• २०८१ चैत्र ५
  • क्षितिजभित्रको सूर्य


    विश्वप्रेम अधिकारी
    विश्वप्रेम अधिकारी

    लहराहरूले दृष्टि फ्याँक्दैछन्
    नदीको कल–कल छालतर्फ
    रूखहरूले हात पसार्दैछन्
    बादलको गडगडाहट र हावाको सिरसिरतर्फ,
    चरनको खोजमामा अल्मलिएका मृगशावक
    कृष्णसार र कस्तुरी
    हेर्छ, उत्पीडनले भरिएको हृदय च्यापेर
    क्षितिजसम्म र क्षितिजको किनारसम्म ।

    हा ! रिप्यानका भित्तामा पनि
    रानी जलुकाका पातहरू पहेंलिएका छन्
    झर्नाको जलकणको स्पर्श त
    प्रजातन्त्र दिवस जस्तै छ
    प्रतीक्षा जिन्दगी हो
    जिन्दगी संयोग हो
    यसैले, पहराको ढीकमा वैलाएका नुनढीकेका फूलहरू
    रूपमा जेलिएका कुस्र्यौंलाका पातहरू
    बूढो कटुसको पेटी बनेको छत्रेका झँगहरू
    आफ्नो विपन्नता बोकेर चियाउँछन्
    आफूदेखि टाढा रहेको क्षितिजसम्म ।

    तपस्वीले छलाङ मार्नुपर्छ पहरामा
    कुमकुमको गन्ध सुघेर
    भीरमा उक्लिनुपर्छ धूपको निम्ति
    आफ्नो ब्रह्मचर्यलाई जोगाएर
    ब्रह्मचर्य विश्वामित्रको जस्तो होइन
    कृष्णको जस्तो पनि होइन
    चौध वर्षसम्म जागा रहने लक्ष्मणको जस्तो
    मैले नदेखेको, तिमीले नदेखेको
    इतिहासले देखेको कस्तो–कस्तो
    सूर्य नजरबन्दमा परेको छ, क्षितिजभित्र
    यसैले आउन सक्दैन ए लहराहरू हो
    तिमीहरूलाई आलोक दिएर
    सूर्य अल्मलिएको छ क्षितिजभित्र
    त्यसैले आउन सक्दैन ए मृगशावक हो !
    तिमीहरूलाई तातो स्पर्श दिएर
    यसैले आउन सक्दैन ए पहराहरू हो !
    तिमीहरूलाई प्रकाश दिएर

    सूर्य त जिन्दगी हो
    त्यसको उष्णताले सृष्टि बाँच्दैन
    सूर्य त जिन्दगी हो
    रात्रिको निरवतामा सृष्टि बाँच्दैन
    हो, टाढा छ– अवरोध बनेको क्षितिज
    त्यसैले– ए शिखरहरू हो !
    अझ अग्लिएर हेर !
    हो, मायालु छ बन्दी बनेको सूर्य
    त्यसैले ए पहराहरू हो ! अझ कडा बनेर हेर !
    तिम्रा छिमेकी चराहरूको चट पटमा मिसिएर
    ए मृगशावकहरू हो !
    तेजोमय किरणमा चरन जाने बाटो हेर !

    कवि अधिकारीले यो कविता पञ्चायतकालमा २०३२ साल माघ १ गते तनहुँको दमौली जेलमा कारावास जीवन बिताइरहँदा सिर्जना गरेका हुन्; जुन उनकै स्वीकृतिमा विश्वप्रेम अधिकारीका सङ्कलित कविता–३ बाट साभार गरिएको हो ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *