दुई दशकभन्दा लामो समयदेखि नेपाली साहित्यको लेखन तथा गहन अध्ययनमा लागिरहनु भएका कथाकार, समालोचक डा. अशोक थापाज्यू साहित्यवार्ता कार्यक्रमको स्रष्टा र साहित्यको ६७ औँ शृङ्खलामा जोडिनु भएको छ । हाल कीतिपुर निवासी डा. थापा पछिल्लो डेढ दशकदेखि त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा नेपाली भाषासाहित्यको प्राध्यापको रूपमा कार्यरत हुनुहुन्छ । २०३६ साल कार्तिक २६ गते पोखरामा उहाँको जन्म भएको थियो । माता गिनकुमारी बोहोरा र पिता लिलबहादुर थापाका उहाँ माहिलो छोरा हुनुहुन्छ । स्कुलेजीवनदेखि नै कविता र गीतमार्फत साहित्यलेखनको प्रारम्भ गरेको बताउने डा. थापाको २०५८ सालमा पहिलो पटक साहित्यिक रचना प्रकाशित भएको थियो । जनमत पत्रिकामा ‘भूपिलाई सम्झिँदा’ समीक्षा प्रकाशित गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ । २०६१ सालमा मोतीजयन्तीका सन्दर्भमा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा उहाँले तृतीय स्थान हासिल गर्नु भएको थियो । कथा, गीत, गजल, समालोचना विधामा सशक्त रूपमा कलम चलाउँदै आउनुभएका डा. थापाका हालसम्म ३ वटा कृति प्रकाशित छन् । जसमा नाट्य समीक्षा र अन्य समालोचना (२०६५), कताबै-किताब (२०७४), सन्तापको धून (कथासङ्ग्रह २०७९) रहेका छन् । यसका अलवा उहाँ पाठ्यक्रमका पुस्तकलेखनमा पनि सक्रिय हुनहुन्छ । साथै उहाँका साहित्यका विविध विधामा लेखिएका ५० भन्दा बढी समालोचना छापिएका छन् । त्यसमा नाटकरङ्गमञ्च सम्बद्ध समीक्षाहरू अधिक छन् । पेज टर्नर प्रा.लि. प्रकाशनले बजारमा ल्याएको उनको सन्तापको धून कथासङ्ग्रहले केही पुरस्कारसमेत प्राप्त गरिसकेको छ । यसमा नोमोबुद्ध वर्ष आख्यान पुरस्कार (२०८०) र चितवन साहित्य परिषद्को गीता श्री उत्कृष्ट आख्यान (२०८०) उल्लेखनीय छन् । साथै यो कथासङ्ग्रह पद्मश्री पुरस्कार श्रेष्ठ पाँच कृतिमा पर्न पनि सफल भएको थियो । यसका अलवा नेपाली नाटकमा विसङ्गतिबोध (२०७३) शीर्षकमा विद्यावरिधि गरेबापत डा. थापालाई नेपाल विद्याभुषण ‘क’ प्राप्त छ । लामो समयदेखि पुस्तकालयव्यवस्थापनमा पनि लागिरहनु भएका डा. थापा नेपाल प्रज्ञा-प्रतिष्ठानको समकालीन साहित्य त्रैमासिकका कार्यकारी सम्पादकका साथै साहित्य-कुञ्जका अध्यक्ष, प्रगतिशील लेखन संघका सदस्य, आदिइत्यादि नाट्यसमूहमा पनि आबद्ध हुनुहुन्छ । नेपाली भाषा, साहित्यलेखन, पठनपाठनमा समर्पित कथाकार तथा समालोचक डा. अशोक थापा आजको बसाइमा हामीसँग १ घटा रहनुहुनेछ । उहाँका साहित्यका विविध पाटाहरूलाई आज हामी कार्यक्रममा केलाउने छौँ । प्रस्तुत छ डा. थापाले हाम्रा सहकर्मी डीजी शर्मासँग गर्नु भएको कुराकानीको सम्पादित अंश ।
‘सन्तापको धून’ अर्को संस्करणमा आइपुग्यो कस्तो अनुभूति भइरहेको छ ?
- पुस्तकको सफलताले दिने खुसी बयानै गर्न नसकिने खालको हुँदोरहेछ । मेरो कथासङ्ग्रहले यो दसैंमा एक वर्ष पारगरेको छ । यतिखेर लेखन भनेको आत्माको अन्वेषण रहेछ जस्तो लागिरहन्छ मलाई । यसले हरदिन साहित्यक्षेत्रमा काम गर्ने ऊर्जा पनि आइरहन्छ । कति पेसाका मान्छेको जीवनमा अवसर हुने रहेछ विकल्प हुँदोरहेनछ। विकल्पहीन भएर साहित्य मै राम्रो गर्नु पर्छ भन्ने लाग्छ मलाई । म साहित्य क्षेत्रबाट बाहिर जान असम्भव छ कि यहीँ राम्रो गर्ने कि गुमनाम निष्क्रिय जीवन बिताउने । मलाई मेरो पहिलो किताबले थप सक्रिय बन् भने जस्तो लागिरहन्छ ।
एउटै व्यक्ति सर्जक र समालोचक बन्न सक्छ र ?
- हो म सृजना गर्न प्रयासरत छु, म समालोचना पनि गर्न रुचाउँछु । यी दुईमा फरक के लाग्छ भने म कथा इच्छाले लेख्दोरहेछु, समालोचना अनिच्छाको गर्दोरहेछु । जीवनमा केही अनिच्छाका काम पनि हामी गरिराखेका हुँदारहेछौँ । जाडोको मध्यरातमा बाथ रूम गएजस्तै नजाउँ स्वास्थ्य बिग्रिन्छ, जाउँ निद्रा बिग्रिन्छ । हो त्यस्तै लाग्छ मलाई समालोचना ।
हुन त समालोचना पनि सृजना नै हो । कोकाकोला सृजना हो । त्यसभित्र रहेको चिनीको मात्रा, केमिकलको मात्रा, त्यसको समाज उपयोगिता पर्गेल्ने काम समालोचना हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रूपमा समालोनचना गर्नु भन्दा साहित्य सृजना गर्नु धेरै जटिल तर आत्मसुन्तुष्टिको काम हो जस्तो लाग्छ । म समालोचना आफ्नो वृत्तिविकासका लागि गर्दोरहेछु, साथीलाई पैंचो तिर्न गर्दोरहेछु, साथीलाई फुर्क्याउन गरिराखेको हुँदोरहेछु यो विक्कुल ठीक काम होइन रहेछ । मलाई थाहा छ त्यो ठीक होइन तर पनि गरिराखेको छु, चुरोट खराब हो भन्ने जानेर पनि पिइरहेको छु ।
समालोचकले सृजनामा के फाइदा उठाउँदोरहेछ ?
समालोचकले साहित्यलेखनमा उठाउने फाइदा धेरै प्रकारका हुन्छन् । उसले लेखनका प्राविधिक कुरा, सृजनाका सैद्धान्तिक कुरा बुझेको हुन्छ । त्यति मात्र होइन लेखक-सर्जकले गर्ने खासखास गल्तीका विषयमा ऊ जानकार हुन्छ । कम्तीमा तीती जोखिमका घुम्तीमा ऊ सचेत भएर कलम चलाएको हुन्छ । समालोचकले सृजनामा फाइदा उठाएकै हुन्छ ।
तपाइँले कथामा पात्रको स्तरभन्दा उपल्लो तहको भाषा प्रयोग गरेको भन्ने आलोचना छ नि ?
- हो मेरो कथासङ्ग्रहलाई लिएर केही आलोचना जरुर भएका छन् । एउटा आरोप पात्रलाई स्तर अनुसारको भाषा नबोलाएर सामान्य पात्रमा पनि एउटा पढेको मान्छे, एउटा प्राध्यापकले बोल्ने जस्तो भाषा बोलाएको आरोप छ । यो सही आलोचना हो । म कहाँनेर फेल भएँ भनेर आफैँलाई समीक्षा गर्दैछु । लेखनमा अवलोकन नपुगेको रहेछ । नयाँ लेखकहरू दुर्घटित हुने भनेको यहीँनेर हो सायद । मेरा पनि केही कथाहरूमा दुर्घटित भएका छन् । अझ लामो कथा, उपन्यासलेखनमा यो मुख्य चुनौती हो जस्तो लाग्छ । पात्रको धारणा र उसको भावनालाई गहिराइमा बोध गर्न नसकेको अवस्थामा यस्तो हुनेरहेछ । पात्रको जातीय, सामाजिक, सांस्कृतिक पृष्ठभूमि, शैक्षिक अवस्था र उमेरलाई राम्रोसँग जज गर्न नसक्दा यस्तो हुनेरहेछ । निकै अनुभवी लेखकलमात्र यसमा सफल हुनेरहेछन् । मेरो सन्तापको धूनमा भएका कमजोरीहरूलाई आगामी लेखनमा सुधार्ने प्रयास गर्नेछु ।
पुरुष भएर महिलाका कथा किन लेखेको ? बेच्न सकिन्छ भनेर हो ?
- मैले योजनाबद्ध रूपमा महिलाका कथा लेख्छु भनेर लेखेको होइन । लेख्दै जाँदा त्यस्तो हुन गएछ । मलाई लाग्छ पुरुषभन्दा महिलाहरू बढी भावुक हुन्छन् । साहित्यमा भावनाको भकारी नै हुन्छ जस्तो लाग्छ मलाई । महिलाहरूलाई सजिलै बुझ्न सकिँदैन पुरुषभन्दा जटिल हुन्छन् भन्ने मेरो बुझाइ छ । पुरुषका लागि महिला एउटा रहस्यको पोका हुन् भन्ने ठान्छु । व्यक्तिगत रूपमा ममा महिलाहरूप्रति धेरै सहानुभूति छ । मेरी आमाको दुःख, दिदी बहिनीको आँसु, प्रेमिकाको रोदन नजिकबाट देखेको छु मैले । योजना नै बनाएर मैले महिला पात्रका कथा लेखेको त होइन लेख्दै जाँदा महिलातिर ढक्किएछु यो असचेत रूपमा भएको हो । पुरुषले महिला र महिलाले पुरुषका बारेमा लेख्नु अस्वाभाविक कुरा पनि होइन । बेच्नकै लागि महिलाको कथा लेखेको भन्ने अफवाह हो । सत्य होइन ।
नेपाली साहित्यको इतिहास किन अपुरो छ ?
- संसारभरि नै इतिहास अपुरो नै हुन्छ । इतिहास शक्ति र सत्तानिकटहरूको बढी लेखिन्छ । सडकका मान्छेको कम लेखिन्छ, लेखिए पनि बिरूप बनाएर लेखिन्छ । धार्मिक हिसाबले रामको इतिहासलाई ग्लोरिफाइ गरिएको छ रावणको होइन । अर्को अभिलिखित सामग्री वा लिखित सामग्रीका आधारमा साहित्यको इतिहास लेखियो । मौखिक (ओरल हिस्ट्री) इतिहासलाई बेवास्ता गरियो । इतिहासमा मौनआवाजलाई खास सुनुवाइ भएको पाइँदैन । सीमान्तकृत अल्पसङ्ख्यकहरूको इतिहास सही तरिकाले लेखिएको छैन । हाम्रोमा पनि लेखिएन । हो इतिहास प्रारम्भिक चरणमा अव्यवस्थित हुनसक्छ, अप्रमाणिक हुनसक्छ, एक पक्षीय हुनसक्छ र त्यसलाई इतिहासको क्रममा खण्डनमण्डन पुनपरीक्षण, पुनर्लेखन गर्नु पर्ने देखिन्छ । अब इतिहास शासकको आँखा, शासितको आँखाबाट होइन स्वयम्भुका आँखाले हेरेर लेखिनु पर्छ । नेपाली साहित्यमा हामीले पढेका लेखनाथ, देवकोटा, सम, घिमिरे मात्र होइनन् छेल परेका थुप्रै प्रतिभाहरू छन् जसलाई एकपक्षीय इतिहासले नदीको प्रवाहमा लगेन बगरको ढुङ्गा बनाएर किनारमा छोडिदिएको छ । अब किनारामा मिल्किएकाको पनि इतिहास लेखिनुपर्छ ।
अब लेखिँदा पूर्ण हुन्छ भन्ने ग्यारेन्टी के छ ?
- ग्यारेन्टी त केही पनि छैन । यो पृथ्वी ब्रमाण्डको पनि टुङ्गो छैन । ग्यारेन्टी भन्दा पनि थप प्रमाणिक बनाउँदै लानुपर्छ भन्ने मेरो मान्यता हो । रोयल कविहरूको इतिहास हामीले पढ्यौँ साथैसाथै सडकका कविहरुको पनि इतिहास लेखिनुपर्छ । बालकृष्ण समको इतिहास पढिँदा गोकुल जोशी, जेवी टुहुरे, रुपचन्द्र बिष्टहरूको इतिहास पनि पढिनुपर्छ खोजिनुपर्छ । साहित्य छाप्ने आर्थिक हैसियत नभएका जनगायकहरूको पनि इतिहास लेखिनु पर्छ । अब प्रविधि, पद्धतिको इतिहास शास्त्रको विकास भइसकेकाले अबको इतिहास बढी प्रमाणिक हुनसक्छ । पूर्ण त कहिल्यै हुँदैन ।
साहित्यको इतिहास पुनर्लेखन सम्भव छ त ?
- सम्भव छ । कस्ता कस्ता कुरा त सम्भव भएको छ । चन्द्रमा हलो जोत्न सम्भव भएको छ । नक्कली चन्द्रमा बनाउन त सम्भव छ भने नेपाली साहित्यको पुनर्लेखन असम्भव भन्ने हुने कुरा नै भएन भन्ने मेरो मान्यता हो । रह्यो कुरा समय, श्रम र इच्छा शक्तिको । राज्यको उपस्थितिको । यतिखेर हामीसँग प्रविधि छ । इतिहासशास्त्र बोध गरेको मानव स्रोत पनि छ । त्यसैले सम्भव छ ।
नेपाली साहित्यको वर्तमान अवस्था गुणस्तरीय छैन भनिएको छ यसको मापन आधार के हो ?
- विषयवस्तुको गहिराइ र शिल्पशैलीको सुन्दरताले साहित्यलाई गुणस्तरीय बनाउँछ भन्ने लाग्छ । स्थापित मूल्यलाई चुनौती दिन सक्ने साहित्य गुणस्तरीय हुन्छ । विचार र भावनाको सुसङ्गति र कलात्मक अभिव्यक्ति भएको साहित्य गुणस्तरीय साहित्य हो । अहिले नेपाली साहित्यको बजारमा सङ्ख्या ह्वात्तै बढ्यो गुस्तरीयता बढेको छैन जस्तो लाग्छ । सङ्ख्यामा मात्र ध्यान दियौँ भने साहित्य पुस्तकालयका डङ्गुर मात्र हुनेछन् ।
साहित्यमा साधना के हो ?
- साधना भनेको लगाव हो । साहित्य क्षेत्रमा उसको लगानी हो । यो क्षेत्रप्रतिको निष्ठा कति छ त्यो हो । पढ्यो जागिर खायो, थोरै पैसा कमायो । अनि एउटा खेताला खोज्यो अनि साहित्यकार भयो । यो साधना होइन । त्यो क्षेत्रको अध्ययन, समर्पण, व्याख्या बहस आदिको संश्लेषित रूप साहित्यसाधना हो जस्तो लाग्छ ।
जस्तासुकै किताबलाई पुस्तक भनिदिनु पर्ने ? यसमा कुनै संयन्त्र चाहिँदैन ?
- हो हाम्रोमा दुर्भाग्य पुस्तक नीतिको अभ्यास भइसकेको छैन । एउटा मापदण्डसम्म बनाइएको छैन । प्रतिलिपिको कुरा, क्वालिटी कन्ट्रोलको कुरा, मूल्यको कुरामा मनलाग्दी छ । विकसित देशहरूमा पब्लिसिङ हाउसहरूले एउटा बलियो एजेन्ट मार्फत पुस्तक प्रकाशन भइरहेका छन् । उनीहरूले एउटा मानक बनाएर डिजाइन, लेआउट, मूल्य सबैको समानुपातिक सङ्गठनक आधारमा पुस्तक प्रकाशन गरिरहेका छन् ।
के पुरस्कारले लेखकलाई बिगार्छ ?
- पुरस्कार राम्रो कुरा हो । यसले लेखकलाई पहिचान दिन्छ, आर्थिक सहायता गर्छ, इनाममा शक्ति हुन्छ, पुरष्कारले आत्मबल बढाउँछ पनि । थप सक्रिय र क्रियाशील बन्न उत्प्रेरणा पनि दिन्छ । साथै प्रशंसा धेरै खतरनाक पनि हुन्छ । हाम्रा साहित्यिक पुरस्कार कुनै पनि निर्विवादित छैनन् । पुरष्कारका नाममा विकृति आयो भनेको सुनिन्छ । पुरस्कारको साटफेर भयो भनेको पढिन्छ सामाजिक सञ्जालमा, सम्मान ऐँचोपैँचोमा चल्यो भनेको लेख पढिन्छ अखबारमा । बहस गर्नु पर्ने विषय यही जरुर छ । आफूले पाउँदा निष्पक्ष छिमेकीले पाउँदा भाइबन्दी भन्ने मनोवृत्ति पनि छ । पुरस्कार योगदान आधारित हुनुपर्छ र यसमा शुद्धताको जरुरी छ ।
साहित्यवार्ता स्रष्टा र सृजनामा डीजी शर्माले अनलाइनमा लिनुभएको सम्पादित अंश ।
Leave a Reply