• २०८१ माघ १३
  • च्यार्खुरीको चुचुरोमा


    प्रतीक ढकाल
    प्रतीक ढकाल

    छोबाङ ठिलेले भनेका थिए— “ठ्याक्कै पाँच घण्टा भए पुग्छ ।”

    उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन । दावा–लाक्पा आइस् अर्थात् ‘दालाइस’ अर्थात् ‘छुबिछु’सम्म हिजै आइसकिएको हुनाले अब मेरा लागि पनि यो मार्ग नयाँ थिएन । ‘दालाइस’भन्दा अझ माथिबाट ल्याइएका पोलिथिन पाइपहरूले क्यान्जिनका लागि खानेपानी बोकिरहेका छन् भन्ने थाहा पाएपछि त मलाई पनि झन् परिचित भएजस्तो लाग्याथ्यो— उसबेला ।

    मैले हिमाली भेगको हिँडाइको सामान्य सिद्घान्त ‘प्रत्येक पाँच मिनट माइनस एक मिनट’ अर्थात् जति–जति माथि पुग्दै जाइन्छ, प्रत्येक पाँच मिनेट हिँड्ने र एक मिनेट रोकिने’ हिसाबले हेर्दा पनि हामी बाहिरियाहरूलाई समेत ६ घण्टाभन्दा बढी समय लाग्ने देखिएन । त्यहीँमाथि छोवाङ ठिले लाङटाङ गाउँकै बासिन्दा र क्यान्जिनकै ‘होटल भ्यू पोइन्ट’का सञ्चालकसमेत भएकाले उनको जानकारीमाथि शङ्का गर्ने कुनै ठाउँ नै भएन ।

    हामीले पनि विश्वास ग¥यौं र हिँड्यौं । हिमाली चुचुरामा पुग्न विश्वास गरेरमात्र पुग्दैन, हिँड्नु पनि पर्छ । अहिलेका ‘पंगुम् लङ्घयते गिरिम्’ गराउने भगवान भनेका शेर्पाहरू नै हुन् र ती पनि अहिले मैसँग हिँडिरहेका छन् ।

    र, शेर्पाहरू पनि हिँडेपछि मात्रै चुचुरोमा पुग्छन् ।

    हामी हिँड्यौं, हिँडिरह्यौं र हिँड्यौं मात्र । बाटो ठाडो उकालो थिएन— तर उँचाइका कारणले दम फुल्दै गएको थियो । बाटो अप्ठेरो त छँदै थिएन— र, परैसम्म देखिन्थ्यो पनि; तैपनि हिँड्न सजिलो थिएन । बोटबिरुवाका नाममा रहेका मसिना काँडे थेग्लाहरू पनि अब क्रमशः हराउँदै गएका थिए । र, सिधै देखिने चुचुरोमा चढ्न पनि अर्कोतिरको घुमाउरो बाटोको सहारा लिनुपर्ने भएको थियो ।

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

    पर्वतारोहणका सन्दर्भमा यो कुरो ठ्याक्कै लागू हुन्छ । कता पुग्नु पर्ने कता गइरहेँछु भने जस्तो पनि हुन्छ— कृष्णहरि बरालका शब्दहरूमा बोल्ने हो भने । सिधा बाटो हिँडेर हिमाल चढिँदैन । हिमाल चढ्न त बाटोलाई पनि फकाउनु पर्छ । अल्छी नमानीकन पघार्न सक्नुपर्छ ।

    मलाई आमादब्लामको याद आइरह्यो । चढ्नु छ पूर्वतिर रहेको चुचुरो, तर यात्रा गर्न थाल्नुपर्छ दक्षिण–पश्चिमतिर रहेको लामो र घुमाउरो धारमाथिबाट । अहिले हामीले चुचुरो देखिरहेको च्यार्खुरीले पनि हामीलाई यसरी नै नचाउँदैछ ।

    अहिले गुम्बा लजको चिम्नी वरिपरि झुम्मिएका हामी थकित अनुहारहरू हामीले आज बिताएका ती आठ घण्टाहरूलाई संझदैछौँ— जसले हामी माथि जादु चलाएर गए । हामीमाथि छुरा चलाएर गए । हामीलाई घाइते बनाएर गए । हामीलाई पागलप्रेमी जस्तो आल्हादित बनाएर गए । हामीले के पायौँ— वास्तवमा हामीले नै थाहा नपाउने बनाउने बनाएर गए । शिवपुरी बाबाले ईश्वर साक्षात्कारका सम्बन्धमा भन्नु भएको महान् उद्गार जस्तै— “सबै प्रश्नहरूको एउटै उत्तर मिल्यो ।”

    एउटा प्रकाश जो हामीभित्र बल्यो— त्यसको छाया अहिलेसम्म पनि निभेको छैन ।

    हुन त चोलामाथि उभिँदा, खोङ्मालामाथि उभिँदा, रेन्जोलामाथि उभिँदा वा छुकुङरी वा थोराङला वा कराङला वा सेला वा जाङलाको सर्वोच्च विन्दुमाथि उभिँदा पनि थोरबहुत यस्तै भएको थियो, मलाई । कालापत्थरमाथि उभिएर वरपर हेर्दा वा गोक्योरीबाट हेर्दा पनि यस्तै भएको थियो । बिब्रेबाट हेर्दा वा थेङ्खाङ्बोचेको उँचाइबाट हेर्दा पनि यस्तै भएको थियो मलाई । छुकुङरीको प्रोजेक्सन शिल्पले पनि यसरी नै भुतुक्कै पारेको थियो तर मलाई च्यार्खुरीको मात अलि बढी नै लाग्यो । च्यार्खुरीको चुचुरोले दृष्टिलाई नै अझ फराकिलो बनाइदिएजस्तो लाग्यो— मलाई । हिमालको एकनासको सुन्दरताको सम्मोहनले अझ लठ्ठ पारेजस्तो लाग्यो मलाई । आपूmले आपैmँलाई नसम्हाल्ने हो भने यो चिसोकै बावजुद तुरुन्तै ‘ट्रान्स’मा पुगिहाल्छु वा समाधि लागिहाल्छ जस्तो लाग्यो मलाई ।

    के तपाईं कल्पना गर्न सक्नु हुन्छ कि एउटै धुरीबाट सानाठूला तर उत्तिकै सुन्दर १५० वटा जति चुलीहरूलाई एकसाथ देखिरहनु भएको छ भने तपाईंको मनमा कस्तो भाव आउला ?

    त्यो वर्णनातीत सत्य, त्यो शब्दातीत श्रेष्ठता, त्यो कल्पनातीत सौन्दर्य, त्यो चेतनातीत संपूज्यता, त्यो रहस्यातीत शान्ति, त्यो श्रमातीत मोक्ष र त्यो व्याख्यातीत रचनालाई तपाईं के भन्नुहुन्छ ? मेरा त आँखा भरिए भरर्र— र, दशै दिशालाई ढोग्दै भन्न पुगेँछु— ‘ॐ नमः शिवाय । शुद्धबोधस्वरुपोऽहं केवलोऽहं शदाशिवः ।’

    यो मैले जानेर गरेको प्रतिक्रिया थिएन । मेरो अन्तस्करणले स्वतःस्पूmर्त रूपमा जनाएको श्रद्घा वा प्रतिक्रिया यस्तै केहीे थियो । यस्तो लाग्थ्यो— म अनन्त प्रकाशको बीचमा छु । मृण्मय म अकस्मातै चिन्मयको नजिकमा पुगेको छु ।

    आपूmभन्दा तल वा आफ्नै हाराहारीमा उभिएका यी हिमालका दर्जनौं चुचुराहरूका काँधमुनि रहेका खोल्सीहरू सबै–सबै नै ‘नाद’ र चुचुराहरू ‘बिन्दु’ जस्ता देखिँदैछन् । चुचुराहरूभन्दा तलका खोल्सीहरूलाई जताबाट हेरे पनि ॐ जस्तै देखिन्छन् । होइन, मलाई यो के भएको हो ? के यो मेरो दृष्टिभ्रम मात्रै होला त ? म अग्लिँदै छु कि पग्लिँदै ? मेरो मन घनघोर प्रशान्तिमा गएको हो कि आँधीमय भ्रान्तिमा ?
    प्रभु, किन मेरो चेतनाले काम गरिरहेको छैन ?

    यो प्रश्न अब म कोसँग सोधौँ ?

    मेरा आँखा निरन्तर बगिरहे— जब कि मैले रुन चाहेकै थिएन । मेरा हातहरू निरन्तर जोडिइरहे— जब कि मैले कसैलाई वन्दना गर्न चाहेकै थिएन । म पूरै निःशब्द थिएँ र साथीहरूका आवाजलाई पनि अर्थहीन तवरले मात्र सुनिरहेको थिएँ । मेरा शब्दहरू ‘बैखरी’भन्दा पहिलेकै अवस्थामा थिए । मेरो चेतना ‘परा’मै थियो । मेरो मनसम्म ‘पश्यन्ति’मा हुँदो हो । मेरो कण्ठ अझै ‘मध्यमा’मा आइसकेको थिएन ।

    यो सुन्दरतालाई आत्मसात् गर्न नसकेर मैले आँखा चिम्लेँ । तेत्तीस कोटि देउता भनेको के रहेछ— मैले तत्कालै बुझेँ । मलाई लाग्यो— म यसै बखत धर्तीमा भासिऊँ र, पृथ्वीमाताको अनन्त सौन्दर्यको काखमार्फत परब्रम्हमा लीन होऊँ । बल्ल बुझेँ, शैलेन्द्रकुमार उपाध्यायले किन हिमसमाधि लिन चाहेका रहेछन् !

    जीवनको सुन्दरता र निःसारता दुवैलाई एकैपटक बोध गर्नुछ भने यस्तो उचाइमा आउनैपर्छ । परिश्रम र प्राप्तिको सहसम्बन्धलाई सजिलो गरी बुझ्नु छ भने पनि पर्वतारोहण गर्नैपर्छ । संसारका सबै धर्म, सबै सम्प्रदाय, सबै प्रकारका सिद्घ पुरुषहरू, सबै सबै बुद्घ पुरुषहरू, सबै प्रकारका ईश्वरहरूले एकमुष्ठ सराहना गरेको कुनै चीज धर्तीमा छ भने त्यो हिमाल नै हो । संसार स्वयं नै कसैका अगाडि नतमस्तक छ भने त्यो पनि हिमाल नै हो । संसारको सबै स्वच्छता, पवित्रता, विचित्रता, अगम्यता, रहस्यमयता, रौद्ररम्यता र उच्चतालाई कुनै शक्तिले एकै ठाउँमा थुपार्न सक्छ भने त्यो थुप्रो पक्कै पनि ‘हिमाल’ कै रूपमा प्रकटित भएको हुनुपर्छ ।

    यो उच्चासनको स्पर्शले ममा पवित्रताको सञ्चार भइरहेछ । लुङ्ताको पवित्र हावाले मभित्रका सबै सबै कुविचारहरूलाई पुराना पातहरूलाई झैं हल्लाएर झारिरहेछ । म पूरै रि–इनर्जाइज भएको छु । मेरो चेतना पूरै नवीकरणीय ऊर्जाद्वारा उद्दीप्त भएको छ । म अब त्यो रहिनँ, जो म यहाँ आएको थिएँ । म अब त्यस्तो पनि भइनँ, जस्तो हुने सोच हमेशा पालेको थिएँ । मेरो रूप र अस्तित्वका अभिमान र कल्मषहरू क्रमशः पखालिँदै गएका छन् । लाग्छ, म बेग्लै हुँदै गएको छु । मैले अहिलेसम्म पनि दर्शन नपाएका हे सद्गुरुदेव ! वास्तवमा म हिमालको संगत गर्न थालेदेखि नै फेरिँदै गएको छु ।
    वासांसि जीर्णानि यथा विहाय ………
    धन्य प्रभु ! म यो क्षणप्रति कृतकृत्य छु ।

    आफ्नै हैसियतमा झण्डैझण्डै बराबरीकै उँचाइमा झल्झलाकार भएर झल्किरहेछ— गाङछेम्पो (६३८७ मि) । टल्टलाकार भएर टल्किरहेछ— गन्जला रेन्ज । उताबाट देखिएको त लाङसिसाखर्क मात्र पो हो रहेछ त— साँच्चीकै लाङसिसारी (६४२७ मि) त यताबाट पो देखिँदो रहेछ । अविराम मुस्कुराइरहेको नयाँखाङ उस्तै छ । उर्केमा (५८९० मि) उस्तै सुन्दर छ । भेम्दाङ्री (६१५० मि) पनि उस्तै छ । गजबको कुरो सबै चुलीका नजिकै पुगेजस्तो लाग्छ । यहाँ उभिइरहँदा चीनमा पर्ने विश्वको चौधौं अग्लो चुचुरो शिशापाङ्माको पनि टुप्पो देखिन्छ भनेका थिए ठिलेले— तर अलिकति बादल छ त्यतातिरको आकाशमा र त्यो चुचुरो देख्न पाइरहेको छैन मैले । लाक्पा भन्दैछन्— “हो, त्यै बादल प्रदेशमा छ त्यसको ८०१३ मिटर अग्लो चुचुरो ।”

    मैले बादलको बर्को मात्र देखेँ । बर्को ओढेकी शिशापाङ्मालाई देख्न सकिनँ ।

    अहो, कत्रो अजंगको देखिएको पाङ्गोङ्डोक्पा यहाँबाट । उस्तै आकर्षक छ याला पनि ।
    हो, यही याला पिक (५७३२ मि) मै अभ्यास गर्नेछ अब हाम्रो ‘एड्भान्स’ ग्रुपले केही दिन । त्यही ग्रुपलाई पर्वतारोहणका विभिन्न कडीहरू सिकाउने काम गर्नेछन्— मेरा साथमा आएका पासाङ ल्हामु, टेण्डी, लाम्बाबु, ल्हाक्पा नोर्बु, दोर्जी लामा, लाक्पा शेर्पा लगायतका गुरुहरूले । केही विद्यार्थीहरू पनि आएका छन् हामीसँगै । जीउ तताउन आएका रे ! बुझ्नुभो ? यत्तिको हिमाल चढ्नुलाई त ‘जीउ तताउने’ काम भनिन्छ यो क्षेत्रमा । अनि अरू आम मान्छे भन्छन्— “मेरी आम्मै नि, पुषमा हिमालतिर जाने ?”

    उनीहरू ठान्दा हुन्— चैत बैशाखतिरको हिमाल पनि अलि न्यानो हुँदो हो । के थाहा उनीहरूलाई कि हिमाल त जहिले गए पनि उस्तै हुन्छ । सधैँ उस्तै हुनाले नै हिमाल पनि ‘हिमाल’ हुन्छ । हामीकहाँ त नबुझेको विषयमा पनि प्वाक्क बोलिहाल्ने, नमागेको विषयमा पनि तुरुन्तै सल्लाह दिइहाल्ने चलन छ नि त !

    चेर्को पिक उसरी नै चम्केको छ । युब्राका चुचुराहरु (६०३५ मि) उसरी नै तम्सेका देखिन्छन् सगर छुन । ओहो, किमजुङ ग्लेशियर पनि कति जीवन्त देखिएको हो ! अहिल्यै घरररर गर्दै बग्न सुरू गर्ला जस्तो ।

    एन्सा तेन्जी उस्तै छ । मोरिमोतो झन दुरुस्तै छ । पूmर्बी ग्याचो (६६३१ मि) आप्mनै धूनमा मस्तै छ । यहीँबाट देखिँदैछ गोन्जाला पास पनि । हो, यो पास नाघेपछि यतैबाट पनि गोसाइँकुण्ड पुग्न सकिन्छ रे ।

    “म त्यतैबाट फर्किऊँ त ?”

    “अहिले एक्लै त्यतातिर नजानोस् है । त्यतातिर त घटीमा पनि ८÷१० फिट हिउँ परेको होला बाटोमै । तपाईं अलपत्र पर्न सक्नुहुन्छ । तपाईं त हामीभन्दा पनि मूर्ख हुनुहुन्छ र डर लाग्छ क्या सर !” लाक्पा मलाई सचेत पार्दै सुझाइरहेछन् ।

    सबैभन्दा पहिले तिलमान नामका कुनै गाइडले यो बाटो पत्तो लगाएको हुनाले यो गञ्जाला पासलाई ‘तिलमान पास’ पनि भनिँदो रहेछ ।

    धन्य छ यतातिरको चलन र कदर गर्ने संस्कृति । जसले दुःख गरेको हो— उसलाई सम्मान दिइहाल्ने । तिलमान को थिए ? कसैलाई पनि थाहा छैन । तर, उनको नामको यो ‘चिनो’ अहिले पनि जनजिब्रोमै छ ।

    लाङटाङ लिरुङ आफ्नो अद्वितीय सुन्दरतासहित सबैभन्दा ठूलो क्षेत्रमा फिँजिएको रहेछ । ओहो, त्यसको बाक्लो हिउँको खास्टो ओढेको भिरालो काँधको सुन्दरताको त कुरै नगरौँ । त्यही काँध तलसम्म झर्छ— अनि किमजुङ ग्लेशियरको पातलो शलले युब्राका शिरहरूलाई बेरिदिन्छ । मानौँ, जाडोबाट बचाउँदै आप्mना सन्तानहरूलाई हुर्काइरहेछ— आमा लाङटाङ लिरुङ ।

    छेउमै छ लाङटाङरी (७२०५ मि) र पूरै फिँजारिएर दर्शन दिइरहेछ हामीलाई । अलि परैबाट सुन्दरताका आँखा झिम्क्याइरहेछ दोर्जे लाक्पा (६९६६ मि) ले ।

    नाम जानेर त साध्य भए पो ? उही तर्पण दिँदा ‘यथा नाम’ भनेझैं हामी अहिले झण्डै १५० जति चुलीलाई एकसाथ देखिरहेका छौं ।

    ‘ज्ञात अज्ञात सबै चुलीलाई हाम्रो प्रणाम छ ।’
    ठिले भन्दैछन्— “ऊ त्यो पर देख्नुभयो नि भेम्दाङरी; हो— त्यसैको फेदी भेम्दाङकार्पुबाट ग्लेशियर फुटेको छ र त्यो नै लाङटाङ खोलाको जन्म हो । त्यही ग्लेशियरको दाहिने हाततिरको पूरै श्रृंखला जुगल श्रृंखला हो र बायाँतिरको चैँ लाङटाङ श्रृंखला ।”

    नाम त कसले जानेर सक्छ र ? तैपनि ठिले भन्दैछन्— “धेरै हिमालको त अघि नै नाम लिइहालियो । अब श्रृंखलाको कुरा गर्ने हो भने चैं लाङटाङ श्रृंखलाभित्र पर्नेमा ऊ त्यो युब्रा (६०३५ मि) भइगयो, त्यो याला (५७३२ मि), त्यो साल्बाचुम (६७०७ मि), ऊ त्यो चैं पाशुबो (६१७७ मि), यो छेवैको लाङ्टाङरी (७२०५ मि), त्यो मूल नै भैगो लाङ्टाङ लिरुङ (७२३४ मि) अनि ती दुई चै क्युङ्ग्यारी—१ (६५९९ मि) र क्युङ्ग्यारी—२ (६५०६ मि) हुन् । अनि त्यो परको चैं काङ्जाचुली (५८४४ मि), त्यो यतापट्टिको घेन्ये लिरू (६५७१ मि), त्यो भेम्दाङ्री (६१५० मि) र त्यो त उर्केमा (५८९० मि) नै भइहाल्यो । अनि याङ्सा तेन्जीसमेत भनिने धाग्पाहे हिमाल (६५६७ मि) त्यो र पनयातिप्पा नाम भएको ड्राग्मोर्पारी हिमाल (६१८५ मि) चैं ऊ त्यै हो ।”
    ठिलेले हिमालका नाम सुनाउने र मैले बिर्सने काम सँगसँगै भइरहेको छ; तैपनि हार मानेका छैनन् उनले । सुनाइरहेछन् मलाई अप्ठेरा लाग्ने हिमालका नामहरू लगातार । भन्दैछन्— “जुगल श्रृंखलाको पनि कुरो गरौँ है त ? ऊ, त्यो परको उक्र्यामाङ (६१५१ मि), त्यो पूmर्बी ग्याचो (६६३१ मि), अनि ऊ त्यो चैं अलिकतिले ७००० मिटर नपुगेको ल्योन्पोगाङ (६९७९ मि), अब त्यो त गोरु मरेकै हिमाल भैगो, लाङसिसारी (६४२७ मि) र त्यो परको चैं ग्याल्जेन पिक (६१५१ मि) हो । अब यो फराकिलो गाङ्छेम्पो (६३८७ मि) नै भैगो, त्यो चैं गुर्कार्पोरी (६८९१ मि), त्यो त चर्चित पिक नै हो, दोर्जेलाक्पा (६९६६ मि) अनि ऊ त्यो चैं मदिया पिक समेत भनिने भैरव टाकुरो (६७९९ मि) हो । सबै चिन्न त कहाँ साद्दे हुन्छ र सार ?”
    मेरी आम्मै नि, मैले मानेँ ठिलेलाई त । यति चिनाएर पनि अरू थाहा छैन भन्छन् । मैले त कहिले घोक्न सक्छु र यति धेरै नामहरू ?
    प्रकृतिको यो विचित्र जादुगरीलाई शब्दशून्यताका साथ स्वीकार गरेर हामी फर्किदैछौँ । क्यामेरालाई चिसोबाट जोगाएन भने ब्याट्री एकैछिनमा सकिन्छ र भनेको ठाउँमा क्यामेरा नै प्रयोजनशून्य हुन्छ भन्ने ज्ञानसमेत यही भ्रमणबाट प्राप्त गर्दै हामी अब क्रमशः ओरालिँदै छौँ ।

    कुनै दिन हिमालतिर जाने योजना बनाउनु भयो भने तपाईंले चाहिँ सुरुदेखि नै क्यामेरालाई न्यानो ठाउँमा राख्न नभुल्नु होला है ! नत्र मैलाई झैं धोका हुनेछ नि फेरि !

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री