बाटो माग्दै एकोहोराे बजिरहेको एम्बुलेन्सको साइरन
साइरनलाई उछिनेर आएको मौन चित्कारको ध्वनि
ध्वनि मापन यन्त्रले नाप्न सक्छ ?
भीडमा एम्बुलेन्स अड्किरहँदा मेरो मन कति पटक अस्पताल पुग्यो
धड्कन नाप्ने यन्त्रले देखाउन सक्छ ?
तिमीलाई आशिर्वाद छ, सधैं तिम्रो जय होस् !
बर्बराउँदैछिन् अर्धचेतमै
चाह ! त्यो बिछ्यौनामा आफू बसेर
मेरो ठाउँमा उनलाई उभ्याउने
चिकित्सकको नौलो भाषा,
देखाउँदैछन् मलाई
मेरै लागि धड्किरहेको मेरै आमाको धड्कन
छरपस्टिएका सन्तान भेट्न दौडिरहेको
रेखादेखि रेखासम्म रेखाहरुकै बाटो बनाएर
जून ममताले तल माथि गरिरहेछ ।
कति हतार ! फेरि देखाउँछ
तारमा जेलिएको एउटा डल्लोमा अलिकति लेदो राखेर पेटमाथि दौडाउँदै
मैले कैयौँपल्ट काखमा लडीबुडी खेल्दा पनि देख्न सकेको थिइनँ
प्रत्येक कणको मापन कोशौं दूरीको हुने रहेछ
यी भूगर्भविद् हुन् र मेरी आमाको छाती ब्रह्माण्ड !
ममाथि असरल्ल छन् आमाका लोलाएका आँखा
मेरा नयन पोखिइरहेछन् आफैँ रचिएको ठाउँभित्र
सिङ्गो ब्रह्माण्ड छातीमा बोकेर हिंड्न सक्ने उनी
कहाँ धर्तीको परिभाषाले पूर्ण हुन सक्छिन् र ?
चेतना र भावना
संकल्प र सम्भावना
प्रण र त्याग
यस्तै कुराको संयोजन ठान्थेँ जिन्दगी
होइन रहेछ
तारतम्य हो यो
तार र शरीरको
विद्युत र आत्माको
रोग र चिकित्सकको
एकाएक रोकिए रेखाहरु
ढक्क जम्यो भित्र छचल्निे पदार्थ
रोकियो नलीमै पानी
सँगसँगै लुलिए मेरा हातगोडा
आँखामा तुँवालो
जब आँखा खुल्यो
देखेँ, माथि आकाशमा एकमूस्लो धुवाँ
पाउमा खरानी
होसमा आएर नियालेँ
शरीरभरिको माटो
यो त माटो मात्र पो रहेछ
मात्र माटो !!
Leave a Reply