• २०८१ चैत्र ५
  • शास्त्रीयताको कसीमा ज्ञानुवाकरका गजल



    विषय प्रवेश

    विक्रमको १९४० को दशकमा युवाकवि मोतीराम भट्टले हिन्दी साहित्यबाट नेपाली साहित्यमा भित्र्याएको गजल आजका मितिसम्म आइपुग्दा नेपाली साहित्यको मूलधारको सशक्त विधाका रूपमा स्थापित भइसकेको छ । मोतीरामका समकालीन कविहरू लक्ष्मीदत्त पन्त ‘इन्दू’, गोपीनाथ लोहनी ‘नाथ’, अम्जद हुसैन ‘अन्जान’देखि उनीहरूपछिका भीमनिधि तिवारी, शम्भुप्रसाद ढुंगेल, उपेन्द्रबहादुर जिगरसम्मका कविहरूले गजल लेख्ने प्रयास गरेका पाइन्छ । तर विक्रमको २००० को दशकपछि वा उपेन्द्रबहादुर जिगरपछि भने नेपाली गजललेखन लगभग तीन दशक सुस्ताएको पाइन्छ ।

    तीसको दशक भनेको आधुनिक वा गद्य कविता र मुक्तकले हस्तक्षेप गरेको समय हो । यस समयमा गद्य कविता र मुक्तक नै बढी लेखिएका पाइन्छ । यही मेसोमा तात्कालीन युवाकवि ज्ञानुवाकर पौडेलको पनि मुक्तक लेखनमा क्रियाशीलता बढेको र त्यही क्रममा छ पंक्तिको रचना २०३५ सालमा अभिव्यक्ति पत्रिकामा छापिएको पाइन्छ । त्यसको करिब एक वर्षपछि रूपरेखामा गजल नाममा अर्को रचना छापिएपछि भने नेपाली साहित्यमा गजलबारे पुनः चर्चा भएको पाइन्छ । यस आधारमा नेपाली गजलको ‘पुनर्जागरणकर्ता’का रूपमा ज्ञानुवाकर पौडेललाई लिइँदै आएको छ ।

    त्यसपछिको समय पौडेल लगभग पूरा समय नेपाली गजलको विकास, विस्तारकै अभियान र गजललेखनमै सक्रिय छन् । यस अर्थमा नेपाली गजल साहित्यका अग्रणि व्यक्तित्व हुन् पौडेल । कम्तीमा नेपाली साहित्यबाट लगभग हराइसकेको गजललाई पुनः चिनाउने काम उनीबाट भएको छ र गजलकै नाममा आजसम्म समय, श्रम र ऊर्जा खर्च गरिरहेका छन् । यस कारण पनि नेपाली गजल साहित्यले उनको नाम कहिल्यै भुल्नेछैन ।

    यस लेखमा ज्ञानुवाकर पौडेलको वि। सं। २०६८ मा प्रकाशित गजलकृति ‘जिन्दगी छैन अचेल जिन्दगी जस्तो’मा संगृहीत गजलहरूको शास्त्रीय पक्षको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

    शास्त्रीयताको कसीमा ज्ञानुवाकरका गजल

    गजल शास्त्रीय विधा हो । शताब्दीयौँ पहिले निर्मित, स्थापित र प्रचलित यसका आफ्नै सिद्धान्त छन् । गजल संरचनाका मूलतः दुई भाग छन्– बाह्य संरचना र आन्तरिक संरचना । बाह्य संरचना, जो गजल हेर्दैमा देखिन्छ, जस्तो कि रदिफ, काफिया, शेर, तखल्लुस । तर भित्री संरचना भने गजललाई मिहीन ढंगले पढेपछि मात्र महसुस गर्न वा थाहा पाउन सकिन्छ । गजलको आन्तरिक संरचनामा बिम्ब, प्रतीकको उचित प्रयोग, उक्तिवैचित्र्य, कोमलता, हार्दिकता, लय, प्रभावकारी शिल्प संयोजन आदि पर्छन् । अर्थात् भनौँ गजलको बाह्य संरचना मानिसको बाहिर देखिने रूप, सौन्दर्य र शारीरिक बनोट हो भने आन्तरिक संरचना भनेको गुण, स्वभाव, इमान, नैतिकता र व्यवहार हो । ठीक यसरी नै हामीले गजललाई हेर्न सक्छौँ ।
    बाह्य संरचना

    ज्ञानुवाकर पौडेलको ०६८ सालमा प्रकाशित गजलकृति जिन्दगी छैन अचेल जिन्दगी जस्तो’भित्र ६१ वटा रचना रहेका छन् । ती रचनाहरूलाई ‘गजल’ भनिएको छ किनभने पुस्तकलाई ‘गजलसंग्रह’ भनिएको छ । ६१ वटा रचना ८ पंक्तिदेखि २६ पंक्तिसम्मका रहेका छन् अर्थात् गजलको भाषामा ४ शेरदेखि १३ शेरसम्मका रचना यस पुस्तकमा समेटिएका छन् ।

    सामान्यतया गजल न्यूनतम ३ शेरमा वा छ पंक्तिमा र अधिकतम ७ शेर वा १४ पंक्तिसम्म लेखिने परंपरा छ । साथै गजलका शेर बिजोर हुनुपर्ने मान्यता पनि रहीआएको छ । तर ज्ञानुवाकरले यस कृतिभित्र जोर शेरमा पनि गजल लेखेका छन् ।

    यसरी नै गजलमा गजलकारले आफ्नो नाम वा उपनाम पनि राख्ने चलन छ, जसलाई ‘तखल्लुस’ भनिन्छ । तर तखल्लुसको प्रयोग सोझो गजलकारको नाम जनाउन मात्र नभएर अन्य अर्थ पनि लाग्ने गरी गरिनुपर्छ अर्थात् कम्तीमा दुईअर्थी हुनुपर्छ तखल्लुस भन्ने मान्यता छ । र, तखल्लुस गजलको अन्तिम शेरमा राख्ने परंपरा रहेको छ । तखल्लुस राखिएको शेरलाई ‘मकता’ अर्थात् टुंग्याउनी भनिन्छ ।

    ज्ञानुवाकर पौडेलले यस कृतिभित्रका तीनवटा गजलमा तखल्लुसको प्रयोग गरेका छन्– पेज १७, ३२ र ४४ नम्बरका गजलमा । १७ नम्बरको गजलमा ‘ज्ञानी मान्छे’का रूपमा समेत तखल्लुसको प्रयोग गरिएको छ भने ३२ र ४४ पेजको गजलमा ‘ज्ञानु’ तखल्लुस गजलकारको नामका रूपमा मात्र प्रयोग भएको देखिन्छ । उनले तखल्लुस मकता वा अन्तिम शेरमा मात्र प्रयोग गरेका पाइन्छ ।

    धेरै भो गाउँ नफर्केको ए ‘ज्ञानु’
    चिन्न सकूँला के त्यो घर आफ्नो रु – पेज ४४

    ढुंगा यदि तैँले आफूलाई तुल्याएको भए ‘ज्ञानु’
    बिरानो तेरा लागि आज यो शहर नहुँदो हो । – पेज ३२

    रदिफ गजलमा प्रयोग हुने पहिलो शेरका दुवै पंक्तिमा काफियापछि र अन्य शेरमा दोस्रो पंक्तिमा काफियापछि आउने उही शब्द, शब्दावली रदिफ हो । रदिफको प्रयोग गजलमा काफियासँग समन्वय हुने गरी र गजललाई प्रभावकारी र लयवद्ध बनाउने गरी हुनुपर्छ भन्ने मान्यता रहेको छ ।

    यसरी हेर्दा यस कृतिभित्रका ६१ मध्ये ५९ वटा रचनामा रदिफको प्रयोग भएको पाइन्छ भने पेज ३ र ३१ का रचनामा भने रदिफको प्रयोग पाइँदैन । पुस्तकभित्रका अधिकांश रचनामा रदिफलाई काफियासँग समन्वय गराइएको छ । केही गजलमा भने काफिया र रदिफको तालमेल नमिलेको आभास हुन्छ, कुनैकुनै शेरमा । रदिफले यस कृतिभित्रका केही गजललाई मात्र सुमधुर वा लयनिकट बनाउन सहयोग गरेका छन् । गजलका मिसराहरूमै लयमा विचलन भइदिनाले रदिफले आफ्नो चमत्कार देखाउन नसकेको पाइन्छ ।

    गजललाई अन्य विधाभन्दा फरक बनाउने र गजलको अनिवार्य आवश्यक तत्त्व हो– काफिया । काफिया अनुप्रासयुक्त शब्द हो, जुन पहिलो शेरका दुवै पंक्तिको अन्त्यमा ९रदिफ भए रदिफभन्दा ठीक अगाडि० र अन्य शेरको दोस्रो पंक्तिमा आउने गर्छ । काफिया कहिलेकाहीँ मतला वा पहिलो शेरमा मात्र नभएर अन्य शेरका दुवै पंक्तिमा पनि आउन सक्छ, यस्तो अवस्थामा त्यस शेरलाई ‘मतला ए सानी’ भनिन्छ । रदिफ नभए पनि गजल बन्छ तर काफियाबिना गजल बन्न सक्दैन । यसर्थ काफियालाई गजलको मुटु वा प्राण भनिन्छ । काफिया दोहोरिनुहुँदैन भन्ने मान्यता पनि रहेको छ । गजलका हरेक शेरले फरक फरक भाव अभिव्यक्त गर्न सक्ने हुँदा काफिया दोहोरिएमा भावको समेत पुनरावृत्ति हुने खतरा हुने हुनाले काफिया दोहोरिनुहुँदैन भन्ने मान्यता रहेको हो ।

    यस कृतिभित्रका रचनामा अनुप्रास वा काफियाको प्रयोगमा गजलकार धेरै हदसम्म सचेत देखिन्छन् । यस कृतिभित्रका रचनामा विभिन्न प्रकारका काफिया प्रयोग भएका छन् । केही पूर्ण शब्द काफियाको प्रयोग छ भने आंशिक र मिलित काफियाको प्रयोग पनि देखिन्छ यस कृतिभित्रका गजलमा । एकाक्षरी काफिया भने प्रयोग भएको पाइन्न । कतिपय रचनामा अन्तिमको वर्णलाई काफिया मानिएको जस्तो देखिए पनि ती स्वर र व्यञ्जन दुवै वर्ण एकै हुनाले काफियाका रूपमा प्रयोग हुनसक्दैनन् ।

    कृतिभित्रका रचनामा काफियाको विचलन निकै देखिन्छ । गजलकारले काफियाप्रयोगमा उति सचेतता नदेखाउँदा यस कृतिभित्रका १० वटा रचना गजल बन्न सकेका छैनन् । पेज २०, २२, २९, ३०, ३४, ४१, ४३, ५०, ५७, ६१ र ६२ का रचनामा केहीमा काफिया दोहोरिएका छन् भने केही अनुप्रास नमिलेका छन् । पेज २० को गजलमा ‘जस्तो, सस्तो, जस्तो, यस्तो, निस्तो, कस्तो र उस्तो’ शब्दलाई काफियाका रूपमा प्रयोग गरिएको छ । यसमा पहिलो र दोस्रो शेरमा ‘जस्तो’ शब्द दोहोरिएको छ भने चौथोमा ‘निस्तो’ र छैटौँमा ‘उस्तो’ शब्द काफियाका रूपमा आएका छन्, जसले गर्दा यो रचना गजल बन्न सकेको छैन ।

    यसरी नै पेज २२ मा ‘लुक्यो, सुक्यो, रुझ्यो, बिझ्यो र बिक्यो’ शब्द काफियाका रूपमा आएका छन् । यी शब्द पनि अनुप्रासयुक्त छैनन् र यो रचना पनि गजल बन्न सकेको छैन । पेज २९ को रचनामा ‘दृश्य, परिदृश्य, शिष्य, अदृश्य, भविष्य, अस्पृष्य’ शब्द काफियाका रूपमा आएका छन् । यसर्थ यसमा पनि काफिया विचलन भएको पाइन्छ । यसरी नै पेज ३० को रचनामा ‘शहर, भर, नजर, प्रहर, बगर र नजर’ काफियाका रूपमा आएका छन् । दोस्रो र अन्तिम शेरमा ‘नजर’ शब्द काफियाका रूपमा पुनरावृत्ति भएका कारण यो रचनामा पनि काफिया विचलन देखिन्छ । पेज ३४ को रचनामा ‘सुनी, गुनी, सुनी, पनि, मानी र ठानी’ शब्द काफियाका रूपमा प्रयोग भएका छन् । पहिलो र दोस्रो शेरमा ‘सुनी’ शब्दको पुनरावृत्ति भएको छ भने मतलामा रहेका ‘सुनी र गुनी’ भन्दा फरक ध्वनिका ‘मानी’ र ‘ठानी’ शब्द चौथो र पाँचौँ शेरमा प्रयोग भएकाले यो रचना गजल बन्न सकेको छैन ।

    यसरी नै पेज ४१ को रचनामा ‘गाउनु, आउनु, पाउनु, लाउनु, छाउनु, धाउनु र लाउनु’ शब्द काफियाका रूपमा प्रयोग भएका छन् । तेस्रो र छैटौँ शेरमा ‘लाउनु’ शब्द दोहोरिएकाले यस रचनामा काफिया विचलन भएको छ । पेज ४३ को रचनामा ‘सफर, घर, अक्सर, टक्कर, पत्थर, जीवनभर, अधर, खबर, तर्खर र घर’ शब्द काफियाका रूपमा आएका छन् । पहिलो र अन्तिम शेरमा ‘घर’ शब्द काफियाका रूपमा पुनरावृत्त भएको छ । यसर्थ यस रचनामा पनि काफिया विचलन देखिन्छ ।

    पेज ५० को रचनामा पहिलो र छैटौँ शेरमा ‘शहर’ शब्द काफियाका रूपमा पुनरावृत्ति भएको छ भने पज ५७ को रचनामा पनि ‘खेल’ शब्द पहिलो र चौथो शेरमा काफियाका रूपमा पुनरावृत्ति भएको छ । पेज ६१ को रचनामा ‘भन्नु, सुन्नु, चिन्नु, गन्नु, बुन्नु र बन्नु’ शब्द काफियाका रूपमा प्रयोग भएका छन्, जसमा पूरै काफिया विचलित छन् भने पेज ६२ को रचनामा पहिलो शेरमा र दोस्रो शेरमा ‘कविता’ शब्द काफियाका रूपमा दोहोरिएको छ भने चौथो शेरमा पूरै विचलित भएर ‘तमासा’ शब्द काफियाका रूपमा प्रयोग गरिएको छ ।

    यसर्थ यस कृतिभित्रका उल्लेखित रचनालाई गजलको शास्त्रीयताले गजलको कोटिमा राख्दैन ।

    आन्तरिक संरचना

    गजल छोटोमा वा दुई दुई पंक्तिमा सिंगो भाव संप्रेषण गर्न सक्ने काव्यको लघु विधा हो । यसर्थ गजलमा मुक्तकीयता, काव्यात्मकता र प्रभावकारी प्रस्तुति जरुरी हुन्छ । शेरको माथिल्लो पंक्ति वा मिसरा ए ऊलाले उठान गरेको भाव वा विषयलाई तल्लो पंक्ति वा मिसरा ए सानीले चोटिलो वा चामत्कारिक ढंगले निरूपण गर्नुपर्छ । अर्थात् गजलका शेरहरूमा उक्तिवैचित्र्यता हुनु जरुरी छ । अत्यन्तै प्रभावकारी शिल्प संयोजन गर्ने खुबी भएका सर्जकले मात्र यस्तो शिल्प प्रयोग गर्न सक्छन् ।

    शिल्प

    गजलकार ज्ञानुवाकर पौडेलले पनि यस कृतिभित्रका केही रचनामा प्रभावकारी शिल्प संयोजन गरेका छन् । पेज १, २, ९, ११, २६, ३०, ३६, ३८, ४०, ४५, ४६, ४९, ५० र ५३ नम्बरका रचनामा शेर संयोजन अत्यन्तै सुन्दर देखिन्छ । सुन्दर शिल्प संयोजनका कारण ती रचनामा उक्तिवैचित्र्य प्रस्तुत भएको पाइन्छ ।

    हरियो पात बन्धक सधैँ रूखको
    झरेको पात हेर सफरमा रहेछ ।

    के हुन्थ्यो सहज स्वैच्छिक मरण
    मिसावट अचेल जहरमा रहेछ । – पेज १

    चुच्चोमा लिएर गुँड उड्दै छौ हरदम आकाशमा
    सुरक्षित जीवन तिम्रो के यस्तो उडानमा होला ।– पेज २

    नभेटिए कोही तिमीलाई चिन्ने
    किनेर ऐना बडेमान राख्नू ।

    कात्रोमा गोजी हुँदैन हेर
    बिक्रीमा किन इमान राख्नू रु – पेज ११

    कसैलाई तल धेरै तल खसाल्नुप¥यो भन्दैमा
    मलाई नै किन यति माथि उचाल्यौ तिमीले रु – पेज २६

    आयआर्जनको अचेलको यो अन्ध दौडमा
    को बगरे यहाँ अब को डाक्टर था’छैन ।

    औषधिको दुष्परिणाम त भोग्नु भोगियो
    कस्तो हुँदो हो बिखको असर था’छैन । – पेज ३६

    सुरु भो खेल चटकेको परिणाम अब के होला रु
    सापसित छ मित्रता उसको प्रगाढ लौ हेर । – पेज ३८

    सहनुपर्दा घोचाइ गुलाफ टिप्दाको
    आउँछ किन मजा नभनौँ भो ।– पेज ४०

    उज्यालो हेर्न पूरै बस्ती
    घर आफ्नो बालेछ उसले । – पेज ४९

    तर यस पुस्तकभित्रका धेरैजसो रचनामा शिल्प संयोजन कमजोर देखिन्छ । मुक्तकको प्रभावले हुनसक्छ, धेरै रचनामा मुक्तकीयता बढी र चामत्कारिकता कम पाइन्छ । यस कृतिभित्रका पेज ३, ४, ७, ८, २४, २७, २८, ३३, ३४, ३७, ५४ र ५६ का रचनाका केही शेरहरूमा अत्यन्तै कमजोर शिल्प प्रस्तुत गरिएको छ । शेरका मिसराबीचको संयोजनलाई र विषयभावलाई पनि अत्यन्तै सोझो ढंगले प्रस्तुत गरिएको पाइन्छ ।

    लाग्यो आखिर ठूलै बात
    समाउँदा मैले तिम्रो हात ।

    नसोध बित्छ कसरी दिन रु
    लाग्छ किन प्यारो रात रु – पेज ३

    गर्नु खेदो कसैको कैले हुन्न
    नाम बरु तिम्रै फैले हुन्न रु

    छैन झगडा मेरो कसैसित
    पहिले हुन्थ्यो अ‍ैमले हुन्न । – पेज ४

    मिल्दैन विचार आफ्नो त घरमा
    पुरानै छ संस्कार आफ्नो त घरमा । – पेज ७

    खरकै सही छाना दिनुस्
    लाज छोप्छु नाना दिनुस् ।

    पचेन मलाई तपाईंका कुरा
    पखाल्छु बरु चाना दिनुस् ।

    सुन्दासुन्दा गाली धेरै
    गजल फु¥यो पाना दिनुस् । – पेज ८

    ममताकी दुर्लभ खानी रहिछ्यौ तिमी
    देख्दा मात्र सानी रहिछ्यौ तिमी । – पेज ३३

    धेरै बोल्यौ अब मेरो सुनी हेर
    सुनेपछि ती कुरा मनमा गुनी हेर । – पेज ३४

    नियास्रो नलागी आफ्नो जीवन
    अर्का छोरी ताक्छ कसले रु – पेज ३७

    जालिम छ यो दुनियाँ भन्ने जान्दाजान्दै
    कस्तो संकेत मलाई दिएर यो रुमाल ग-यौ रु – पेज ५६

    उल्लेखित पंक्तिहरूमा न काव्यिक सौन्दर्य छ, न त मुक्तकीय प्रस्तुति वा उक्तिवैचित्र्य नै । यसर्थ यी पंक्तिहरू गजलका शेर बन्न सक्दैनन्– गजलको शास्त्रीयताअनुसार ।

    ज्ञानुवाकरका गजलमा लय

    गजल मूलतः गेय विधा हो । गजललाई तरन्नुममा वाचन गरिन्छ भने साजबाजमा गाइन्छ । यसर्थ गजलमा गेय गुण अनिवार्य मानिन्छ । गजल लेख्नकै लागि भनेर गजलको उत्पत्ति र विकास भएका स्थानहरू फारसी र हिन्दी÷उर्दूमा समेत विभिन्न छन्द अर्थात् उर्दू–फारसी भाषामा बहरहरूको निर्माण र प्रयोग हुँदै आएको छ । निश्चित वर्ण र मात्रामा आधारित यस्ता छन्द वा बहरहरूले गजलका हरेक पंक्तिको वजन एउटै बनाउने गर्छन् । निश्चित वर्ण र मात्रा अनि हरेक पंक्तिको निश्चित यति र गतिका कारण छन्द वा बहरमा लेखिएका गजल स्वतः लयबद्ध वा गेय हुने गर्छन् । छन्द÷बहरमा लेखिएका गजल वाचनमा मात्र नभएर गाउन वा सङ्गीत गर्न पनि सहज हुन्छ । यसर्थ राम्रा सङ्गीतकार÷गायक–गायिकाले गजल भन्नेवित्तिकै ‘कुन बहरमा छ रु’ भनेर बुझ्ने गर्छन्, ताकि उनीहरूलाई गजलमा प्रयोग भएका मात्रा ९ह्रस्व–दीर्घ०का आधारमा लामो उच्चारण गर्नुपर्ने र छोटो उच्चारण गर्नुपर्ने वर्णलाई सङ्गीत र गायनमा समेत सोहीअनुसार गर्न सकियोस् । अर्को कुरा छन्द÷बहरमा रचना गरिएका गजलमा यति र गतिको उचित निर्वाह लेख्दा नै हुने हुनाले सङ्गीत गर्ने र गाउनेलाई पनि सहज हुने गर्छ ।

    नेपाली साहित्यमा मोतीराम भट्टले गजल भित्र्याउँदा पनि छन्द र बहरसमेत गजलसँगै भित्र्याएका थिए । तर नेपाली गजलको पुनर्जागरणयता भने गजलको पुनर्जागरण गर्ने प्रयास भए पनि यसको महत्त्वपूर्ण आन्तरिक तत्त्व, जसलाई गजलमा काफियाजत्तिकै महत्त्वपूर्ण मानिन्छ, त्यो अर्थात् छन्द÷बहरको पुनर्जागरण हुनसकेन । विक्रमको २०६० को दशकयता मात्र गजलमा छन्द÷बहरको खोजी र प्रयोग बढ्न थाल्यो । यसर्थ यसबीचमा रचना गरिएका प्रायः गजल नामका रचना छन्द÷बहरविहीन रहे । कतिपय सर्जकले भने आक्षरिक, समआक्षरिक, उच्चार्य सममात्रिक तथा लोकलयमा रचना गर्दै आए । तर गजलको शास्त्रीयताले गजललाई छन्द÷बहरमै लेखिने विधाका रूपमा प्रष्ट्याएको छ । छन्द÷बहरमा नलेखिएका रचनालाई गजलको शास्त्रीयताले गजल मानेको छैन ।

    गजलकार ज्ञानुवाकर पौडेलले छन्द/बहरमा रचना गरेका पाइँदैन। उनले सबै रचना आक्षरिक मुक्त लयमा रचना गरेका देखिन्छ । यस्तो लयमा पंक्तिहरूबीच वजन समान हुँदैन भने निश्चित यति र गतिको पालना पनि भएको हुँदैन । यस्ता रचना गायनका निम्ति उपयुक्त हुँदैनन् भने रचनाकारबाहेक अन्यले पढ्दासमेत लयमा पढ्न सक्दैनन् ।
    जस्तो:

    क)

    ३ ३ ३ ३. १२
    गिरेको/ऊ आफ्नै/नजरमा/रहेछ
    बदनाम/निकै यो/शहरमा/रहेछ ।
    ३ ३ ३ ३. १२

    ४ ४ ४ . १२
    उज्यालोको/छैन कहीँ/अत्तोपत्तो
    अँध्यारो/भने/घरघरमा/ रहेछ ।
    ३ २ ३ ३. ११

    ख)

    ३ ४ ४. ११
    कसको/प्रभाव छ/यो देशमा रु
    मौसम/खराब छ/यो देशमा ।
    ३ ४ ४. ११

    २ ३ २ ३. १०
    खोलो/तरेर/लौरो/बिर्सने
    अद्भूत/स्वभाव छ/यो देशमा ।
    ३ ४ ४. ११

    ग)

    ३ ४ ५ ३. १५
    जिन्दगी/छैन अचेल/जिन्दगी जस्तो/हेर्नुस् न
    मान्छे भो आज/कति सस्तो/हेर्नुस् न ।
    ५ ४ ३. १२

    घ)

    ४ ६ २ ६. १८
    नेपालीलाई/कथा, कविता भो/अब/यो देशको पानी
    विदेशीको/नजरमा/रमिता भो/अब/यो देशको पानी ।
    ४ ४ ४ २ ६. २०

    माथिका पंक्तिमा हेर्दा प्रस्ट हुन्छ कि यी पंक्तिहरूमा अक्षर/मात्राको समानता छैन । यही असमानताका कारण यस कृतिभित्रका रचनामा गजलको महत्त्वपूर्ण पक्ष गेयता वा लयात्मकता हराएको छ ।
    गजलकार स्वयंले लेखेका छन्:

    सरस नभए पनि तिम्रो गजल
    सुन्नलाई मीठो बहरमा रहेछ ।– पेज १

    नगुन्गुनाए हुन्छ अब जीवनमा उसले गजल
    जसलाई के हो छन्द के हो बहर था’छैन । – पेज ३६

    निष्कर्ष

    गजल अरब, फारस, उर्दू, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको विधा हो । सवा सय वर्ष भन्दा लामो इतिहास बनाइसकेको नेपाली गजलले वर्तमानमा नेपाली साहित्यको मूलधारमा हस्तक्षेपकारी भूमिका खेलिरहेको छ । गजलका निश्चित नियम, शास्त्रीयता र मान्यता छन्, ती पालना गर्न नसक्दा गजल भनेर लेखिएका रचना खास गजल बन्न सक्दैनन् । पछिल्लो समय अर्थात् नेपाली गजलको पुनर्जागरणयता लेखिएका अधिकांश गजल भनिएका रचना गजल बन्न नसक्नुको कारण गजलको खास शास्त्रीयताबारे सर्जकमा उचित ज्ञानको अभाव रहेको देखिन्छ ।

    नेपाली गजलको पुनर्जागरणकर्ताका रूपमा परिचित ज्ञानुवाकर पौडेलका गजल भनिएका रचनालाई गजलको शास्त्रीयताको कसीमा राखेर अध्ययन गर्दा शिल्प पक्षमा केही सशक्तता देखिए पनि काफिया र लय, जुन गजलका लागि अनिवार्य आवश्यक तत्त्व हुन्, तिनको उचित पालना हुन नसक्दा उनका गजल भनिएका रचना गजलको शास्त्रीयताका आधारमा गजल बन्न सकेका देखिँदैन ।

    सरस नभए पनि तिम्रो गजल
    सुन्नलाई मीठो बहरमा रहेछ ।– पेज १

    नगुन्गुनाए हुन्छ अब जीवनमा उसले गजल
    जसलाई के हो छन्द के हो बहर था’छैन । – पेज ३६

    निष्कर्ष

    गजल अरब, फारस, उर्दू, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको विधा हो । सवा सय वर्ष भन्दा लामो इतिहास बनाइसकेको नेपाली गजलले वर्तमानमा नेपाली साहित्यको मूलधारमा हस्तक्षेपकारी भूमिका खेलिरहेको छ । गजलका निश्चित नियम, शास्त्रीयता र मान्यता छन्, ती पालना गर्न नसक्दा गजल भनेर लेखिएका रचना खास गजल बन्न सक्दैनन् । पछिल्लो समय अर्थात् नेपाली गजलको पुनर्जागरणयता लेखिएका अधिकांश गजल भनिएका रचना गजल बन्न नसक्नुको कारण गजलको खास शास्त्रीयताबारे सर्जकमा उचित ज्ञानको अभाव रहेको देखिन्छ ।

    नेपाली गजलको पुनर्जागरणकर्ताका रूपमा परिचित ज्ञानुवाकर पौडेलका गजल भनिएका रचनालाई गजलको शास्त्रीयताको कसीमा राखेर अध्ययन गर्दा शिल्प पक्षमा केही सशक्तता देखिए पनि काफिया र लय, जुन गजलका लागि अनिवार्य आवश्यक तत्त्व हुन्, तिनको उचित पालना हुन नसक्दा उनका गजल भनिएका रचना गजलको शास्त्रीयताका आधारमा गजल बन्न सकेका देखिँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *