• २०८१ माघ २९
  • मनको पलट


    पुष्कर शमसेर
    पुष्कर शमसेर

    (१)
    “छेका–त्यसको निमित्त छेका हुन्छ, जो उड्न सक्दैन ।”
    अजर (उच्च कक्षाको एक व्यक्तिको नाउँको अघिल्लो शब्द) यो यो भावपूर्ण उक्ति, उसको आशकमा परेकी सिनामन (मामुली भोटेकी छोरी)– को कर्णकुहरसम्म प्रवेश ग¥यो, मनमा भिज्न सकेन । सेतो कोमल पुष्ट हातका सुराहीमा बान्की परेका दुई बूढी औंलाका नङको परस्परको प्रयत्नले पैदा गरेका गुलाफी प्रवाहको भाटा हेर्न लागेको कमलनयन लज्जा र प्रेमको छालमा लकपकाउँदै विस्तारै–विस्तारै माथि पल्टेर आफ्नो जोडा कहाँ पुग्यो तर त्यहाँ धेरै बेर टिक्न सकेन । यस्तो सहसा नदेखिने बाह्य वस्तुलाई परिश्रम गरी हेर्दा शारीरिक दूरबीनबाट हामी उज्यालो हटाउनलाई त्यसलाई संक्रिण पार्छौं ।

    उही कर्म मनले केही कुरा ग्रहण गर्न असमर्थ हुँदा पनि मानुँ मनभित्र त्यो दूरबीनलाई फर्काउनु परेझैँ हामी गर्दछौं । उसैले सिनामनका दुई घन आँखीभौ नजिक सर्दै–सर्दै निधारमा हल्का चाउरी बनाउँदै जोडिन थाले, झुसिलो निधारैले पहिले नै नजोडिएका भए कहिले यी जोडिँदैनन्, न ठाडा धर्सामा न कुनै जोल्टाइ देखिन्छ तापनि अत्योक्तिको दोषभारी नभई हामी भन्दछौँ–दुवैलाई भन्न सक्तछौँ, गाँठो प¥यो । गाँठो प¥यो मनभित्र पनि ।

    छेकाले पिंजडालाई उब्जायो, उड्नुले चरा खडा ग¥यो । बिनाढोका खोली चरो पिंजडाबाट कसरी उड्न सक्छ ? यहाँ छेकाको लाक्षणिक अर्थः मानवनिर्मित प्रथा, सामाजिक रीतिरिवाज हो; उचाइ, परको होइन मनको खयालको, आदर्शको भन्ने उसलाई घुसेन ।

    अजरको भोको आँखो सिनामनको कानपछाडिका चुल्ठोसँग विद्रोह गरी फुत्की घँगुरिएका छोटा रौंका मुन्द्रामा जमेको थियो । उनको मनमा जाति सम्बन्धी भावनालाई यति कडासँग उद्दीपन गर्ने ती मुन्द्रामा के छ ? उसलाई मात्र यसो भएको हो कि सबैलाई हुन्छ । सिनामनको विफलता देखेर उसले राम्रोसँग सम्झाइ–बुझाइ दियो । अन्त्यमा सिनामनको हात आफ्नो खोकिलामा हालेर उसले भन्यो;

    “सिनी ! मेरो उमेर कच्चा छ, उसैले बुद्धि पनि कच्चै होला भन्ने तेरो मनमा लाग्नु अचम्म होइन तर काँचो हलुवाबेत जस्तै मान्छे विद्यामा गुम्सिएर उमेरले भन्दा चाँडै पाको हुन सक्छ । यो मेरो सोची विचारी बढाएको पाइलो हो । तँलाई हात लागी गरेको करिब वर्षदिन भयो, उसैले म अन्धो छैन । परमेश्वरका अगाडि हामी जे भइसक्यौँ आम दुनियाँका अगाडि त्यही हुन तँ गह्रुँकाउँछेस् । अरू जस्तो भए कहिले मेरो पन्छिने तेरो झुण्डिने बेला छ । मेरो प्रेमको पूरा सच्चाई देखाई म अँगाल्न खोज्छु, झन् प्रकृतिको लहड तँ अनेक शङ्का झिक्छेस् । तैंले भनेको पनि एक हिसाबले ठिक्कै हो, अहिले तँ फुका छेस्, परमेश्वरको नजरको गुणै त्यही हो, दुनियाँको दृष्टिमा बन्धन छ, पछि बन्धनमा पर्छेस् । त्यो बन्धन, बन्धन हुने थिएन, यदि मलाई मात्र होइन मेरो मनलाई पनि तैंले पत्यार गरे । हनुमानको शक्ति ममा भए, यो छाति चिरेर देखाउँथेँ, तँमा शक्ति भए त्यहाँ गहिरिएर गाडिएको आफ्नो मुर्ति देख्थिस् । अब यो मुर्ति उखेल्दा मेरो प्राण नखुस्की छोड्दैन । कैयन किरिया हालेँ, तेरो किरियामा पत्यार छ तर धेरै जनाले किरिया खाएको देखी त्यो पत्यार फिका हुँदै जान्छ, बराबर रङ चढाउनु पर्दछ । …. बूढी भएर खस्केपछि वा दुर्घटना परी केही खुन भयो भने म तँलाई छाड्छु भन्ने कुरा, खै के भनूँ । गाढा नीलो चश्मा लाएको ईश्वरका कानमा नपरोस् । रूपौलो कपाल भएको तेरो यही हाल थामी कालो लामो कोट लाएको ढकमक्क फुलेको यहाँसम्मको दाह्री भएको मैले तेरो आँखा बनी तँलाई डो¥याई हिँडेको तस्बिर म गौरवसाथ हेर्न सक्तछु । म मरेँ भने, म बहुलाएँ भने तँलाई छाडुँला ः त्यसको मात्र म जिम्मेवार छैन ।”

    सिनामनले यस्ता फूलजडी कुरा राम्ररी नबुझे पनि धेरै पटक रद्द परी सुनिसकेकी थिई । अजरले बिहे नगरी उसलाई धर्मपत्नीको ठाउँमा खुल्लम खुल्ला राख्ने कुरा उसलाई पहिले यस्तो असम्भव लागेको थियो कि ऊ केही गरे पनि पत्याउन सक्तिनथी । उसले केटाकेटीमा सुनेकी, एकादेशको राजाकी कान्छी रानी सबभन्दा प्यारी हुनाले अरू सौताले कुरा लगाई राजाले आफ्नी कान्छी रानीलाई जङ्गलमा छोडेर आउनु भनी अह्राएको कथाको स्मरणले उसलाई त्यो हैसियतलाई धरधराको टुप्पो सम्झन सिकाएको थियो । फेरि, जुनेली रातमा आफ्ना प्राणप्यारासित जिस्किन लागेको नवयुवतीका चन्द्रमा प्रतिबिम्बित भएका रसिला ओठ र दाँतमा खेल्दै निस्कने बोली; “लोग्ने मानिसको जात बेइमान हुन्छ” उसले सुनेकी थिई, उसमाथि प्रकाशतः उसको खैरख्वाही चाहने, तर वास्तवमा उसको बढिबढाउ भएको देख्न नसक्ने दिदी–बहिनीले अजर जस्ताले बेइमान गरेको धेरै जनाका रामकहानीले उसका कान भरेका थिए । तर, सिनामनको हृदय ठानिएको मगजमा जो रूखासुखा अपरिष्कृत प्रेम दिने सामथ्र्य थियो, त्यो सबै अजरको भइसकेको थियो र त्यसबाट पैदा भएको पूरा विश्वासमा उसमा थियो । फलतः अजरलाई छोड्न सक्तिनथी । रानी भई राजाइँ जमाएर होइन, सुसारे भई सुसार गरी, पुरा खाई, पुच्छर भई, जीवन व्यतीत गर्ने उसको आग्रह थियो । उसैले अँगाले हाली गर्दनमा झुण्डिनुभन्दा खुट्टामा छाँद हाली लम्पसार पर्नु निको मान्दथी ।

    तर, अजरको रसिलो बचन तप–तप चुहिई सिनामनको पथ्थरिलो सङ्कल्पलाई अलि–अलि गरेर खोपिल्टो पार्न लाग्यो । अनि त्यो पथ्थरिलो नयनागोचर परिणाम जो खोपिल्टो बन्नलाई निक्लन्थ्यो, सिनामनको क्षमता र अहंकार बनी आस्ते–आस्ते जम्न थाल्यो । जे होओस्, तिनीहरूको अस्तित्वको पत्ता अहिलेसम्म सिनामनलाई पनि थिएन । तिनीहरू प्रकट भई अरूले थाहा पाउनु त परै रहोस् ।

    अहिले अजरको कुरा सुन्दा पहिले त सिनामनको मन पिँजडा र चरैमा थियो । त्यसपछि, कहिले नआएको नयाँ विचार उसको मनमा उठ्योः सजिलोसँग अजरले भनेका कुरा मञ्जुर गरे उसको (सिनामन) महत्व कम हुन्छ, मानु समुद्रको पीँधमा जानु परेकोले नै मुगाभन्दा मोतीको मूल्य बढेको हो भन्ने उसले सुनेकी थिई । खुनको कुरा उठ्नासाथ उसले पिनासले नाक झरी त्यसको ठाउँमा ठूला प्वाकलमात्र रहेको उसको गाउँको मिझारकी आमालाई सम्झी । उसको त्यस्तो भएको पक्षमा अजरले नै अनुहार खाउला भन्ने ठानी खित्का छोडी, त्यो हाँस्न थाली । अजरको मनमा भने उसैको कुरा सुनी ऊ हाँसेकी हो भन्ने परी निकै फुल्यो । हाँसेको कारण बताई उसलाई स्याप्प पार्दा चित्त दुख्ला भन्ने ठानी सिनामनले केही भनिन ।

    त्यो रात अजर एक्लै पलङमा पस्यो, लामो सास फेरेर ठान्यो– “एक दिनले कालको अझ नजिक पुगेँ, सिनामनबिनाको जीवनमा अर्को एक दिन थप भयो ।”

    (२)
    अजर चाकरीबाट फर्की टोपी मात्र फुकाली पेनु बजाउन लागेको थियो । सिनामन आएर बोलै सिद्धिन नदिई उसको हात रोकी । उसले एउटा हातको मुठीभित्र केही चिज लिएकी थिई, अर्को हात अजरको कुममा राखी मुस्कुराउँदै भनी,
    “आँखा चिम्लेर आँ गरिबक्स्योस् ।”
    “नाई, त्यो के भन् न, अनि ।”
    “मेरो रगत खाने …… ।”
    “ई ! मैले जिभ्रो काटेँ ।”
    “मैले भनेको नमान्ने त ?”
    “नखाने कुरा रैछ भने ?”
    “ममाथि त्यस्तो अनपत्यार ? भैगो, हुन्छ !”
    “ल, त ! गर्छु । प्रेमै अन्धो छ ।”

    अजरले आँखा चिम्ली बाएको मुखमा सिनामनले भीमसेन सुपारी हालिदिई । अजर सिनामनलाई तानी काखमा राख्यो, त्यसो गर्दा उसको मिहिन चुरी फुट्य । छाले किसिमले चोसो पसारी लज्जतसाथ आँखा तरी उसले भनी,
    “आ हजुर त छिः अर्काको कत्ति राम्रो चुरा फुट्यो ।”

    अनि फुटेको चुराको एउटा टुक्रा पछ्यौरामा बेह्री “एउटा मान्छेले मेरो कत्तिको माया गर्दोरहेछ, हेर्छु” भनेर उसले भाँची । फुकाएर हेर्दा दुई टुक्राबाहेक अरू धुलाधुली नदेखिएको हुनाले अजरलाई ती टुक्रा देखाई । एउटा मान्छे भनेको उही हो, उसले पनि माया गर्दो रेहनछ भन्ने देखिएको कुरा उसलाई भनी । अजरले हाँसेर भन्यो,

    “मेरो प्रेमको ज्योतिषी तैंले त्यसलाई बनाइस्, जसलाई मैले तेरो जस्तो नाडीमा ढलीमली गरी मोज काट्नबाट बञ्चित गरेँ, अब त्यसले मेरो हुँदो गरी कहिल्यै बोल्दैन जहिलेसम्म घनको चोट खाँदैन । यसलाई थाहा छैन–नचुकेसम्म तैंले गरेको भन्दा बढ्ता म यसको कदर गर्छु, एक त यसको आवाजमा तेरो व्यक्तित्व छ, अनि यसको बजाइले तेरो स्वरको काम दिन्छ, फेरि मेरो साथै यसको मरण हुन्छ ।”

    अजर र सिनामन खुल्लमखुल्ला लोग्ने स्वास्नीको रूपमा बसेको केही वर्ष बितिसकेको थियो, किनभने आखिर सिनामनले अजरको कुरा नमानी सुखै पाइन । जायजन्म पनि समयमै भयो । अजरलाई सबै कुराबाट सन्तोषै थियो, तर सिनामनको ममता र अहंकारको विरुवामा फल लाग्न लाग्यो । ममताले गर्दा अजरको सुसारेसित सोझै कुरा गरेको पनि उसलाई अर्कै अर्थ लाग्ने भयो; अहंकारले गर्दा थुतुनो चल्न थाल्यो । हुन त आगो पनि नठोसी बल्दैन, एकै ठाउँमा भएपछि कहिलेकाहीँ ठाकठुक पर्छ, तापनि हरएक पटक अजर निहुरी झगडा साम्य नहुने भयो । तर, सिनामनको प्रीतिको खँलाती दनकिएको अजरको प्रेमाग्निमा नै परे पनि नचिनिने नामोनिशानै नरहने गरी खाक–खाक हुन्थ्यो । त्यो आगोको तीव्रता घटेर होइन, त्यो खँलातीको वायुवेग कम भएर होइन, सायद खाक गराउनुपर्ने अवस्था दोहोरिइरहनाले होला । एक दिन अजरलाई थाहा भयो स्पर्श मात्रले धुलो हुने गरी कालो भई डढेको कागतमा पनि भुइँको रङदेखि छुट्टिन गाढा गोलसजन भएका भएका टल्कने दुई–चार अक्षर सजिलैसँग पढ्न सकिन्छ । पछि–पछि ती दुई–चार अक्षर निकैसम्म अजरको स्मरणको अन्तरकुन्तरमा अड्किरहने भए । हुँदा–हुँदा उसको जीवनको नीलो निर्मल आकाशमा कालो बादलको सानो टुक्रो देखियो । दिन परदिन त्यो टुक्रो बढ्दै गयो । आकाश ढाकी अन्धकार पार्न केही बेर थिएन, तर अजरलाई परदेश जानुप¥यो, त्यसैले हुरीको काम दियो । घर फर्किँदा उसको आकाश नीलोको नीलो निर्मलको निर्मल भइसकेको थियो ।

    सिनामनले मुख चलाउन बिल्कुलै बन्द गरी । उसले अजरलाई पहिलेको भन्दा पनि बढ्दा माया गर्न थाली भन्न हुन्थ्यो, तर पहिले नै हदैसम्म माया गर्ने हुनाले अब त्यसभन्दा बढ्दा भन्न ठाउँ नै थिएन । अजरको हकमा पनि “आँखा बाहिर हुनासाथ कन बाहिर हुन्छ”ले असर नगरी “अनुपस्थितिले दिललाई झन्, माया गर्ने तुल्याउँछ”ले प्रभाव जमायो । अल्झाउने बिल्झाउने छोराछोरीलाई बाजे–बज्यैले स्याहारेका थिए, उनीहरूपट्टि सिनामनले केही फिक्री लिनुपर्दैनथ्यो, न घर गर्नु पर्दथ्यो । उसैले हर तरहबाट अजरलाई प्रेम गर्न, प्रेम देखाउन ऊ फुका थिई ।

    केही स्वास्नीमान्छेभित्र जति गहिरो माया भए तापनि बाहिर देखाउन सक्दैनन् वा देखाउन शरम मान्छन् । कोही स्वास्नीमान्छे भित्र छिपछिपे माया भए पनि बाहिर खुबसँग देखाउन सक्छन्, त्यो छिपछिपे माया फलानो भएजस्तो नभएर हो, भने जस्तो मिलेको खण्डमा डुबाउनेसम्म उर्लन्छ अथवा बाहिर देखाएको देखौबा हो, लोलोपोतो हो, उसको बाहिर माया देखाउने प्रकृतिप्रदत्त गुण हो । यी सबै गुण एउटैमा सम्मिलित भएको नमूना सिनामन थिई । भित्र रहेको गहिरो माया उसको प्रत्येक साधारण गति, हेराइ बोलाइ, हिँडाइ, सास फेराइमा स्पष्टसँग देखिन्थ्यो, जो पूर्ण विस्फारित आँखाले एक एक गरी हेर्ने र देख्ने, थोरैलाई नसीब हुने लोग्ने पाएकी थिई ।

    एक दिन चाकरीमा जान अजर दुई भ¥याङ ओर्लिसकेको थियो, साथीले हेर्न मागेको किताप झट्ट सम्झी त्यो लिन फेरि माथि उक्ल्यो । एक भ¥याङ उक्लेपछि सिनामन के गर्न लागेकी छ भनी चियाउनलाई चाल मारी त्यो उक्लन थाल्यो । अहिले बयान गर्न लागेको घटना ऊ परदेश जानु अगाडिको हुनाले सिनामनसँग ठाकठुक गरी बोलचाल नभएको केही दिन भएको थियो । अजरको अगाडि पर्दा सिनामन पटक्क उसको मुख हेर्दिनथी । तर, उसको अगाडि बसी लुगा लगाइदिने, चुरोट सल्काउनका लागि सलाई कोरिदिने, थुक्न खोज्दा पिकदान थापिदिने गर्न भने उसले छोडेकी थिइन । माथि पुगेपछि अजरले आफ्नो कोठा खाली देख्यो । त्यहाँ नपसी सिनामनको सिगार्ने कोाठापट्टी गयो । त्यसको ढोका बन्द थियो । त्यसमा कान जोरी सुन्दा बुझो हालेको मुखबाट फुत्केको जस्तो साह्रै हल्का घुँक्क–घुँक्कको आवाज उसले सुन्यो । हत्तपत्त छिद्र खोजी चियाउँदा उसका आँखा यस्तो हृदयविदारक दृश्यमा प¥यो कि उसको दिल रूखमा अड्किएको चङ्गाजस्तो भयो । हातले नढाकिएको टुप्पोले गर्दा मुटु नै बाहिर निस्केको जस्तो देखिने गरी अजरले घर बस्ता लाउने गाढा कलेजी बराँतको फ्याटफ्याटे जुत्ता उत्तानो परी छातीमा एक हातले च्यापी अर्को हातले खास्टोको बुझो मुखमा कोची सिनामन रोइरहेकी थिई । कितापै नलिई अजर भागेर चाकडीमा गयो ।

    एक दिन अजरको हात छुरा सफा गर्दा काटियो । घाउमा आइडिन लाउनलाई त्यो चाहिँ हात सिनामनलाई दिई, अर्को हातले बट्टामा छुरा थन्क्यायो । चह¥याएकोले आइडिन लाइनसक्तै हात थुती फुक्ता घाउको आसपासमा अजरले दुई–तीन थोपा पानी देख्यो, अनि अचम्म परी सिनामनतिर हे¥यो । उसले मुख लुकाई ।

    (३)
    मनमा छताछुल्ल गरी बढेको कुरा त्यहीँ सोसिन दिने वा तमाखु चुरोटको रापमा सुक्न दिने कोही मानिसको धैर्य हुँदैन, हित्तचित्त मिल्ने अर्को मानिसको कानको ढल नबनाई तिनीहरूलाई चैन पर्दैन । त्यस्ता मानिसहरू–मध्येको अजर पनि थियो । उसको मन मिलेको पूरा नामको कुनै अंशसित अघिल्लो पद पनि मिलेको बालसंघांती विक्रमप्रसाद उपाध्यायलाई ऊ कुनै कुरा भन्न बाँकी राख्तैनथ्यो । विक्रमप्रसाद पनि एकोहोरो रोटी पाक्न दिँदैनथ्योः त्यति मात्रै होइन ऊ आफ्नो रामकहानी भन्न यति उत्सुक हुन्थ्यो कि उसलाई कुरा सुनाउन अजरलाई प्रलय पर्दथ्यो । अजरलाई हिजो राती पेट ढुस्स भएको कुरा शुरू हुँदा नहुँदै “हजुर, हजुरै”ले टुंग्याई अस्ति उसलाई शूल भएको , तातो पानीको बोतलले सेकेको, फलानो डाक्टर, ढिस्कानो बैद्य डाकेको इत्यादि लम्बे रामकहानी उठान हुन्थ्यो । अस्ति अजरको छोराको आँखा दुखेको कुरा छुन पाएको छैन, उसको माहिली आमाको पोहोर कान दुःखेको चाखलाग्दो फतफत शुरू हुन्थ्यो । अर्काले आफूसँग सल्लाह लिन आएको छ भन्ने कुरा एकदमै भुली विक्रमप्रसादमा अरूले सुन्न मन नगरेको आफ्नै गनथन बारम्बार झिक्ने गथ्र्यो ।

    यद्यपि, धेरैजसो विक्रमप्रसाद नै अजरको घरमा जान्थ्यो, तापनि केही भइपरी आउँदा वा जरुरी काम पर्दा अजर पनि विक्रमप्रसादको घरमा जान्थ्यो । अहिले जरुरी कुरो भन्नु छ भन्ने निहुँ गरी अजर विक्रमप्रसादको घरमा आएको थियो । भलाकुसारीपछि नै अजरले विक्रमप्रसादको फुर्सद सोधी उसको बानी बुझेकोले उसलाई निजी कुरा छुँदै नछुनु र बीचमा कुरो नकाट्नु भन्ने कडा आज्ञा दियो ।

    अनि, तल्लो ओठलाई माथिल्लो दाँतले टोकी केही बेर घोरिएर पलेटी मारेको पिडौंलामा एक हातले बिनाआवाजको पेनु बजाएपछि अजरले सुरत आवाजमा ढिलासँग भन्यो,

    “हेर, तिमीलाई मैले कस्तो–कस्तो कुरासम्म भनेको छु, यो कुरा आजसम्म तिमीलाई पनि भन्न सकिनँ । ….. दुई महिना–दुई के तीनै महिना भयो, मलाई यस्तो भएको । तिमी बराबर भन्थ्यौ, “अचेल हजुर किन घोरिनुहुन्छ, के भयो ?” म छल्थेँ । मलाई आशा थियो, परमेश्वर ! मलाई विश्वास थियो । अलि दिनमा सबै ठीक हुन्छ । तर, दिनपरदिन त्यो आशा निराशा बन्दै गयो, विश्वास हराउँदै गयो । कति कोसिस गरेँ, केही लागेन । … अरू कुरा केही होइन, मेरो मन एक तमासको भइरहेछ । पहिले त म बहुलाउन लागेँ कि भन्ने लागी डाक्टर बाजेकहाँ दगुरेँ । मेरो कुरा सुन्नासाथ हाँसेर “धत्, धत्” भनी उनले उडाइदिए । मेरो मनमा अरू त होइन, मनोमेनिया (एउटा कुरामा मात्र बहुलट्टीपन) हुन लाग्यो कि भन्ने शंका थियो ।”

    “त हजुरलाई के भो त ? यो भूमिका असाध्य लामो भयो । हो कुरा क्या हो ? याँ हामीलाई सुन्न हतपत लाग्यो ।”
    “फेरि बीचमा बोल्यो । म आफ्नै सारमा भन्छु । त्यसैले त तिमीलाई कति बेरको फुर्सत छ भनेर अघिबाटै सोधेको । मेरो कुरा सिद्धिएपछि तिम्रो राय, तिम्रो सल्लाह, तिम्रो सहानुभूति, जे जे दिनुपर्छ दिनू । … त सुनm डाक्टरले त्यसो भनेपछि त्यतापट्टिको डर हरायो तर व्यथा हटेन । … सिनामनलाई यति माया गर्छु भन्ने तिमीलाई थाहा छ । अहिले पनि उतिकै माया गर्छु ।” तर, नरोएको आँखा रोएको गलालेअजरले भन्यो, “ऊ मायामा प्रीति थियो, यो मायामा रहम मात्र छ ।”

    सिनामनको निम्ति थुक निली गिडगिडे आवाजलाई बदली लापरबाहीको आवाजमा उसले भन्न थाल्यो, ‘केवल सिनामनको निम्ति मेरो शरीर म¥यो, आत्मा मात्र जीवित छ । शरीर मरेको छैन भने नफ्रत गर्ने शरीरमा बदलियो ।” फेरि पहिलेकै तानामा भन्यो, “कस्तो भयानकसँग मेरो मनले पलट खायो । यस्तो कुरामा यसो नगरी छाड्दिन भनी हामीले–हामी मानिस मात्रले घमण्ड गर्नु धिक्कार छ, किरिया हाल्नु फजुल छ ।” हाम्रो मन आजको भोलि नै कति फरक हुन्छ भन्न सकिँदैन ।

    …. अघि सिनामनको स्पर्शले मात्र पनि मलाई स्वर्गीय आनन्द हुन्थ्यो, अहिले भन्दा पनि पाप लाग्छ– उसले छुँदा मेरो छाला–मासु पछि हटेजस्तो लाग्छ । बाटाको अघि आउँदा सुविस्ता दिने उही ओरालो पछि फर्कँदा पसिना बढाउने उकालो बन्दछ । मलाई मेरो कर्तव्यको ख्याल छ, धर्मको विचार छ, किरियाको सम्झना छ तर मेरो इन्द्रियज्ञान मेरो कब्जामा छैन । के कुराबाट मेरो मन पल्ट्यो, म भन्न सक्तिनँ । चित्त कुढिने कुनै कुरा हाम्रो बीचमा भएको छैन ।
    … एक दिन उसको हुप गएर कुप्री हिँडेकी थिई, मेरो मनमा एक तमासको लाग्यो । त्यसबाट यो भयंकर असर कसरी निस्क्यो भनूँ ? अहँ । … एक दिन बमन गर्दा मुख बिग्र्यो । … त्यसले पनि होइन, पक्का होइन । प्रकृतिको जालले गर्दा हाम्रो आँखा क्याटलगको पत्रको अरू तस्बिरमा भन्दा अर्काले नमुना पढाउने तस्बिर काटेर झिक्ता बनेको झ्यालमा जान्छ । रहेको कुराको परवाह छैन, गुमेको कुरा पाए कस्तो न होला जस्तो लाग्छ । … मैले उसको जन्म बिताइदिएँ ।

    शोकले ज्यादै विह्वल भई उत्तेजित स्वरमा उसले भन्यो, “भन्ने कुराले मलाई आजन्म पोलिरहन्छ । म के गरूँ । म कहाँ जाऊँ ।” अनि साम्य भई नाक पुछेजस्तो गरेर आँखा पुछी भन्न थाल्यो, “मेरो मन पहिलेकै जस्तो हुन्छ भने म जे पनि गर्न तयार छु । मलाई तिमीले ठीक गर्न सक्यौ भने म तिम्रो जन्मभरको ऋणी हुन्छु ।”

    विक्रमप्रसादले सहानुभूतिको लामो सास फेरेर टाउको हल्लायो ।

    “कसै–कसैलाई यस्तो हुन्छ भनेको मैले सुनेको छु । यस्तो भएपछि फेरि पहिलेकै जस्तो हुन त साह्रै मुश्किल हुन्छ रे, यो मनोविज्ञानको घटना हो । यो कुरा थाहा नपाउनेहरूले हजुरलाई अन्यायी, बेइमान, पापी भन्छन् । कति अभागी निर्दोषीहरू यो नाम चुपचापसँग सहनु परेको होला । के गर्नु !”

    रचनाकालः वि.सं. १९९७

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री