• २०८१ कार्तिक २०
  • खप्की खाँदै खप्तडको


    प्रतीक ढकाल
    प्रतीक ढकाल

    “एचबीएफ” रे— रामप्रसाद भट्टराईको सूत्र । “एचबीएफ सहित मात्रै भिंmग्राना छोड्नोस् है ।” पारिपट्टिको क्याम्पमा बसेर दूरभाषबाटै मलाई सूचना संप्रेषण गर्दैछन् । “एचबीएफ नभए आजको दिन बडो घातक हुन सक्छ है मित्र !” उनको सूचनाले मलाई थर्काइ पनि रहेछ । झक्झक्याइ पनि रहेछ । र, उनको चेतावनीले मलाई हर अर्थमा सजिलो पनि बनाइरहेछ ।

    ‘एचबीएफ अर्थात् हेभी ब्रेक फास्ट !’
    “यहीँ दह्रो गरी खाजा खाएर नहिँडे– अब बाटोमा केही पाइन्न । लन्च प्याक पनि बोक्नु होला— जे–जे भेटिन्छ ।” सरलीकृत व्याख्या पनि प्रसारित भइरहेछ उनको । र, हामी पनि चिया, बिस्कुट, उसिनेको अण्डा सहित सकेसम्म र पाएसम्मको गह्रुँगो खाजा उदस्थ गर्दैछौँ । बाटोका लागि पनि दालमोठ, बिस्कुट र फ्रुटीका प्याकेटहरू च्यापिसकेका छौँ— आफ्नो झोलामा । यहाँ धेरै कुरा पाइदै पाइँदैन । यही साउँददाइको सानो पसल मात्रै खुल्ला छ । यहीँ जे–जे पाइन्छ— त्यो पनि अड्कलेर मात्र बोक्दैछौँ ।

    खबर आयो— रामप्रसादको सूचना र जानकारीको थैलो अघि लागिसक्यो । अर्जुनले पछ्याइसक्यो र अरुले पनि साथ दिइसके । केही सैनिकहरू पनि साथसाथै माथि जाने भए रे ।

    हिजै जमदार मेघराज रानाभाटले भनेका थिए— “हाम्रो त तल र माथि काम परिरहन्छ । भोलि हजुरहरूकै सहयोगका लागि म पनि दुइटा केटा पठाइदिन्छु । कँही हिउँमा फँस्नु भयो भने तानेर निकाल्छन् नि !”

    साँच्चै पठाउने नै भएछन् । हिँडे रे भन्ने नै खबर आयो । अनि यो पनि थाहा पाइयो कि— अब मोबाइल सेवाबाट कुराकानी हुने क्षणको समाप्ति पनि धेरै टाढा छैन । सूचनाको सदुपयोग गर्दै तुरुन्तै लक्ष्मीलाई भनें— “अब फोन लाग्दैन रे है योभन्दा माथि । मेरो त ब्याट्री पनि सकिनै लागेको छ । चार्ज गर्ने ठाउँ पनि छैन रे । त्यसैले अब फोनको आश नगर्नु है ।”

    यसो सम्झेँ— आज माघ १६ गतेको दिन । अर्थात् शहीद दिवस । मन ढक्क भएर फुल्यो । सम्झेँ— ‘सुगन्ध’ र ‘दशरथ’लाई । आदर पलायो मनभरि । यी राष्ट्रकै अमूल्य रत्न हुन् । उज्याला ‘शहिद’ हुन् । यिनीहरूको कुनै निर्धारित मूल्य नै छैन । अर्थात् यी अमूल्य छन् । त्यसैले कसैले खोजी नीति पनि गर्दैन— सिवाय आजको दिन । किन्न, आँक्न, मोल्न सकिने भए पो खोज्छन् त मान्छेले । त्यसो गर्नै नसक्ने भएपछि त किन खोजुन् त ?

    अर्काथरी ‘शहीद’हरू छन्— नगद रु. १० लाखका । मूल्य घट्दा–घट्दा र शहीदहरूको सङ्ख्यामा एक्कासी हजारौंको संख्या एकैपटक थपिन थालेपछि शब्दकोश पनि सायद आत्तियो क्यारे ! यी त अलि ‘शहीद’ जस्तै गह्रुँगा होइनन् कि जस्तो लाग्यो होला मिडियालाई पनि र अलि हलुका शब्दमा ‘शहिद’ बनाइदिएछन् ।

    त्यसपछि पनि यो क्रम जारी नै रहेपछि माँग र आपूर्तिको स्थितिले आफैं निर्धारण गरेछ बजार भाउको इक्विलिब्रियम्— र, ‘सहिद’ शब्द जन्म्यो र मूल्य कायम भयो नगद रु. एक लाख । आपूm जुन स्तरका छन्— त्यस्तै ‘सहिद’ बनाए धेरैलाई तिनीहरूले । आफ्नो हैसियत जस्तो छ— त्यस्तै ‘सहिद’ पनि उत्पादन गरे तिनीहरूले । तर ‘शहीद’लाई कसैले विस्थापन गर्न सकेन । ‘शहीद’ हुने कठिन यज्ञमा होमिन हिँडेका तिनीहरू होमिन त होमिए । ज्यान पनि गएकै हो— तैपनि ‘शहीद’ हुन सकेनन् । बरु :—
    — कोही ‘शहिद’ भए ।
    — कोही ‘सहीद’ भए ।
    — कोही ‘सहिद’ भए ।
    — धेरै जसो त नगदै ‘सहित’ भए ।

    हिँडाइलाई नै चुनौती दिन बिहानको ठीक ७ः३० मै निस्किसकेका छौँ— डे प्याक च्यापेर । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्दैछौँ । इन्ट्री पोष्टमा आफ्नो नाम ठेगाना इन्ट्री गरेपछि त माग गरेमा निकुञ्जका कर्मचारीहरूले एक एक थान लौरो पनि दिने रहेछन् ।

    कस्तो राम्रो व्यवस्था ! कस्तो राम्रो हार्दिकता ! मलाई यो प्रणाली मन प¥यो । हुन पनि लौरो भयो भने उकालो ओरालो गर्ने धेरै सजिलो हुन्छ । म त त्यसै पनि ट्रेकिङको ‘स्टिक’ सँगै थिएँ । लौरो पाएर गीता र वीरबहादुर दुवै लाभान्वित भए ।

    एउटा सानोकाठे पुल त¥यौँ । मानिस हिँड्ने बाटो र घोडा खच्चर हिँड्ने बाटो छुट्टिएपछि हत्तपत्त ‘मानिस हिँड्नेतिर’ लाग्यौँ । वन असाध्यै सप्रेको छ । रुखहरू पनि सुन्दर देखिन्छन् । तर बाटोको बनौट नै यस्तो छ कि उकालाहरूको मात्रै सामना गर्नु परिरहेको छ ।

    निकै माथि पुगेपछि बाटोको छेउमा हिउँ जमेको देखियो । गीता बहिनी दंग पर्दै दगुरेर गइन् । त्यसलाई छोइन् र भनिन्– “आज मेरो जीवन धन्य भयो । मैले हिउँ छोएँ दाइ ।”

    “अब तपाईंले यस्तो कुरा निरन्तर देख्दै जानुहुनेछ । तपाईं अब निरन्तर धन्य भएको भयै हुनुपर्नेछ । बरु के प्रार्थना गरौं भने थप हिउँ चैं नपरोस् । नत्र हामी नराम्रोसँग रोकिनेछौँ ।” मैले प्रत्युत्तरमा भन्दै रहें ।

    बिहानको ७ः३० मा झिंग्रानाबाट हिँडाइ प्रारम्भ गरेका हामी ठीक ९ः४५ बजे अर्थात् ठीक २ः१५ घण्टामा ‘झिंग्राना–बीचपानी मध्यबिन्दु’ लेखेर टाँसेको तिखेको रुखको फेदमा आइपुग्यौं ।

    त्यो मध्यबिन्दु नाघेपछि त हामीले हिमप्रदेशमै प्रवेश गरे जस्तो भयो । बाटोभरि वनभरि जताततै हिउँ नै हिउँ । सुरु सुरुमा ठीक ठीकै लाग्दा लाग्दै अब त हिउँको मोटाइ २÷३ फिट हुन थाल्यो । हिउँकै बीचको डोबबाट पुराना पाइलाहरूको संकेतलाई पछ्याउदै हिँड्नु पर्ने हुन थाल्यो । हिँड्ने ठाउँमा रहेको गहिरो भागमा पनि जमिनको नामनिशानै देखिन छोड्यो । निगालाघारीलाई पूरै हिउँले छोपेको देखिन थाल्यो । वनमा लडे–पडेका पुराना मुढाहरूले हिउँको बर्को ओढेर ढुक्कसँग सुतेका देखिन थाल्यो । ठाउँ ठाउँमा रहेका कुटी र धर्मशालाका छानाबाट खसेको हिउँले पनि अनौठा अनौठा चित्रकृतिहरू बनाएको देख्न थालियो ।

    यस्तै कठिनाइमा यात्रा अगाडि बढ्दैछ । हिउँको पत्र अब झन झन बाक्लो हुँदै गएको छ । अब त तीन फिट पनि नाघेजस्तो देखिंदैछ । टेकेको लौरो पूरै भासिन थालेको छ हिउँमा । खप्तडले हप्काउन पो थालेको हो कि जस्तो पनि आभास हुँदैछ ।

    बिहानको १० बजेदेखि हिँड्न थालेका मध्यबिन्दुबाट— ठीक १२ः४५ मा बीचपानी आइपुगिएको छ अहिले । झिंग्रानादेखि मध्यबिन्दुको त्यस्तो एकोहोरो उकालो बाटो नापिसक्न हामीलाई २ घण्टा १५ मिनेट मात्र लागेको थियो । तर मध्यबिन्दुदेखि यताको त्यत्ति नै तेर्सो बाटो हिँड्न हामीलाई २ घण्टा ४५ मिनेट लागेछ । यसबाट के बुझियो भने— पाइलाहरू हिउँमा भासिएपछि हिँड्ने काम निकै कठिन हुने रहेछ । यो पौने तीन घण्टाको हिँडाइमा गीता बहिनी १ दर्जनभन्दा बढी नै पटक पछारिइसकेकी छन् हिउँमा । तर, हिमसाक्षात्कारको पहिलो अनुभव हुनाले हाँसी हाँसी उठिरहेकी छन् । खुट्टै गाडिएर निकाल्न नसकेको अवस्थामा कहिले वीरबहादुरले तानेको छ; कहिले मैले सहारा दिएर उठाएको छु । तर अधिकांश पटक आफैँ उठेकी छन्– र, हिउँलाई पनि जित्ने सूरमा लागेकी छन् ।

    बीचपानीमा पर्यटनले बनाएको सुन्दर घर पनि देखियो । अरु बेला भए त्यसमा होटेल चल्थ्यो रे । तर अहिले त यो मात्र होइन— यहाँका सबै होटलहरू बन्द रहेछन् । अरू बेला ग्राहकहरू बस्ने बेञ्चहरू सबै हिउँले पुरिएका र डेस्कहरूले मात्रै टाउको उठाएर यसो वरपर हेरिरहेका रहेछन् । खरको छानोमाथि आप्mनै पौरखले एक पत्र थपेको छ हिउँले । र, यो हिउँको छानो यति बाक्लो छ कि यसले त ढुङ्गालाई पनि चुनौती नै दिइरहेछ । सागपात रोप्न बारिएका कोठेबारीहरूमा एकनासको हिउँको तन्ना फलेको छ । बिरुवाहरू उम्रिनु पर्ने ठाउँमा घटीमा पनि तीन फिट हिउँ उम्रेको छ र स्थानीय मानिसहरूले ‘तिखे’ भन्ने गरेका ठूला ठूला रुखहरू कम्मरसम्म हिउँमा गाडिएर उभिएका छन् ।

    यस्तै अनौठो दृश्यका बीचमा बसेर निखार्दै छौँ— प्याकलञ्चका प्याकेटहरू । नामै मात्र ठूलो– खासैमा खानु त के छ र ? उही झिंग्रानाबाटै ल्याएका एक एक साना प्याकेट दालमोठ, एक एक प्याकेट बिस्कुट, एक एक डब्बा फ्रुटी र आफैंले घरैदेखि झोलामा बोकेर लगेका केही ड्राइफ्रुटहरू ।

    बल्ल भेट्यौं हामीले अर्को समूहको भरिया कालु ठगुल्लालाई यही बीचपानीमा । उनले त ‘रामप्रसाद’हरूका आवश्यकताहरू सबैलाई बोरामा हालेर आफ्नै शैलीको भारी बनाएका रहेछन् । हाम्रो वीरबहादुरको भारी–कौशल देखेपछि बल्ल जिल खाए । नत्र त यी दुई भरियाको पनि भेटै भएको थिएन– अहिलेसम्म ।

    हामीलाई साथी हुन्छ भनेर पठाइएका दुई सैनिकहरूसँग पनि यहीँ नै भयो परिचय । एउटा रहेछन्— प्युठ सुरेश फैजा मगर र अर्का रहेछन् सिपाही पुरण पुन । एउटा बाँकेका र अर्का बागलुङ हुँदै हाल बुटवलका ।

    बगलेक—२, कुडासैनका कालु ठगुल्ला भारी बोकेर फेरि दगुरी हाले । सैनिकहरू पनि उनैलाई पछ्याउँदै हिँडे । अहिले पनि हामी नै सबैभन्दा पछाडि हिँड्यौँ । दृश्यहरू यति सजीव छन् कि जहाँ हे¥यो त्यहीँ मन अल्झिन्छ । जे देख्यो त्यसैको फोटो खिच्न मन लाग्छ । त्यही हिउँ जस्तै कहिले रुखको कापमा गएर सुत्न त कहिले घरको छानो भएर फैलिन मन लाग्छ तर हामी त्यसो गर्न सक्तैनौँ । किनकि, न त हामी हिउँ हौँ न बालागुरु षडानन्द अधिकारी वा स्वामी श्यामाचरण लाहिडी महाशयझैँ सिद्धिप्राप्त योगी नै हौँ । न हामी ओशो जस्तो व्याख्याता हौँ न त स्वामी आनन्द अरुणझैँ सङ्गठक । हामी कुनै शक्ति नभएका मान्छेहरू केवल हेर्न मात्र सक्छौँ– र, अपलक हेरिरहेका छौँ प्रकृतिको यो अनुपम जादुगरीलाई ।

    उभिएर प्रतीक्षा मात्र गर्नेले पनि सेवा नै गरेका हुन्छन् रे— जोन मिल्टनले भनेको । हामी त हेर्दै नै छौँ । पक्कै ठूलै काम भैरहेको होला— हाम्रा अन्तस्करणमा । तर के भैरहेछ— हामी अयोगीहरूलाई थाहा छैन ।
    बाटो लाग्यौं । हतार नगरे खप्तड नपुगिएला कि भन्ने डर पनि छ । फेरि, साइनबोर्डले ‘अब ३ घण्टा लाग्छ’ भनेको हुनाले हिउँका कारणले कठिनाइ थपिएर ६ घण्टा नै लागे पनि ७ बजे त खप्तड पुग्ने देखिएकाले आश्वस्त पनि भएका छौँ ।

    रुखहरू असाध्यै सप्रेका छन् । तिनका हाँगाहरू पूरै शक्तिका साथ फैलिएका छन् । यो हिउँ पछि गएर सबै नै रुखकै आङमा पो पोषण थपिने हो कि जस्तो पनि देखिँदैछ । रुखको माथिसम्म हिउँ भरिएको हुनाले सबैलाई प्रकृतिले नै ‘उकेरा’ हालिदिएको हो कि जस्तो पनि देखिँदैछ ।

    हिउँकै ट्र्याकबाट हिँड्दैछौँ । अस्तिको दिनदेखि हिउँ नपरेको हुनाले हिजो मात्रै केही सैनिकहरूले तलकाले माथि र माथिकाले तल गरेर खोलेका रहेछन्— यो अहिलेको बाटो । एक पटक मान्छे हिँडेको हिउँ नदब्ने हुनाले हाम्रोे यात्रा पनि तिनै पाइलामाथि हुँदैछ । अनि तिनै पाइलाहरू चिप्ला हुने हुनाले हिउँको मेलोमेसो नपाएकी गीता बहिनी पटक–पटक बाटोमा चिप्लिरहेकी छन् ।

    केही पर पुगेपछि बायाँ हाततिर एउटा फराकिलो चट्टान आयो— ४५ डिग्री कोणको भित्तो बनेर । ठ्याक्कै मनाङको स्वर्गद्वारीजस्तै । परिक्रमा अन्नपूर्ण मा छापिएको विवरणजस्तै ।

    अनि मूल बाटोमा आयो दुवैतिर— सप्रेको निगालो र बीचमा हिँड्नका लागि मात्र ओछ्याइएको हिउँको बाक्लो सेतो डसना । यस्तो सप्रेको निगालोलाई यतातिर एकवचनमा भए ‘देउलो’ र बहुवचनमा भए ‘देउला’ भनिँदो रहेछ र तिनका पनि कलिला टुसालाई चैं देउली टुसा रे ।

    बाटैमा अर्को पनि कुटी देखियो । छानाबाट खसेको हिउँले बनाएको अमूर्त मूर्तिकला पनि देखियो । यस्तो हिमपातका बेलामा पनि पहरोमुनि लुकेर ज्यान जोगाएका केही भुइँफूलहरू देखिए । सेताम्य भएको यो धर्तीमा प्रकृति आफैँले एउटा ढुङ्गगामाथि हिउँकै माछा बनाएर घाम तपाउन राखेको रहेछ— त्यो पनि देखियो । यस्तो लाग्यो, मानौं कि प्रकृतिले सिंगै माछो तारेर यो ढुङ्गाको प्लेटमा राखिदिएकि छन्— हाम्रो दर्शनार्थ ।
    हिउँले विचित्र विचित्र रूप र आकृतिहरू बनाएका छन् । कतै ओडारको गेट जस्तो देखिन्छ भने कतै अर्कै खालको राक्षसी मुखाकृति; कतै मन्दिरको स्वरूप देखिन्छ त कतै बगैंचाको प्रकृति । कतै पूरै छोपिएको सतह छ त कतै पूरै शरीर हिउँमा छोपिएर पनि अन्तिम श्वास लिन सङ्घर्षरत बिरुवाका निर्धा निर्धा गुवाहरू ।

    धन्य प्रकृति, तिम्रो लीला अपरम्पार छ ।
    निकै माथि रहेको एउटा डाँडामा हामी दुवै टिमको भेट भयो— एकैछिनका लागि । सूचना पाइयो— अब यो नै फोन लाग्ने अन्तिम बिन्दु हो । अब यहाँबाट नाघेपछि कहीं पनि फोनको नेटवर्कले टिप्दैन ।

    साथीहरूले भनेको सम्झेँ— पूर्णचन्द्रलाई फोन गरेर मात्र खप्तड जानू । पर्यटन मन्त्रालयको योजना महाशाखाले भनेको सबैले मान्छन् । मोहनकृष्णलाई भनेर जानू— त्यसो भए राम्रो सत्कार हुन्छ । सुरेन्द्र सापकोटाले कसैलाई खबर गरिदिएको छ कि छैन ? उसले भनेको लाग्छ । हिक्मतसिंह ऐरजीले भनेको सम्झेँ— “सरले खप्तडको भ्रमण गर्नु भनेको खप्तडका लागि पनि अवसर हो । अब यसले राम्रो प्रचार पाउनेछ । सरका पाठकका बीचमा पुग्नेछ— खप्तड पनि । त्यसैले, सिधै खप्तड पर्यटन विकास समितिकै सम्पर्कमा रहनु होला । सेना र निकुञ्जतिरभन्दा तपाईंलाई पर्यटन कार्यालय नै सुहाउँछ ।”

    यसो फोन झिकेर हेरेको त पूरै अफ भइसकेको रहेछ । ब्याट्री त पूरै मृत । नम्बरमात्र हेर्न पाएको भए पनि गीता बहिनीको फोनबाट कुरा गरौँला भनेको त मेरो सेटले त पूरै जिब्रो टोकेर महासमाधि लिइसकेको रहेछ । कतै पनि सम्पर्क गर्न सकिएन । यत्रो नाम चलेको ठाउँमा आएर पनि के डराइरहनु भन्ने सोचियो र त्यतापट्टि पटक्कै चिन्ता लिइएन । एक रात बिताउनका लागि पनि के को हार गुहार गरिरहनु पर्ला र भन्ने सोचियो ।
    फेरि, रामप्रसादले नै भनेका थिए— माथि त होटल पनि छ नि ! जब होटल समेत छ भने किन गरिरहनुप¥यो अर्काको चाकरी ?

    पर–पर अछामका डाँडाहरू पूरै सेता देखिन थाले । रुखहरूको सप्राइ त झन् प्रतियोगिता जित्नकै लागि हो जस्तो देखिन थाल्यो । यस्तै दृश्यहरूमा अल्मलिइरहेका बेला हाम्रा आँखाअगाडि उदायो— एउटा ठूलो हिम मैदान । आँखाले भ्याएसम्म फैलेको छ यो हिउँको डसना । हिउँको च्यादर वा तन्ना भन्नै मिल्दैन यसलाई । किनकि, यो घटीमा तीन फिट बाक्लो छ । यति बाक्लो च्यादर हुन्छ ? तन्ना हुन्छ ? अनि कसरी भन्नु ?

    हो, आँखाले भ्याएसम्म फैलिएको छ यो हिम मैदान । घाम लागेको र छाया परेको सबै ठाउँमा पुगेको छ— यही विस्तारित मैदान । शिरको यो ढुङ्गोदेखि त्यो खोल्सोसम्मलाई छोपेर कता हो कता परसम्म फैलिएको छ यो एउटै हिम मैदान ।

    बल्ल कुरो बुझियो— अब आउन थालेको रहेछ खप्तड हाम्रो बाटोमा । बल्ल मेसो पाइयो— हामी पुग्न थालेका रहेछौँ खप्तड र यो हामीले नाघेको यो बिस्तृत मैदान चैं यहाँको पहिलो पाटन (चौर) रहेछ ।

    कुटीलाई बायाँ हाततिर पारेर हामी फेरि उकालियौं । पहिलो पाटन नाघिसकेका हुनाले हामी उत्साही बनेका छौँ । यस्तै २२ पाटनको एरिया हो रे खप्तड— रामप्रसादको सूचनाले यसै भन्छ । यति उचाइमा रहेको विश्वप्रसिद्ध सिमसार हो यो— भट्टराईको जानकारी अझै उन्नत हुन्छ ।

    साँझ पर्दैछ अब त । बास कहाँनिर हो— त्यो पनि थाहा छैन । पहिले खप्तड आइनपुगेकाहरू मात्र छानिएर पछाडि परेका छौँ । संयोग यस्तो छ कि हाम्रो गाइड वीरबहादुर साउद पनि पहिलो बेते नै हो रहेछन् । भन्दै थिए— “बीचपानीसम्म त आएको थिएँ । तर यता चैं पहिलो पटक हो ।”

    खप्तडलाई नचिनेको मान्छे हो भन्ने कुरा त उनले लगाएका चप्पलले नै बुझाउँथ्यो नि ! तर यसभन्दा अगाडि म बोलेको थिइनँ ।

    वर्षायाममा सुन्दर सुन्दर देखिने अरु पाटनहरू पनि बाटामा आउँदै गए । त्यति बेला कति सुन्दर र हरिया हरिया चौरहरू बन्दा हुन् यी पाटन र यहाँका सबै पुलहरूमुनि पनि सानो–सानो पानी बग्दो हो । अहिले त पूरै सेताम्ये हिउँ छ र पुलमाथि पनि हिउँ नै सुतेको छ ।

    बाटोमा एउटा सानो गेट आयो । एउटा सानो देवीथान पनि आयो । त्रिवेणी मन्दिरतर्फ जाने बाटो देखाउने ठाउँ आयो । फेरि, त्यहीँ तल एउटा कुटी आयो । चारैतिर अँध्यारो फैलिसकेको हुनाले अब हामी आत्तिन थाल्यौं । हिउँको टलकको कारणले मात्र बाटो देखिएको हो भन्ने जानेपछि हामी अब बेसहारा हुँदै गयौं ।

    “त्यो अघि छोडेको घरमा फर्कौँ र छानोमुनि बसौँ ।” पहिलो पटक खुइय गर्दै निराशा पोखिन् गीता बहिनीले ।

    “फर्केर त नजाऊँ तर अब जहाँ कुटी भेटिन्छ— त्यहीं बसौं । त्यसो गरे कसो हुन्छ ?” मैले सुझाएँ ।

    “बाटो त यै हो मेडम । मैले बिराएको छैन बाटो त । मैले धमिलिएको हिउँमै हिँडाएको छु हजुरहरूलाई । तर अझै कति टाढा छ सेनाको ब्यारेक, निकुञ्ज र बास बस्ने ठाउँ— त्यो चैं मलाई था भएन ।” वीरबहादुरको वीरत्व पनि यसरी स्खलित भयो ।

    हामी ठीक ठाउँमा छौँ भन्ने सबैलाई थाहा भयो— किनकि अर्को बाटै छैन । तर कति वर छौँ भन्ने कुरो कसैलाई पनि थाहा भएन ।

    सोच्यौं— हिउँ ६ फिट जति अग्लो भइसकेको छ । यस्तो अवस्थामा अब जहाँ छानो पाइन्छ, त्यहीं घुस्रेर जीवन रक्षा गर्नुपर्छ ।

    निकै पर पुगेपछि, रात निकै झरेपछि, हामीले हाम्रो दाहिने हाततिर तीन वटा घरहरू उभिएका देख्यौं । छेउमै तारबेरले छेकेको एउटा ढुङ्गगो थियो । तर अँध्यारो भइसकेको हुनाले त्यसको व्यहोरा पढ्न सकिने स्थिति थिएन ।

    “अब ऊ त्यै घरमा रात बिताउने ।” मैले भनें र गीता बहिनीतिर हेरें । उनले स्वीकृति जनाउनु बाहेक विकल्पै के थियो र ?

    अब त्यो घरसम्म जाने बाटो बनाउन म अगाडि लागें । नयाँ ठाउँमा टेक्दा म घुँडामाथि माथिसम्म भासिएँ— हिउँमा । लौरो चुर्लुम्मै डुब्थ्यो र टुप्पीको फिता मात्र बाँकी रहन्थ्यो । बडो दुःखले १५० पाइला जति हिँडेर म त्यो घरको ढोकामा पुगें । तर दुर्भाग्य, ढोकामा त ताला पो लगाइएको रहेछ । फेरि फर्केर अर्कोतिरको खुला झ्यालमा पुगें र खापालाई धकेलेर भित्र छिरें । मैले पाइला टेकेका ठाउँमा टेक्दै गीता र वीरबहादुर पनि भित्र आइपुगे ।

    अब हामी तीनै जना एउटा छानोमुनि सुरक्षित थियौं । राति जस्तोसुकै हिमपात भए पनि हामी नमर्ने भएका थियौँ । हाम्रा अरू साथीहरूले आर्मी क्याम्प वा पर्यटन कार्यालय वा निकुञ्ज कार्यालय कतैतिर बसेर रमाइला गफहरू गरिरहँदा हामी तीन जना भने जीवनको यो दुर्लभ अनुभवको बाली स्याहार्दै थियौँ ।

    सबैभन्दा ठूलो कुरो, हामी छानोमुनि सुरक्षित थियौँ र जस्तोसुकै भए पनि जीवनमा एउटा घरको महत्व कति हुन्छ भन्ने कुरो आफैँले भोगेर बुझ्दै थियौँ ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री