• २०८१ माघ १३
  • समूह–गायिका


    आन्तोन चेखभ
    आन्तोन चेखभ

    आन्तोन चेखभ
    अनुवादःमहेश पौड्याल

    उनी सानी छँदा र अझ सुन्दर रहँदा, र उनको आवाज अझै तीव्र भएको बेला एक दिन उनका प्रशंसक पेत्रोभिच कोल्पकोभ उनको ग्रीष्मकालीन घरको बाहिरपट्टिको कोठामा बसिरहेका थिए । मौसममा उत्पात गर्मी र अत्यास थियो । भर्खरै खानापछि कमसल खालको मदिरा पिएर बसेका कोल्पाकोभलाई कसोकसो दिक्क लागिरहेको थियो । दुवै जनामा उस्तै विरक्ति थियो, र बाहिरको गर्मी कम होस् र टहल्न जाऊँला भनेर पर्खिरहका थिए ।
    एक्कासि ढोकाको घण्टी बज्यो । आफ्नो कोट खोलेर, चप्पल लगाएर ढल्किएका कोल्पाकोभ आत्तिएर उफ्रिए, र प्रश्नवाचक दृष्टिले पाशालाई हेर्न थाले ।
    “हुलाकी हो कि यिनै केटीहरूमध्ये कोही हो,” गायिकाले भनिन् ।
    हुलाकी अथवा पाशाका कुनै साथीले उनलाई यहाँ फेला पार्दा कोल्पाकोभलाई खासै फरक पर्दैनथ्यो तर सावधानीका लागि उनले आफ्ना लुगा सम्हाले र लुुुसुक्क अर्को कोठातिर पसे । पाशा दौडेर ढोका खोल्न पुगिन् । तर आश्चर्य के थियो भने ढोकामा न हुलाकी थियो, न उनकी कुनै साथी । त्यहाँ एक अपरिचित महिला उभिएकी थिइन् — जवान र सुन्दर । उनले एक भद्र महिलाको जस्तो लुगा गलाएकी थिइन् । उनी सबै दृष्टिले भद्र नै देखिन्थिन् ।
    ती अपरिचित महिला निकै थकित देखिन्थिन, र उनको स्वाँसको गति तीव्र थियो मानौँ उनी कुनै सिँडीबाट दौडँदै माथि आएकी हुन् ।
    पाशाले सोधिन्, “के थियो होला?”
    ती महिलाले तत्काल कुनै जवाफ दिइनन् । उनी एक पाइला अगाडि सरिन्, बिस्तारै कोठामा वरिपरि हेरिन् र यसरी बसिन् मानौँ उनी थकित् थिइन्, बिरामी थिइन् या उभिइरहन असमर्थ थिइन् । धेरैबेरसम्म उनले बोल्ने निरर्थक प्रयास गरिरहँदा उनका थकित ओठ फगत फट्फटाइरहे ।
    डिलमा आँसु टिलपिल भएका आफ्ना ठूला, राता आँखाले पाशालाई हेर्दै अन्त्यमा सोधिन् “मेरा श्रीमान् यहाँ छन्?”
    “श्रीमान्?” पाशाले सासैले सोधिन् । उनी एक्कासि यति डराइन् कि उनका हात र गोडा चिसा भए । “केको श्रीमान्?” उनले पुनः भनिन् र काँप्न थालिन् ।
    “मेरा श्रीमान्…निकोले पेत्रोभिच कोल्पाकोभ ।”
    “मेम, म…कुनै श्रीमान्….चिन्दिनँ त ।”
    एक मिनेटको समय निःशब्दतामै बित्यो । ती अपरिचित महिलाले धेरै पल्ट आफ्नो रुमालले आफ्ना थकित ओठहरू पुछिन् र भित्रको भक्कानो थाम्न धेरैपल्ट आफ्नै सासको गति पनि रोकिन् । पाशा भने उनकै अगाडि निश्चल भएर उभिइरहिन्, एउटा खाँबोजस्तो, र आश्चर्य र भयमिश्रित आँखाले उनलाई हेरिरहिन् ।
    “उसो भए उनी यहाँ छैनन् । हैन त?” उनले सोधिन् । यसपल्ट उनको बोलीमा स्थिरता थियो, र उनी अनौठो पाराले मुस्कुराइरहेकी पनि थिइन् ।
    “तपाईं कसको कुरा गर्दै हुनुहुन्छ…मलाई थाहा पनि छैन ।”
    “तिमी दुष्ट, पतीत र तुच्छ हौ…” उनले भनिन्, पाशालाई घृणा र विकर्षणका दृष्टिले हेर्दै ।
    “हो, तिमी दुष्ट हौ । र अन्त्यमा यो भन्न पाएर म ज्यादै खुसी छु ।”
    पाशालाई लाग्यो उनले त्यी काला र आक्रोशपूर्ण आँखा तथा लामा, तीखा औँला भएकी महिलाको दृष्टमा आफू दुष्ट र अपत्यारिली भएको महसुस गरिन् । उनी आफ्ना मादक, गुलाबी ओठ, नाकमा रहेका छिप्रा, तथा कहिल्यै कोरेर सिनित्त पार्न नमिल्ने निधारतिर खसेको कपालबाट लज्जित भइन् । लाग्यो, उनी अलि पातली भएकी भए, अनुहारमा पाउडर नलाएकी भए तथा किनारतिर झरेको छोटो कपाल नभएको भए आफू “सम्मानयोग्य” नरहेको कुरा छोप्न सक्ने थिइन् र यस्ती अपरिचित र अचम्मकी महिलाको अगाडि डर र लज्जारहित भएर उभिन सक्ने थिइन् ।
    “मेरा श्रीमान् कहाँ छन्?” ती महिलाले भनिन् । “हुन त उनी यहाँ छन् वा छैनन्, त्यस कुराको मलाई खासै वास्ता छैन । तर उनको नाटक सकिएको छैन । तिनीहरू निकोले पेत्रोभिचलाई खोजिरहेका छन्, उनलाई गिरफ्तार गर्नलाई । यो सब तिम्रो कार्तुत हो ।”
    ती महिला उठिन् र बडो उत्साहका साथ कोठामा यताउति हिँड्न थालिन् । पाशाले उनलाई हेरिन् । उनी यति भयभीत थिइन्, जो उनी आफैँलाई पनि थाहा थिएन ।
    “आज त उनी भेटिन्छन् र गिरफ्तार पनि हुन्छन्,” ती महिलाले फेरि भनिन् र हिकहिक गरिन् । त्यस आवाजमा असन्तुष्टि र आक्रोश झल्किन्थ्यो । उनले थपिन्, “उनलाई यस भयावह स्थितिमा ल्याइपु¥याएको कसले हो त्यो मलाई राम्ररी थाहा छ । तुच्छ, घृणित मान्छे ! वीभत्स, भाडाकी दुष्चरित्रा !” उनका ओठ फट्फटाइरहँदा उनको नाकका मुजा परिरहेका थिए । “म असहाय छु । सुन्या हो, ऐ तुच्छ आइमाई? म असहाय छु । तिमी मभन्दा धेरै शक्तिशाली छ्यौ । तर मसँग पनि मेरो र मेरा बालबाच्चाको सुरक्षा गर्ने कोही छ । भगवान्ले सबै देख्छन् ! उनी न्यायिक छन् ! मैले खसालेका आँसुको प्रत्येक थोपाका लागि र मरो प्रत्येक अनिदा रातहरूका लागि उनले तिमीलाई दण्ड दिनेछन् । समय आउने छ, जब तिमीले मलाई सम्झनेछ्यौ…”
    फेरि रिक्तता छायो । ती महिला कोठामा यताउति हिँडिन् र हात माड्न थालिन् जबकि पाशाले आश्चर्यका साथ उनलाई एकोहोरो हेरिरहिन्, केही नबुझेजस्तो गरी र केही भयभावको अशङ्का गर्दै ।
    “मेडम, मलाई यसबारे केही पनि थाहा छैन,” उनले भनिन् र बरर आँसु झारिन् ।
    “तिमी ढाँट्तैछ्यौ,” त्यी महिलाले फेरि भनिन् । उनका आक्रोशपूर्ण आँखा पाशामाथि परिरहेका थिए । “मलाई तिम्रो बारेमा सबै कुरा थाहा छ । म लामै समयदेखि चिन्छु तिमीलाई । मलाई यो पनि थाहा छ, बितेको एक महिनादेखि मेरो श्रीमान्ले प्रत्येक दिन तिमीसँगै समय बिताइरहेको छ ।”
    “हो । के गछ्र्यौ त उसो भए? हो भने हो । मकहाँ धेरै मान्छे आउँछन् तर म कसैलाई यहाँ बस्न कर गर्दिनँ । ऊ जे गर्न चाहन्छ, त्यो गर्न स्वतन्त्र छ ।”
    “म तिमीलाई भन्दैछु — उसले पैसा हिनामिना गरेको कुरा खुल्न आएको छ । उसले अफिसको पैसामा अनियमितता गरेको छ । तिमीजस्तो तुच्छ मान्छेका खातिर…तिम्रा लागि उसले एउटा अपराध गरेको छ । सुन,” उनले दृढताले भरिपूर्ण आवाजमा भनिन्, र पाशातिर फर्किएर रोक्किइन् । अनि फेरि भनिन्, “तिमीसँग कुनै सिद्धान्तै छैन । तिमी केवल बिगार गर्नका लागि बाँच्छ्यौ । तिम्रो उद्देश्यै त्यही हो । तर तिमी मान्छेको अलिकति पनि अवशेष नरहने हदसम्म खसेकी छ्यौ भन्ने कसैले कल्पना पनि गर्न सक्दैन । उसकी श्रीमती छे, छोराछोरी छन्…उसमाथिको आरोप सिद्ध भयो र ऊ जेल गयो भने हामी भोकै मर्नेछौँ । मेरा बालबच्चा र म…मलाई त्यो थाह छ । तर पनि, त्यस बिजोग र कलङ्कबाट हामीलाई बचाउने अझै पनि एउटा उपाय छ । मैले आज नौ सय रुबल लगेर उनीहरूलाई दिन सकेँ भने तिनीहरूले उसलाई छोड्दिन्छन् । मात्र नौ सय रुबल ।”
    “नौ सय रुबल,” पाशाले नम्र भएर सोधिन् । “मलाई त थाहा छैन । मैले लेगेकी छैनँ ।”
    “मैले तिमीसँग नौ सय रुबल मागेकी छैनँ । तिमीसँग पैसा छैन र तिम्रो पैसा मलाई चाहिँदैन पनि । म तिमीसँग अरू नै केही माग्न चाहन्छु….पुरुषहरू अक्सर तिमीजस्ता महिलालाई महँगा महँगा उपहार दिन्छन् । मेरा श्रीमान्ले तिमीलाई दिएका चीजहरूमात्रै फिर्ता देऊ, बस् ।”
    “मेडम, उनले मलाई आजसम्म कुनै उपहार दिएका छैनन्” पाशाले आग्रहपूर्वक भनिन्, र बुझिदिन अनुरोध गरिन् ।
    “त्यत्रो पैसा कहाँ गयो त? उसले आफ्नोमात्रै होइन मेरो र अरू मान्छेको पनि पैसा उडाएको छ । तर त्यो सब गरेको परिणाम के भयो त? सुन, त ! मेरो एउटा आग्रह छ । मैले पनि रिसको आवेगमा तिमीलाई धेरै नराम्रा कुरा भनेँ । माफ गर ल? मलाई थाह छ, तिमीलाई मप्रति घृणा छ । तर तिमीमा अलिकति पनि सहानुभूति छ भने मेरो ठाउँमा आफूलाई राखेर हेर । ती सामान मलाई फिर्ता देऊ — तिमीलाई मेरो आग्रह छ ।”
    “अँ,” पाशाले भनिन् र पाखुरा खुम्च्याइन् । अनि असमञ्जसताका साथ भनिन्, “म दिने थिएँ, तर भगवान् साक्षी छन्, उनले मलाई कहिल्यै कुनै उपहार दिएनन् । ममाथि र मेरो अन्तरआत्माथि विश्वास गर्नुहोस् । तर पनि, तपाईंको कुरा सही छ । उनले यहाँ दुईवटा चीज ल्याएका छन् । तपार्इं भन्नुहुन्छ भने म ती दुई कुरा फिर्ता गर्न सक्छु ।”
    पाशाले आफ्नो श्रृङ्गारकक्षको टेबलको ड्रवरबाट एउटा खोक्रो, सुनको चुरो तथा रुवी जडान गरिएको एउटा मसिनो सिक्री निकालिन् ।
    “लिनुहोस्, मेडम,” उनले आगन्तुकलाई ती सामान दिँदै भनिन्, ।
    ती महिला झ्वाँक्किइन् । उनको अनुहार काँप्यो । उनले चित्त दुखाएकी थइन् ।
    “तिमी मलाई यो के दिँदैछ्यौ?” उनले भनिन् । “म कुनै दयाको भिक्षा माग्न आएकी हुइनँ । तर जे तिम्रो होइन, त्यो माग्न आएकी । तिमीले आफ्नो स्थानको दुरुपयोग गरेर मेरो श्रमान्बाट जे छिन्यौ, त्यो लिन आएकी । त्यो कमजोर, उदास मान्छेसँग…। बिहीबार, जब मैले तिमीलाई मेरो श्रीमान्सँग समुद्र किनारमा देखेँ, तिमीले महँगा सितारा र चुरा लगाएकी थियौ । आज आएर मसँगै निर्दोष भएको नाटक गर्नुको कुनै तुक छैन । म अन्तिमपटक भन्दैछु तिमीलाई — ती सामान तिमी दिन्छ्यौ कि दिन्नौ?”
    “तपाईं त अचम्मकी हुनुहुँदोरहेछ, साँच्चै,” पाशाले भनिन्, अलिकति रिसाएर । “तपार्इं विश्वस्त हुनुहोस्, त्यही चुरो र सानो सिक्रीबाहेक निकोले पोत्रोभिचले केही ल्याएको मैले देखेकी छैनँ । उनी आउँदा गुलियो केकबाहेक केही पनि ल्याउँदैनन् ।”
    “गुलियो केके?” ती अपरिचित महिला हाँसिन् । अनि भनिन्, “घरमा बालबच्चा भोकै छन् । र तिमी यहाँ गुलियो केके खान्छ्यौ? साँच्चै, तिमी ती उपहार फिर्ता दिन्छ्यौ कि दिन्नौ?”
    उत्तर नपाएपछि ती महिला भुइँमा बसिन्, र केही सोच्दै यताउति हेर्न थालिन् ।
    “अब के गर्ने?” उनले भनिन् । “मैले नौ सय रुबल पाइनँ भने ऊ सकियो । म र बालबच्चा पनि सकियौँ । मैले यो तुच्छ आइमाईको हत्या गरौँ कि उसका गोडामा झुकौँ?”
    उनले आफ्नो रुमालले पुनः निधार पुछिन् र सुक्सुकाउन थालिन् ।
    “बिन्ती छ ।” हिकहिककै बीच पाशाले यो आवाज सुनिन् । ती महिलाले भनिन्, “होर, तिमीले मेरो श्रीमान्लाई लुट्यौ र बर्बाद बनायौ । उसलाई बचाऊ…तिमीभित्र ऊप्रति कुनै सहानुभूति छैन । तर मेरा बालबच्चा…मेरा बालबच्चा… तिनको के दोष थियो?”
    पाशाले कल्पना गरिन्— ती साना बाच्चा सडकमा उभिएको र भोकले रोएको । अनि उनी पनि सुक्सुकाइन् ।
    “म के गर्न सक्छु, मेडम?” उनले भनिन् । “तपाईं मलाई पतीत महिला भन्नुहुन्छ र मैले निकोलो पोत्रोभिचलाई बर्बाद परेँ भन्नुहुन्छ । तर म तपाईंलाई भगवान्को अगाडि विश्वास दिलाउन चाहन्छु, मैले उनीबाट केही पनि लिएकी छैनँ…हाम्रो समूहमा एउटी मात्रै केटी छ, जसको एउटा धनी प्रशंसक छ । बाँकी रहेका हामी श्रम गरेरै छाक टार्छौं, पाउरोटी र भासको झोल खाएर बाँचेका छौँ । निकोले पोत्रोभिच त शिक्षित र सभ्य पुरुष हुन् । त्यसैले मैले उनलाई यहाँ स्वागत गरेकी हुँ । यस्ता भद्र पुरुषलाई स्वागत गर्न त हामी बाध्य छौँ ।”
    “मैले मागेको सामान देऊ । खै, देऊ सामान । म रुन थालिसकेँ…म आफ्नै उपहास गरिरहेकी छु …तिमी भन्छ्यौ भने म पाउ पनि पर्छु…तिमी छाहन्छ्यौ भने!”
    पाशाले भयका साथ चिच्याइन् र हात हल्लाइन् । उलाई लाग्यो, रङ्गमञ्चमै अभिनय गरेको जस्तै गरी आफूलाई भव्य तरिकाले प्रस्तुत गर्ने यी थकित तर सुन्दर महिला साँच्चीकै उनका पाउ पर्न लागेकी छिन् फगत अभिमानका कारण र भव्यताका कारण आफैँलाई उत्घाटित गर्न र ती समूह–गायिकालाई लज्जित तुल्याउन ।
    “ठिक छ, म तिम्रा सामान दिन्छु,” आँसु पुछ्दै र अलि चर्को आवाज गर्दै पाशाले भनिन् । “म ती सामान जसरी पनि दिन्छु । तर बुझ्नुस्, मैले ती निका्ले पोत्रोभिचबाट मात्रै प्राप्त गरेकी होइनँ । अन्य भद्रजनहरूले पनि दिएका हुन् । तिमी जे भन्छ्यौ…”
    पाशाले दराजको माथिल्लो ड्रवर खोलिन् र त्यहाँबाट हीरको सितारा, मुगाको माला, केही औँठी र चुरा निकालिन् र ती महिलालाई दिइन् ।
    “चाहनुहुन्छ भने लानुहोस् । तर मैले तपाईंका श्रमान्बाट कहिल्यै, केही पनि प्राप्त गरिनँ । लानुस् र धनी हुनुहोस् ।” उनका पाउमै पर्छु भन्ने धम्कीबाट रिसाएकी पाशा अगाडि भन्दै गइन्, “र यदि तपार्इं एक भद्र महिला हो र उनकी कानुनसम्मत श्रीमती हो भने उनलाई तपाईंले आफूसँगै राख्न सक्नुपर्छ । मलाई त यस्तै लाग्छ । उनलाई यहाँ मैले बोलाएकी होइनँ । उनी आफैँ आएका हुन् ।”
    आँसुले भरिएका आँखाले ती महिलले पाशाले दिएका वस्तु हेरिन् र आफैँलाई भनिन्, “यति मात्रै त हुनै सक्दैन । यतिले त पाँच सय रुबल पनि हुँदैन ।”
    पाशाले आक्रोशका साथ आफ्नो दराजबाट सुनको एउटा घडी, चुरोट राख्ने एउटा महँगो बट्टा र केही फुलीहरू निकालिन् र हातमा राखेर भनिन्, “अब मसँग केही पनि छैन । खोजे हुन्छ ।”
    ती आगन्तुक महिलले लामो सुस्केरा हालिन् र ती सामानलाई आफ्ना काँपिरहेका हातले रुमालमा पोको पारिन्, र एक शब्द नबोली त्यहाँबाट बाहिरिइन्, टाउकोसम्म नहल्लाई ।
    पल्लो कोठातिरको ढोका खुल्या । कोल्पाकोभ भित्र पसे । उनी थकित थिए, र उनको टाउको काँपिरहेको देखिन्थ्यो मानौँ उनले केही तीतो कुरा भर्खरै निलेका छन् । उनका आँखामा आँसु टिल्पिलाइरहेका देखिन्थे ।
    उनीमाथि जाइलाग्दै पाशाले भनिन्, “तिमीले मलाई के उपहार दिएका थियौ? सोध्ने मौका नै पनि कहिले दियौ?”
    “उपहार? यहाँ उपहारको कुनै अर्थ छैन,” कोल्पाकोभले भने, र टाउको हल्लाए । “हे भगवान् ! उनी तिम्रोअगाडि रोइन् । आफैँलाई गलाइन् ।”
    “म तिमीलाई सोध्दैछु — मलाई के उपहार दियौ?” पाशा चिच्याइन् ।
    “भगावन् । महिला भएर पनि त्यति अभिमानी, त्यति निश्छल…उनी त घुँडै टेक्न पनि पो तयार भइन् त, त्यो पनि यस्ती केटीका अगाडि । तर मैले नै हो उनलाई यहाँसम्म ल्याएको । यो स्थिति जन्माएको ।”
    उनले हातले आफ्नो टाउको समाते र बिलौना गरे ।
    “होइन । यसका लागि मैले आफैँलाई कहिल्यै माफ गर्ने छैनँ । कहिल्यै पनि क्षमा गर्ने छैनँ आफैँलाई । तिमी यहाँबाट तुरुन्तै बाहिर जाऊ…तिमी तुच्छ मान्छे,” भनेर उनी क्रोधका साथ कराए, र आफ्ना काँपिरहेका हातले पाशालाई धकेल्दै उनको छेउबाट पछाडितिर गए । “उनी घुँडा टेक्थिन्…त्यो पनि तिम्रो अगाडि । हे भगवान् ।”
    हतारहतार उनले आफ्ना लुगा लगाए, र पाशालाई घृणाका साथ एकछेउतिर धकेल्दै ढोकातिर गए र बाहिरिए ।
    पाशा त्यहीँ पल्टिइन् र उँचो स्वारमा रुन थालिन् । उनले भावावेशमा दिएका वस्तुबारे उनी पछुताउन थालिसकेकी थिइन्, र आफू निकै दुखिरहेकी थिइन् भित्रभित्रै । उनले सम्झिइन् — तीनवर्ष अगाडि कुनै व्यापारीले उनलाई अकारण बेस्सरी पिटेको थियो । अनि त उनी अझै ठूलो आवाजमा रुन थालिन् ।

    अनुवादक :
    महेश पौड्याल
    सम्पादकीय टिप्पणी
    प्रतीक ढकाल

    रुसी कथाकार ‘आन्तोन चेखव’ आफ्नो भिन्न शैली र विचित्र कथाकारिताका कारणले विश्वप्रसिद्ध छन् । संसारका धेरै सिद्धहस्त कथाकारहरूसमेत उनको शैली र कथायोजनाबाट प्रभावित भएका देखिन्छन् । नेपाली आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चश्मा’ कथा पनि यिनै चेखवकै ‘कारिन्दाको मृत्यु’ कथाबाट प्रभावित रहेको प्रस्टै देख्न सकिन्छ । विद्वान् अनुवादक महेश पौड्यालले निरूपण डट कमका लागि उनै चेखवको ‘समूह–गायिका’ नामक कथाको नेपालीमा अनुवाद गरेर हामीलाई ठूलो गुन लगाएका छन् ।

    यस कथामा कथाको मूल पात्र निकोलाई पेत्रोभिच कोल्पकोभ यिनै समूह–गायिका ‘पाशा’ को कोठीमा गएर आपत्तिजनक अवस्थामै पल्टिरहेको हुन्छ । त्यही वेला त्यो कोठीमा एउटी महिलाको आकस्मिक प्रवेश हुन्छ । ती आगन्तुक महिलालाई थाहा छ- उनको लोग्ने अचेल यिनै समूह–गायिका पाशासँग धेरै समय बिताउन थालेको छ ।
    र, यिनै दुई महिलाको वार्तालापको माध्यमबाट कथा बुनिन पुग्छ ।

    अरू कसैले आफ्नो लोग्ने खोसिदिँदा देखा पर्ने मनोवैज्ञानिक द्वन्द्वले अब विस्तारै त्यसको भौतिक स्वरूप नै देखाउन थाल्छ । कथा यसरी बुनिएको छ कि पेत्रोभिचले घरको सम्पति सिध्याए पनि वा अपराध गरेको ठहराएर जेल पठाइदिए पनि उसकै निर्दोष छोराछोरी नै भोकै हुनेछन् । यही ठाउँमा आएर कथाले प्रेम–प्रतिस्पर्धाको बाटो छोड्छ र कर्तव्यको धरातलमा अवतरित हुन पुग्दछ । भाडाकी आइमाई ठहरिएकी ‘पाशा’ बालबालिकाको भोकका अगाडि यसरी पग्लिन्छिन् कि आफूले पेत्रोभिचबाट नलिइएका उपहारहरू पनि फिर्ता गर्न तयार हुन्छिन् । जरिवाना वापत तोकिएको ९०० रुवल तिर्ने हैसियत पाशाको छैन, न त पेत्रोभिचले नै कहिल्यै कुनै महंगा उपहार दिएका छन् उनलाई । तर पनि घटनालाई सुरक्षित अवतरण गराउन र पेत्रोभिचको परिवारलाई बर्बाद हुनबाट बचाउन उनी अरू नै ग्राहकले उपहार दिएका वस्तुहरू समेत ती महिलालाई दिएर विदा गर्छिन् ।

    तिखो द्वन्द्वबाट सुरू भएको वार्तालाप क्रमशः करुणा, क्षमा र सहयोगमा गएर टुंगिन्छ । तर पाठकको मानसिक उडान भने यतिमै गएर मात्र टुङ्गिदैन । चेखवको कथाकारिताको वैशिष्ठ्य नै के हो भने उनी कथालाई अनपेक्षित मोडमा लगेर टुङ्ग्याइदिन्छन् । पेत्रोभिचले जब आफ्नी त्यस्ती स्वाभिमानी स्वास्नीसमेत झुकेको देख्छ, तब उसको पनि मन फेरिन्छ र ऊ पनि पाशालाई धक्का दिइराखेर कोठीबाट बाहिरिन्छ ।

    यसप्रकार यो छोटो कथामा पनि मानवीय मनोविज्ञान र संवेदनाका अनेकौँ मोडहरू देखाएर जीवनको जटिलतालाई पर्गेल्ने प्रयास गरिएको पाइन्छ ।
    “तिमी कानूनसम्मत श्रीमती हौ भने आफ्नो श्रीमानलाई आपैmँसँग राख्न सक्नुपर्छ ।” कथाको सार यसरी निष्कर्ष भएर निस्किन्छ । तर मान्छेको मनलाई कसरी एउटा निर्दिष्ट ठाउँमा मात्र बाँधेर राख्न सकिन्छ र ? मनको यही बहकिने पाटोको खोजी हो प्रस्तुत कथा-समूह–गायिका ।


    Leave a Reply

    Your email address will not be published. Required fields are marked *