• २०८१ जेष्ठ ७
  • ‘परिश्रान्त पृथ्वी’का सुस्केरा  र पर्यावरणीय कविताको ऐँठन


    <br />
<b>Warning</b>:  Attempt to read property /home/niroopan/domains/niroopan.com/public_html/wp-content/themes/entersoft_news/single-page/writer.php on line 14
    " />

    Warning: Attempt to read property "post_title" on null in /home/niroopan/domains/niroopan.com/public_html/wp-content/themes/entersoft_news/single-page/writer.php on line 18

    “मा निषाद् प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः। यत्क्रौंचमिथुनादेकमवधी काममोहितम्”

    भारतीय काव्य परम्परामा पहिलो मानिने वाल्मीकिकृत यो श्लोक प्राणी हत्याको विरोधको उद्गार हो। वाल्मीकिको परम्परा पूर्वीयमात्र नभएर पाश्चात्य साहित्यमा पनि प्रतिपादित भएको देखिन्छ। पञ्चतन्त्रका कथाहरू,  संसारका हरेक देश र अनेक भाषाका लोककथाहरूमा मानिस र इतरप्राणीका सम्बन्धका कुराहरू, प्रेम र बन्धुत्वका उदाहरणहरू छन् । रामायणकै कुरा हेर्ने हो भने जटायु, जम्बुवन्त, हनुमान, सुग्रीव मानवेतर प्राणी हुन् तर मानिससँग उनीहरूको प्रत्यक्ष सम्बन्ध छ ।  कालिदासको साहित्य पनि प्रकृतिप्रेमले ओतप्रोत छ ।

    साहित्यमा रोमान्टिक थियो, प्रकृतिप्रेमकै युग । अङ्ग्रेजी साहित्यका हुनहार गद्य कवि वाल्ट व्हिटमेनले त स्वार्थी मानिसको चरित्र उजागर गर्दै जनावरको संसारमा फर्किने इच्छा व्यक्त गरे । भलै त्यस समयसम्म पर्यावरण विनास हुँदै आएका कुराहरूको वैज्ञानिक अनुसन्धान हुन बाँकी नै थियो । विज्ञानलाई हामीले त्यति गालीगलौज नगरौँ । किनकि, आज पर्यावरण विनाश हुँदैछ भन्ने भरपर्दो घोषणा विज्ञानले नै गर्‍यो । गीर्जाले होइन। विज्ञानले थालेको यस यात्रामा पछि कवि, साहित्यकार, कलाकार, चित्रकार, राजनीतिविद् सबै सहभागी भए र विगत शताब्दीको साठीको दशकदेखि पर्यावरण विषयक साहित्यको अवधारणाको विकास भयो, उत्तरआधुनिकतावादले यसलाई आफ्नो चर्चाको परिधिभित्र समेट्यो ।

    आज हामीले भोगेको पृथ्वी यस्तो थिएन । अनेक भू-प्राकृतिक परिवर्तनलाई झेल्दै  यतिको उमेरसम्म आइपुग्दा आज पृथ्वी सोच्न बाध्य छ- के भोलि ऊ  जीवोपोयोगी भइरहन सक्ला त ! अनेक वाह्यिक र आन्तरिक  कारकले पृथ्वीमा परिवर्तन ल्याइरहेका  छन् र यो परिवर्तनको हुण्डरीले समय समयमा पृथ्वीका जीवकुलमाथि असर पारेको छ । धेरै जन्तु-जनावर, पशु-पक्षी, रुख-बिरुवा पृथ्वीबाट चीरकालका लागि मासिए र भविष्यमा पनि मासिने ताँतीमा जस्तो छ । यो खतराबाट बाँच्न र बचाउन सकेसम्म मानिसले प्रयास गर्न सक्छ । यही प्रयासको अंश हो पर्यावरणीय साहित्य । कारण यो पृथ्वीलाई बचाउन अब ईश्वरको एघारौँ अवतार हुने छैन । बचाए पनि ध्वंस गरे पनि मानिसै हो, विज्ञान नै हो । काल्पनिकताको प्वाँख लगाएर हामी मख्ख पर्न सक्छौँ तर ढुक्क पर्न सक्तिनौँ ।

    पर्यावरणको नकारात्मक परिवर्तन रोक्ने अभियान हो, पर्यावरणीय साहित्य । पर्यावरणीय साहित्य हस्तक्षेपी साहित्य हो । निर्दिष्ट उद्देश्य लिएर अघि बढेको छ, पर्यावरणीय साहित्य । असममा असमीया साहित्यकारले पर्यावरणमाथि धेरै काम गरिसकेका छन् । धेरै कथा, कविता, उपन्यास लेखेका छन् । अनुराधा शर्मा पूजारीको ‘इयात एखन अरण्य आसिल’ यस्तै पर्यावरण साहित्यको उपन्यास हो । यस उपन्यासले साहित्य अकादमी पुरस्कारसमेत पाइसक्यो । हामी सधैँ पछि कुद्छौँ र कुद्दै छौँ।

    नेपाली कवितामा सचेतरूपले र आजको पर्यावरण साहित्यको मान्यतालाई आत्मसाथ गरेर कविता लेख्ने र ती कवितालाई सङ्ग्रहभित्र गाभ्ने पहिलो श्रेय अविनाश श्रेष्ठलाई नै जाला तर यो कुरो त्यति प्रचारमा आएन । उनले सन् १९९७ देखि २००३ सम्म लेखेका कविताहरू ‘करोडौँ’ सूर्यहरूको अन्धकार’भित्र  गाभेका छन् जहाँ पर्यावरणीय कविताकै बोलबाला छ ।

    असममा यसको थालनी गरे डा. देवेन सापकोटाले सन् २०२१ मा ‘परिश्रान्त पृथ्वी’ कविता सङ्ग्रह प्रकाशन गरेर । उनले जन्तु-जनावर, रुख-बिरुवा, पहाड-पर्वत, खोला-नाला आदि प्राणी तथा निर्जीव प्राकृतिक संरचनाहरूलाई समेत मानवीकरण गरेर, उनीहरूका सुस्केराहरूको संवाद गराएर पर्यावरण ध्वंस र यसको परिणामप्रति सजगता ल्याउने उद्देश्यले लेखेका ४१ वटा कविताको सँगालो हो ‘परिश्रान्त पृथिवी’।

    सापकोटाले कतै वार्तालापीय शैली, कतै स्वकथन, कतै संस्मरणात्मक शैली र कतै वर्णनात्मक शैली र कतै सपनाको स्मृतिमा परिवेश प्रदूषण हुनु, एसिड वर्षा, खाद्य शृङ्खला चुँडिनु, जैविक विविधता ह्रास हुनु, पृथ्वीको तापमान बढ्नु, प्राणीहरू विलुप्त हुँदै जानु,  गाउँले रौनकता गुमाउनु, नदीनाला सुक्नु, बरफ (हिउँ) पग्लिनु, चोरी सिकारी हुनु, प्लास्टिक र कागजको व्यवहारले वातावरणमा खतरा ल्याउनु आदि पर्यावरण विपर्ययका अनेक कारण, परिणाम र करणीयलाई काव्यिक रूप दिएर जागरुकता सृष्टि गर्ने प्रयास गरेका छन् । कल्पना र यथार्थलाई शब्दको एउटै मालामा उनेर उनले एक जल्दोबल्दो समस्यालाई काव्यिक रूप दिएका छन्  ‘परिश्रान्त पृथिवी’मा ।

    वातावरणीय परिवर्तन र परिवेश प्रदूषणले कसैलाई सर्वाधिक प्रभावित पारेको छ भने सहरलाई पारेको छ । तर, समयको चोट गाउँले पनि खप्नु परेको छ । विकसित सभ्यताको मुखौटो भिरेर गाउँले पनि आफ्नो सौन्दर्य गुमाएको छ,  आत्मीयता टाढा भएको छ ।

    “फर्केथेँ धेरै दिनपछि आफ्नो गाउँ ।
    बसेँ कान थापी एकान्तमा निकै बेरसम्म
    तर, सुनिन त्यो श्रुति-श्रवण
    ‘काफल पाक्यो’ मीठो धून
    जिस्काउन खोजेथेँ
    ‘को हौ’ को नक्कल गरी कोइलीलाई
    तर, ढालिदिएछन् तिनको आश्रय नै
    बाटो निर्माण गर्ने हुँदा ‘विकासे’ले” (गाउँले मन)

    आफूले बाल्यकाल बिताएको गाउँ, त्यहाँको प्राकृतिक परिवेश, प्रदूषणरहित वातावरण, चराको चिरबिर, स्यालको हुवा आदि सम्झेर कवि सापकोटा नोस्टाल्जिक बन्दै ‘गाउँ फर्क’ भन्ने धारणाले उनको मनभित्र गुँड लगाउँछ, नागरजीवनको कृतिमताले उनलाई अशान्त पार्छ । नगर भनेकै कङ्क्रिटको निकुञ्ज हो, श्वासरुद्ध कारागार हो । उनी सहर र गाउँको तुलना गर्दै भन्छन्-

    “कहाँ पाइँदो रछ र माधुर्य
    टिनको छानो ओढेको घरभित्र बसेजस्तो

    …. …. …..

