लुकामारी खेले झैं इलामको मौसमले झुक्याइरहने रहेछ । क्षणमै खुलेको आकाश, क्षणमै भुइँकुहिरोले ढाकिदिने । भाग्यवश हामीले त्यो बिहान जसबिरेबाट ड्रोन उडाएर माईपोखरीको फोटो खिच्यौं । त्यसबेला झुलुक्क घाम झुल्किएको थियो र आसपासका डाँडापाखा छ्याङ्ग देखिन्थ्यो ।
आकाशको कोणबाट केही थान फोटो खिचिसकेपछि हाम्रो धीत मरेन । डाँडाको माझमा टिलपिल त्यो विशाल जलाशयले हामीलाई मोहनी लगाइदियो । आसपासमा घना जंगल, माझमा शान्त तलाउ । एक झलकमै सम्मोहित बनाउने कस्तो रुपवती माईपोखरी ?
हामीलाई लेकको त्यो कञ्चन अनि पवित्र जलाशयसँग साक्षात्कार गर्न मन लाग्यो ।
जब जसबिरेबाट हामी १५ मिनेटजति उक्लिएर माईपोखरी पुग्यौं, मौसमले ‘च्यालेन्ज’ गरिसकेको थियो । समय कति पनि बितेको थिएन, तर माईपोखरीको आकाश ओसिलो भइसकेको थियो । भुइँकुहिरोले आफ्नो साम्राज्य फैलाउँदै थियो ।
एउटा प्रशिद्ध अंग्रेजी भनाइ छ, ‘मर्निङ शोज द डे’ अर्थात् बिहानीले दिनको संकेत गर्छ । तर, इलामको आकाशले यो भनाइलाई सोझै खारेज गरिदिने रहेछ । बिहान सूर्योदयसँगै आकाश छ्याङ्ग खुलेको थियो । तर, केही समय बित्न नपाई त्यो आकाश कुहिरोले ढाकिसकेको थियो ।
Leave a Reply