असोज २०, काठमाडौँ
वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको जीवनाख्यान ‘साँखेजुङको उकालो’ सार्वजनिक भएको छ । वरिष्ठ नियात्राकार प्रतीक ढकालको अध्यक्षता, छन्दसारथी रमेश खकुरेलको प्रमुख आतिथ्य र वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको विशेष आतिथ्यमा शनिबार काठमाडौँको बानेश्वरस्थित पाठशाला नेपालको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा सर्वप्रथम कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी साहित्य साधकहरूले उक्त पुस्तकको सामूहिक लोकार्पण गरेका थिए । पेज टर्नर प्रा.लि.द्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पणपछि कवि तथा नियात्राकार भवानी खतिवडाले भुवनहरि सिग्देललाई लक्षित गर्दै भनिन्, ५४ वर्षे पिता र १६ वर्षे माताको जेष्ठ सन्तानको रूपमा यस धराधाममा जन्मिएका भुवनहरि सिग्देलको जीवनीका उतारचढावहरु साँच्चै नै कौतुकमय लाग्दछन् । समाजका कौतुकमय व्यक्तिका यथार्थ कुरालाई लेखनको कौतुकमा ढाल्न सफल सिग्देल कौतुक लेख्नकै लागि जन्मिएका पात्र हुन् भन्ने आभास हुन्छ । यस कृतिमा सिग्देलले भोगेका जीवनका अनुभवहरु, अभाव, दबाव र सङ्घर्षका पहाड चढ्दाचढ्दै आर्जन गरेका यादहरुको कोलाजलाई बडो तिलस्मी ढङ्गले चित्रण गरेका छन् जुन भावी पुस्ताका लागि प्रेरक कडी हुन् ।
साहित्यकार तथा समालोचक महेश पौड्यालले ‘साँखेजुङको उकालो ‘कृति उत्कृष्ट कृतिको रुपमा आएको बताए । साँखेजुङको उकालोमा सिग्देलले देखेभोगेको समय मात्रै होइन, सत्रौँ शताब्दीको सभ्यता, काँठ क्षेत्रको लोकजीवन, संस्कृतिलाई अत्यन्तै रोचक, आलङ्कारिक, काव्यात्मक र बोधगम्य र सरल ढङ्गले चित्रित गरेर भावी पुस्तालाई ठूलो गुन लगाएको बताए ।
कार्यक्रममा लेखकीय भनाइ राख्तै सिग्देलले भने, आफूसँग बेइमान मानिस संसारभरि इमानदार हुन सक्तैन । यस कृतिभित्र मैले कुनै पनि कुरा ढाँटिन । मेरो लेखन मेरैलागि उपहास पनि हुन सक्ला, आत्मश्लाघा पनि मानिन सक्ला र मेरा जीवनका यी कथाहरुले समाजलाई प्रेरणा दिन पनि सक्ला । मेरो जीवनाख्यानले लोकलाई केही दिन सक्यो भने धन्य हुनेछु ।
प्रमुख अतिथि छन्दसारथी रमेश खकुरेलले भने, भुवनहरि सिग्देलको खोज अद्भुत छ, लेखन अद्भुत छ र लेख्ने हुटहुटी झनै अद्भुत छ । यो कृति भुवनहरि सिग्देलले विगतमा लेखेका दर्जनौँ अद्भुत कृतिहरूको पनि नौनी हो ।
कार्यक्रमका विशेष अतिथि गोविन्दराज विनोदीले सिग्देलको कृति सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सभाध्यक्षको तर्फबाट मन्तव्य व्यक्त गर्दै वरिष्ठ नियात्राकार प्रतीक ढकालले भने, साँखेजुङको उकालो साहित्यिक शैलीको फेन्टासीमा अनेकौँ रोगका उपचार विधि, अनेकौँ सिद्धपुरुषका जीवनकहानी, मल्लकालीन इतिहासको ऐतिहासिक दस्तावेज हो । ढकालले आधा दर्जन महाकाव्य, एक दर्जन खण्डकाव्य, एक दर्जन उपन्यासका साथै कविता र नियात्राका माध्यमबाट नेपाली साहित्याकाशमा उदाएका सिग्देलको यस कृतिले यस वर्षकै उत्कृष्ट कृतिको रुपमा आएको विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालनको क्रममा साहित्यकार महेश कार्की क्षितिजले कृतिभित्रका भावोत्तेजक पङ्क्तिहरु प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक तुल्याएका थिए ।
Leave a Reply