• २०८२ बैशाख १२
  • अन्तर्मनका जिज्ञासा


    गोविन्द विनोदी
    गोविन्द विनोदी

    के भ्रष्टका जड समस्त उखेलिएलान् ?
    के न्यायका सदन मन्दिरतुल्य होलान् ?
    होला प्रशासन र शुद्ध हटी विभेद ?
    उठ्ला र शैलसरि चेतनमा विवेक ?

    के घूसरूप कुहिरो अब फाट्नसक्ला ?
    के प्रेमले विकृति-बन्धन काट्नसक्ला ?
    के बन्धुता अब चुलीतिर चढ्नसक्ला ?
    के सभ्यता अबअघिल्तिर बढ्नसक्ला ?

    के स्वार्थको अशुभ चिन्तन चूर्ण होला ?
    के राष्ट्र-उन्नति महाव्रत पूर्ण होला ?
    संस्कारका अघि “सु” के अब जोडिएला ?
    के खास राष्ट्रहितमा पथ मोडिएला ?

    के कर्ममा हृदयदीप धपक्क बल्लान् ?
    के स्वावलम्बन सबै मनभित्र फल्लान् ?
    के दुष्टता कलह विग्रह नष्ट होलान् ?
    के दीनका सकल कष्ट विनष्ट होलान् ?

    आफ्ना भुलेर अपवित्र अनेक कर्म
    सम्झी समस्त जनका कटु दुःख मर्म
    मस्तिष्कमा अमल नैतिकता जगाई
    सोच्लान् र राष्ट्र-अगुवा सबको भलाइ ?

    निष्पक्ष नैतिक निरञ्जन निर्विकार
    कर्तव्यका प्रति भएर इमानदार
    के नीति-वाहकहरू अब सुध्रिएलान् ?
    यो मृत्तिकाभरि सुशान्ति सुवास देलान् ?

    ईर्ष्या घमन्ड मनबाट पखालिएलान् ?
    के एक भै प्रगतिका पद चालिएलान् ?
    के देशले म त समृद्ध छु भन्नसक्ला ?
    के राजनीति अब निर्मल बन्न सक्ला ?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *