उज्यालोमा सबथोक स्पष्ट देखिन्छ
हिउँ पगालेर ममताको नदी बगेको हिमाल
रंङ्गीविरङ्गी फूलसँग हरियो बाँचेका पहाडहरू
निलो आकाशमा स्वतन्त्र उडेका चराहरू
आँखाभरि छरपष्ट हुने रङ्गिन-रङ्गहिन आकृतिहरू
मन रमायो भने
रात पनि उज्यालो लाग्दोरहेछ
जीवन उत्सवको राजमार्गमा
जब ऋतुहरू धर्तीको गीत गाउँछन्
अँध्यारोमा झन् स्पष्ट देखिदारहेछन्
ती चाँदनी मान्छेहरू
ती जुनकिरी मान्छेहरू
ती तारामण्डल मान्छेहरू
उज्यालोमा
खेतमा गाडिएको पुरानो ढुङ्गा उखेल्छ मान्छे
काँढा समेल्छ र डढाउँछ
विद्यार्थीहरू जीवनको पाठ पढ्छन्
प्रेम भूमिका गीत गाँउछन र भविष्य अाँकलन गर्छन्
प्रयोगशालामा समयको अन्वेषण गरिन्छ
र नयाँ युगको घोषणा हुन्छ
म उज्यालो हिउँको पर्दाभरि
पवित्र रङहरूको समायोजन गर्छु
र कोरिरहन्छु इन्द्रेणी कविताहरू
उज्यालोमा
मान्छे दुःखलाई पनि गीत बनाएर गाउँदोरहेछ
जिउनुका अनुष्ठानहरूमा
उज्यालो हुनु भनेको प्रलयको बादल फारिनु जस्तै हो
– भय
–त्रास
–शंका
सबथोक क्रमशः हराउनु हो
तिमी अलिकति उज्यालो देऊ
अँध्यारो पिउन अभिषप्त वस्तीहरूमा
समय उज्यालो इतिहास निर्माण गर्न उन्मुक्त बनिरहेछ
समय मैन–मान्छेहरूको उज्यालो खोेजिरहेछ
समय उज्यालिनु भनेको मन उज्यालिनु हो
मन उज्यालिनु भनेको पवित्र घाम हुनु हो बिहानीको
घामको सघन उज्यालोलाई
जहाँबाट जसरी हेरेपनि उज्यालै देखिन्छ ।
Leave a Reply