• २०८१ चैत्र ५
  • सम्झनामा भीम विराग


    भरत पौडेल
    भरत पौडेल

    नेपाली गीतिलेखनको क्षेत्रमा गहिरो छाप छोड्न सफल भीम विराग १९९१ माघ १५ गते माईस्थान, वीरगञ्जमा जन्मिएर २०६८ फागुनमा अस्त भएका हुन् । ७८ वर्षे जीवनकाल व्यतीत गरेका भीम विरागको दुखेको इन्द्रेनी (गीत सङ्ग्रह, वि.सं. २०२०), अतृप्त स्पर्श (गीतसङ्ग्रह, वि.सं. २०४३), तातो सुस्केरा (कवितासङ्ग्रह, वि.सं. २०३२), आठटुक्रे बादल (कथासङ्ग्रह, २०३५), इन्द्रेणी (वि.सं. २०२५), भीम विरागका कविता (कवितासङ्ग्रह, वि.सं. २०५४), अज्ञात प्रारम्भ (खण्डकाव्य, वि.सं. २०५६), भीम विरागका गीत–गजल (वि.सं. २०५७), स्वरसम्राटको सम्झना (संस्मरण सङ्ग्रह, वि.सं. २०५७), मोहभङ्ग (महाकाव्य, वि.सं. २०५९) प्रकाशित कृतिहरू हुन् । यसको साथै उनका विभिन्न पत्रपत्रिकामा कविता, लेख, निबन्ध, कथा प्रकाशित छन् ।

    बुद्धचौकबाट हेटौंडा आउने बाटोमा खहरे खोला थियो । खोलामा पुल थिएन । जङ्घार तर्नु पर्दथ्यो । खहरेको ठूलो बगर थियो । भीम विराग र नारायण गोपाल थिए साथमा । दुवै पिउनमा सौखिन थिए । पिएर बगरमा लडे । नारायण गोपालले प्रस्ताव राखे – ‘भीम दाइ, रक्सीको बारेमा एउटा गीत गाउन मनलाग्यो । सोच्नुहोस्  त ।’ भीम विराग आकाशतिर हेरेर सुतिरहे । त्यतिबेलासम्म नारायण गोपाल निदाइसकेका थिए ।

    एकछिनपछि भीम विराग उठे र नारायण गोपाललाई झक्झक्याए । ‘ए नारायण, उठ्  । ‘गेडा’ मिल्यो (भीम विराग गीतको मुखडालाई गेडा भन्थे) ।

    ‘कस्तो गेडा हौ दाइ ?’

    ‘हत्तेरी, गीत फुर्‍याे । उठ् न ।’

    नारायण गोपाल उठेपछि भीम विरागले गीत गाएर सुनाए –

    ‘आजभोलि हरेक साँझ मात्तिन थालेछ‍‍‍‍…’
    मन्दिरमा बसेर पिएँ
    मसानमा लडेर पिएँ
    नाचेर पिएँ हाँसेर पिएँ
    एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ
    आजभोलि हरेक साँझ ….

    भीम विराग आफैँ राम्रो सङ्गीतकार र गायक थिए । उनले हरेक गीत लेखेपछि आफैँ सङ्गीत गर्थे र आफैँ गाएर सुनाउँथे । भीम विरागको गीत कहिल्यै करेक्सन हुँदैन थियो । उनी अकाट्य शब्दहरू प्रयोग गर्थे आफ्नो गीतमा ।

    उनी आफ्नो गीतमा फूलको बिम्ब प्रयोग गर्न रुचाउँथे । फूलैफूल मात्र पनि होइन रैछ जीवन, पूजाको फूलजस्तै दिनदिन मरेर हेर, फूलको मायाले मलाई काँढा बनायो… आदि यसका उदाहरण हुन् । कुनै गीतमा फूल आएन भने नारायण गोपाल भन्ने गर्थेऽ ‘दाइऽ खै त फूल ?’

    भीम विरागको अगाडि जहिले हार्मोनियम हुन्थ्यो । गीत माग्नेहरूलाई पहिले आफैँ गाएर सुनाउथे र भन्थेऽ ‘कस्तो लाग्यो त गेडा ?’ जसजसलाई उनले गेडा सुनाए कसैबाट अस्वीकृत भएन सबै स्वीकृत भयो ।

    गजलको शेरहरूमा अपेक्षा गरिएको गहिराई भीम विरागको गीतमा भेटिन्छ –

    तिमीले पनि मजस्तै माया दिएर हेर
    मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

    सुनसान रातसँगै एकान्त भएर हेर
    सागरको लहरजस्तै अशान्त भएर हेर
    आँसुका थोपा जस्तै भुइँमा खसेर हेर

    पूजाको फूलजस्तै दिनदिन मरेर हेर
    ढुङ्गाको मूर्तिजस्तै दोबाटोमा बाँची हेर
    छातीमा एउटा घाइते मुटु बोकेर हेर

    गीतमा समावेश नगरिएको अन्तरा–

    चढेको सूर्यजस्तै साँझमा डुबेर हेर
    हाँसेर दिनमा रो’को रातलाई बिर्सी हेर
    छोपेर आफ्नै आँखा आफैलाई खोजी हेर

    रङ्गमञ्च तथा चलचित्र (छलचित्र) कर्मी राज थापा (राज थापा चलचित्रलाई छलचित्र भन्न रुचाउँछन्) लाई भीम विराग असाध्यै माया गर्थे । उनी अनामनगरमा भेट्न जाँदा भीम दाइलाई जहिले हार्मोनियम अगाडि पाउथे। राज थापा आफैँ पनि राम्रो गायक भएको हुनाले एक दिन भनेछन्, ‘दाइ, मलाई दुःखभन्दा पनि अझै माथिको दुःख झल्काउने गीत चाहियो ।’ भीम दाइले अनुहारमा हेरेछन् र एक ग्लास रक्सी दिएछन् अनि भनेछन्, ‘राज भाइ, दुःखभन्दा माथिको दुःखको गीत लेखिँदैन, महसुस गरिन्छ ।’

    राज थापा हाँस्दै भन्छन् – भीम दाइ रक्सी पिउने मान्छे अनुहार हेरेर चिन्थे ।

    राज थापाले त्यस्तो गीत त पाएनन् तर दुःखमा पिउने साथी पाए । भीम विरागको गीतको रसमा परेपछि राज थापालाई सितिमिति गीतले छुनै छाडेछ । एकचोटि गोपाल योञ्जन दाइले एउटा गीत गाउँनको लागि अफर गरेछन् राज थापालाई तर राज थापाले रङ्गमञ्चमा बिजी छु भनिदिएछन् । खासमा उनलाई भीम विरागको शब्दले मोहनी लगाएको रहेछ र गोपाल योञ्जनजस्तो गीत-सङ्गीतको आकाशलाई पनि निराश बनाएछन् ।

    हे मलाई माया गर्छु भन्नेहरू
    कहिलेकाहीँ माया पनि देखाउने गर
    तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
    बरु कहिलेकाहीँ आई सताउने गर

    निकै मीठो स्वरमा गाउँदै राज थापाले ठट्टा गरे –‘गोपाल दाइ (गोपाल योञ्जन) अभागी रहेछन् । मेरो स्वरमा गीत रेकर्ड गर्न पाएनन् ।’ राज थापालाई पछुतो पनि छ यदि त्यो गीत गाएको भए उनी नेपाली संगीत क्षेत्रको स्थापित गायक हुनसक्थे । तर त्यो अवसर गुमाएपछि उनलाई गीत गाउने कुनै अफर आएन ।

    भीम विराग राम्रो फुटबल खेलाडी तथा बाँसुरीबादक भएको कुरा सुनाउँछन् राज थापा । एकपटक फूटबल खेल्ने क्रममा विराग लडे । मेरुदण्डमा गहिरो असर पर्न गयो र शारीरिक रूपमा अशक्त बने । सुत्न, उठ्न हिँडडुल गर्न असहज भयो । त्यही चोटका कारण उनको जीवनले अर्कै मोड लियो । एउटै कोठामा थुनिन बाध्य भए । अलि विक्षिप्त जस्तो पनि देखिए । राज थापा स्मरण गर्छन् ।

    भीम विरागको संझनामा राज थापा निकै भावुक देखिए । उनले विरागरचित प्राय सबै गीतहरू गाएर सुनाए । निकै मिठासपूर्ण, पोख्त र खारिएको उनको स्वरले विरागका गीतहरूलाई पूरै न्याय गरेको आभास भयो । कुराकानीको लागि राज थापालाई धेरै धेरै धन्यवाद ।

    रङ्गमञ्च तथा चलचित्रकर्मी राज थापासँगको कुराकानीमा आधारित ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री