    यो कङ्क्रिटको घरभित्र बस्दा?”(कङ्क्रिटको कारागारभित्र म)

    उनी गाउँको कुवा सम्झन्छन्, त्यो बूढो नदी सम्झन्छन्,  टिनको घर  सम्झन्छन् (उनको घर टिनैको थियो, खर-बाँसको थिएन) र उतै फर्कन चाहन्छन् । तर, यहाँनेर एउटा प्रश्न आउन सक्छ- सापकोटाले कविता लेखेका हुन् कि आफ्नो घरको वर्णन ? कवितै हो भने त गाउँमा त्यसताक एकाधमात्र टिनका घर हुन्थे, बाँकी खर-बाँसका । पर्यावरणका दृष्टिकोणले हेर्नुहो भने पनि खरैको घर ‘इको  फ्रेन्डली’ हो तर सापकोटाको सामाजिक वर्गले उनलाई खरको घरसम्म पुग्न नदिएर बीचमै टिनको घरमा रोकिदियो ।

    अर्कोतिर, यथार्थमा के उनी गाउँ फर्कन सम्भव छ ? कि, उनले पर्यावरणका विविध पाटालाई समेटेर कविता मात्र लेखेका हुन ? यस्ता अनेक प्रश्नहरू आउँछन्, जुन सापकोटाका मात्र नभएर पर्यावरण साहित्यकै समस्या हुन् ।

    पर्यावरणीय वा परिवृत्तीय साहित्य भनेकै साहित्यकारको सामाजिक उत्तरदायित्व स्वीकार्नु हो, विवर्तित समाजको सकारात्मक परिवर्तनको हिमायती बन्नु हो तर त्यस्तो भइरहेको छैन । पर्यावरण विपर्ययलाई लिएर ठूला-ठूला सम्मेलन भइरहेका छन्, ऐनहरू बनिएका बनियै छन्, घोषणा भएका भएकै छन् तर कार्यान्वयन भइरहेको छैन । ठूला राष्ट्रहरूले आफै सुँडेनी, आफै बोक्सीको भूमिका खेलेका छन् । यस्तै, भूमिकाको विरोध गर्दै सेभन सुजुकी, ग्रेटा  थुनबर्गजस्ता बालिकाहरू मुख फोर्न बाध्य भएको स्थिति उनका कवितामा यसरी अभिव्यक्त हुन्छ-

    “धेरै आशावादी थियो ऊ
    आइपिसिसी अनि अल्बर्ट गोरले घन्टी बजाउँदा
    सन् २००७ मै
    नोबेल पुरस्कार जितेर
    सबैको आँखा उघ्रेजस्तो लागेको थियो उसलाई ।
    तर भुसनिद्रामै सुतिरहे सब।” (पृथ्वीवाद)

    पर्यावरणीय वा परिवृत्तीय साहित्यमा पृथ्वीलाई नै एक पात्रको रूपमा खडा गरिन्छ र यसको पीडाको लेखाजोखा हुन्छ । यहाँ प्रकृति बिम्ब होइन, यथार्थ हो । सापकोटाले यही मान्यताको जरो समाएर पर्यावरणीय साहित्यमा मलजल गरेका छन् ।

    परिवेश प्रेम भनेको वनस्पति र जन्तु-जनावरप्रतिको पनि प्रेम हो । तर, पृथ्वीका चराचर प्राणीप्रति मानिसको दृष्टिकोण अहमपूर्ण छ । हामीमाझ रहेका अन्धविश्वासहरूमा हामी जन्तुजनावारलाई निच, कुलच्छिनी र अवासी ठान्छौँ । यही दृष्टिकोणप्रति कडा प्रहार छ उनको कविता ‘अपशकुन’मा ।

    “अवोध पशुहरूलाई
    निर्मम हत्यागरी खान्छन्, अरे
    यी प्राणीहरूले ।
    त्यसो हो भने
    कुलच्छिनी मानिसहरू कि हामी हौँ, आमा।”

    कवि सापकोटाले पर्यावरण विपर्ययका प्राय: सबै पाटा समेट्ने प्रयास गरेको देखिन्छ । उनले ओजोन स्तरमा प्वाल परेको, पानी प्रदूषित भएको, पानीको कमी भएको,  एसिड वर्षा, वनस्पति संरक्षण, कागजको व्यवहारको कुपरिणाम, प्राणीहरूको विलुप्ति, टिस्यू पेपर र प्लास्टिक व्यवहारको कुपरिणाम, बोनसाई प्रथा, समुद्र प्रदूषण, पहाडको खनन् र परिणाम, मौरीहरू हराउँदै गरेको समस्या, रासायनिक मल र कीटनाशक द्रव्यको व्यवहारको कु-प्रभाव आदि विषयहरूलाई  कवितामा स्थान दिएका छन् । उनका कविताहरू नदी, कुवा सुकेको समस्या, बाढी र गडलागीको समस्या, झरीबाट प्राप्त पानीको संरक्षणको बेवास्ता, विकासको नाउँमा जङ्गल मास्ने, चिडियाघरमा जनावरहरू कैद राख्ने विषयहरूले पनि स्थान पाएका छन् र उनलाई प्रकृति र जीवप्रेमी एक संवेदनशील कविका रूपमा यी कविताहरूले उभ्याएका छन् ।

    सापकोटाका धेरै कविताले तीन वटा पिँढीले प्रतिनिधित्व गरेको देखिन्छ । यो एक प्रतीकात्मक कुरा हो । यी तिन पुस्ता हुन्-  हजुरबा, बाबु र नाति । हजुरबाले हिजोको पृथ्वीको, बाबुले आजको पृथ्वीको र नातिले भोलिको पृथ्वीको प्रतिनिधित्व गरेका छन् । यी कविताहरूमा हजुरबा र नाति मञ्चिय पात्र हुन् भने बाबु यहाँ नेपथ्य पात्र हुन् अर्थात् उनलाई वर्तमानको पिँढीप्रति भरोसा छैन र नातिले यो पृथ्वीलाई फेरि फर्काएर सही ठाउँमा ल्याउने छ भन्ने विश्वास राखेका छन् ।

    पर्यावरणीय चस्माले हेर्दा सापकोटाका कविता यथेष्ट हरिया, कलकलाउँदा छन् । उनको चिन्ता जायज छ तर कविता लेख्ता उनी यति पर्यावरणवादी र नाराप्रेमी भए कि उनी एक कवि हुन् र उनले कविता लेखेका हुन् भन्ने बिर्सिएर उनी सोझो उपदेश दिन पुगे । उनका कविताहरूमा उपदेशात्मकताको भरमार छ । जस्तै :

    “त्यसैले
    ए साथी
    प्रकृतिप्रेमी बन समयमै
    नत्र भने कुनै दिन उत्तरपुरुषले
    आसामीको कठघरामा उभ्याई
    सोध्ला
    ‘कसले दियो अधिकार तिमीलाई
    विनष्ट पार्ने हाम्रो सुन्दर पृथ्वी’ ?” (यथार्थता)

    यसैगरी, यो पर्यावरण विपर्ययको कार्यकारण सबै केलाएर उनने मानिसलाई नै कठघरामा उभ्याएका छन् तर त्यसको फैसला दिने अभिभारा भने परलोकको यमराजका हातमा सुम्पिएका छन् ।

    ‘बद्लियो यमलोक’ शीर्षकको कवितामा उनले वातावरण संरक्षणको दायित्व यमराज र चित्रगुप्तका हातमा सुम्पिएर मानिसलाई पाप पुण्यको डर देखाएका छन्। यहाँ धर्मको पारम्परिक मान्यता आश्रम निर्माण, जपतप, अखण्ड हरिनाम नभएर पृथ्वीका जीवजन्तु संरक्षणलाई यमराजले महत्त्व दिएको स्वैरकाल्पनिक अवधारणा यसरी अभिव्यक्त भएको छ-

    “रिसले राँक्किए यमराज
    अनि
    थर्काए मृत्युलोक निकाली अग्नि ज्वाला मुखबाट
    “अक्षम्य अपराधी रहेछ यो मनुख्खे
    प्राणीको हत्यारो
    बढाएछ कार्बन फुटप्रिन्ट।
    ध्वंस पारी वन जङ्गल
    थाहा रहेन्छ यस पापीलाई
    बदलिएको छ कानुन यमलोकको हिजोआज
    हुँदैन कसैको निर्णय पाप पुण्यको आधारमा ।
    स्वर्ग सुख अवश्य मिल्छ उसलाई
    जसले गर्छ वातावरण संरक्षण।”

    उनको ‘अतिक्रमणकारी’ कवितामा पनि जीवहन्ता मानिसको विचार यमलोकमा हुनेछ भन्ने शास्त्रीय मान्यतालाई समर्थन गरेको पाइन्छ।

    प्रस्तुत पुस्तकको शीर्षक उनले ‘परिश्रान्त पृथ्वी’ राखेका छन् । पुस्तकको साङ्गोपाङ्गो पर्यावरण समस्याले जर्जर पृथ्वीको बारेमा छ । विविध शैली, भिन्न बिम्ब प्रयोग गरेर पर्यावरण विनाश हुने प्राय: सबै पाटाको विश्लेषण गरिएको छ । यसैले, शीर्षक सार्थक छ ।

    डा सापकोटाको प्रस्तुत सङ्ग्रह पर्यावरणीय साहित्यप्रति रुचि राख्नेहरूका लागि एक अमूल्य उपहार हो । प्रस्तुत कृतिमा गोविन्दराज भट्टराई, ज्ञानबहादुर छेत्रीजस्ता चर्चित समालोचक र विजय हितानजस्ता पर्यावरण साहित्य निर्माता र लेखक स्वयमले पर्यावरण साहित्य र चर्चित पुस्तकमाथि ४२ पृष्ठ लेखेका छन् । अर्थात्, पुस्तकको एक तिहाई भन्दा ज्यादा गद्यमा पर्यावरण सङ्कटको चर्चा गरिएको हुँदा यस पुस्तकलाई पर्यावरणीय पद्य र गद्य दुवैको सङ्कलन हो भन्न मिल्छ । अतः पर्यावरण साहित्य बुझ्न यस पुस्तकले धेरै सहयोग गर्नेछ ।

    तर, पर्यावरण साहित्यका आफ्नै केही समस्याहरू छन्। जस्तै :

    मान्छे फेरि गुफामा पस्ने छैन, मान्छेले फेरि रुखका बोक्रा र जनावरका छाला भिर्ने छैन । यसैले, प्रकृति ध्वंस भयो भन्दै विलाप गाउँदै, सुस्केरा हाल्दै, सभ्यताको विकासका सबै सुविधाहरू लिँदै, विज्ञानका सबै देनहरूको व्यवहार गर्दै, उपकरणहरू गाडी-मटर, फ्रिज-एसीको मजा लिँदै र त्यही विज्ञानलाई गाली गर्दै हाम्रो दायित्व पुरा हुँदैन । पृथ्वीको यो रोग निराकरण गर्न अब भगवानको कुनै एघारौँ अवतारको आविर्भाव हुने छैन त यहाँ भनिसकिएकै छ । यो समस्यामा घिउ हाल्ने काम मानिसको स्वार्थी र प्रतियोगी मनोभावले गरेको हो, साम्राज्यवादीहरूको दोचारे  नीतिले गरेको हो, राजनीतिले गरेको हो । यसको विरोधमा वैश्विक सचेतताको खाँचो छ तर अवैज्ञानिक मानसिकता घोलेर होइन । विकास र पर्यावरणलाई हाराहारीमा हिँडाउन एक सटिक बाटाको निर्माण हुन जरुरी छ ।

    दोस्रो कुरा, पर्यावरणीय कवितामा विज्ञानका धेरै कुराहरू आउँछन्, मातृभाषामा विकल्प शब्द नहुने अनेक आगन्तुक शब्दहरू व्यवहारको अनिवार्यता रहन्छ । यो स्थितिमा भाषिक मिठासलाई चोट नपारी लेख्न सक्नु जोखिमको कुरा हो। तैपनि, पर्यावरणीय कविता पनि कवितै हुन् र यी कविताहरूमा पाठकले हार्दिकता, सम्प्रेषणीयता, काव्यिक माधुर्य  खोज्दछन् । यसलाई  व्याकरण वा अङ्क गणितको जस्तो रुखो रहेछ भन्ने सोच पाठकका मनमा उब्जिन दिनु हुँदैन । कविता पढेर पाठकलाई ऐँठन नहोस् । विषयज्ञान नहुने पाठकलाई पनि यी कविताहरू पढेर  विषयप्रति आकर्षण गराउन कविको निकै मेहनतको आवश्यक हुन्छ, निकै कला चाहिन्छ ।

    यस्तै एक जटिल विषयलाई ‘परिश्रान्त पृथिवी’ले सम्बोधन गरेको हुनाले कविताहरूमा  काव्यिकता भन्दा विषय, विचार र वक्तव्य खरो भएर आएको छ। यो कविको पहिलो प्रयास हो। उनले एउटा नयाँ बाटो निर्माण गर्न खोजे जुन बाटामा आज उनले धेरै साथी भेटिसकेका छन्। कवि सापकोटा उनको उद्देश्यमा सफल छन्। कविलाई धेरै धेरै बधाइ छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *