१८ जून १०१३ का दिन बिहान मुख्यमन्त्रीजीले सचिवालय एनेक्सीमा एक आपतकालीन बैठक बोलाउनुभयो, जसमा सम्पूर्ण मन्त्रीपरिषदका अतिरिक्त प्रमुख अधिकारीगण तथा विपक्षी दलहरूलाई पनि निम्ता गरियो । ढिलो सूचना पाएका कारण सुरुमा त मैले बैठकमा नजाने निधो गरेको थिएँ, तर पछि स्थितिको गम्भीरत र बैठकमा उठ्न सक्ने महत्त्वपूर्ण मुद्दाहरूलाई मध्यनजर गर्दै मैले बैठकमा जाने निर्णय गरेँ ।
बैठक सकिएपछि मैले मुख्यमन्त्रीजीसँग उहाँकै कार्यकक्षमा मुख्यसचिव तथा अपर मुख्यसचिवको उपस्थितिमा छुट्टै वार्ता गरेँ ।
कतिपय अधिकारीहरू बारम्बार भनिरहेका थिए कि यो कुनै ठूलो विपदको स्थिति होइन । उनीहरूका अनुसार गौरीकुण्डमा केही ज्यानमालको नोक्सान अवश्य भएको छ, तर मैले जोड दिएर भनेँ, कि निश्चित रूपमा यो महाविपद नै हो । मैले मुख्यसचिव सुभाष कुमारसँग २०१० को विपत्तिको पनि कुरा गरेँ त तत्कालीन परिस्थितिहरूको स्मरण गराएँ । म प्रदेशको मुख्यमन्त्री थिएँ, र प्रदेशमा भीषण वर्षाका कारण धेरैँ ठाउँमा भू–स्खलन तथा जन–धनको व्यापक क्षति भएको थियो । त्यो बेला हामीले जुन आपदा प्रबन्धनको रणनीति अवलम्बन गरेका थियौँ, आज त्यस्तै रणनीतिको आवश्यकता थियो, ताकि परिस्थितिको सामना पूर्ण ताकतसहित गर्न सकियोस् । मुख्यमन्त्रीजीले ध्यानपूर्वक मेरो कुरा सुन्नभयो र भन्नुभयो, उहाँ घटनालाई गम्भीरताका साथ लिइरहनुभएको छ ।
मलाई आश्चर्य लाग्यो कि मुख्यमन्त्री तथा मुख्य सचिवलाई प्रशासनले पूरा जानकारी उपलब्ध गराएको रहेनछ । शासनसँग कुनै प्रकारको वास्तविक सूचना थिएन । रुद्रप्रयाग जिल्ला प्रशासनले जुन प्रारम्भिक सूचना पठाएको थियो, त्यसमा अहिलेसम्म चालीसभन्दा पनि बढी व्यक्तिहरू बाढको पानीमा बगेका र अन्य केही लापत्ता भएका भनिएको थिया । जिल्ला प्रशासन अहिलेसम्म घटनास्थलमा पुगेकै थिएन । मानिसहरूले स्वयं मलाई फोन गरेर जुन सूचनाहरू दिइरहेका थिए, त्यो सुन्दा मलाईसमेत ती कुरामा विश्वास लागिरहेको थिएन कि यो वास्तवमा यति ठूलो त्रासदीको अवस्था थियो ।
मैले मुख्यमन्त्रीजीलाई त्यहाँ तत्काल भिन्दाभिन्दै सेक्टर बनाउन, हरेक सेक्टरमा एक मन्त्री र एक सचिवलाई नियुक्त गर्न तथा जिल्ला प्रशासनलाई राहत कार्यका लागि यसै योजनाअनुरुप परिचालन गर्न निर्देशित गर्ने सल्लाह पनि दिएँ ।
मेरो मनमा अनेक प्रकारका आशङ्काहरू जन्मिरहेका थिए । के साँच्चिकै त्यहाँ यस परिमाणको विध्वंश भएकै थियो त? यदि भएकै हो भने त त्यो निकै दुर्भाग्यपूर्ण स्थिति हो । त्यहाँ पुगेका हजारौँ श्रद्धालु र व्यवसायीहरूको के स्थिति होला? वास्तविकता जान्नका लागि मैले निश्चय गरेँ कि आज नै मैले त्यस ठाउँमा पुग्नुपर्छ ।
आफ्नो निवास पुग्नासाथ मैले एउटा हेली कम्पनीसँग केदारनाथ त्रासदीका बारेमा कुरा गरेँ र तत्काल एउटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेँ । लगातारको वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएको थियो । यस पहाडी प्रदेशमा अलिअलि वर्षा हुँदा पनि सडकभरि हिलो बगेर जम्मा हुनु सामान्य कुरा हो । यसपालि त लगातार तीन दिनदेखि भीषण वर्षा भइरहेको थियो । देहरादून र गौरीकुण्डका बीच एक होइन अनेक ठाउँमा सडक भत्किएको थियो । केदारानाथ पुग्न हवार्ईमार्गका अतिरिक्त अन्य कुनै पनि मार्ग उपलब्ध थिएन । मैले केदारनाथका पूर्व विधायक आशा नौटियाल, भारतीय जनता पार्टीका प्रवक्ता एवं पूर्व सांसद बलराज पासी तथा पूर्व प्रदेश महामन्त्री एवं प्रवक्ता सुरेश जोशीलाई तत्काल हेलिपेड पुग्न आग्रह गरेँ । उहाँहरू जस्तो स्थितिमा हुनुहुन्थ्यो, त्यस्तै स्थितिमा हेलिपेड पुग्नुभयो ।
हेलिपेड पुग्दा, हेली कम्पनीका अधिकारीहरूले भने, भीषण वर्षाका कारण धेरै ठाउँमा हेलिपेडसमेत भत्किएका छन् र हेरिकप्टरलाई अवतरण गराउन मुस्किल हुन्छ । उनले भने, खराब मौसम तथा कुइरोका कारण हवार्ईमार्गबाट जानु हाम्रा लागि जोखिमपूर्ण हुन सक्छ ।
यति सबै कुरा बुझेपछि पनि मेरो मन वास्तविकता जान्नका लागि उद्वेलित भइ नै रह्यो । मैले फेरि भनेँ कि मलाई कुनै पनि हालतमा आजै केदारनाथ पुग्नु छ । हामीलाई जनकारी गराइयो कि केदारनाथको स्थितिलाई मध्यनजर गर्दा एउटा हेलिकप्टरमा चार जना जान असम्भव छ । त्यसैले मैले श्रीमती आशा नौटियालजीलाई फाटा जान तथा स्थानीयवासीहरूको सहायता लिएर त्यहाँ फँसेका यात्रीहरूको उद्धारमा जुट्न अनुरोध गरेँ । तत्पश्चात हामीले केदारनाथका लागि उडान भर्यौँ ।
यता देहरादूनको मौसममा धेरै हदसम्म सुधार आएको थियो तर केदारनाथको मौसमका बारेमा हामी हाल अनभिज्ञ नै थियौँ । तैपनि हामी अन्ततः उड्यौँ नै ।
—०—
Leave a Reply