• २०८१ जेष्ठ ७
  • सन्तवीर


    निरज दाहाल
    निरज दाहाल

    ‘मार्‍यो । मार्‍यो नि आमा ।’
    रातको तेस्रो प्रहर भएको हुँदो हो । दार्जिलिङको चौकबजारमै अवस्थित ‘होटल दाजुभाइ’ को, संभवतः सबैभन्दा सस्तो कोठाको खाटमै करायो । अन्धकारपूर्ण रात, लाग्थ्यो सम्पूर्ण दार्जिलिङ कालिमाको बर्को उडेर उसैलाई खान भनेर त्यस कोठाको ढोकामा उभिएको छ ।
    काहालिएर ब्यूँझिएको सन्तवीर खाटमा बस्यो । जोडको आवाजले ब्यूँझिएकी जमुनाले एकछिन् त के भएको हो, मेसै पाइन । बत्ती बाली, र सन्तवीरलाई सम्हाल्नतिर लागी ।
    ‘के भयो ?’ उसले सोधी ।
    ‘कस्तो सपना देख्यो । डरलाग्दो ।’
    ‘कस्तो ?’
    जवाफ दिएर । पुनः सिरक तानेर ढल्कियो खाटमा । जमुनाले बत्ती बन्द गरी ।
    तलातार तीन दिन सन्तवीर निन्द्रामा काहालिएर उठ्यो । चौथो दिन बिहान जमुनाले सोधी, ‘भो, यहाँ नबसौँ । जौँ कतै, अर्कै ठाम ।’
    ‘अर्को ठाउँ सपना आउँदैन र ? ऐठन हुँदैन र ?’
    जमुना शब्दहीन भई । तर पनि सोधी, ‘होइन के देख्छौ हौ सपनामा ?’
    सन्तवीरले भन्यो, ‘गाउँका, र तेरातिरका मान्छेहरू भाला, खुकुरी, खुँडा बोकेर मार्न आएको देख्छु । हान्ने लागेको देख्छु ।’
    ‘होइन के बिराम गरेको थियौ र तिमीले?’
    ‘तँलाई भगाएर यहाँ ल्याएँ । अरू के बिराम चाहियो?’
    अँध्यारी भई जमुना । लाग्यो— ऊ सानो मूल्यमा सन्तवीरको जीवनमा आइपुगेकी भने होइन रहिछ ।
    ०००
    सन्तवीर, इलामको तारागाउँमा नयाँ नयाँ आइपुगेको थियो । कसरी आयो, त्यो कुरा उसैलाई पनि थाहा थिएन । बुवा पाँचथरको पञ्चमीमै बिते, आधा उमेरमै । इलाममा चिया कमानमा काम पाइन्छ भन्ने हल्लासँगै सन्तवीरकी आमाका खुट्टा इलामतिर हान्निएका थिए । काखैमा थियो सन्तवीर । ऊ किशोरावस्थामा टेक्दानटेक्दै आमा पनि बितिन् । ऊ टुहुरो भयो ।
    आमाले दुःखजिलो गरेर जोडेको सम्पत्तिमा सन्तवीरको एक्लो ज्यान उभिएकै थियो । ऊ काममा कर्मठ र स्वभावमा सहयोगी थियो । गाउँमा दाउरा चिर्नुप¥यो — सन्तवीर । मलखाडीको मल बोक्नु प¥यो — सन्तवीर । रूखको घाँस झार्नु प¥यो — सन्तवीर । घोडा खेप्ने साथी चाहियो — सन्तवीर । गाउँमा सन्तवीर अपरिहार्यताको अर्को नाम  थियो ।
    तर एकदिन एकाएक हरायो सन्तवीर । उसबाट काम लिने गरेकोले सोधखोज गरे । अरूलाई यो कुरा कुनै समाचार भएन ।
     तर सन्तवीरसँगै मेघवीर र शेरबहादुर पनि हराएकाले कुरा त फैलियो ।
    समयसँगै बगानको चियाले पालुवा लगायो । किसान आए, मुना टिपे । भरिया आए, टिपेको मुना चियालाई कारखानामा पु¥याए । कारखानाका कामदारले चियालाई भट्टीमा राखे र स्तर छुट्याइदिए । यो क्रम चलिरह्यो, निरन्तर ।
    यसरी नै वषौँ बित्यो ।
    एकाएक गाउँमा सन्तवीर आयो । धेरै वर्ष बितिसकेका थिए । हातका औँला भाँचेर कहिलेकाहीँ गन्थ्यो— ‘एक वर्ष, दुई वर्ष, तीन, चार, आठ, नौ, बाह्र’ तर कति हो ठ्याक्कै उसैले पनि ठम्याउन सकेन ।
    तर ऊ फर्कियो ।
    गाउँ छाडेर जाँदा तीन जना भएर गएको थियो सन्तवीर । फर्कँदा पनि तीन जना नै भएर फर्कियो । जाँदा सँगै गएका मेघवीर र शेरबहादुर दार्जिलिङबाट कामको खोजीमा चेन्नेईतिर लागेछन् । दार्र्जिलिङतिरै घरजम गरेर सन्तवीरले भने आफ्नी श्रीमती जमुना र छोरो विजयलाई लिएर गाउँ फर्कियो ।
    छोडेर जाँदाको जमिन त्यस्तै थियो । तर घर भने बस्न लायक थिएन । वर्षौसम्म मान्छे नबसेको घरमा उता श्रीअन्तु हुँदै मिरिकतिर, खर्साङतिर जाने बटुवाले छलिएर पिसाब फेर्ने ठाउँ बनाएका थिए । गाउँलेले देखे भने बटुवालाई हकार्थे । तर नदेखेको खण्डमा सन्तवीरको घरले धेरै बटुवाको पिसाब पिएको थियो ।
    आफू फर्केपछि सन्तवीरले केहीदिन धनपतिको घरमा बसेर आफ्नो घर फेरि बनायो । केही रकम साथमै ल्याएको थियो । आर्थिक सहयोग गाउँलेले गर्नु नपरे पनि श्रमदान भने धेरैले गरे ।
    निकै वर्ष हराएको सन्तवीरले गाउँमा हुर्केका केटाकेटी खासै चिन्दैनथ्यो ।
    गाउँ फर्केको केही समयमा नै फेरि उसले चिया कमानमा काम पायो ।  जमुनालाई पनि कारखानामा भनसुन गरेर काममा लगाइदिएको थियो । विजयलाई नजिकैको कृष्णाशम निमाविमा भर्ना गरिदियो ।
    चिया कमानमा मदजुरका हकहितका लागि भनेर आन्दोलन भइरहन्थे । सन्तवीरले आफ्नो हक नबुझेर हो वा जागिर जाने डरले हो आन्दोलनलाई कहिल्यै साथ दिएन । कमानमा आन्दोलन भएको दिन अधिकारीको पाखामा उसले कोदाली चलाउँथ्यो । अधिकारीको पाखो सन्तवीर र जमुनाले इस्कुस, डल्ले खोर्सानीका बिरुवाले लहलह बनाएका थिए । गाउँमा कोदोको भारी बोक्नेदेखि कोदाली चलाउनेसम्मको कामको लागि सन्तवीर र जमुना प्रख्यात थिए ।
    ०००
    पानी झमझम परिरहेको थियो । सन्तवीर पिँढीमा बसेर चुर र चिया खाइरहेको थियो । जमुना तिउनका लागि इस्कुस मुन्टा केलाइरहेकी थिई । विजय बेलुकीको उब्रेको भात दूध–चियासँग मुछ्दै खाइरहेको थियो । झरी परेर कोही कतै निस्केका थिएनन् । पहाडमा जस्तोसुकै पानी परे पनि गाई–बाख्रालाई घाँस नकाटी हुँदैन, तर आन्दोलनका कारण केही दिनदेखि कमान बन्द थियो । केही दिनलाई पुग्ने घाँस सन्तवीरले मचान बनाएर राखिसकेको हुनाले झरीमा कुद्ने आवश्यकता उसलाई थिएन ।
    अलिक परबाट कोही घुम ओडेर आइरहेको देख्यो सन्तवीरले । जमुनातिर फर्केर भन्यो, ‘हन, यो झरीमा को आयो हाम्रोतिर ?’ जमुनाले पनि घाँटी उठाई । उसले पनि चिनिन । त्यो आगन्तुक नजिकै आएपछि सन्तवीरले ठम्यायो र जमुनालाई भन्यो, ‘अधिकारी माइला’ ।
    ‘के गर्दैछस् हाओ, सन्ते ?’
    ‘यो झोल रोकिएन, रोकिए पाखातिर लागूँ भनेको ।’
    ‘ती डाले घाँस कसले चोरेर लग्या छ, त्यो पनि यसो ख्याल गर है ।’
    ‘म बुझ्दैछु । चिनेको दिन त्यसको नलीखुट्टाको हड्डीले शङख फुक्छु ।’
    जमुना चिया लिएर आई । अधिकारी माइलाले चिया पिउन थाले ।
    हातमा सुर्ती माड्दै सन्तवीरतिर हेरे र भनेँ, ‘सन्ते ! म त एउटा सल्लाह पो गर्न आएको ।’
    चुर बेर्दै सन्तेले भन्यो, ‘कस्तो सल्लाह, काका ?’ । अ
    अधिकारी माइलाले भने, ‘बूढी बिरामी भइरहन्छे । झापा र इलाम गर्न साह्रो पर्यो । हामीले तल भद्रपुरमा घर किन्यौँ । अब उतै सर्छौँ । यहाँको जायजेथा तैँले हेर् । बेलामौकामा म आउँछु ।’
    चिया कमानको आन्दोलनले कमानमा काम गर्न गाह्रो परिरहेको बेला सन्तवीर खेती नै गर्ने योजनामा थियो । आफूसँग भएको जमिन त बलेँसी नकट्दै सकिन्थ्यो । अधिकारी माइलाको यो प्रस्ताव सन्तवीरलाई मुनासिब लाग्यो र एकै सासमा ‘हुन्छ’ भनिदियो ।
    ०००
    अधिकारी माइला बसाइँ सरेर भद्रपुर गएपछि सन्तवीरले नै माइलाको जग्गामा खेती गर्दै आएको थियो । पहाडका गाई तल तराइमा टिक्दैनन् भनेर दुई माउ गाई पनि माइलाले सन्तवीरलाई दिएका थिए । जमुनाले पनि कारखाना छोडिसकेकी थिई । सन्तवीर र जमुना सँगै खेतमा काम गर्थे ।
    विजयले कक्षा सातको परीक्षा दियो । उसको भाइ कुशल पनि जन्मिसकेको थियो तर स्कुल भने जाने भइसकेको थिएन । विजयले घरको काममा आफ्ना हात दिन थालेको थियो । बिहान हिमुलमा दूध पु¥याउने, र बाख्राको लागि घाँसको भारी तल्लो बारीबाट गोठमा ल्याउने काम गथ्र्यो । गाउँमा उसको कामलाई लिएर अन्य केटाकेटीले गाली खान्थे ।
    सन्तवीर र जमुना गाउँकै प्रेमिल जोडी मानिन्थे । कहिलेकाहीँ जाँड बढी भएको बेला भने सन्तवीरले जमुनालाई ठूलो स्वरमा हप्काउँथ्यो पनि । तर कुट्यो नै भन्ने खबर गाउँमा कहिल्यै फैलिएन ।
    दार्जिलिङकै एउटा कारखानामा काम गर्ने चौकिदारकी छोरी भगाएको सन्तवीरले जमुनालाई कहिले अम्लिसो बोक्दा, कहिले भारी बोक्दा त कहिले अकबरेको खोर्सानी बट्टामा हाल्दै गर्दा जिस्काउँथ्यो । उनीहरूको प्रेम देखेर गाउँका मान्छे पनि जिस्काउँथे  ।
    जमुनाले दार्जिलिङमै हुँदा जाँड बनाउन सिकेकी थिई । उनीहरू घरमा सुकुटी र जाँड बेच्ने गर्थे । दिउँसै आउने प्रधान जेठा, हवल्दार, अरबे र सूर्य सर थिए । सन्तवीर पनि घरमा थियो भने उनीहरू जाँड खाएर गफ गर्थे । तर जमुना एक्लै छे भनेपछि जाँड खान्थे र हिँडिहाल्थे ।
    कन्यामको निमाविमा विजयले कक्षा आठ सकाएपछि इलाम बजार पठाउने कि करफोक पठाउने भनेर बूढाबूढी खूबै कुरा गर्थे । इलाममा पढाउन खर्च धेरै लाग्ने हुँदा उनीहरूले करफोक नै ठिक भन्ने ठानेका थिए । त्यसो त विजयको मावि पढ्ने कुरामा चिन्ता नलिनू भनेर करफोक पढाउने खेम पराजुलीले भनिसकेका थिए । उनी तारगाउँका गजुरेलका ज्वाइँ थिए । कोही काम पनि सघाउने र पढ्ने पनि कोही केटो भए सुझाउन ससुरालाई भनेका थिए । ससुराको नजरमा सन्तवीरको छोरो थियो । अध्ययनमा तीक्ष्ण र काम गर्न बलियो भएकाले विजय नै उपयुक्त भन्ने लागेर पराजुली सरले यसो भनेका थिए ।
    ०००
    विजय र कुशललाई सक्षम बनाए सन्तवीरले । तर समय सोचेजस्तो भएन । विजय कामको खोजीमा भारत पस्यो । कुशल भने धनकुटातिर लाग्यो । धनकुटामा इलामका मान्छे धेरै पुगेका थिए । विदेशी कम्पनी आएर धमाधम बाटो बनाउन थालेपछि मान्छे उता हानिएका थिए ।
    दुवै छोरा आफ्नो ठाउँमा गएपछि फेरि एक्लै भए सन्तवीर र जमुना । मनका एक्ला भए । नभए त उनीहरू बिहान उठेबाट साँझसम्म बारीमा नै हुन्थे ।
    जमुनालाई प्रायः सन्तवीर महिनामा एकपटक फिक्कल बजारतिर घुमाउन लैजान्थ्यो । प्रत्येक सोमबार लाग्ने बजारमा सन्तवीरका जोडी महिनामा एक हाट फिक्कल पुग्ने गर्थे । त्यसो त हर्कटेमा पनि बजार नलाग्ने होइन । तर फिक्कलमा भने तल झापाको धुलाबारी, बुधबारे र बिर्तामोडका व्यापारी आउँथे । हर्कटे सानो बजार भएर होला व्यापारी त्यहाँ पुग्दैनथिए । जोगमाई, प्रमेजुङ, मेलबोटे, बरबोटे, श्रीअन्तुसम्मका ग्राहक फिक्कल आइपुग्ने भएकाले व्यापारीलाई त्यहाँ फाइदा थियो र त्यतै जान्थे ।
    इलाममा मोटर बाटो त थियो, र गाडी धेरै पाइँदैनथ्यो । पहाडको बाटो अझ चौडा गर्दैैछन् रे कोरियनले भन्ने सुनिन्थ्यो ।  मान्छेहरू खबर लिएर आउँथे, ‘बाटो बनाउने कोरियनले कुकुर खान्छन् रे !’ । गाउँमा व्यापक हल्ला यही थियो । तर खाएको कसैले देखेको भने थिएन ।
    ०००
    विजय भारतबाटै भारतीय आर्मीमा लागेको कुरा चिठीबाट सन्तवीर र जमुनाले थाहा पाएका थिए । उसले चिठीमा लेखेको थियो ‘मलाई बारामूलामा खटाएको छ ।’ सोझा बाउआमाले राम्रो पदमा होला भन्ने बुझे ।
    कुशल कता थियो केही थाहा थिएन । न चिठी, न प्रधानको पसलमा फोन नै आएको थियो । त्योबेला प्रधानको पसलमा फोन थियो । आधा इलाम त्यही फोनमा टाढाका आफन्तसँग बात माथ्र्यो । स्वर सुन्नलाई करिब एक महिना अगाडि नै म यो महिनाका यो दिन फोन गर्छु भनेर चिठी आइपुग्थ्यो । सामान्यतः फोन गर्नेले पैसा तिर्नुपरे तापनि प्रधानको पसलमा भने फोनमा बोलेको पनि मिनेटको १ रुपियाँ बुझाउनु पथ्र्यो ।
    बेलामौकामा आउँथे अधिकारी माइला । हर–हिसाब गरेर  पाउनुपर्ने लैजान्थे । श्रीमती उपचार गर्न बसाइँ सरेका माइलाले आफ्नी श्रीमती भने गुमाइसकेका थिए । माइलाका जेठा छोरा कसो कसो गरेर अमेरिका पुगेको थियो । आफ्ना बाउलाई उसले दुई पटक अमेरिका घुमाएर नेपाल पठाइसकेको थियो । माइला भने कहिल्यै गाडी नचडेका इलामेलाई विमानको धाक दिन्थे ।
    ०००
    सन्तवीर र जमुनाको प्रेमको चर्चा गाउँमा छ्पाछ्प्ती थियो । दुई छोराले घर छाडेपछि गाउँलेले ‘अर्को जन्माओ, तिमीहरू एक्लै भयौ’ भन्थे । जवाफमा सन्तवीर तिमीहरू छौ भन्थे र कुरा टारिदिन्थे । रहर त उनीहरूलाई फेरि अर्को सन्तान जन्माउने थियो । तर जमुनाको महिनावारी रोकिइसकेकाले उनीहरूको रहर अपुरै रह्यो ।
    गाउँमा घोडेटो हराएर मान्छेले नै खनेको बाटो आइपुगेको थियो । तर हिँड्न लायक भने भएको थिएन । चिया कमानमा एकपटक हेलिकप्टरमा राजा आउँदा राजा हेर्न भनेर सन्तवीर र जमुना पनि पुगेका थिए । राजा आकाशबाट आए र आकाशबाटै गए । सबैभन्दा अन्तिममा बसेका सन्तवीर र जमुनाले राजा देखेनन् । तापनि तृप्त भएर फर्किए । राजालाई देखेँ भन्ने कल्पनाचाहिँ उनीहरूले पनि गरे ।
     धेरै दिनसम्म गाउँमा राजाको मात्र कुरा भयो । राजा यस्ता, राजा उस्ता, चस्मा त्यस्तो । यस्तै यस्तै कुराहरू ।
    चार घरपर्तिर रिजालको घरमा रेडियो बज्थ्यो । साँझमा मान्छेहरू रेडियो सुन्न भेला हुन्थे । माथि हर्कटे बजारबाट पनि मान्छेहरू रेडियो सुन्न आइपुग्थे । गाउँमा रेडियो सुन्नेको भीड कुनै मेलाभन्दा सानो भने हुँदैन्थ्यो ।
    गाउँभरको दूध बरबोटेबाट भेला गरेर मिरिक जान्थ्यो । गाउँको तरकारी पनि भारततिरका नै व्यापारीले नै उठाउँथे । सन्तवीर र जमुनाले रोपेका तरकारी र फलफूलको दामले परिवार चलेकै थियो । परिवार हाँसीखुसी नै थियो ।
    ०००
    सधैँभन्दा गल्दै गएकी थिई जमुना । यो कुरा सन्तवीरले पनि विचार गरिरहेको थियो । बारीमा काम गर्न पनि उसलाई गाह्रो परिरहेको देखिन्थो । भान्सामा जसोतसो भात पकाएकै थिई । जमुनाले केही महिनाअगाडि मात्र जाँड बनाउन छाडेकी थिई । जाँड नपाउने भएपछि गाउँले पनि पातलो आउन थालेका थिए सन्तवीरको घरमा ।
    एकदिन फिक्कल बजारमा रहेको स्वास्थ्य चौकीमा सन्तवीरले जमुनालाई घोडामा राखेर पु¥यायो । स्वास्थ्य चौकीका डाक्टर घर गएका रहेछन् । त्यहाँको कम्पाउन्डरले टाउकोमा हात राखेर ‘ज्वरो आएको रहेछ’ भन्दै सिटामोलका चक्की थमाएर घर पठाइदियो जमुनालाई ।
    जमुनालाई बीसको उन्नाइस भएको थिएन । सन्तवीर आत्तिन थालेको थियो । एकपटक काइँला बिजुवालाई पनि झारफुक गर्न लगायो । बिजुवाले कालो पोथी र डिम्मा पचाए, तर जमुनालाई निको बनाउन सकेनन् ।
    केही दिनमा अधिकारी माइला झापाबाट इलाम उक्ले । जमुनाको अवस्था देखेर सन्तवीरलाई मार हपारे पनि । ‘झापा झर्ने हुति भएन काका’ भन्दै सन्तवीरले आँसुका बलिन्द्र धारा बगायो ।
    अधिकारी माइलाको पहलमा जमुनालाई झापा झारियो, भद्रपुर अस्पतालमा । डाक्टरले टाइफाइट बिग्रेको पत्ता लगाए । केही दिन अस्पतालमा नै राख्नुपर्ने सल्लाह थिए ।
    डाक्टरले भनेअनुसार नै सन्तवीरले औषधिका पोका ल्याइरहे । जमुनाको खस्किँदो शरीर देखेर उनी झन् निराश बन्थे । त्यही निराशाको ओखती बनेका थिए अधिकारी माइला । डाक्टरसँग परार्मश गर्ने, औषधिको पैसा दिने उनैले गरे । आफ्नी श्रीमती गुमाउनुको पीडा पनि थियो सायद उनमा । त्यसैले उनी सन्तवीरलाई दुःखको भवसागरमा डुब्न नदिने निर्णयमा थिए ।
    तर सोचेजस्तो भएन । त्यसको भेललाई श्रीमतीको लागि रोक्न सकेन सन्तवीरले ।
    जमुनाले के कसम खाएर आएकी थिई सन्तवीरसँग, त्यो उसलाई याद रहेन । तर उसलाई यति थाहा थियो, जमुनाले एक्लै पार्दिन  । तर भएन भनेकोजस्तो ।
    मन दह्रो बनाएर जमुनाको हात समायो सन्तवीरले । पहिले पहिले त्यसरी हात समाउँदा मुस्कुराउँथी जमुना तर त्यस क्षण ऊ मुस्कुराइन । केवल आँखा चिम्लेर साथ दिई सन्तवीरलाई । बोल्न सक्ने भए केही भन्थी होली । तर साससँगै गए उसका आवाज र भन्नुपर्ने कुराहरू ।
    छोराहरू कता थिए सन्तवीरलाई थाहा थिएन । आमा बिरामी छे भनेर गजुरेलको नातिलाई चिठी लेख्न अह्राएको थियो । गजुरेलको नातिले चिठी लेख्यो कि लेखेन भन्ने पनि थाहा थिएन उसलाई ।
    अधिकारी माइलाले सन्तवीरलाई ‘यतै चारालीको जङ्गलमा सत्गति गरौँ’ भने । तर सन्तवीर मानेन । भन्यो ‘यसले इलामको माटोमा धेरै पसिना बगाएकी छे । इलाम नै लैजान्छु ।’
    उसको कुरामा अधिकारी माइलाले कुनै हस्तक्षेप गरेनन् ।
    मेची राजमार्गबाट कन्याम पुग्न सजिलो थिएन । बाटोमा निर्माणकार्य चलिरहेकोले भर्खर बनाउँदै गरेकाले गोरटो पनि मासिएको थियो । लासलाई उनीहरूले बिरिङ खोलाको बगरैबगर कन्याम निकाले ।
    गाउँमा पाका राई–लिम्बू खासै बाँकी थिएनन् । परम्परा बुझेका सन्तवीरका आफन्त माथि माघेमा थिए । उनीहरूले खबर पाइसकेका थिए । तर कुनबेला आइपुग्छन्, कसैलाई थाहा थिएन ।
    ढिलोसम्म लास राख्नु हुँदैन भनेर तल रोङबाट केही किराँतहरूलाई बोलाइयो । नजिकैको पाखामा लास गाड्ने भनेर कुरा भयो । गाउँका केही ब्राह्मणहरूले विरोध गरे तर अन्तिममा त्यही पाखामा लास राई लिम्बू पद्धतिअनुसार गाडियो ।
    विजय बारामूलामा नै थियो । कुशल कहाँ थियो अत्तोपत्तो थिएन ।
    ०००
    एकदिन साँझमा घर छोडेर हिँडेको सन्तवीर बिहान हुँदासम्म पनि घर फर्केन । कुनै आफन्त वा साथीभाइकातिर गयो होला भन्ने लख काटे छिमिकीले ।
    साँझ पनि आइपुगेन । अर्को दिन पनि त्यसै गयो ।
    दुई दिनसम्म ऊ घर नफर्कंदा गाउँमा हल्ला भयो । ‘यस्तो गर्न थालेको त धेरै पो भयो त । रातबिरात हिँड्ने । मन परे घर आउने, नत्र नआउने,’ कसैले भनेको सुनियो ।
