरी अत्याचार गरिँदैछ । यस प्रकारको मातृभूमि कल्पना गरिनु पर्यावरण चेतनाका दृष्टिले बलियो तर्क हो ।
२. विकासले विनाश
‘दोहन’का कथामा मानव र प्रकृतिबीचको सम्बन्धलाई मुख्यतः दुई रूपमा देखाउँछन्: विकृत सम्बन्ध (डिस्टोपियन रिलेसनसिप) र सम्भावित पुनर्मिलन (पोसिबल रिकन्सिलेसन) । पर्यावरण–साहित्य आलोचनाको दृष्टिकोणमा विकासको नाममा हुने प्रकृति विनाशको आलोचना यस सङ्ग्रहको सबैभन्दा महत्त्वपूर्ण योगदान हो ।
डा. टीकाराम पोखरेलको ‘विस्थापित विकास’ एउटा अत्यन्त सशक्त कथा हो । एक विकासविद् आफ्नो गाउँ फर्किँदा देख्छ । जहाँ घाँसे पाखा मोटर बाटोमा परिणत भएको छ, खोलाका ढुङ्गा हरिएका छन्, माछाहरू विस्थापित भएका छन्, किसानहरूको काम घटेको छ । कथाको अन्तमा सहयात्रीले भन्छ,
“वा विकास! गाउँमा यस्तो आधुनिक विकास देखेर विकासविद् दङ्ग परेछन् ।” (पृ. ४०)
यो व्यङ्ग्यले ‘विकास’ भन्ने अवधारणाको गहिरो आलोचना गर्दछ । पर्यावरण–साहित्य समालोचनाको भाषामा यसलाई विकासले निम्त्याएको विनास भन्न सकिन्छ । यो प्रतिरोधी कथा हो । विकासको नाममा पारिस्थितिक सन्तुलनको ध्वंस गर्नु यो पुँजीवादी समाजको पहिलो अनुहार हो ।
विनोद नेपालको ‘विकास’ कथामा पनि यही विचार अझ व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत भएको छ । आफ्नो गाउँ फर्किँदा बरपीपलका बोट, चौतारा, कुवा सबै गायब भएको देखेर एक पात्र विह्वल हुन्छ तर गाउँलेहरू नआएझैँ मौन रहन्छन् । यो मौनता एउटा सामूहिक सहमति हो । विकासको नाममा आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदा गुमाएकोमा पनि बोल्न नसक्ने विवशता यहाँ देखाइएको छ ।
श्यामप्रसाद श्रेष्ठको ‘अधिनायक’ अत्यन्त कलात्मक कथा हो जहाँ ‘कार्बन’ले अधिनायकको रूपमा बोल्छ । जलवायु परिवर्तनको मानवीकरण । कार्बनले भन्छ,
“मलाई हिमाल मन पर्दैन, नाङ्गा डाँडा अत्यन्तै मन पर्छ । सबै हिउँ पगालेर समुद्रमा पुर्याउन मन लाग्छ, अनि समुद्रको सतह बढाएर सहर डुबाउन मन लाग्छ ।” (पृ. ८४)
यो एउटा अत्यन्त सिर्जनशील रूपक हो जसले जलवायु परिवर्तनको मानवीय जिम्मेवारीलाई व्यङ्ग्यात्मक ढङ्गले उजागर गरेको छ ।
संरक्षणको आवाज
‘दोहन’का झन्डै आधासरो कथामा चरा, पशु, वृक्ष, कीरा र अन्य प्राणीहरूले आफ्नो पक्षमा बोल्छन् ।
ध्रुवराज थापा ‘पुरुष’को ‘विद्रोह’ कथामा एउटा जनावर सम्मेलनको दृश्य छ जहाँ वनविनाशपछि बेघर भएका विभिन्न जनावरहरू एकत्रित हुन्छन् र मानव विरुद्ध विद्रोहको घोषणा गर्दछन् । यो दृश्यले जनवार अध्ययन, तिनीहरूको अधिकार, उनीहरूको बासस्थान उजाड बनाउनु अपराध हो भन्ने भाव व्यक्त गर्दछ । कथामा प्रमुख अतिथि शेरबहादुरले भन्छ
“अब हामी सबैले एकजुट भएर सशक्त विद्रोह गरेनौँ भने मानिसले हाम्रो अस्तित्व समाप्त पार्छन् अनि आफू पनि सकिन्छन्!” (पृ. ५२)
हेमलता उप्रेतीको ‘वनस्पति अधिकार’मा एउटा बन्दी पीपलको बोटले स्वतन्त्र हुने सपना देख्छ । जुलुसमा ‘पशुअधिकार’को नारा सुनेर त्यो बोट सोच्छ ।
“सबै प्राणीलाई दास बनाई आफ्नो मात्र हकहितको कुरा गर्ने मानिसहरू पशु हकहितको पनि कुरा गर्न थालेछन् ठाँटे । अब त यिनले वनस्पति हकहितको पनि कुरा गर्न के बेर।” (पृ. ४२)
यो विडम्बना अत्यन्त सशक्त पर्यावरणीय आवाज हो ।
टीकाराम रेग्मीको ‘धन्य वृक्षहरू’ कथामा एउटा बटुवा भिरका वृक्षहरूले दिएको छायाँ र चिसोपनालाई देखेर कृतज्ञ हुन्छ तर पातहरू बटुवालाई जवाफ दिन्छन् । आफूहरूले पाउनुपर्ने न्यूनतम खाद्य र पानी पनि नपाएको पीडा पोख्छन् । यो कथाले प्रकृतिको एकतर्फी शोषणलाई सूक्ष्म ढङ्गले उजागर गर्दछ ।
मुना अर्यालको ‘चराहरूको आवाज’मा एक बस्तीबाट टाढिन बाध्य चराहरूले फर्कँदा देख्छन् — ठाउँ–ठाउँमा घर मात्र छन्, नदीमा पानी सुकेको छ, धुवाँको मुस्लो छ । यो दृश्य पर्यावरण विनाशको एउटा संक्षिप्त तर शक्तिशाली चित्रण हो ।
जल, जङ्गल र जमिन
‘दोहन’ सङ्ग्रहमा पर्यावरणीय सङ्कटका तीन प्रमुख आयाम : जलप्रदूषण, वनविनाश, र भूमिको दोहन रहेकोक छ ।
डा. हरिप्रसाद भण्डारीको ‘नदी र नहर’ कथामा एउटा विशाल नदी र नहरको तुलनात्मक चित्रण छ । नहरको पानी ‘अब नदीभन्दा पनि शक्तिशाली भएँ’ भनेर अहङ्कार गर्दछ र खेतखोल्सीमा छरिन्छ, तर अन्तमा पुनः नदीमा मिल्छ अनि लाजले भुतुक्क हुन्छ । यो कथाले प्रकृतिको आत्मसात् शक्ति (रिजलेन्स) र मानव निर्मित संरचनाको कृत्रिमताको तुलना गर्दछ । विजय हितानको ‘पर्वतको गुञ्जन’मा हेलिकप्टरको शोरले हिमाली वातावरणमा पार्ने प्रभावको मार्मिक चित्रण छ ।
लीलाराज दाहालको ‘अभियन्ता’ कथामा वातावरण प्रदूषण, मद्यपान र धूम्रपान विरुद्ध जनचेतना फैलाउन निस्केका अभियन्ताहरूले आफैँ बिस्कुट, चाउचाउका खोल र खाली बोतलहरू सडकभरि छर्छन् । यो कथाले ‘तपाइँ जे भन्नु हुन्छ, सो व्यवहार गर’को अभावलाई व्यङ्ग्यात्मक ढङ्गले देखाउँछ । कुमार काफ्लेको ‘कहाँको मङ्गल !’ कथामा कालिज गायब भएको वनमा सहयात्री निराश हुन्छन् —
“एउटा फूल फुलेर के वसन्त आउँथ्यो ! जाम् अब घरतिर, अबदेखि नआए नि हुने भो । अब हामीलाई यो जङ्गलमा मङ्गल हुँदैन साथी।”
भनेबाट वनविनासको मर्मलाई मार्मिक रूपमा उठान गरिएको छ ।
रमेन्द्र कोइरालाको ‘बालुवा’ कथामा मेयरले खोलाबाट ट्रकका ट्रक बालुवा निकालेको विषय आउँछ तर विरोध गर्न कोही तयार हुँदैन । खोलाका किनारको बालुवा निकाल्दा उत्पन्न हुने पारिस्थितिक समस्या यहाँ व्यङ्ग्यात्मक ढङ्गले उजागर गरिएको छ ।
स्थानीय विरुद्ध विश्वव्यापी
‘दोहन’ मा नेपालको स्थानीय पर्यावरणीय सञ्चयबाट सुरु भएर वैश्विक जलवायु परिवर्तनसम्म पुग्छन् । पर्यावरणसाहित्य आलोचनाको वातावरणीय न्याय (इन्भाइरोमेन्टल जस्टिस्) को मान्यतालाई सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने देश र समुदाय जलवायु परिवर्तनको सबैभन्दा बढी सिकार हुन्छन् ।
इन्दिरा ढकालको ‘मनसुन’ कथामा एउटा परिवारमा वर्षाको अनिश्चितताले पारेको प्रभाव मार्मिक ढङ्गले आउँछ । अन्तमा पोखरीमा आएको बाढी नियन्त्रण गर्न मरेका रामुको आत्माको शान्तिका लागि खोलाको किनारमा एक सय वृक्षारोपण गर्ने निर्णय हुन्छ । यो निर्णयले ‘जल र वन अविभाज्य छन्’ भन्ने पर्यावरणीय सत्यलाई मार्मिक ढङ्गले व्यक्त गर्दछ ।
प्रमोद साराङ्गको ‘पुनः सास फेर्ने पृथ्वी’ एउटा अत्यन्त काव्यात्मक कथा हो । एक बहिनीले आफ्नो कोठा सफा गर्दा फोहोरको परिमाण देखेर आश्चर्यचकित हुन्छिन् र एउटा कोठाबाट, एउटा घरबाट, एउटा टोलबाट, एउटा देशबाट, एउटा महाद्वीपबाट, यो पृथ्वीबाट कति फोहोर निस्केला ? यो क्रमिक विस्तार पर्यावरणीय सङ्कटको वैश्विक आयामलाई सिर्जनात्मक ढङ्गले उजागर गर्दछ । कथाको अन्तमा पृथ्वीले पनि सास फेर्ने सपना देखाइन्छ र एउटा आशाको रेखा देखाउँदछ ।
गोमविक्रमको ‘सजायँ’ कथामा पर्यावरणीय सम्मेलनमा सबै जलचर, थलचर, वनस्पतिहरूले भाग लिन्छन् र मानवलाई दोषी ठहर्याउँछन् । संसारभर हस्ताक्षर गराइएका तर कार्यान्वयन नगरिएका सम्झौताहरूको आलोचना गर्दै कथाले सम्मेलनको निर्णयलाई सशक्त बनाउँछ ।
भावी पुस्ताको उत्तरदायित्व
‘दोहन’का अनेक कथाहरूमा पितृसन्तान वा हजुरबानातिबीचको संवादमार्फत पर्यावरणीय उत्तरदायित्वको विषय उठाइएको छ । यो अन्तरपुस्ता पर्यावरणीय न्याय (इन्टरनेनेरसनल इन्बाइरोमेन्टरल जस्टिस) को अवधारणासँग गाँसिन्छ ।
डा. रवीन्द्र समीरको ‘परिवर्तन’ कथामा तीन पुस्ताको कथा छ । हजुरबुबाको समयमा बाघ, भालु, चितुवा घरमा आउँथे; बुबाको समयमा ती चिडियाघरमा मात्र बाँकी छन्; अब छोरोलाई भन्नुपर्दा “तस्बिरहरू कागजमा मात्र हुनेछन् सायद ।” यो वाक्य एउटा दुखद पर्यावरणीय भविष्यवाणी हो ।
हेमराज अधिकारीको ‘हरियो सपना’ कथामा जीवन नामक व्यक्तिले सारा जीवन प्रकृति संरक्षणमा लगाउँछन् र नाति अमनलाई सिकाउँछन् —
“यो जङ्गल, यी रुख, र यो स्वच्छ हावा तिम्रो भविष्यका लागि हो । प्रकृतिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।” (पृ. ३३)
तर बीस वर्षपछि अमन फर्किँदा सबै सुखिएको जमिनमा परिणत भइसकेको हुन्छ । जीवनको डायरीमा लेखिएको एउटा वाक्य बाँकी हुन्छ:
“यदि तिमीले प्रकृतिलाई माया गर्न छोड्यौ भने, एक दिन तिमी आफ्नो जीवनलाई बचाउन पनि असक्षम हुनेछौ।” (पृ. ३४)
यो कथाले पर्यावरणीय लापरवाहीको पुस्तागत परिणामलाई अत्यन्त संवेदनशील ढङ्गले देखाउँछ ।
अनूदित कथा
सङ्ग्रहमा समावेश डा. बलराम अग्रवाल, डा. शिखा कौशिक नूतन, रतन चन्द ‘रत्नेश’, राम मूरत ‘राही’, डा. सतीश चन्द्र शर्मा ‘सुधांशु’, संजीव ठाकुर र सन्तोष सुपेकरका हिन्दी लघुकथाहरूले सङ्ग्रहलाई एउटा महत्त्वपूर्ण बहुभाषिक आयाम दिएका छन् । यी कथाहरूले पर्यावरणीय सङ्कटको भौगोलिक व्यापकतालाई सिद्ध गर्दछन् । नेपाल होस् वा भारत, पर्यावरणीय समस्याहरू साझा छन् ।
डा. अग्रवालको ‘नदीलाई बचाउनुपर्छ’ कथामा नदी र खोलाहरूलाई मुहानबाट स्वतन्त्र रूपमा उन्मुक्त बग्न दिनु नदीलाई बचाउने एकमात्र उपाय हो भन्ने सन्देश आउँछ । संजीव ठाकुरको ‘विध्वंसको निर्माण’ मा रुखहरूबीचको संवाद अत्यन्त काव्यात्मक छ । नीम, पीपल, बट आदि वृक्षहरूले मानवीय विनाशका कारण शोक मनाउँछन् । सन्तोष सुपेकरको ‘विध्वंसको निर्माण’मा एक बुबाले सात वर्षका छोरोलाई सोध्छन्, “तिमी ठूलो भएर के बन्नेछौ?” छोरोले उत्तर दिँदैन, तर रुख आफैँ बोल्छ — “म काटिनेछु, मारिनेछु, र फेरि उठिनेछु बजारमा सोफा, कुर्सी, मेज, जुत्ता–केसका रूपमा।” (पृ. १५१)
शिल्प र संरचना
लाघुकथाको रचनाविधान विशेषतः संक्षिप्त, एकल केन्द्रबिन्दु युक्त रहन्छ । ‘दोहन’का कथाहरूले यस विशेषतालाई भरपूर उपयोग गरेका छन् ।
कथनशैलीका दृष्टिकोणमा, सङ्ग्रहका कथाहरूमा विविध प्रविधिहरू अवलम्बन गरिएका छन्: संवादात्मक (नदी र सभ्यता, अन्तिम रूप), स्वगत (क्षुब्ध प्रकृति, पर्यावरण), व्यङ्ग्यात्मक (नुनको सोझो, वातावरण दिवस), दन्त्यकथात्मक (विद्रोह, अकर्मण्य) र काव्यात्मक (हरित–क्रान्ति, पुनः सास फेर्ने पृथ्वी) । यो विविधता सङ्ग्रहलाई एकरसताबाट बचाउँछ ।
तर कतिपय कथाहरूमा सन्देशप्रधानताले कलात्मकतालाई पछाडि धकेलेको छ । पर्यावरणीय सन्देश कति स्पष्ट छ भने पाठकलाई स्वयं निष्कर्षमा पुग्ने अवकाश दिइँदैन । उत्कृष्ट पर्या–साहित्यमा सन्देश कलाको माध्यमबाट स्वाभाविक रूपमा उभिनुपर्छ, व्याख्यानको रूपमा थोपरिनुहुँदैन ।
सबैभन्दा सफल कथाहरू ती हुन् जहाँ पर्यावरणीय सन्देश कथावस्तुमा घुलमिल छ — जस्तो: ‘नदी र सभ्यता’, ‘अन्तिम रूप’, ‘पर्यावरण’ (रचना शर्मा), ‘किरो’, ‘बाँझो’, ‘पर्वतको गुञ्जन’, ‘अधिनायक’, र ‘प्रमाण’ । यी कथाहरूमा पर्यावरणीय चेतना र कलात्मक सौन्दर्यबीच उचित सन्तुलन छ ।
सीमाहरू र आलोचना
प्रस्तुत सँगालोका अधिकांश कथाहरू अझै पनि अभिजात वर्ग केन्द्रित बन्नपुगेका छन् । पात्रहरू मुख्यतः सहरिया, शिक्षित, मध्यमवर्गीय छन् । पर्यावरणीय न्यायको दृष्टिकोणमा, पर्यावरण विनाशले सबैभन्दा बढी असर पार्ने जनजाति, दलित र सीमान्त समुदायका आवाजहरू यस सङ्ग्रहमा पर्याप्त प्रतिनिधित्व पाएका छैनन् ।
लैङ्गिक दृष्टिकोणमा सङ्ग्रहमा महिला स्वर सीमित छन् । ‘इकोफेमिनिज्म’ ले के तर्क गर्दछ भने प्रकृतिको शोषण र महिलाको शोषणबीच गहिरो सम्बन्ध छ । यस आयाम सङ्ग्रहमा पर्याप्त अन्वेषण भएको छैन ।
केही कथाहरू पर्यावरणीय चेतना जगाउन अत्यधिक उपदेशात्मक छन् । पर्यावरणसाहित्य समालोचनाको आँखाबाट हेर्दा पर्यावरणीय साहित्य ‘जैविक’ छ अर्थात् प्रकृतिका नियमजस्तो आफैँ स्वाभाविक छ वा यो ‘यान्त्रिक’ छ अर्थात् बाहिरबाट थोपरिएको हो ? उत्कृष्ट पर्यावरणीय साहित्यमा पर्यावरणीय सन्देश विषयवस्तु र शिल्पमा यसरी गाँसिएको हुन्छ जो सहजै छुट्याउन सकिँदैन ।
‘दोहन’को साहित्यिक मूल्य
पर्यावरणसाहित्य आलोचनाको परिप्रेक्ष्यमा ‘दोहन’ नेपाली साहित्यमा एउटा दुर्लभ र आवश्यक कृति हो । यस सङ्ग्रहले तीन क्षेत्रमा उल्लेखनीय योगदान गरेको छ।
पहिलो, यसले पर्यावरणसाहित्यलाई नेपाली लघुकथाको वृक्षमा एउटा नयाँ हाँगा थपेको छ । पर्यावरणीय विषयवस्तुलाई लघुकथाको माध्यमबाट यति व्यापक र गहिरो रूपमा प्रस्तुत गरिएको यो सायद नेपाली साहित्यमा पहिलो सामूहिक प्रयास हो ।
दोस्रो, यसले पर्यावरणीय चेतनालाई विशिष्ट बौद्धिक अभिजात वर्गको चिन्ताबाट निकालेर सामान्य पाठकसम्म पुर्याउने प्रयास गरेको छ । एक सय भन्दा बढी लघुकथाहरूको वैविध्यले विभिन्न पाठकहरूले आफूलाई सम्बन्धित गराउन सक्ने ठाउँ दिएको छ ।
तेस्रो, यसले भविष्यको नेपाली पर्यासाहित्यका लागि एउटा नमूना र प्रेरणास्रोत बनेको छ । ‘दोहन’पछि नेपाली साहित्यमा पर्यावरणीय विषयवस्तुलाई थप गम्भीरताका साथ लिइनेछ भन्ने आशा गर्न सकिन्छ ।
यसै सँगालोको सम्पादकीयमा भनिएझैँ “प्रकृति हाम्रो अस्तित्वको आधार हो । पृथ्वीको आत्मा आज मौन पीडामा छ ।” ‘दोहन’का कथाहरूले यो मौनपीडालाई शब्दमा उतारेका छन् । पाठकको हृदयमा पृथ्वीप्रतिको माया र जिम्मेवारीको भाव जागृत गराएका छन् । विकासको नाममा प्रकृतिको दोहन हुँदैरहेको यो युगमा, जब जलवायु परिवर्तन अब आफ्नै आँगनको खतरा बनिसक्यो । यसको समाधानका लागि ‘दोहन’ जस्ता थुप्रै कृतिको आवश्यकतामात्र होइन अपरिहार्य भइसके ।
अग्रणी पर्यावरण–साहित्य चिन्तक स्कोलर लॉरेन्स ब्युएलको भनेझैँ “उत्कृष्ट पर्यावरणीय साहित्यले पाठकलाई के महसुस गराउँछ भने मानव र प्रकृति एक अविभाज्य सम्बन्धमा रहन्छन् । ‘दोहन’का उत्कृष्ट लघुकथाले ठीक यही गर्न सफल भएका छन् । मानव र प्रकृतिबीचको टुटेको धागो जोड्ने, त्यो अटुट सम्बन्धको स्मरण गराउने ।
दोहन जस्ता कथा एउटा सङ्ग्रहले मात्र हामीलाई पुग्दैन । अब पर्यावरणभित्र पनि शाखा प्रशाखाहरूका छुट्टा छुट्टै ग्रन्थ प्रकाशन गर्न ढिलो भइसकेको छ ।




Leave a Reply