लगातार दुई विश्वयुद्धले थिलथिलो भएको वैश्विक चेतलाई जोनको गीतले साँच्चै नै मोहनी लगायो । अहिले पनि जोनले भनेजस्तो सीमारहित संसारको कल्पना गर्दा एउटा भव्य र रोमाञ्चक अवस्थाको अनुभवले अँगाल्न आइपुग्छ । सम्झनुस् त, सीमा हरायो भने के हुन्छ ? यो हराउनेबित्तिकै हराउनेछ रुस र युक्रेनको युद्ध, भारत र पाकिस्तानको दुश्मनी र उत्तर कोरियाविरुद्ध अमेरिकाको नाकाबन्दी । अहो, देश भएन भने त कहाँ हुन्छ र विदेश ? को हुन्छ र विदेशी ? चराहरू राहदानीविना नै संसार फन्को मार्छन् । माछाहरू, बिना कुनै रोकतोक सातै समुन्द्रमा आउजाउ गर्न सक्छन् । देश भएन भने मान्छेहरू पनि पृथ्वीको एक कुनाबाट अर्को कुना सजिलै जान पाउँदा हुन् । आहा जस्तो लागेका ठाउँमा मन अघाउन्जेल बस्दा हुन् ।
लोकतन्त्रमा सास फेर्नु पर्यो भन्दा भुटानीहरू लखेटिएर नेपाल आइराख्नु नपर्दो हो । ती भुटानीका नाममा अरु नेपालीलाई नक्कली कागजात बनाएर अमेरिका पठाउँछु भन्ने कुनै कसुर नै कसैले गर्न नसक्ने अवस्था आउँदो हो । कुनै सिनेमामा कसैले सीता भारतकी छोरी भने पनि रिसाउनु नपर्दो हो । कुनै देशको सिनेमा बन्द गर्नुपर्ने आवश्यकतै नरहँदो हो । देश भएन भने त कोही नागरिक नै नहुँदो हो । अहो ! देश भएन भने त, यसको सुरक्षा पनि गर्नै नपर्दो हो । चोर नभएपछि प्रहरी नचाहिएजस्तो, सीमा भएन भने त्यसलाई घेर्ने काँडेतार पनि नचाहिँदो हो, त्यसभन्दा अलि पर बन्दुक बोकेर उभिने कुनै सिपाही पनि नचाहिँदो हो । देश भएन भने त यसको नाममा हुने युद्ध नै नहुँदो हो ! पृथ्वी नै एउटा देश भए, मनुष्यको कति कल्याण हुँदो हो ! कल्पना मात्रै पनि रोमाञ्चक छैन त ?
Leave a Reply