    धेरैले त वास्ता पनि गरेनन् । तर थोरै छिमेकी भने उसको खोजतलासी गर्न थाले ।
    दोस्रो दिन, अपराह्नरित गजुरेलको छोरो आत्तिँदै आएको देखे छिमेकीहरूले । ऊ नजिक आयो र भन्यो, ‘उता । सन्ते । पर…’
    आशङ्का सबैलाई थियो । धेरै सोधपूछ नगरी उसले देखाएकै दिशातिर कुदे ।
    सन्तवीर नास्पातीको रूखमा झुण्डिएको थियो ।
    एकजना बुजर्गले भने, ‘जमुनलाई छोड्न सकेन, गयो ।’
    सन्तवीर र जमुनाको प्रेमको लामै विवेचना भयो । धेरैले सन्तवीरलाई साँचो प्रेमी ठह¥याए । केहीले भने काँयर, नामर्द र कमजोर मनको ठाने ।
    गाउँलेले झुण्डिएको लास छुन डराए । त्यहाँ अलि जान्नेबुझ्ने भनिएका रिजाल कान्छा थिए । उनैले प्रहरी बोलाउने निर्णय लिए ।
    प्रहरीलाई माथि पशुपतिनगरबाट त्यहाँ आइपुग्न लगभग तीन घण्टा लाग्यो । एक कान दुई काम हुँदै पूरै डाँडाभरि सन्ते झुण्डियो भन्ने हल्ला फैलियो । मान्छेहरू अन्तुबाट पनि सन्तवीरलाई हेर्न आइपुगेका थिए ।
    प्रहरीले लास झार्यो र मुचुल्का उठायो । पोस्टमार्टम गर्न झापाको मेची अस्पताल लैजाने कुरा भयो । प्रहरीसँगै गएका थिए गजुरेलका नाति, कटुवाल बाबै, रिजाल कान्छा र जमुनाको सत्गति गर्ने रोङका राईहरू ।
    मेची अस्पतालले ‘आत्महत्या’ भनेर पुष्टि गर्यो । उनीहरूले जमुनाकै चिहाननजिक सन्तवीरलाई गाड्ने कुरा गरे । तर उनीहरूको कुरा रोङका राईहरूले मानेनन् । उनीहरूले भने, ‘यो लास गाड्ने होइन, जलाउने हो ।’
    गजुरेलको नातिले भन्यो ‘किन ? राईहरूको त गाड्छन् त ।’
    उसले बोलिनसक्दै रोङका मान्छे बोले, ‘हो ! राईहरूको गाड्छन् । तर कालले लग्यो भने मात्र । यदि अपगति परेर मर्‍यो भने जलाउने हो ।’
    तारगाउँका गाउँलेले संस्कारमाथि धावा बोलेनन् ।
    सन्तवीर मेची किनारमा धुँवासँगै हावामा विलिन भएर गयो । गाउँलेहरू उसलाई जलाएपछि सिलगुडीको बाटो मोटर चडेर मिरिक हुँदै कन्याम आए ।
    जमुना पाखामा एक्लै भई । सन्तवीर बगरमा खरानी बन्यो । जोसँग नजिक हुन्छु भनेर झुण्डिएको थियो ऊ उसैसँग कोशौँ टाढा भयो ।
    ०००
      घटनाको केही दिनपछि एउटा किशोर जमुनाको चिहानछेउ देखाप¥यो । नजिकै अर्को एउटा खाडल थियो । उसले करिब एक घन्टा लगाएर त्यो खाडल खन्यो, र त्यसमो माथिपट्टि एउटा शिला खडा गरिदियो । शिलामा एउटा पुरुष आकृति पनि बनायो, र नाम लेखिदियो — सन्तवीर ।
    अनि मुन्तिर यी हरफ पनि लेखिदियो—
    प्रेमको गहिराइमा जति जति डुब्दै गयौ तिमी
    उति उति उचलिँदै गयो तिम्रो आदर्शको आकाश
    र घामजून बन्यो ।
    थाहा छ, घाम र जूनको देखादेख होला, भेट हुँदैन ।
    त्यस किशोरले यति काम सकेर घर हिँड्नै लाग्दा गजुरेलका कान्छा छोराले देख्यो, र रोक्यो ।
    ‘भाइ, के गर्छौ यहाँ, चिहानघारीमा?’
    ‘जहाँ महान् आत्माहरूको अत्येष्टि हुन्छ, त्यलाई चिहानघारी भनिँदैन । समाधिस्थल भनिन्छ ।’
    कान्छो छक्क प¥यो । केही बुझ्यो, केही बुझेन ।
    ‘दाइ, सन्तवीरमा गाउँले सन्ते मात्रै देख्यो । मैले ऊभित्रको विशाल मान्छे पनि देखेको छु । ऊ मर्दैन ।’
    कान्छाले केही मेलोमेसो पाएन । किशोर भन्दै गयो—
    ‘जमुना भाउजू बितेपछि सन्ते दाइ हरेक साँझ यही आउँथे । धेरैबेर बस्थे र आँसु झार्थे । एकदिन मैले फेला पारेँ । सोधेँ पनि । उनले जुन कुरा सुनाए, तिनले आजसम्म पनि मलाई शान्त बस्न दिएको छैन । उनले यहाँ केही नराम्रो गर्लान् कि भनेर हरेक दिन पिछा गरेँ । उनी उता आउँदा यतै आएँ । तर आउँथे, बस्थे, रुन्थे र फर्कन्थे । यस्तो गर्लान् भन्ने मैले सोचेकी थिइनँ । दुईदिन अघि मात्रै बिर्तामोड गएको थिएँ, घटना घटिसकेछ ।’
    किशोरले अगाडि थप्यो— ‘जमुनाको आत्मासँग कुरा गरेको भन्थे । कुरा यस्ता थिए—
    — तिमीसँगै आउँछु जमुना म पनि । यहाँ म एक्लै भएँ ।
    — तिमीलाई एक्लै सुत्न डर लाग्थ्यो । अब त म पनि आउँछु नि ।
    — छोराहरूको पनि केही खबर छैन ।
    — कटुवालनी बज्यैले भात दिन्छिन् । तर तिमीले दिएजस्तो हुँदैन । कहिले खान्छु कहिले खान्नँ ।
    — गाई–बाख्रा सबै बेचिदिएँ ।
    ‘हातमा सधैँ एउटा कोदालो हुन्थ्यो । तर म छँदासम्म केही गरेनन् । आजै म गाउँ फर्कंदा यस्तो असप्रया कुरा सुनेँ । यहाँ केही भेटिन्छ कि भनेर दौडेर यतै आएँ । दाइ, यहाँ यही खाल्डो थियो । मैले भर्खरै पुरिदिएको । जमुनाको छेउ बस्न उनले घर बनाएका हुन् । सायद सोचे, नजिकैको रुखमा झुण्डिएपछि गाउँलेहरूले उनलाई जमुनासँगै, यसै खाल्डोमा समाधिस्थ गरिदिने छन् । तर त्यसो भएनछ । किन होला?’
    ‘आत्महत्या गर्नेलाई पुर्न नमिल्दो रहेछ । नियम नै त्यस्तै रे ।’
    ‘नियम? निमयले बाँच्नेलाई त बाँधेकै हो । मरेकालाई पनि बाँधिराख्ने कस्तो नियम?’
    किशोरको प्रश्नमा गाम्भीर्य थियो । गजुरेल कान्छाले व्याख्या गर्न सकेन ।
    ‘तर दाइ, यो मान्छेको सोच जीवन र नियमभन्दा धेरै माथि थियो । अँ, उसको त्यो पाटो कहिल्यै देखा परेन । ऊ अपगति परेर मरेको एउटा समान्य, र कमजोर मुटु भएको लिम्बू भनेर बदनाम होला । तर ऊ प्रेमको एउटा भव्य सहिद हो ।’
    किशोरका आँखामा एक्कासि आँसुको भल फुट्यो । कान्छो पनि भावविह्वल भयो ।
    उनीहरूले नजिकैबाट केही फूलपाती टिपे र सन्तवीरको समाधिमा चढाइदिए । अलि तलसम्म सँगै झरे । जब बाटो फाट्यो र उनीहरू छुट्टिए, किशोरले भन्दै गरेको सुनियो, ‘यो कथाहरूको पनि कथा हो । यो जीवन हारेर समयलाई जित्नेहरूको कथा हो ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री