• २०८१ माघ २९
  • काव्यपथमा अनन्त लम्किरहेकी पूर्णिमा


    अशोक थापा
    अशोक थापा

    पूर्णिमा जी शाह काठमाडौँकी स्थायी बासिन्दा हुन् । सङ्घर्षका पदचाप पहिल्याउँदै उनी हङ्‌कङ पुगिन् र उनका भावनासंवेगहरू पनि साथसाथै समुद्रपार पुगे तर मुर्झाएनन् । प्रदेशी भूमिमा पुगेपछि पनि उनका अन्तर्मनमा काव्यका बिरुवाहरू अङ्कुराउन छोडेनन् । फलतः उनका भावनाहरू कविता बनेर फुल्न थाले। उनी त्यहाँ आफ्नो दैनिक कामकाजमा मात्र सीमित नभएर समाजसेवामा पनि तल्लीन भइन् । यसैक्रममा उनले ‘लम्कँदै छु युद्ध गर्न (२०७०)’ कवितासङ्ग्रहको रचना गरिन् ।

    मूलतः शाहले यस कवितासङ्ग्रहमा पर्यावरणीय मुद्दा उठाउन चाहिन् । हिजोआज कवितामा वातावरणीय मुद्दाहरू उठ्न थालेको धेरै भएको छैन । शाहका कवितामा पृथ्वीको पीडा र सौन्दर्यको कहानीहरू पढ्न पाइन्छ । जल, जमिन, जङ्गलका कुराहरू कवितामा ज्वलन्त दृष्टान्त भएर आएका छन् । मानव स्वयं हिंस्रक जनावरजस्तो बनेर वायुप्रदुर्षण गरेको र त्यसको वि पक्षमा उनका कवितामा सृजना भए । निसासिँदो पृथ्वी, धमिलिँदो खोला र बिग्रिँदै गएको सूर्यर्यमण्डलका कुराहरूलाई शाहका कवितामा पढ्न पाइन्छ । प्रकृतिसँग टुट्दै गएको मावनसम्बन्धलाई उनका कविताको विषयवस्तु रहेको देखिन्छ । यसलाई चुस्त राख्नु र सुधार्नुको विकल्प हामीसँग नभएको कुरा उनका कवितासङ्ग्रहका उल्लेख छ ।

    आज पृथ्वी सङ्कटमा छ भनिन्छ । शाहका कवितामा पृथ्वीको पीडा आँसु बनेर बगेको छ । मानवमनको दुःख कवितामा पोखिएका छन् । उनको कविता भनेको जलका हरेक थोपाजस्तै देखिन्छन् जहाँ हामीले प्रकृतिका हरेक अंशलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश छ । निसासिँदो पृथ्वीलाई शाहले एक आर्तआत्माको कहरजस्तै प्रस्तुत गरेकी छन्, जसको स्वरमा परिवर्तनको पुकार देखिन्छ । धमिलिँदो खोलालाई उनले हाम्रो आँखाअगाडि हराउँदै गएको निर्मल र पारदर्शी देखाएकी छन्, जहाँ हाम्रा कर्महरूले प्रकृतिको सुन्दरतालाई धमिल्याइरहेको बुझिन्छ । बिग्रिँदै गएको सूर्यमण्डललाई उनले हाम्रो लापरवाहीको परिणाम स्वरूपको एक विशाल चित्रमा उतार्दै कवितामार्फत चेतावनी पनि दिएकी छन् । प्रकृतिसँग टुट्दै गएको सम्बन्धलाई सुधार्नुपर्ने आवश्यकता शाहले कवितामा राम्ररी व्यक्त गरेकी छन्। ‘म देख्दैछु’, ‘स्पर्श’, ‘तिमीसँगै’, ‘सन्ध्या’ जस्ता कवितामा उनले यी मुद्दाहरू उठाएकी छन् ।

    म देख्दै छु

    तिम्रो आँगनको डिलबाट देखिने

    खलकल ध्वनि गुन्जँदै

    अविरल बगिरहने

    त्यो छहरे खोला

    कति हेर्न मन होला ! (म देख्दै छु, पृ. ४०) ।

     

    प्रस्तुत कवितासँगालोले दोस्रो प्राथमिकतामा महिला मुद्दालाई उठाएको छ । हरेक नागरिकजस्तै नारीहरू पनि आत्मसम्मानको बगैंचामा रमाउन चाहन्छन् । सामाजिक अपेक्षाका कठोर जङ्जिरलाई उनीहरू चुडाउन चाहन्छन् । सूर्यको तापजस्तै भित्री शक्तिका सहायताले स्त्रीहरू आफ्नो मार्गलाई उज्यालो बनाउन चाहन्छन् । उनीहरू बाहिर सितल पानी बग्ने नदीजस्तै देखिए पनि परिआउँदा उर्लँदो नदी बनेर गर्जने सामर्थ्य राख्छन् । समाजमा नारीउत्पीडन छ तर त्यसको खरानीबाट पुनः उड्न सक्ने फिनिक्स चरा बन्ने सामर्थ्य राख्छन् महिलाहरू । स्वायत्तताको फराकिलो आकाशमा उड्न चाहने नारीहरूलाई अबरोध नगर भन्दै उनले सद्भावको सन्देश छरेर चेलीहरू बाँच्न चाहेको कुरा व्यक्त गरेकी छन् ।

    सामाजिक नियमका काँडाहरूलाई नारीहरू भाँच्न चाहन्छन् । उनीहरू स्वतन्त्रताको खुला आकाशमा विनाअवरोध उड्न चाहन्छन् । सद्भावको सन्देशले भरिएका शाहका कविताहरू – म र वस्त्र, लम्किँदै छु युद्ध गर्न, मेरो अस्तित्व, म र युद्ध, स्वतन्त्रता आदिमा उनीहरूको आत्मसम्मान, स्वतन्त्रता, र आत्मनिर्भरताको चाहनालाई व्यक्त गरिएको छ ।

    जो वर्तमानमा स्थिर छन्

    टेकेको त्यो भूमि

    जब प्रथम मेरो पाइला

    त्यही मेरो अस्तित्व मेरो पाइला

    त्यही मेरो अस्तित्व अड्केको छ

    प्रश्न गर्छ फेरि पनि

    तिमी किन मौन छौ ?

    खोज्दै छु मेरो अस्तित्व

    खै कहाँ छ ? (मेरो अस्तित्व, पृ. ५३) ।

     

    प्रणय प्रस्तुत पुस्तकको तेस्रो विषय हो । मान्छेका जिन्दगीमा प्रेम, बिछोड र स्नेह सँगैसँगै नृत्यमग्न हुन्छन् । जीवनमा प्रेमको वसन्त छ, जहाँ फूलहरू हाँस्छन् र मनका पातहरू नयाँ सुरुवातका गीत गाउँछन् । जीवनमा विछोडको सिरेठो पनि छ, जसले जीवनका पहेँला पातहरूलाई झारिदिन्छ, हृदयलाई छिया-छिया बनाइदिन्छ । साथै जीवनमार्गमा माया र स्नेह पनि छ, जसले मनको उद्यानमा फूलहरू फुलाउँछ र मन्दमन्द हावा बहाउँछन् । साथसाथै सन्तानप्रेम र बात्सल्यप्रेम पनि छ, जसले आमाको काखलाई सूर्यको किरणजस्तै उज्यालो बनाउँछ ।

    दुःखको धुपिलो घाम पीडा हो । बिहानको सित कोमलता हो । चिसो हावा र शान्ति श्वास जसले हृदयको ताप घटाउँछ र जीवनथप ताजगी बनाउँछ। मानव हृदयको टुक्रामा प्रेम, विछोड र स्नेह सँगसँगै भेटिन्छन्, जसरी एकै जङ्गलमा फूल र काँडा साथसाथै भेटिन्छन् । शाहका मिलनको अभिलाषामा प्रणय, आमामा मातृत्व प्रेम, हजारौँको भिडमा कविताहरूमा बिछोड वा एक्लोपनको चित्रण भएको देखिन्छ ।

    अनि

    हरपल

    तिम्रो सामीप्यको महसुस गर्छु ।

    मेरा प्रत्येक इन्द्रियले

    तिम्रो स्पर्श खोजिरहेका हुन्छन् ।

    कल्पनामा रमिँदै म,

    आलिङ्गनको अनुभूतिमा

    पौडिन थाल्छु

    रात छर्लङ् जान्छ

    पत्तो नपाई । (मिलनको अभिलाषामा, पृ. २४) ।

     

    शाहका कवितामा रूपान्तरणको स्वर भेटिन्छ । जातिप्रेम, राष्ट्रप्रेम र अन्तर्राष्ट्रिय सद्भावको भावना पनि उनका कवितामा छिपेर रहेका छन् । उनका कविता रङ्गीन फुलबारीजस्तै लाग्छन्, जहाँ पहिचानका विविधता प्रस्फुटित छन् । उनले कवितामा भनेको युद्ध दुई देशका बिचको होइन । दुई समुदायको बिचको पनि होइन, उनी आफैँ र आफ्नै मनभित्रको फरक भावनासँग युद्ध गर्न चाहेकी छन् । यो युद्ध उनीभित्रको अँध्यारोलाई उज्यालोसँग मिलाउने प्रयत्न हो । खासमा एक अर्को फरक पक्षलाई आत्मसात् गर्न सङ्घर्ष गरिरहेको चन्द्र र सूर्यको कहानी हो उनको यो कवितासङ्ग्रह । उनका कविता सापेक्षित रूपमा उत्कृष्ट नहोलान् तर उनले भन्न खोजेको भावनालाई इमानदारीपूर्वक सम्प्रेषण गरेकी छन्। उनका हरेक शब्द एउटा खजानाजस्तै लाग्छन्, जसले पाठकको हृदयमा गहिरो छाप छोड्दछन् । उनी आफ्ना कवितामार्फत मानवआत्माको अन्तरयात्रा गर्छिन्, जहाँ हरेक पाइलामा स्वर्णिम किरणले पथप्रदर्शन गरिरहेका हुन्छन् । उनका कविताहरू जीवनको समुन्द्रमा तैरिरहेका सन्देशवाहक पन्छीहरू जस्तै लाग्छन्, जसले शान्ति, प्रेम, र एकताको गीत गाइरहन्छन् । काव्यपथमा अनन्त लम्किरहेकी पूर्णिमाका कविता सागरजस्तै मौलिक र प्राकृतिक लाग्छन् ।

     

    डा. अशोक थापा

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *