• २०८१ माघ २९
  • अर्चलेदेखि देवघाटसम्म


    जनकवि केशरी धर्मराज थापा
    जनकवि केशरी धर्मराज थापा

    मैले पनि अन्नपूर्ण हिमालयमन्तिरको एउटा रमाइलो बाटुले चउर भन्ने गाउँमा जन्म पाएको थिएँ । शुक्लागण्डकी र कालीखोला, मर्दीखोलाहरू बगेर पारेको पोखरीलाई पोखरा भन्ने नामले ख्याति प्राप्त गरेको छ । कश्यप ऋषिले तपस्या गरेको पहाडलाई कास्की भनिन्छ । यसै कास्की पोखराको अलौकिक प्राकृतिक सौन्दर्यले आमाको भाग्यमानी बालकलाई मात्र हैन चराचुरुङ्गी, किटपतङ्ग लगायत डाँडाकाँडाका वन्यजन्तुसमेतलाई रमरमाएर बाँच्ने अमरत्व ज्योति प्रदान गरिरहेको छ । मलाई पनि त्यसैको बिर्सिनसक्नु घामछायाको मोहनीले लाढप्यार गर्दै हुर्काउन थाल्यो । म सुनढुङ्ग्री फूलको थाक्राभित्रको काँक्राको बतिलोझैँ मीठो हावापानीमा बढ्न थालेँ । फूलबारी घुमेर नअघाउने भुँमरोझैँ फलफूलले लदावदी भएको गाउँमा मैले आफ्नो तोतेबोली चरीका साथ बोल्न थालेँ, घरका बगैंचाहरूतिर ।
    गाउँ चौबीसी राजा कुलमण्डन शाहबाट विशेष निर्माण भएको थियो । चौबीसीको मौलो गाउँका नौमुखियाले पुज्ने चलन छँदै थियो । गाउँभित्र क्षेत्री, बाहुन, गुरुङ, मगर दमाईं, कार्मी, सार्की र गाइनेजातिको घना बसोवास थियो । त्यहाँ चल्ने चाडपर्व, जात्रा, मेलाभित्र स्वस्थानी, सत्यनारायण व्रतदेखि लिएर सप्ताहपुराण, धार्मिक पाठपूजाका साथै लोकनाच, गानहरू खेलिन्थे । त्यो वेदगायन र प्राकृतिक गायनले रमझम भइरहेका राजाका घोडाहरू पै्याँ ठोक्ने पाटन हामीले बालकले मनोरञ्जन गर्ने रङ्गशाला भइरहेको थियो ।
    अहिले चौबीसी राजाको दर्बार भग्नावशेषको अवस्थामा भए तापनि कालीमाईको मन्दिर अगाडि दर्बार चौकिल्लाभित्र मेरा जिजूबाजेले चर्चेको मौलाको बारी थियो । त्यसै मौलाको छेवैमा मेरी बज्यै भक्तकुमारी थपेनी र सुबेदार बागदल थापाले गुठ खेत राखी एउटा नेपाली भाषा पढाउने पाठशाला खुलाएका थिए । त्यो पाठशाला स्थापना गर्नका लागि गाउँलेका दैला–दैलामा ‘अलक’ जगाउने चाहिँ बडहरबोटमा जन्मिएका ब्रह्माण वंशका स्वामी नित्यानन्द हुन् ।
    काठमाडौंँदेखि त्यसै भाषा पाठशालामा पढाउने गुरुतर भार लिएर नरनाथ ब्राह्मण गुरु त्यहाँ पुग्नुभएको थियो । गाउँलेहरूले उहाँलाई ‘नेपाले पण्डित’ भनेर औँसीपूर्णेमा बोलाई टीको लगाई दान, दक्षिणा गर्ने गर्थे । उनै गुरुसँगै पढ्ने हामी विद्यार्थी बालकहरू पनि गुरुपूर्णिमाका दिन ठहरमा १÷२ माना चामल र ४ पैसा भेटी, फलफूल लिएर गुरु मान्न जान्थ्यौँ । यतिखेर मेरो उमेर ९ वर्षमा प्रवेश गरेकोले उनै गुरुपुरोहितहरू मिलेर मलाई ब्रतबन्ध गरी काँधमा जनै पनि हालिदिए ।
    मेरो घर–पिँढीको तखतामा मेरा बाबु, बाजेले आफूले साँझ बिहान पाठ गर्न भनेर दुर्गाकवच, चण्डी महाभारत र श्रीकृष्णचरित्र। भानुभक्तीय रामायण र प्रह्लादभक्ति कथा राखेका थिए ।
    भाषा पाठशालामा हामी बालकहरूलाई नेपाली गुरु दुई जना पण्डितले रचना गरेका कवितागायन शिक्षाका साथ पढाइसक्नुभएको थियो । एक थिए, पं. लेखनाथ पौड्याल, अर्का थिए पं. चक्रपाणि शर्मा चालिसे । यी दुवै कविका कविताहरू मेरा सहपाठीहरूका साथ कण्ठमा कण्ठ मिलाउँदै पाठशालाभित्र मैले पनि गाएको थिएँ, जो शारदा पत्रमा स्थायी स्तम्भको रूपमा छापिएका थिए–
    निकाली विघ्नको जाल पखाली चित्त कोमल,
    शारदे ! देउ सद्बृद्धि बढाई देहमा बल ।
    सबेरै उठ हे प्यारा ! बिहान सुतुजा भनी,
    नपाऊन् अरूले भन्न तिमीलाई कुै पनि ।।
    यो पं. चक्रपाणिको गोरखा शिक्षा दोस्रो भागमा थियो–
    जय जगदीश्वर जय अविनाशी,
    जय जय भगवान् करुणाराशि ।
    शक्ति छ प्रभुको अपरम्पार,
    घुम्दछ जसमा सब संसार ।।
    यो गोरखा शिक्षा पहिलो भागको शुरूमा थियो–
    जल थप तेज पवन आकाश,
    हहो सब प्रभुको इच्छा भास ।
    यसमा केही छैन महत्ता,
    छिनमा हुन्छन् गैह्र विपत्ता ।।
    बालककालको कविता हृदयमा ती दुवै गद्य र पद्यका मगमगाउँदा थुँङ्गे फूलको सुगन्धित रस मिश्रित भयो । मेरो वाचन खुलिसकेको थियो । शैशवकाल नववासन्ति पाएर फुर्फुरिएको वसन्त कोकिल बन्न थाल्यो । म अब श्रीकृष्णचरित्र र भानुभक्तीय रामायण भाका रिटाएर गाउँदै जनताको मन पगाल्न सक्ने हुँदै गएँ । (यसो भन्नु, मैले बढी अत्योक्ति हुने छैन)
    म कहिले मेरा जेठाबा दलबहादुर थापाले बसाइँ सर्नु भएको घर भण्डारढीक र कहिले अर्घौं पौवा –हटिया) तिर गएर दिन बिताउन थालेँ । अर्घौं पौवाको फाँट गडुवा तालमाथि अर्चले भन्ने एउटा पौड्यालथोक थियो । त्यस अर्चलेमा पौड्याल थर गोत्रका पण्डितहरूका घरवस्ती रहेछन् । अर्घौंका मेरा पिताका सानिआमाका छोरी मानबहादुर घर्ती क्षेत्रीले मलाई अर्चलेमा जन्मिएका पण्डित लेखनाथ भन्ने काठमाडौँ गएर ठूला कवि बनेका छन्, बाबु भन्नुभएको थियो । उहाँकै मुखबाट यस अर्घौंमा कवि लेखनाथकै जिजुबाजेहरूले एउटा ठूलो पौवा बनाएकोले त्यस दिनदेखि यो अर्घौंको नाममा पौवा जोडिएर एउटा कीर्ति चलेको छ, नत्र गुरुङहरूले आफ्ना जातको लाश यतै सेलाई अर्घौं गर्ने गरेकोले शिशुवा डाँडाको नाक नगिचै यस ठाउँको नाम अर्घौं भन्ने चलन चलेको थियो । पछि नेवारहरू आएर बन्द व्यापार गर्न थाल्दा अर्घौंमा हटिया पनि जोडिन पुगेको हो ।
    अब मेरा दिनहरू लोककलाका बैंसालु सुसेली हाल्दैमा बित्न थाले । बैंसले तरङ्गमा म बयेली खेल्न थालेँ । नानी र लै र सुनिमाया गाइने कर्खा र भजन, सोरठी र घाँटु, सिलोक र सास्तरले रँगाएको हृदय लिएर हाँगाहाँगामा लचक्कै फलेका सुन्तला काफल, फुलेका डालीमा झुराइने पिर्थीका न्याउली, लहरी चलाइरहने फेवाताल, रूपाताल, झ्यालैमा आएर चियाइरहने माछापुच्छे«, अन्नपूर्ण छोडेर ‘जोवन त राम्रो पन्ध्रै वर्षको’ भन्ने उमेरमा मैले पूर्वको साइत गरेँ । (विंसं. १९९६)
    कान्तिपुरको मन्दिरको नगरीमा घुसेपछि मैले कवि पण्डित लेखनाथले ठमेल सल्लाघारीनिर निवास गर्नुभएको घर फेला पारेँ । उहाँले लैन लिगेसननिरको कपुरधाराबाट एक घल्चा पानी ल्याएर खानुहुँदो रहेछ ।
    लैनचउर, पकनाजोल, ठमेल, कालधारा, क्षेत्रपाटी, शोभाभगवती जाँदाआउँदा धाउँदा कवि लेखनाथले रचना गर्नुभएका सत्यकली संवाद, बुद्धिविनोद, ऋतुविचार र पिँजराको सुगाका कविताहरू घोक्न थालियो । ती कविताहरूले मेरो हृदयदेखि मुजुराउन बल गरिरहेका साहित्य, संगीत, कविताका ठेसाहरूलाई हल्काउन घामपानीको काम गरेका थिए ।
    मेरो ‘अन्नपूर्णको तुर्तुरे धारो’ भने मुनामदनको सुन्दरीजलको छाँगोको सुन्दर शैली पाएर भुल्भुल् फुट्न थाल्यो । क फेरि महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनन्त भावनाका गहिराइमा घुम्नु पुग्छु । आफ्ना हृदयको मौलिका धारालाई जनजिन्दगीको ढुकढुकी र गुनगुन सँगसँगै बगाउन थालेँ । मेरो गायनकलाले महाकालीदेखि मेचीको चौडाले पिङको लठ्ठो समातेर लोकसंस्कृतिको धूनमा मच्चाउन थाल्यो । स्वयं लेखनाथलाई समेत झ्याउरेको नयाँ अलाप विलापले दङ्गदास पार्न पुग्यो । अनि, उहाँले मेरो सम्पादनमा प्रकाशित हुन आँटेको डाँफेचरीको पहिलो अङ्कमा ‘डाँफेचरीको भाले पोतिप्रति’ भन्ने कुनै झ्याउरे गीतिछन्दमा रचिएको राम्रो कविता प्रकाशनार्थ पठाउनुहुन्छ । त्यो छापिन्छ । यसरी कवि लेखनाथसित म साक्षात्कार हुँदै जान्छु ।
    त्रिखण्डश्रीखण्ड चन्दन लेपिएको चौडा निधार, सुलुत्त परेको नाक, मुस्कुराइरहेको चेहरा, कोरिएको कपाल, च्यूँडादेखि छातिसम्म लर्किएको सेतो दाह्री, मलमलले ढाकेको मुखीबुट्टे टोपी, कोकिटा रङको मयलपोस, अलि लामो कालो कस्मिराको कोट, कालै जुत्ता टलक्क टल्काई लगाई छरीछाँट परेर हल्का गतिमा ठमेल घरदेखि दाहिने हातले लठ्ठी ठेकेर ‘लेखनाथ मार्ग’ विस्तार गर्दै कविशिरोमणिका चरणहरू कहिले घण्टाघर– सरस्वतीसदन कहिले भानु माध्यमिक विद्यालय–दरबार स्कूल, कहिले तीनधारा पाकशाला र कहिले दार्जिलिङका साहित्य सम्मेलनमा हुने कविगोष्ठीहरूको समुद्घाटन गर्न पुगेका हुन्थे ।
    ‘मलाई समालोचकहरूले राम्रो भने पनि हाँसी रहन्छु, नराम्रो छ भने पनि हाँसी दिन्छु’ भन्ने नेपाली साहित्यका महारथी, मन्दिरका सुनौला गजुर कविशिरोमणि लेखनाथ २०२२ सालको फागुन ७ गतेको मध्यसाँझ शिवरात्री देवघाटको सङ्गममा खरानी बनेर हरिहरमा मिसिन पुग्छन् ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *