कहिले मन यो भन्छ तेरो दास म होइन
कहिले भन्छ ऊ फेरि तँबिना के रहन्छु म ?
विद्रोही भै स्वयं फेरि उरालिन्छ घरी-घरी
भगाई कहिले निद्रा खल्बल्याउँछ बेसरी ।।
अनेकौँ सपना देख्छ दिउँसै रात पार्दछ
कहिले मौनताभित्रै हजारौँ बात मार्दछ
भत्काई धैर्यको बाँध भौँतारिन्छ कहाँकहाँ
दौडिन्छ मृगतृष्णाका सुख्खा बगर छन् जहाँ
नौनीझैँ पग्लिई कैले मलाई प्रेम गर्दछ
स्वर्गीय सुख-वर्षाको पृथक् आनन्द भर्दछ
तत्त्वदर्शी महात्माझैँ ज्ञान-मार्ग बताउँछ
मेरो यो चित्तको मैलाे उसैले तह लाउँछ ।।
उमेरको भरै छैन शिशुझैँ चुल्बुलाउँछ
कैले मस्त जवानीको मातले तुल्बुलाउँछ
रासलीला उही रच्छ बर्साई प्रेम-निर्झरी
वैराग्यमा डुबेजस्तै गरी बस्छ घरी-घरी ।।
कैले छक्क परी बस्छु उसैका तर्कना सुनी
कैले मख्ख परी नाच्छु उसैका लयमा झुमी
साक्षी भै दुःखका वेला सुखले सुम्सुम्याउँछ
म रुँदा ऊ सहारा भै मायाँले थुम्थुम्याउँछ ।।
Leave a Reply